श्यामकुमार थापा
प्राचीन कालदेखि हालसम्म विश्वले धेरै पटक धेरै प्रकारका महामारी भोगिसकेको छ। ती महामारीबाट ठूलो धन–जनको क्षति व्यहोरेको इतिहासबाट थाहा पाउन सकिन्छ।
विश्वमा अहिलेसम्म ठूलाठूला आविष्कार भए। मानवीय आवश्यकताले आविष्कार गरिएका विषयमध्ये मानव स्वास्थ्यको उत्थान गर्ने उद्दश्यले आधुनिक चिकित्सा विज्ञानमा धेरै ठूलो विकास भयो। तर त्यसको प्रयोग विकसित देशले मात्र गर्दै आए। विकासशील तथा अविकसित देशमा आधुनिक चिकित्सा विज्ञानको प्रयोग अत्यन्त न्यून हुँदै आएको छ।
नेपालमा आधुनिक चिकित्साको प्रयोग धेर–थोर लिच्छिवीकालीन (इसं ६०५), मल्लकालीन (इसं ८७९ देखि १७६९) को समयदेखि नै भए तापनि यसको विस्तार भने राणाकालीन समयदेखि मात्र भएको पाइन्छ।
राणाकालीन समय सन् १८५७ देखि सुरु भई सन् १९५१ सम्म रह्यो। त्यो समयमा धेरै सर्वसाधारणको स्वास्थ्यलााई समेटने गरी अस्पताल, औषधालय र डिस्पेन्सरीहरु खोलिए, जसको नेतृत्व चन्द्रशमशेर प्रधानमन्त्रीले गरेका थिए। त्यसपछि लगातार स्वास्थ्यलाई उत्थान गर्ने उद्देश्यले पूर्वयोजना, योजना अवधि आए र सोही अनुसार काम हुँदै गए। आजसम्म पनि त्यसै अनुसार चलेको छ।
विश्वमा आज कोभिड–१९ को त्रासमा छ। जसको संक्रमणको कारण लाखौंले ज्यान गुमाएका छन् भने अधिकांश मुलुकले यो भाइरसको नियन्त्रणका लागि ठूलो धनराशि गुमाएका छन्। जनस्वास्थ्यका हिसाबले योसाह्रै दुखदायी अवस्था हो।
कोरोना भाइरसको प्रभावको कारण विश्वमा ठूलो संख्याले रोजगार गुमाउनुपर्ने अवस्था र त्यसले मानव जीवनमा पार्ने असरको त आकलन गर्न पनि गाह्रो भइरहेको अवस्था छ। मानव सभ्यतालाई तहसनहस पार्ने तरिकाले देखिएको यो संक्रमण नियन्त्रण गर्न विश्वमा रहेका विज्ञान, विज्ञत्ता, प्रयोग तथा प्रविधि नाकाम भएका छन्, जसको बलमा विकसित देशको स्वास्थ्य अवस्था पूर्ण छ भनी परिभाषित गरिन्थ्यो।
यहाँ समेट्न खाजेको कुरा के हो भने, हाम्रो देश सानो छ। धेरै देशसँग सीमा जोडिएको छैन। जनसंख्या थोरै र तुलनात्मक रुपमा सहरी बस्ती पनि कम छ। साझा उपभोगका साधन जस्तैः बस, रेल, अन्तर्राष्ट्रिय उडान केन्द्र, केन्द्रीय व्यापारिक केन्द्र (महामारी सर्ने मुख्य माध्यम) कम हुँदा महामारीलाई न्यूनीकरण गर्न त्यति गाह्रो नपर्नुेपर्ने हो।
तर, हाम्रो राज्यव्यवस्था र यसका निकायले गर्नुपर्ने काममा विज्ञको दिशानिर्देश होइन, विज्ञता नभएका व्यक्ति हावी भइरहेको अवस्था छ। गर्नुपर्ने कामको स्पष्टता नहुँदा कसले के काम गर्ने, कस्ता विज्ञता तथा प्राविधिक प्रयोग गर्ने, कसले के बोल्ने, कोको परिचालन हुने भन्ने अन्योल देखिएको छ।
केन्द्रीय तह, प्रदेश तह तथा स्थानीय तहमा महामारी रोक्न होइन कि, अरु नै विषयले प्राथमिकता पाइरहेको देखिन्छ। जस्तैः विज्ञत्ता नभएको कुरामा बोल्ने, राहत बाँड्ने, समयको मौका छोपेर बजेटको गलत तरिकाले विनियोजन गर्ने र सोही अनुसार मिडिया तथा सञ्चार जगतका विषयवस्तु बन्न थाले। जसले व्यवास्थापन पक्ष कमजोर वा असफल भएका हुन् भन्ने संकेत गर्छ।
देशले सही मार्गमा जान राजनीतिक तथा विज्ञताको प्रयोग नेपालको राज्य व्यवस्थाले जनस्वास्थ्यसँगै अन्य विधामा कम प्रयोग गर्नु नै दुःखपूर्ण अवस्था हो।
विश्वव्यापी महामारी शताब्दीमा एकदुई पटक हुुन्छ भन्ने कुरा विज्ञहरुको भनाइबाट तथा विभिन्न महामारीको इतिहासबाट थाहा पाउन सकिन्छ। राज्यले सबै काम गर्ने ताकत राख्न सक्दैन तथापि महामारी जुनसुकै समयमा देखिए पनि अन्ततः आफ्नै जनशक्ति, अर्थ र विज्ञको उचित प्रयोगबाट नै एकीकृत समाधानको उपाय निकाल्न सकिने हो। तसर्थ राज्यले गर्ने सानासाना उपाय योजनाबाट गर्नु र गराउनुपर्ने आवश्यकत्ता छ, जुन नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशका लागि अपरिहार्य छ।
(थापा मध्यपुरथिमी नगरपालिकास्थित बालकुमारी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन्।)