डा इन्दिरा पराजुली
विश्वव्यापी समस्याको रुपमा देखा परेको कोभिड–१९ महामारी नियन्त्रणका लागि वैज्ञानिक तथ्यमा आधारित उपायमध्ये व्यक्तिगत सरसफाइ, सामाजिक दूरी, शिष्टाचारयुक्त श्वासप्रश्वास आदि महत्वपूर्ण मानिन्छन्। यसका अलावा संक्रमणजन्य वस्तुहरुको उचित सरसफाइ तथा वातावरणीय व्यवस्थापन (खानेपानी, शौचालय सफाइ, फोहर पानी व्यवस्थापन) को पनि उत्तिकै भूमिका हुन्छ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अन्तर्गत क्लोरिनलाई विभिन्न मात्रामा निःसंक्रामक (डिसइन्फेक्टेन्ट) को रुपमा प्रयोग गर्नुपर्छ। कुनै पनि भाइरसजन्य संक्रामक रोगहरुको संक्रमण फैलनका लागि सजीव तथा निर्जीव दुवै सतहहरुको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले यस्ता सतहहरुमा निःसंक्रामकहरुको प्रयोग गरी संक्रामक रोगहरु संक्रमित व्यक्तिबाट सम्भावित व्यक्तिमा सर्ने दरलाई कम गर्ने गरिन्छ।
तर, नियन्त्रणको नाममा क्लोरिन जस्तो निःसंक्रामकको प्रयोग अव्यवस्थित, लापरबाही र उद्देश्य प्रतिकूल हुनेगरी यत्रतत्र टनेल, ट्यांकर आदिबाट स्प्रेको रुपमा किटाणुशोधन (डिसइन्फेक्सन) गर्न प्रयोग भइरहेको देखिन्छ। जुन क्रियाकलाप वातावरण र मानव स्वास्थ्यका लागि अति नै हानिकारक छ। तसर्थ, क्लोरिन के हो? यो कस्तो प्रकृतिकोे हुन्छ? हालसम्म यसको प्रयोगको अवस्था के छ? कोभिड–१९ महामारीमा यसको प्रयोग र अपनाउनुपर्ने सावधानीका बारेमा व्यापक विवेचना गर्न आवश्यक देखिएकोले वैज्ञानिक तथ्यहरुमा आधारित रही विविध पक्षहरुमा सारसंक्षेपीकरण गर्ने कोसिस गरिएको छ।
१) प्रकृतिमा क्लोरिन
क्लोरिन एक अस्थिर तत्व हो, जुन प्रकृतिमा अरु तत्वहरुसँग मिलेर यौगिकको रुपमा रहन्छ। यो मुख्यतः सोडियमसँग मिलेर सोडियम क्लोराइड (नुन) को रुपमा पाइन्छ। क्लोराइडको मात्रा समुद्री पानीमा लगभग १.९ प्रतिशत रहेको हुन्छ। माटोमा क्लोराइडको मात्रा समुद्री सतहको दूरी अनुसार फरकफरक हुन्छ। औसतमा सतही माटोमा क्लोराइडको मात्रा १० पाट्स पर मिलियन (पिपिएम) रहेको पाइन्छ। त्यसरी नै बोटबिरुवाको लागि क्लोरिन एक अति आवश्यक सूक्ष्म पौष्टिक तत्व पनि हो। जसको मात्रा माटोमा २ पिपिएमभन्दा कम भएमा बोटबिरुवाको वृद्धि विकासमा समेत यसले असर पार्छ।
२) क्लोरिनको प्रकृति
क्लोरिन एउटा हरित पहेंलो रङको ग्याँस हो र यसको गन्ध अस्वभाविक प्रकारको हुन्छ। जसको थोरै मात्राले पनि हाम्रो शरीरका विभिन्न भागमा ज्वलन गराउँछ। यसले मानिसमा पार्ने नकारात्मक प्रभाव यसको प्रयोगको मात्रा एवं प्रयोग गराइ, प्रयोगको अवधि र कार्य प्रकृतिमा भर पर्छ। शुद्ध क्लोरिन ज्यादै विषालु हुन्छ। यसको सूक्ष्म मात्राले पनि मानिसको मृत्यु गराउन सक्छ। ग्याँसको रुपमा भएको क्लोरिन अत्यधिक जोखिमयुक्त हुन्छ। त्यसैले निश्चित चापमा राखी स्टिलको सिलिन्डरमा झोल क्लोरिनलाई ओसारपसार गरिन्छ। पहिलो विश्वयुद्धमा क्लोरिन ग्याँसलाई एक केमिकल हतियारको रुपमा समेत प्रयोग गरिएको थियो। यो हावाभन्दा गह्रौं हुन्छ, त्यसैले यसको विषालु धुवाँ जमिनको सतहभन्दा माथि रहेको हुन्छ। जसले गर्दा नाक, घाँटी र आँखामा रहेको म्युकस मेब्रेनलाई असर गर्छ।
३) क्लोरिनको प्रयोग
सबैभन्दा बढी क्लोरिनको प्रयोग निम्न कार्य तथा क्षेत्रहरुमा गरिन्छः
क) पानी उपचार तथा ढल निकास कार्य,
ख) दुग्धजन्य उत्पादन उद्योगहरु
ग) पौडी पोखरी सफाइका कार्यहरु
घ) प्लाष्टिक उत्पादन उद्योगहरु
ङ) कृषि तथा भेटेरेनेरी
च) अस्पताल
४) क्लोरिनको उपलब्धता
क्लोरिन ग्याँसको अत्यधिक क्रियाशीलताको कारण यसलाई स्वतन्त्र रुपमा राख्न सकिँदैन। तसर्थ, क्लोरिनयुक्त विभिन्न यौगिकहरु बजारमा तरल तथा ठोस (पाउडर, ट्याबलेट) को रुपमा पाउन सकिन्छ।
क) तरलः सोडियम हाइपोक्लोराइड (ब्लिच)
ख) ठोसः क्याल्सियम हाइपोक्लोराइड
घरायसी प्रयोजनका लागि प्रयोग गरिने क्लोरिन झोल (ब्लिच) सजिलै बजारमा पाउन सकिन्छ। जसमा साधरणतयाः ५ प्रतिशत सोडियम हाइपोक्लोराइड रहेको हुन्छ। यसको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउनु पर्छः
क) धातु र रङ लगाएको सतहमा यसले असर (पाप्रा उप्काउँछ) गर्ने हुँदा यस्ता सतहमा प्रयोग गर्न हुँदैन।
ख) यसको प्रयोग गर्दा छाला तथा आँखाको सम्पर्क हुनबाट पूर्ण रुपमा जोगाउनु पर्छ।
ग) यसलाई डिटरजेन्ट (सर्फ) सँग मिसाउनु हँुदैन किनकी मिसावटले यसको प्रभावकारितामा कमँ आउँछ। त्यसैले कुनै पनि वस्तुलाई डिटरजेन्टले सफा गरी पुनः पानीले पखालेपछि मात्र किटाणुशोधन गर्नुपर्छ।
घ) यसको भण्डारण गर्दा केमिकल डिकम्पोजिसन हुने हुँदा घाम नपर्ने ठाउँमा राखी तुरुन्तै प्रयोग गर्नुपर्छ। यसको झोललाई पातलो (फिक्का) गरेको २४ घण्टाभित्र प्रयोग गरिसक्नुपर्छ।
ङ) जैविक (अर्गानिक) वस्तुहरु लगायत अन्य फोहोरहरुले यसको प्रभावकारितालाई कम गराउने हुँदा किटाणुशोधन गनुपर्ने सतह पहिला सफा गरेर मात्र प्रयोग गर्नुपर्छ। जस्तैः सवारी साधन।
५) क्लोरिन प्रयोगको मात्रा
विभिन्न अनुसन्धान प्रतिवेदनहरुले जनाए अनुसार कुनै पनि कडा सतहमा अवस्थित सार्स कोरोना भाइरसको लागि ०.०५ देखि ०.१ प्रतिशतको सोडियम हाइपोक्लोराइडको झोल ५ मिनेटसम्म राख्दा प्रभावकारी किटाणुशोधन हुने देखिएको छ। त्यसैले, संक्रमणको सम्भावना भएका कुनै पनि वस्तुहरु (व्यक्तिगत सुरक्षा कवच, सवारी साधन, बिरामीले प्रयोग गरेको कपडा, बेड, भाँडाकुँडा लगायतका अन्य वस्तुहरु) तटस्थ घरायसी डिटरजेन्टमा घोएपछि ०.०५ देखि ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइडले सफा गर्न सकिन्छ। तर थर्मामिटर जस्ता संवेदनशील वस्तुहरु र सतहहरु जुन सोडियम हाइपोक्लोराइडले नष्ट गर्छ, त्यसमा भने ७० प्रतिशत इथानोलको प्रयोग गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार क्लोरिनको प्रयोग निम्न अवस्थामा देहायको मात्रामा गर्न सकिन्छः
क) संक्रमित लत्ताकपडाको सरसफाइमा घरायसी डिटरजेन्टले सफा गरेपश्चात् ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुबाउने र घाममा सुकाउने।
ख) हातमा लगाउने पन्जा तथा गाउनलाई साबुनपानीले सफा गरी ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइडमा आधा घण्टा डुबाउने र घाममा सुकाउने।
ग) बिरामीबाट निस्किएका तरल पदार्थहरु परेको सतहलाई ०.५ प्रतिशत क्लोरिन झोल खन्याई १० मिनेटसम्म रहन दिई त्यसपछि सफा पानीले पखाल्नुपर्छ।
घ) सक्रमित व्यक्तिले प्रयोग गरेको शौचालयलाई दिनको कम्तीमा २ पटक ०.५ प्रतिशत क्लोरिन झोलले सफा गर्ने।
ङ) खानेपानीको शुद्धीकरणका लागि अन्तिम धारासम्म ०.२ देखि ०.५ मिलिग्राम प्रतिलिटर कायम राख्नुपर्छ।
यसरी क्लोरिनको सम्पर्कमा आउने व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत सुरक्षा कवच भने लगाउनु पर्छ।
६) क्लोरिनको जोखिम
क) क्लोरिनको वातावरणीय असर
क्लोरिन पानीमा मिसिनासाथ तत्कालै घुल्छ। यसरी घुलित क्लोरिन निश्चित अवस्थाहरुमा पानीबाट निस्केर हावामा समेत पुग्छ। विभिन्न क्रियाकलापबाट उत्सर्जित क्लोरिन वातावरणमा मुख्यगरी हावा र सतही पानीमा मिसिन्छ तर यसको अत्यधिक क्रियाशीलताको कारण भूमिगत पानीमा भने प्रवेश गर्दैन।
क्लोरिन जनावर तथा विरुवामा भण्डारण भएर रहँदैन तर विभिन्न अध्ययनका अनुसार क्लोरिनसँगको पटकपटकको सम्पर्कले रोग प्रतिरोधात्मक प्रणाली, रगत, मुटु र श्वासप्रश्वास प्रणालीमा असर पार्दछ। थोरै मात्रामा उत्सर्जन भएको क्लोरिनले पनि वातावरणमा असर गर्छ। यसको मुख्य असर पानी र जमिनमा बस्ने प्राणीहरुमा पर्छ। जसले गर्दा पारिस्थितिक प्रणालीमा समेत असर पुग्छ।
अर्गानोक्लोराइड, डाइअक्सिन जस्ता क्लोरिनका बाइप्रोडक्टहरु वातावरणमा लामो अवधिसम्म रहिरहन्छन्। यस प्रकारका बाइप्रोडक्टहरु अत्यधिक विषालु र क्यान्सर गराउने खालका हुन्छन्। क्लोरिनको प्रयोगसँगै बन्न गएका यस्ता बाइप्रोडक्टहरु विभिन्न औद्योगिक प्रयोजनबाट निस्किएको फोहर पानी हँुदै खोलानालामा मिसिँदा खोलानाला तथा पोखरीको पानीलाई प्रदूषित गराउँछ। जसले गर्दा त्यहाँ रहेका माछाहरुमा पनि असर पर्छ। मानिस तथा अन्य प्राणीले यस्ता माछा खाँदा शरीरमा डाइअक्सिनको मात्रा थप जम्मा हुन्छ। फेरि यस्ता प्राणी मानिसले खाँदा डाइअक्सिनको अझ अधिक मात्रा मानिसको शरीरमा जम्मा हुन्छ। यसरी शरीरमा जम्मा भएको डाइअिक्सन मानिसको रगतमा समेत पुग्छ। यसरी एक प्राणीबाट अर्को प्राणीमा खाद्य चक्रमार्फत रसायनको मात्रा बढ्दै जाने प्रक्रियालाई बायोएकुमुलेसन वा बायोम्याग्निफिकेसन भनिन्छ। यस प्रकारको प्रक्रियाद्वारा जम्मा हुने रसायनको मात्रा खाद्य चक्रको लम्बाईसँगै बढ्दै जान्छ।
ख) क्लोरिनको स्वास्थ्यमा जोखिम
इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (इपिए) का अनुसार हावामा रहेको क्लोरिनको मात्रा ०.५ पिपिएम भन्दा माथि हुन गएमा सो मात्रा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुने दावी रहेको छ।
क्लोरिनसँगको अल्पकालीन सम्पर्कका असरः विभिन्न अध्ययनले जनाए अनुसार १ देखि ३ पिपिएम मात्राले नाकमा ज्वलन गराउने तथा चिलाउने हुन्छ। ५ पिपिएम क्लोरिनको मात्रा आँखाको सम्पर्कमा आउँदा आँखामा ज्वलन गराउने तथा दुख्ने गर्छ। ५ देखि १५ पिपिएम मात्राले घाँटी खसखस गराउने हुन्छ। त्यसरी नै ३० पिपिएम क्लोरिनको सम्पर्कले खोकी लाग्ने, स्वाँस्वाँ हुने, छाती दुख्ने, बान्ता हुने आदि हुन्छ। ४० देखि ६० पिपिएम मात्राको सम्पर्कले फोक्सोमा पानी जम्ने हुन्छ। यदि ३० मिनेटसम्म ४३० पिपिएम क्लोरिन मात्राको सम्पर्क हुन गएमा मानिसको मृत्यु समेत हुन्छ।
क्लोरिनसँगको दीर्घकालीन सम्पर्कका असरः लामो अवधिको क्लोरिनसँगको सम्पर्कले शरीरको तौल घट्ने, आँखा तथा नाकमा ज्वलन हुने लगायत श्वास प्रणालीमा समेत असर गर्छ।
७) जथाभावी क्लोरिनको प्रयोग र असर
सन् १७७४ मा कार्ल विल्हेम सिहेलले पत्ता लगाएको क्लोरिनलाई पिउने पानीलाई किटाणुशोधन गर्नमा प्रयोग गरिँदै आइएकोमा सन् १८०० देखि यसको झोललाई डिसइन्फेक्टेण्ट र एन्टिसेप्टिकको रुपमा पनि व्यापक प्रयोग हुँदै आएको पाइन्छ। क्लोरिनजन्य केमिकलहरु सबैभन्दा उपयुक्त किटाणुशोधन गर्ने रसायनको रुपमा लिइन्छ। सजिलै उपलब्ध हुने, सर्वसुलभ र भाइरसका विरुद्ध पनि प्रभावकारी किटाणुशोधन गर्ने रसायन भएका कारणले धेरै देशहरुमा विभिन्न महामारीका समयमा यसको प्रयोग हँुदै आएको पाइन्छ।
अध्ययनले जनाए अनुसार सन् २०१४ देखि २०१६ सम्म इबोला महामारीको समयमा दक्षिण अफ्रिकी मुलुकहरुमा ०.५ प्रतिशतको क्लोरिन स्प्रे प्रयोग गरिएको थियो। जसका कारण पछि गएर स्वास्थ्यकर्मीहरुलाई श्वासप्रश्वास तथा आँखा र छाला सम्बन्धी समस्या देखिएको थियो।
विभिन्न किटाणुशोधन गर्ने रसायनहरु छर्कंदा शरीरभित्र प्रवेश गरिसकेको किटाणुलाई मार्न नसक्ने र शरीर बाहिर कपडामा भएका भाइरसहरुलाई मार्छ नै भन्ने वैज्ञानिक तथ्य पनि हालसम्म पत्ता नलागेकाले कोभिड–१९ को महामारीको समयमा पनि विश्व स्वास्थ्य संगठनले क्लोरिनजन्य निःसंक्रामकहरु जथाभावी छर्कने कार्य वातावरणीय तथा मानव स्वास्थ्यका दृष्टिले हानिकारक हो भनी सजग गराइरहेको छ। यस परिप्रेक्षामा यो वा त्यो माध्यमबाट मानव शरीरमा नै प्रत्यक्ष सम्पर्क हुनेगरी क्लोरिन छर्कनु भनेको त जानेर वा नजानेर मानव स्वास्थ्यमाथिकै ठूलो खेलवाड हो भन्नुमा अत्युक्ति नहोला।
वास्तवमा क्लोरिन र यससँग सम्बन्धित यौगिकहरु जुन निःसंक्रामकको रुपमा निर्जीव वस्तुहरुमा रहेका सूक्ष्म जिवाणुहरु जस्तैः ब्याटेरिया, भाइरस आदिलाई किटाणुशोधन गर्नका लागि प्रयोग गरिन्छ। तर सजीव वस्तुहरुमा रहेका जिवाणुहरुको वृद्धि विकासलाई रोक्नका लागि प्रयोग गरिने केमिकलहरुलाई एन्टिसेप्टिक भनिन्छ। त्यसैले अल्कोहलमा आधारित सेनिटाइजरहरु एन्टिसेप्टिकको रुपमा हात सफा गर्न प्रयोग गरिन्छ। तर क्लोरिनजन्य निःसंक्रामकहरुलाई हात धुने कार्यमा प्रयोग गरिँदैन। तथापि कतिपय अल्कोहलमा आधारित एन्टिसेप्टिकहरु, हात धुने सेनिटाइजर र साबुनपानीको उपलब्धता नभएको अवस्थामा मात्र ०.०५ प्रतिशतको क्लोरिन झोललाई हात सफा गर्न विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ। तर यो उपयुक्त विधि भने होइन। किनभने यति थोरै मात्रामा रहेको क्लोरिनले पनि हातको छाला जाने, छालामा ज्वलन गराउने लगायत अन्य रोगहरुको संक्रमण र दमको सम्भावनालाई बढाउँछ।
हाल प्रयोग भइरहेको ०.५ प्रतिशतको ब्लिचको झोललाई टनेल स्प्रे, पोटेवल ट्यांकी स्प्रे, ट्याङकर स्प्रे, आदिमार्फत बाटोघाटो, बाटोको छेउछाउ, सवारी साधन, मानिस लगायत जीवित वस्तुहरुमाथि छर्कने कार्य आफैंमा अत्यधिक जोखिम कार्य हो भन्ने कुरामा अब द्विविधा छैन। कुनै पनि निःसंक्रामकहरुको प्रयोग गर्दा निश्चित निर्देशिकाको पालना गर्दै आवश्यक व्यक्तिगत सुरक्षा कवचको प्रयोग गरी सावधानीका साथ गनुपर्ने हुन्छ। अझ वर्तमान महामारीमा नेपाल, भारत लगायतका कैयौं देशहरुले मानव शरीरमाथि नै क्लोरिनजन्य केमिकल स्प्रे गरेका समाचारहरु बाहिरिनाले यस प्रकारका मानव स्वास्थ्य तथा वातावरण प्रतिको हेलचेक्र्याइँले जोखिमको दर अझै बढ्न सक्ने देखिन्छ।
हाल चलिरहेको कोरोनाको महामारीसँगै देशका विभिन्न अस्पताल, सार्वजनिक संघसंस्था तथा औषधि कम्पनीहरुले समेत कोभिड–१९ भाइरसलाई नष्ट गर्ने भन्दै कतै स्यानिटाइजर स्प्रे टनेलमार्फत तथा कतै पोटेवल ट्यांकीबाट सोझै पाइपको माध्यमबाट क्लोरिनको झोल (सोडियम हाइपोक्लोराइड) छर्कने गरेको पाइएको छ।
त्यसरी नै राजधानी लगायत देशका विभिन्न सहरमा ट्यांकरबाट सडक छेउछाउ, कार्यालय परिसर भित्र, पर्खाल तथा घरका भित्ताहरुमा समेत क्लोरिन छर्कने कार्यहरु भइरहेको देखिन्छ। यसले भाइरसलाई त निष्क्रिय पार्ला तर वरपरका वनस्पति लगायतका जीवित वस्तुहरुलाई समेत असर गर्छ। यसरी जताततै क्लोरिन झोल छर्कने कार्यले एकातर्फ क्लोरिनसँगको सम्पर्कले मानव स्वास्थ्यमा गम्भीर असर पर्छ भने अर्कातर्फ वरपरको पारिस्थितिक प्रणालीको सन्तुलनमा समेत असर पुग्छ। जसले गर्दा अझ नयाँ प्रकृतिका भाइरसहरुको उत्परिवर्तन समेत हुन पुगी थप नयाँ महामारीको अवस्था सिर्जना नहोला भन्न सकिँदैन।
विभिन्न अध्ययनहरुले जनाए अनुसार जथाभावी प्रयोग गरिएको क्लोरिनको असरले विभिन्न ब्याक्टेरिहरुमा समेत निश्चित प्रकारका एन्टिबायोटिक विरुद्ध प्रतिरोधात्मक क्षमताको विकास भई त्यस्ता एन्टिबायोटिक औषधिहरुले मानिसमा रोग निको पार्न नसक्ने र थप संक्रमणको जोखिम बढ्ने देखाएको छ।
अन्त्यमा, उपलब्ध वैज्ञानिक तथ्यहरुको विश्लेषण गर्दा विभिन्न माध्यमबाट मानिस र वातावरणमा क्लोरिन छर्कने कार्य जनस्वास्थ्य र वातावरणका निम्ति जोखिमपूर्ण भएकाले यस कार्यलाई सम्बन्धित निकायहरुले तत्कालै पूर्णरुपमा बन्द गर्नुपर्ने देखिन्छ। सवारी साधनमा छर्कने गरिएको क्लोरिनको हकमा भने यसले धातुजन्य र रंगिन सतहलाई नष्ट गर्ने हँुदा ध्यान पु¥याउन जरुरी देखिन्छ।
साथै सवारी साधनमा जैविक एंव फोहर वस्तुहरु टाँसिने सम्भावना बढी रहेकोले क्लोरिनको किटाणुशोधन गर्ने क्षमतामा पनि ह्रास आउने हँुदा यसको उपयोगिता पनि खासै देखिँदैन। तथापि, सवारी साधनहरुमा क्लोरिन स्प्रे गर्नुअघि डिटरजेन्ट पानीले सफा गरेर मात्र स्यानिटाइजिङ टनेलभित्र स्प्रेको लागि पठाउन उपयुक्त देखिन्छ।
(डा पराजुली वातावरण स्वास्थ्य विज्ञ हुन्)