कृष्ण सापकोटा
कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन्। तर आफ्नो जीउ–ज्यानको बाजी थापेर कोरोनाका बिरामीहरुलाई मृत्युको मुखबाट बचाउन लागिरहेका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको कर्मलाई देख्दा भित्रैदेखि प्रशंसा गर्न मन लाग्छ।
विश्वव्यापी महामारीमा अस्पताल पुगेर अग्र–मोर्चामा रहेर बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको उत्साह देख्दा यो पीडाको समयमा पनि घरिघरि मन खुसीले गद्गद् हुन्छ। अनि स्वास्थ्यकर्मीले कोरोना युद्घमा सतप्रतिशत जित हात पार्ने आशा जागेर आउँछ।
अग्रपंतिमा रहेर खट्ने ती स्वास्थ्यकर्मीहरुलाई आज जनमानसले करुणा र समर्पणका प्रतिमूर्ति ठानेका छन्। बिरामीको सेवामा नै आफ्नो जीवन सार्थक भएको देख्ने ती स्वास्थ्यकर्मीप्रति जनमानसले मनैदेखि उच्च सम्मान टक्र्याएका छन्।
अकस्मात दसा बनेर आएको यो महामारीमा कहाँबाट कसरी उपचार सुुरु गर्ने भन्ने अन्योलमा चिकित्सकहरुले कत्ति पनि अन्योल देखेनन्। रोगका लक्षण बिरामी अनुसार फरक–फरक देखिएका थिए। अथवा कुनै संक्रमितलाई लक्षण नै नदेखिएको स्थिति पनि थियो। खोप र औषधि नबनेको यो समयमा बिरामीलाई कुन औषधि चलाउने वा नचलाउने भन्ने दोधारमा चिकित्सकहरु अलिकति पनि अल्झिएनन्।
कोभिड–१९ रोगसँग लड्न जोकोही चिकित्सकहरुलाई बनिबनाउ बाटो, मार्गचित्र वा अनुभव पटक्कै थिएन। हतार–हतारमा उपचार पद्धति स्वयं चिकित्सकहरुले आफंै पत्ता लगाउनुपर्ने अवस्था थियो। तर पनि उपचार विधिमा आफैं नयाँ बाटो पत्ता लगाएर कोरोनाको बिरामी निको पार्न आज उनीहरु सफल भएका छन्।
अस्पतालमा बिरामीको आगमन ह्वात्तै बाक्लिँदा स्वास्थ्यकर्मीहरुलाई स्थिति सम्हाल्न सहज पक्कै छैन। चापेको बिरामीलाई आइयिुमा अक्सिजन तथा भेन्टिलेटर समेत प्रयोग गरेर भए पनि नाजुक स्थितिबाट सामान्य स्थितिमा फर्काउन हम्मेहम्मे परेको छ। त्यो जीवन–मरणको छटपटाहटको पीडाको प्रत्यक्ष साक्षी स्वास्थ्यकर्मी नै बन्नुपरेको छ। बिरामीले युद्घ हारेर कथंकदाचित् प्राण त्याग गरेमा लासलाई सम्हाल्ने नजिकमा अरु कोही छैन। आफन्तले भेट्न र लास छुन पाउँदैनन्। यस्तो कारुणिक अवस्थाको स्वयं प्रत्यक्षदर्शी स्वास्थ्यकर्मी नै बन्नुपरेको छ।
स्वास्थ्यकर्मीहरुसँग आफ्नो परिवार छ, मन छ, भावना छ र कर्तव्यप्रतिको उच्च निष्ठा पनि छ। आज उनीहरु यो मन, परिवार, आफ्ना भावना सबै दबाएर मानव सेवाको कर्तव्यप्रति भोकभोकै दिनरात खटेका छन्।
एउटा दूधे–बालक घरमा छोडेर आफ्नो ड्युटीमा खटेको महिला–स्वास्थ्यकर्मी र ९० वर्षको आमालाई घरमा भोकै राखेर अस्पतालमा खटेको अर्को स्वास्थ्यकर्मीको निस्वार्थ सेवाभाव देख्दा यो मन त्यसै स्तब्ध हुन्छ। उनीहरुप्रति उच्च सम्मान जागेर आउँछ।
अर्कोतर्फ, विश्वभर प्रत्यक्ष सेवामा खटिरहेका हजारौं स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कैयनको मृत्यु भएको समाचार पनि आएको छ। स्वास्थ्यकर्मीका परिवार र आफन्तको मनमा संक्रमण सर्ने डरले पिरोलिइरहेको अवस्था पनि छ। तर परिवार र आफन्तलाई कन्भिन्स गराएर उनीहरु मानव सेवामा अझै उच्च मनोबलका साथ लागिरहेको हामी देखिरहेका छौं।
हिजोसम्म सँगै खटेको सहकर्मीलाई संक्रमण भएर त्यही अस्पतालको शय्यामा कोरोनासँग लड्दै लम्पसार परेको क्षणले पनि उनीहरुको मन नरमाइलो पक्कै बनाउँछ। अझै सहकर्मीले आँखै अगाडि अकालमा मर्नुपर्दा हृदय झनै बिक्षिप्त हुन्छ। यस्ता विपत्का वास्तविक नमिठा घटनाहरुले स्वास्थ्यकर्मीको जीवनमा तितो अनुभव भएको छ। भलै बिरामी निको भएर खुसीले घर फर्किँदाको पलले भने स्वास्थ्यकर्मीको सम्पूर्ण दुःखलाई बिर्साएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको आक्रमणले बिचलित भएर भर्खरै तंग्रिँदैछन्। उनी आफ्नो स्वास्थ्य अवस्था खराब दिशातिर गइरहेको समय डाक्टरले बचाउन गरेका प्रयास र स्याहारको भित्री कुरा सम्झिँदा बेला–बेला भावुक पनि हुन्छन्। यो आपतमा स्वास्थ्यकर्मीहरुले देखाएको यो सह्राहनीय कामको जति प्रशंसा गरे पनि पुग्दैन।
स्वास्थ्यकर्मीको काँधमा सिंगो मानवको जीवन छ। विश्वभरि नै सेवानिवृत्त र अरु इच्छुक स्वास्थ्यकर्मीहरुलाई यो परोपकारी सेवाको काममा फर्किन अपिल भएको छ। धेरैले यो सेवाको काम अरुको जिन्दगी र खुसीसँग प्रत्यक्ष गाँसिएको भन्दै स्वागत जनाउँदै आफ्नो ज्ञान र सिप बोकेर उच्च मनोबलका साथ काममा होमिएका छन्।
चिकित्सा पेसामा कौसलता प्रदर्शन गरेर प्रत्येक बिरामीको मृत्युलाई हराउनु जुनसुकै डाक्टरको लागि चुनौतीको विषय छँदैछ। आजसम्म कहीँबाट चिकित्सा क्षेत्रलाई नराम्रो टिप्पणी गरिएको छैन। यो महामारीबाट चिकित्सा क्षेत्र त्यस्ता तुच्छ टिप्पणीको भागिदार बन्न पनि नपरोस्। महामारीमा राम्रो गर्न सकेनन् भनेर स्वास्थ्यकर्मीले अलिकति पनि मूल्य चुकाउन नपरोस्। कोरोना भाइरसको उपचारमा सही औषधिकोे तारताम्य मिलाउन प्रत्येक चिकित्सक सफल रहून्।
मध्यरातको सुनसान समयमा खचाखच भरिएको अस्पतालको शय्याबाट बिरामीको रोदन सुनेर स्वास्थ्यकर्मीको मन कत्ति पनि बिचलित नहोस्। यो संसार जित्ने अभियानको लडाईंमा स्वास्थ्यकर्मीको उत्साह र समर्पणको विजय अवश्य हुनेछ।
कोरोना भाइरस स्वास्थ्यकर्मीहरुको हातबाट छिट्टै परास्त भएर जाने निश्चित छ। उनीहरुको अदम्य साहस झनै बढ्दै जाओस्। जिम्मेवारी र दायित्वबोधमा सफलता सयमा सय मिलोस्। उनीहरुप्रतिको सम्मान अझै उँचो भएर आओेस्। यही छ हाम्रो कामना!