मेनुका भण्डारी
आज मे १२ अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस। ‘नेतृत्वको लागि आवाज : विश्व स्वास्थ्यका लागि नर्सिङ सेवा’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।
दुई सय वर्षअघि जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलले गरेका काम र उनले अपनाएका सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन्। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को स्थापना सन् १८९९ मा भएको थियो र पहिलो अध्यक्ष बेडफोर्ड फेनविक हुनुहुन्थ्यो। यस संगठनको मुख्य उद्देश्य विश्वमा रहेका नर्सिङ संघहरुको नेतृत्व प्रदान गर्दै सहकार्य र साझेदारी गरी कार्य योजना बनाउने र पेसालाई अग्रगति दिने रहेको छ।
अन्तर्राष्ट्रिय नर्सिङ परिषद् १३० भन्दा बढी देशका राष्ट्रिय नर्सिङ संघहरुको छाता संगठन हो, जसले दुई करोडभन्दा बढी नर्सको प्रतिनिधित्व गर्छ। नेपाल नर्सिङ संघ पनि यसको सदस्य राष्ट्रको रुपमा रहेको छ।
नर्स त्यो व्यक्ति हो, जसले एउटा नवजात शिशुको आँखा विस्तारै खोल्छ र जीवनको अन्तिम श्वासपश्चात् मानिसको आँखा विस्तारै बन्द गरिदिन्छ। बिरामीका अत्यन्तै कष्टदायी समयमा, जीवन–मृत्युको दोसाँधमा प्रत्येक समय सर्वप्रथम उपस्थित हुने व्यक्ति नै नर्स हो। त्यसैले नर्सलाई जीवनको सुरुवात र अन्त्यको साक्षी हुने बरदान मिलेको छ।
बिरामीहरु अस्पताल थाहा पाएर वा थाहा नपाई पनि उत्कृष्ट नर्सिङ सेवाका लागि आउने गर्छन्। तथापि धेरै मानिसलाई नर्सिङ पेसाको दायित्व र महत्वबारे प्रष्ट छैन। जबकि नर्सहरु स्वास्थ्य सेवा प्रणालीका अग्र पंक्तिमा रहेर योगदान पुर्याउने व्यक्ति हुन्। यदि नर्सिङ क्षेत्रलाई सबल बनाउने हो भने स्वास्थ्य प्रणालीमा धेरै सुधार ल्याउन सकिन्छ, अब्बल अभ्यासहरु पत्ता लगाउन सकिन्छ। साथै श्रम बजारमा नर्सिङ जनशक्तिको सही सदुपयोग गर्न सकिन्छ। अझ हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना जस्ता महामारीहरुको समयमा नर्सिङ सेवा विना उपचार नै अपूर्ण हुनजान्छ।
५० प्रतिशतभन्दा बढी नर्सको हिस्सा रहेको विश्वको कूल स्वास्थ्य जनशक्तिको ७० प्रतिशतभन्दा बढी महिलाले ओगटेको छ। तर नेतृत्वदायी भूमिकामा २५ प्रतिशत मात्र महिला रहेका छन्। अझ अविकसित तथा विकासोन्मुख देशहरुमा महिलाको नेतृत्वदायी भूमिका अझ कम रहेको देखिएको छ। महिलाले घरायसी कार्यमा प्रशस्त समय दिनुपर्ने, बच्चा जन्माउनु र हुर्काउनुपर्ने साथै शिक्षाको असमान पहुँचले गर्दा पनि नेतृत्वदायी भूमिकामा महिला कम पुगेका हुन सक्छन्।
शताब्दियौंदेखि धेरै मुलुकमा स्वास्थ्य सेवामा संगठनको संरचना निर्माण गरिएको पाइन्छ र त्यसमा प्रायः डाक्टरहरुले नेतृत्व प्रदान गरेका छन्। यसको अर्थ के हो भने हामीले रोगलाई मात्र हेर्ने गरेको छ, समग्र स्वास्थ्यलाई होइन। यो दृष्टिलाई फराकिलो बनाउन र स्वास्थ्य सेवाको अर्को महत्वपूर्ण पाटो अर्थात् नर्सिङ पक्षलाई देख्न पनि यति नै आवश्यक छ।
नेपालमा नर्सिङको इतिहासलाई हेर्ने हो भने नेतृत्व केही परम्परागत नै देखिन्छ। प्रायः नेतृत्व गर्नेले नयाँ योजना र कार्यविधि ल्याउनुको सट्टा परम्परा धानेको मात्र देखिएको छ। तर संख्यात्मक रुपमा कम भए पनि केही नेतृत्वकर्ताले नर्सिङ क्षेत्रमा नयाँ आयाम थपेका छन्। सफल नर्सिङ नेतृत्वकर्ताहरुमा डा इन्दिरा सिंह, डा उमादेवी दास, प्रा कान्तिलता भण्डारी, प्रा प्रमिला देवान, डा सरला श्रेष्ठ, प्रा मन्दिरा वन्त, प्रा गोमादेवी निरौला, प्रा सरला केसी, प्रा तारा पोख्रेल लगायत अन्य हुनुहुन्छ। जसको सफल नेतृत्व र कुशलताले आज नर्सिङ एउटा सम्मानजनक पेसाका रुपमा स्थापना भएको छ।
नेपाली नर्सहरुले नेपालको भौगोलिक, सामाजिक र शैक्षिक विषमताको बाबजुद पनि हजारौं जीवन बचाएका छन् र लाखौंलाई नयाँ जीवन दिएका छन्। नेपालमा हालसम्म ९० हजार नर्सहरु कानुनी रुपमा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भइसकेका छन्। नेपालको स्वास्थ्य सेवा प्रणालीमा नर्सहरु मुख्य हिरोको रुपमा रहेका छन्। उनीहरुको ज्ञान, सिप र निर्णय क्षमताले स्वास्थ्य सेवाको गुणस्तर निर्धारण गर्छ। उनीहरु अन्य स्वास्थ्यकर्मीहरु जस्तै प्रतिकारात्मक र उपचारात्मक सेवामा जिम्मेवार र जवाफदेही छन्।
हाल नेपालमा स्वास्थ्य सेवा विभागमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा रहेको छ, जसको प्रमुख रोशनी तुईतुई रहनु भएको छ। यस शाखा अन्तर्गत नर्सहरुको कार्य विवरण तयार गर्ने, क्षमता विकासका तालिम, नेतृत्व विकासका कार्यक्रम, क्लिनिकल प्रोटोकल तयार गर्ने, सुरक्षा भत्ता लगायतका कार्यहरु गरिरहेको छ र यो महाशाखामा नर्सिङ नेतृत्वले राम्रो काम गरिरहेको छ। त्यसैगरी विगत २ वर्षदेखि सरकारले विद्यालय नर्स कार्यक्रम सुरु गरेको छ, जस अन्तर्गत विभिन्न प्रदेशले नर्सहरुलाई विद्यालय नर्सको रुपमा नियुक्ति दिएर विभिन्न स्कुलहरुमा पदस्थापन गरिसकेको छ र उनीहरुले उत्कृष्ट कार्यहरु गरेर स्कुल र समुदायलाई बालबालिकामार्फत जोड्ने कार्य गरेका छन्।
समुदायमा रहेका सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थ पोस्ट, नगरपालिका, महानगरपालिकामा पनि नर्सहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। धेरैजसो सरकारी अस्पतालमा उल्लेखनीय संख्यामा नर्सहरु भए तापनि डाक्टर र नर्सबीच समन्वय कम भएको देखिन्छ र काममा बेलाबेलामा तनाव र असमझदारी उत्पन्न भएको देखिन्छ। सुगम र ठूला अस्पतालमा बिरामीको चाप उच्च हुने हुनाले पनि यस्तो हुन सक्छ। यस्ता समस्यालाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, नर्सिङ प्रशासक, इन्चार्ज, प्रशासनबीच राम्रो समन्वय र योजना बनाएर कार्य गर्न आवश्यक छ। कहिलेकाहीँ शक्तिको द्वन्द्वले गर्दा पनि त्यस्तो हुन जान्छ।
नेपालमा करिब पन्ध्र वर्षको अन्तरालमा धेरै नर्सिङ स्कुलहरु खुलेका छन् र नर्सको उत्पादन पनि प्रशस्त भएका छन्। तर बेलाबेलामा नर्सहरुको गुणस्तरमाथि प्रश्नचिह्न लाग्ने गरेको छ। उत्पादनको गुणस्तरमा एकरुपता पनि छैन। निजी नर्सिङ स्कुल र निजी अस्पतालले उत्पादन र रोजगार दुवै क्षेत्रमा कार्य गरिरहेका छन्, यो राम्रो पक्ष हो तर नीति–नियम अनुसार धेरै कमजोरी पनि देखिएका छन्। त्यतिमात्र होइन, निजी क्षेत्रमा नर्सिङ शिक्षामा लगानी धेरै छ र सो अनुरुप प्रतिफल न्यून छ। त्यसको प्रभाव नर्सिङको गुणस्तर र पेसागत समर्पणमा पर्छ। फलस्वरुप नर्सहरु पेसा बीचमै छोड्नेदेखि लिएर विदेश पलायन हुनेसम्म गर्छन्।
नर्सिङ जनशक्तिको उचित व्यवस्थापन गर्न र नर्सिङ शिक्षाको विकास गर्न सम्बन्धित सरोकारवालाहरुको बीचमा सहकार्य र साझेदारी हुनुपर्छ। त्यसैगरी शैक्षिक पाठ्यक्रम देशको परिप्रेक्षमा निर्माण गर्नुपर्छ। मानव संसाधन विकासको सिद्घान्त अनुसार नर्सहरुको श्रम बजार र पेसाको आवश्यकता मापन गर्न जरुरी छ। साथै उत्पादनलाई सीमित गरी गुणस्तर अभिवृद्घि गर्न सकिन्छ।
नर्सहरु अग्रपंक्तिका स्वास्थ्यकर्मी भएको हुनाले वर्तमान र भविष्यको अवसर तथा चुनौतीहरु चिन्न सक्नुपर्छ। अन्य पेसासँग सहकार्य गर्दै नीति–निर्माण गर्ने कार्य तथा अभ्यास गर्नुपर्छ ताकि समग्र समुदायको स्वास्थ्य प्रवर्धन गर्न सकियोस्। नर्सिङ क्षमता र सिपलाई प्राथमिक तहमा प्रतिकारात्मक र प्रवर्धनात्मक कार्यमा प्रयोग गर्न सकिन्छ। जसअन्तर्गत बालबालिकालाई खोप दिनु, समुदायमा आधारित स्वास्थ्य सेवा तथा शिक्षा प्रदान गर्नु आदि पर्छन्।
त्यसैगरी दोस्रो तहमा अस्पतालहरुमा बिरामीलाई शल्यक्रिया लगायतका कार्यहरुमा र तेस्रो तहमा विशिष्टीकृत अस्पतालहरुमा प्रयोग गर्न सकिन्छ। यी सबैका बाबजुद पनि नर्सिङ पेसाले प्रायःजसो विकासोन्मुख देशहरुमा राम्रो मूल्य र मान्यता पाउन सकेको छैन। नर्स र बिरामीको अनुपात जति हुनुपर्ने हो, सो कायम छैन। यसले नर्सको आवश्यकतालाई अवमूल्यन गरेको जस्तो देखिन्छ। त्यसैगरी नर्सलाई समयसापेक्ष विशिष्टीकृत तालिम तथा पेसागत वृद्घि विकासका अवसरहरु पनि अत्यन्त न्यून रहेको छ।
‘नर्सिङ नाउ क्याम्पियन’ तीन वर्षे ग्लोबल क्याम्पियन हो, जुन सन् २०१८ बाट २०२० सम्म चल्ने छ। यो कार्यक्रम विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को संयोजकत्वमा सञ्चालन भएको हो। यसको मुख्य उद्देश्य विश्वभरका नर्सहरुको प्रोफाइल र स्टाटसलाई अभिवृद्वि गर्दै समुदायको समग्र स्वास्थ्यलाई सुधार गर्ने रहेको छ।
नेपालमा हजारौंको संख्यामा रहेको नर्सहरुको व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र प्राइभेट सेक्टर (अस्पताल÷क्याम्पस) हरुसँग समन्वय गराएर कार्य गर्ने हो भने नेपालमै सुरक्षित रोजगारको व्यवस्था गराउन सकिन्छ र नेपालको स्वास्थ्य क्षेत्र पनि सुधार गर्न सकिन्छ। नेपालका नर्सिङ स्वास्थ्यकर्मीहरुको सरकार र समुदायबाट सही अभिभावकत्व आवश्यक छ, सरकारी र निजी क्षेत्र दुवैलाई पेसागत अवसर, उपयुक्त तलब–भत्ता र काम गर्ने वातावरण, सम्मान, भौतिक र पेसागत सुरक्षा सुनिश्चित गरिनुपर्छ।
स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम ठाउँका महिलाले नर्सलाई आफ्ना समस्या खुलेर भन्न सक्छन्। जस्तैः पाठेघर खस्ने, आङ खस्ने, रक्तश्राव जस्ता समस्याहरु। यदि नेपाली नर्सहरुलाई अवसर प्रदान ग¥यो, उनीहरुको सेवालाई बुझ्न सक्यो भने र आभार व्यक्त गर्न सक्यो भने उनीहरु विश्वका नर्सभन्दा कमजोर कुनै हालतमा छैनन्। साथै सरकारले पर्याप्त संख्यामा नर्सहरु समुदायमा राम्रो सुविधाका साथ पठाउने हो भने समुदायमा प्रजनन स्वास्थ्य, मौसम अनुसारका सरुवा रोगहरु, महिला तथा बालबालिका हिंसा जस्ता धेरै समस्या स्वास्थ्य सेवा र जन चेतनामार्फत हल भएर जान सक्छन्।
अबका दिनमा नेपालका स्वास्थ्य संस्था र प्राज्ञिक क्षेत्रहरुमा नर्सलाई सन्तोषपूर्वक काम गर्ने अझ बढी राम्रो वातावरण सिर्जना हुनुपर्छ। स्वास्थ्य संस्था वा संगठनले प्रदान गर्ने सुविधाको प्रकृति सेवाको गुणस्तरसँग प्रत्यक्ष समानुपातिक हुन्छ। नेपाल जस्तो विकासोन्मुख देशमा नर्सलाई अवसर कम छ, अवसर दिनका लागि लगानी बढाउनुपर्छ। जस अन्तर्गत नेतृत्व विकास गर्न आवश्यक शिक्षा र तालिम प्रदान गर्नुपर्ने, आधुनिक क्लिनिकल अभ्यास हुनुपर्ने, अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने, प्रमाणमा आधारित कामहरु गर्नुपर्ने, नीति निर्माण, सुपरिवेक्षण, मूल्यांकनमा नर्सिङलाई सहभागी गराउनुपर्ने र परम्परागत शिक्षा प्रणाली आधुनिकीकरण गर्नुपर्ने जस्ता कुराहरु अनुसन्धानले पुष्टि गरिसकेको छ। त्यसैगरी अस्पताल तथा क्याम्पसहरुमा पर्याप्त दरबन्दी हुनुपर्ने, नर्सिङ परिषद्को मापदण्ड अनुसार अस्पताल तथा क्याम्पस सञ्चालन हुनुपर्ने, समयसापेक्ष उचित प्रविधिको प्रयोग, राम्रो काम गरेवापत प्रोत्साहन, पुरस्कारको व्यवस्था हुनुपर्छ।
यस वर्षको नारालाई साकार बनाउन नर्सिङको नेतृत्व विकासलाई विशेष ध्यान दिऔं। नर्सिङको परम्परागत छविलाई परिवर्तन गरेर समाज र राष्ट्र चिनाऔं। स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य सम्बन्धी लक्ष्य र दिगो विकास लक्ष्य प्राप्त गर्न नर्स विना सम्भव छैन।
नेतृत्वलाई विकास गर्न लैंगिक असमानतालाई चिर्नुपर्छ, जुन नेपाल नर्सिङ संघमार्फत पनि भइरहेको छ र आगामी दिनमा संघका शाखाहरु पनि अझ सक्रिय हुँदै जानुपर्छ। केवल नर्सिङ पेसासँग मात्र होइन, अन्य पेसागत संगठन, राजनीतिक समूह, प्राविधिक समूह, सञ्चार लगायत अन्य समूहसँग बहस गर्नुपर्छ।
अन्त्यमा नर्सिङको शक्तिलाई कसैले अवमूल्यन नगरौं। नेपालका नर्सहरुले संख्यात्मक रुपमा, गुणात्मक रुपमा र संघको रुपमा विभिन्न चुनौतीका बाबजुद पनि विश्वसनीय र अद्वितीय कार्य गरिरहेका छन् र अझ धेरै गर्नुपर्ने छ। आशा गरौं, वर्ष २०२० नर्स र मिडवाइफको वर्ष भएकाले सरकारको तर्फबाट नर्सिङ क्षेत्रमा उल्लेखनीय सुधार सहित नर्सहरुका जायज मागहरु पूरा हुनेछ।
(भण्डारी त्रिवि विराटनगर नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख हुन्)