सोम प्रसाद उपाध्याय
अस्पतालमा आवश्यक पर्ने विभिन्न शाखामध्ये बायोमेडिकल शाखा पनि एक हो। त्यसैले पनि यस फाँटमा कार्यरत बायोमेडिकल टेक्निसियनको आवश्यकतालाई सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका अस्पताल र सर्जिकल सप्लायर्सले पहिलो प्राथमिकतामा नराखेका होइनन्।
अहिले स्थानीय, प्रदेश र केन्द्र सबै तहका सरकारले बायोमेडिकल टेक्निसियनहरुलाई महत्व दिएको देखिन्छ। यद्यपि नतिजा उत्साहजनक छैन। नीति तथा कार्यक्रमले वास्तविक आवश्यकतालाई सम्बोधन गरेको देखिदैन।
बायोमेडिकल टेक्निसियनलाई भन्दा पनि बायोमेडिकल इन्जिनियर, मेडिकल उपकरण, अनुदान उपकरण र अस्पताल आपूर्ती गर्ने व्यक्ति एवं कम्पनीलाई फाइदा पुग्ने खालका कार्यक्रम धेरै छन्। बाहिरी मानव साधनलाई जोड दिँदा अस्पतालमा भएको दक्ष टेक्निसियनको ज्ञान, सिप र अनुभव हराउँदै गएका छन्। अनुदानमा भित्रिएका उपकरणले टेक्निसियनको दक्षतामा प्रश्न चिन्ह खडा गरको हिसाब कसैले राखेको छैन।
बायोमेडिकल इन्जिनियरहरुले बायोमेडिकल टेक्निसियनलाई उचित स्थान दिएर काम गर्ने हो भने नेपालको बायोमेडिकल क्षेत्रमा नयाँ फड्को मार्ने धेरै सम्भावना छ। तर उक्त सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन।
संरक्षणको अभावमा कवाडीमा जम्मा गरिरहेको मेडिकल उपकरणहरुमा ध्यान जानुपर्छ। मेडिकल उपकरणको योजना बायोमेडिकल टेक्निसियको उपस्थिति र ज्ञानको आधारमा हुनुपर्दछ।
माथिल्लो तहका कर्मचारी र निरिक्षकको ज्ञानले मात्र बायोमेडिकल टेक्निसियनको काम सम्भव हुँदैन। यो भन्नुपर्ने कुरा होइन। सम्बन्धित कार्यालयले नयाँ उपकरण खरिद गर्ने नीति नियम स्पेशिफिकेशन वा योजना बनाउँदा बायोमेडिकल टेक्निसियनको उपस्थितिलाई बेवास्ता गरिएको छ।
बायोमेडिकल टेक्निसियनले गरेको योगदानलाई बिर्सेर अधिकृत तहको भरमा मेडिकल उपकररणको उचित व्यवस्था हुने होइन। बायोमेडिकल फिल्डसँग जानकार नीति निर्माता नै बायोमेडिकल टेक्निसियनको समस्यालाई नीति नियमसँग जोड्न आवश्यक ठान्दैनन्। यसलाई विषय बनाउन डाराउँछन् वा जानी बुझि आफ्ना स्वार्थका कारण यसलाई पन्छाउन खोज्छन्।
बायोमेडिकल टेक्निसियनमध्ये अधिकांशले आफ्नो सिनियर बायोमेडिकल इन्जिनियर लगायत विभिन्न फिल्डका जस्तै इलेक्ट्रिसियन, प्लम्बर र मेकानिकलसँग मिलेर काम गर्ने गर्दछन्। नगन्य बाहेक सबैले यसरी काम गरिरहेको पाईन्छ। यो वास्तविकलाले गर्दा बायोमेडिकल टेक्निसियनले आफ्नो फिल्डको अपेक्षित प्रतिफल देखाउन सकेका छैनन्।
नीति तथा कार्यक्रमका हिसाबले कार्य विवरणसँग बायोमेडिकल टेक्निसियनलाई जोड्न नसकेको तीतो यथार्थ छ। यसले बायोमेडिकल टेक्निसियनले उचित स्थान नपाएको मात्र होइन, जोखिम भत्ता र स्वास्थ्य क्षेत्रमा पाउने अन्य सुविधाबाट पनि बञ्चित हुनु परेको छ। यसले बायोमेडिकल टेक्निसियनको उद्देश्यमा पनि चुनौती देखिएको छ।
मर्मत संभार र प्राविधिक विकासको लागि कार्यस्थल र मर्मत बजेट हुनु पर्दछ। बजेटको पहिलो उद्देश्य नै बायोमेडिकल टेक्निसियनको कार्य विकास र नयाँ प्रविधिलाई सहयोग पुर्याउने हुनुपर्दछ। जबसम्म बायोमेडिकल टेक्निसियनलाई मर्मत बजेट उपलब्ध गराउन वा जानकारी गराउन सक्दैनौ, कुरा लुकाउँछौं तबसम्म बायोमेडिकल टेक्निसियन माथि उक्लन सक्दैनन्। अब यस विषयमा कार्यान्वय नगर्न जरुरी भएको छ।
अन्त्यमा, नेपालको बायोमेडिकल फिल्ड सपार्ने हो भने व्यवस्थापन पक्षले बायोमेडिकल टेक्निसियनको कार्यगत सम्बन्धलाई बुझनु पर्दछ। उनीहरुसँग गरिएको अमिल्ल्दो व्यवहारलाई सम्बोधन गर्ने हुनुपर्दछ। यदि सजिलै सम्बोधन गर्न नसकेको खण्डमा बायोमेडिकल क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्न नसक्ने देखिन्छ।