समीर तिमिल्सिना
विगत केही हप्तादेखि देश लकडाउनको अवस्थामा छ। दिनभरी मोबाइल र ल्यापटप प्रयोग गर्दा इमेल, फेसबुक र टुइटरका भर्चुअल भित्ताहरु मेरा मित्रहरुले अनलाइन शिक्षामार्फत प्राप्त गर्नुभएको सफलताको प्रमाणपत्रले ढाकियो। यसबाट आजका युवाहरूको इन्टरनेट शिक्षाप्रतिको रुची प्रष्ट हुन्छ। सारा संसार कोरोना भाइरसले निम्त्याएको माहामारीमा होमिएको वर्तमान अवस्थामा सम्पूर्ण स्वास्थ्य जनशक्ति मुलत: यसै संङ्क्रमणका बिरामीको हेरचाह र स्वास्थ्य समस्यासँग लड्न व्यस्त छ। यस माहामारीमा सम्पुर्ण मेडिकल शिक्षा भरियाले बिसाएको भारिझैं जहाँको त्यहीँ निन्द्रामा रहेको हामीले अनुभव गरेका छौं।
भविष्यका चिकित्सक र सम्पूर्ण स्वास्थ्य जनशक्ति उत्पादन गर्ने क्रममा लागेको डिस्क ब्रेकले मेडिकल शिक्षकलाई अभूतपूर्व चुनौती र अवसर दुवैको अवस्था सिर्जना गरेको छ। यस्तो आपतकालीन परिस्थितीको अवस्था मेडिकल शिक्षाको इतिहासमा शायदै कहिल्यै देख्न, सुन्न र पढ्न पाइन्छ र पाइएको पनि थियो। हालको स्थिर व्यवस्थालाई मध्यनजर गर्दै देशका अधिकांश शैक्षिक संस्थाहरुले इन्टरनेटको माध्यमबाट आफ्ना विद्यार्थी भाइबहिनीहरुलाई अनलाइन शिक्षा प्रदान गर्ने जमर्को गरेको पाइएको छ। आजसम्म प्राथमिकतामा पर्दै नपरेको अनलाइन शिक्षा आज आएर एकाएक पहिलो विकल्प बनेको छ। इन्टरनेटको माध्यमबाट गराइने यस्ता किसिमका पठनपाठन आफैंमा २१औं शताब्दीमा समयसापेक्ष र सान्दर्भिक हुँदाहुँदै पनि नेपाली समाजमा विभिन्न किसिमका मतभेद रहेको पाइन्छ। विगत केही समयदेखि मेडिकल शिक्षकको रुपमा अनुसन्धान गर्दै गरेको र मैले मेडिकल शिक्षामा गर्दै गरेको फेमर (FAIMER) फेलोशिपमा सिकेका केही अनलाइन शिक्षाका विषयमा हामीसामु रहेका चुनौतिका बारेमा जानेका कुरा व्यक्त गर्दैछु। निःत्तान्त व्यक्तिगतरुपमा पेश गर्नुपर्दा मैले देखेका चुनौतिहरु विशेषतः ३ किसिमका छन्।
१) पूर्वाधारसम्बन्धी समस्या: हामीसामु रहेको मुख्य समस्या यही नै हो। २०औं शताब्दीमा प्रकाशित एक अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको मेडिकल पाठ्यक्रमलाई विश्वकै अग्रगामी पाठ्यक्रमको संज्ञा दिइएको आडम्बर बोक्दै सोही विश्वविद्यालयले देशमा पहिलोपटक अनलाइन शिक्षाको झ्याली पिटेको थियो। २००८ सालदेखि आफ्नो मेडिकल पाठ्यक्रमा कुनै पनि किसिमको परिमार्जन गर्न नसकेको यही संस्थाले अनलाइन शिक्षाको झ्याली पिट्नु आफैँमा हास्यस्पद छ। लामो समयदेखि हाम्रो पाठ्यक्रम कालोपाटी शिक्षाबाट पावरप्वइन्ट शिक्षामा संक्रमण हुन नसकेको अवस्थामा अनलाइन शिक्षा कत्तिको सान्दर्भिक हुन्छ‚ हामी सम्पूर्ण शिक्षाकर्मीले विचार गर्नुपर्ने अवस्था आएको छ। त्रिभुवन विश्वविद्यालयले लकडाउनपछि अनलाइन पाढ्यक्रमको विकास गर्नपर्ने देखिन्छ।
हामी अनलाइन शिक्षाका लागि तयार छौ त? के हामी आफ्ना विगातलाई सजिलै भुलेर नयाँ आयाममा होमिन तयार छौं त? के हामीमा अनलाइन शिक्षासम्बन्धी यथेस्ट प्राविधिक ज्ञान छ? कतै हामीले विद्यार्थीको शैक्षिक जिन्दगीसँग खेलवाड त गरिरहेका छैनौं? यी प्रश्नहरुको उत्तर कसले कहिले दिने हो भविष्यले देखाउला तर अनलाइन शिक्षाका आफ्नै प्रवधान हुन्छन्, आफ्नै पद्धति र तरिका हुन्छन्‚ जुन हामी धेरैले विरलै अनुभव गरेकै हौंला। हामीमा न कहिल्यै यसको बयान गरियो न हामीले यस्तो अनुभव गर्ने चेस्टा नै गर्यौं। शिक्षक तालिम र अभिमुखीकरणमा उदासीन देखिएको वर्तमान प्रणालीमा ढिलै भएपनि राज्यले व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
यसै सन्दर्भमा अर्को समस्या भनेको इन्टरनेटको हो। हामीमध्ये कतिजनाका विद्यार्थीको पहुँचमा इन्टरनेट छ भन्ने तथ्याङ्क यकीन गर्नुपर्छ। दूर-दराजबाट मेडिकल शिक्षाका लागि सुगममा ऋण काडेर आएका विद्यार्थीमाझ यो प्रविधी कत्तिको न्यायोचित होला? विश्व बैंकको अध्ययनअनुसार अविकसित देशमा इन्टरनेटको पहुँच केवल ३४% मात्रै देखिएको छ। यो अनुपातमा नेपालमा केही बढी होला। तर इन्टरनेट पहुँच नभएका विद्यार्थीहरुलाई कसरी तर्कसंगत रुपमा अनलाइन शिक्षामा आबद्ध गर्ने भन्ने विषयमा कसैको ध्यान गएको छैन। मिलेसम्म विद्यार्थीहरुलाई श्रीलङ्कामा जस्तो नि:शुल्क अनलाइन शिक्षाको व्यवस्था गर्नुपर्छ नत्र मालदिभ्समा जस्तो अनलाइन शिक्षाका लागि नि:शुल्क मोबाइल डेटा उपलब्ध गराउन सक्नुपर्छ।
अनलाइन शिक्षाप्रति विद्यार्थीको आकर्षण हुँदाहुँदै पनि हाम्रा कति अभिभावक यसप्रति साकारात्मक हुनुहुन्छ? विकसित देशहरुमा गरिएको अध्ययनअनुसार ८०% भन्दा बढी अभिवावकको मत अन्लाइन शिक्षाको विपक्षमा देखिएको छ। आफ्ना भावी सन्ततिहरुको शिक्षामा बढ्दो पहुँचको चाहना राख्ने नेपाली आभिभावकमा अनलाइन शिक्षासम्बन्धी के कस्तो धारणा होला‚ अहिले नै यकीन गर्न गाह्रो छ।
२) समानता र समावेशीकरण: अध्ययनअनुसार नेपाललगायतका कम विकसित देशहरु अनलाइन शिक्षाका लागि २५% भन्दा कम तयार रहेको पाइएको छ। कक्षाकोठामा झैं सम्पूर्ण विद्यार्थीलाई यो प्रणालीमा अनिवार्य गर्न सकिँदैन। फ्रान्सजस्तो अतिविकसित राष्ट्रमा अनलाइन शिक्षाका कारण ५-८% विद्यार्थी ड्रप आउटको चपेटामा परेको पाइएको छ। नेपालमा पनि विभिन्न कारणले अनलाइन कक्षाको पहुँचमा आउन नसक्ने, नचाहने वा नआउने, आए पनि उपस्थितिको आभास नहुने विद्यार्थीलाई सम्बोधन गरेर अघि बढ्नु जरूरी हुन्छ। लामो समयदेखि कक्षाकोठाको शिक्षासँग परिचित शिक्षकहरुलाई समान प्रकृतिको कक्षा अनलाइनमार्फत लिन अर्को चुनौती छ। र सानैदेखि हाम्रा विद्यार्थीको पनि यस्तै कथा छ। कक्षाकोठामा प्रदान गर्ने शिक्षा र अनलाइनबाट लिइने कक्षा समान हुनेमा शंका छँदैछ त्यसमाथि मेडिकल शिक्षामा अनिवार्य हुने प्रयोगात्मक कक्षाको व्यवस्थापन अर्को चुनौती हो। र यो कक्षा ठिकसँग चले नचलेको मोनिटर गर्न छुट्टै संयन्त्रको गठन गर्न जरुरी छ। लकडाउनको समयमा रहेको शारीरिक‚ मनोवैज्ञानिक दूरी कम गर्न लकडाउनपछि अतिरिक्त कक्षाको व्यवस्थापन गर्न सकिन्छ। आवश्यक शैक्षिक सामग्रीको विश्वव्यापी शुलभ पहुँच पनि जरुरी छ। यसका लागि शैक्षिक संस्थाहरुले आफ्नो वेबसाइटमा विभिन्न शैक्षिक सामग्री उपलब्ध गराउन सक्नुपर्छ।
मुल्याङ्कन: मुल्याङ्कनका आफ्नै प्रबधानहरु छन्। मुल्याङ्कन दुई किसिमका हुन्छन्- फर्म्याटिभ र सम्याटिभ। हामीले लामो समयदेखि अपनाउँदै आएको मुल्याङ्कनको ढाँचा सम्याटिभ हो। यसैगरी फर्म्याटिभ मुल्याङ्कनमा समय-समयमा परीक्षा लिएर विद्यार्थीको प्रगतिको रिपोर्ट उपलब्ध गराइन्छ। अध्ययनअनुसार यो नै अनलाइन शिक्षाका लागि सर्वोत्कृष्ट मानिन्छ। हाम्रो वर्तमान पाठ्यक्रममा अनलाइन शिक्षाको मुल्याङकनको विषममा केही उल्लेख गरेको पाइँदैन। अनलाइन शिक्षालाइ वैधानिकता प्रदान गर्ने हो भने हाम्रो पाठ्यक्रममा रहेको मुल्याङ्कनको तरिकालाई परिमार्जन गर्नुपर्ने हुन्छ। मुल्यांकन अर्थात् परीक्षामा सफल भएका विद्यार्थीलाई अगाडि पढ्न दिने/नदिने, असफल विद्यार्थीको हकमा के गर्ने र परीक्षामा सामेल नभएका विद्यार्थीहरुको हकमा के कस्तो पारीणाम हुने भन्ने विषयमा समयमा नै निर्देशिका जारी गरिनुपर्छ।
कोभिड-१९ को विषम परिस्थितिले निम्त्याएको अनलाइन मेडिकल शिक्षाको नयाँ आयाम ‘हतारको काम लतरपतर" झैं अस्तव्यस्त नहोस्।
घरमै बस्नुस्, सामाजिक दूरी कायम गर्नुस्, सुरक्षित रहनुस्।
(चितवन मेडिकल कलेज)