शिला मैनाली
कोरोनाको महामारीपछि नेपालमा डर अनि त्रासको आतंक सिर्जना भएको छ। कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो छ।
संक्रमण बढ्दा अस्पतालका आइसोलेसनमा शय्याको अभाव भई केही संक्रमितलाई अस्पताल बाहिर व्यवस्थापन गर्नुपर्ने बाध्यता समेत देखिएको छ। २०७७ वैशाखको अन्त्यसम्म आईपुग्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ।
रोगको स्वरूपलाई हेर्दा बालबालिकादेखि वृद्धवृद्धासम्म साथै एकै परिवारका सम्पूर्ण सदस्यदेखि लिएर एकै समुदायका धेरै जनामा संक्रमण देखिनुले समुदाय संक्रमणमा पुगेको प्रस्ट हुन्छ। जुन संक्रमणको तेस्रो चरण हो।
नेपालको ७७ जिल्ला मध्ये २६ जिल्लामा यो संक्रमण फैलिसकेको छ। यो संक्रमण अन्य जिल्लामा पनि देखिन सक्ने संभावना बढ्दै गएको छ।
२०७६ फागुन २९ मा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको विश्व महामारी घोषणा गरेको थियो। भारतसँगको खुल्ला सीमाना तथा कोरोना सम्बन्धी जनचेतनाको अभावका कारण संक्रमित व्यक्तिहरु सहजै नेपाल प्रवेश गरेको देखिन्छ। जसले गर्दा तराई–मधेस संक्रमणको केन्द्र बन्ने प्रायः निश्चित देखिएको छ।
चैत्र १० गते सरकारले लकडाउनको घोषता त गर्यो। तर यो लकडाउन देशमा पहिलो पटक लागू भएकाले कार्यान्वयनको पक्ष फितलो भएको छ। नियम लगाउने र नियम मान्ने दुवै पक्षमा केही भ्रमहरू देखिन्थ्यो।
सरकारले के कस्तो परिस्थिति भएकालाई पास दिने, कुन अवस्थामा जनता घर बाहिर जाने साथै सुरक्षाकर्मीलाई अति जरुरी वा सामान्य कामले बाहिर निस्केका हुन् भन्ने थाहा पाउन र कडाइ गर्न आदि। त्यति मात्र कहाँ होर ? कतिपय ठाउँमा त लकडाउन कस्तो हुन्छ भनेर हेर्नकै लागि मात्र पनि मानिसहरू घर बाहिर निस्केको पाइयो। यसले गर्दा जनताहरूमा रोगप्रति चेतना कम छ भन्ने कुरा प्रस्ट हुन्छ।
मानिसहरू बाहिर निस्किहाल्ने, सही तरिकाले मास्कको प्रयोग नगर्ने, आँखाको बचावट नगर्ने, कपाल नछोप्ने जस्ता व्यवहारले पनि संक्रमण फैलिरहेको देखिन्छ। साथै भेन्टिलेसन कम भएको ठाउँमा रहँदा पनि पुरै परिवार संक्रमित हुने अवस्था छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बालिकामा संक्रमण देखापर्दा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य बिरामीहरूमा पनि एक प्रकारको त्रास सृजना भएको छ। अर्कोतर्पm संक्रमण देखापरेपछि नीजि अस्पताल सिल हुनुले बिरामी तथा आम नागरिकमै स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ भन्ने तर्पm प्रश्न चिन्ह खडा गरेको छ।
यस्तो विषम परिस्थितिमा छटपटी, हतास, चिन्ता तथा शिथिलता हुनु स्वाभाविक हो। हरेक पेशाको आफ्नो धर्म हुन्छ। सोही पेशागत धर्म अनुसार आफ्नो व्यक्तिगत जीवनलाई वास्ता नगरी पेशागत जिम्मेवारी पुरा गर्न तयार भएका अग्रपंक्तिमा उभिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई हरेक नागरिक तथा समुदायले आफ्नो स्थानबाट सहयोग पु¥याउनु पर्दछ।
क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरूले पनि उक्त संस्था वा अस्पतालको नियम अवलम्बन गर्नु, सञ्चारकर्मीलाई आवश्यक जानकारी टाढैबाट सही र पूर्ण रूपमा उपलब्ध गराउनु तथा बिरामी हुँदा र आपतकाल परिस्थितिमा बाहेक घर बाहिर ननिस्किएर सुरक्षाकर्मीलाई सघाउनु पर्दछ।
हाम्रो स्वास्थ्य र जीवनको लागि सेवा गर्ने ती अग्रपंक्तिका पेशाकर्मीलाई सम्मानपूर्वक व्यवहार गरेमा तथा विशेष सहुलियत कार्यक्रम ल्याएमा उहाँहरूको मनोबल उच्च राख्न सहयोग प्रदान गर्दछ। यस विषम परिस्थितिमा सरकार, जनप्रतिनिधि, अग्रपंक्तिका सेवाकर्मीहरू तथा आम नागरिकले उच्च मनोबलका साथ आफ्ना उत्तरदायी व्यवहारहरू गर्नुपर्छ।
कोरोनाबाट बचावट नै यसको उपचार हो। यसर्थ कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा राज्यदेखि व्यक्ति सबै जिम्मेवार हुनुपर्छ। क्वारेन्टाइन र आइसोलेसनबाटै मानिसहरू भाग्नु, संक्रमण भयो भनेर आपैmलाई हानी हुने काम गर्नु, घर वा अस्पतालको छतबाट हाम फाल्नु, सीमापारबाट आएकाहरूले आफ्नो विवरण लुकाइ अरूसँग घुलमिल गर्नु तथा सरकारी पासको दुरूपयोग गर्नु जस्ता कार्यले संक्रमणको जोखिम अझ बढाउँछ।
कोभिड–१९ संक्रमणले सामाजिक तथा मानसिक रोगको भयावह रूप लिन सक्छ। यसर्थ संक्रमणको सम्पूर्ण पक्षलाई मध्यनजर गरी सरकारदेखि लिएर आम नागरिकले आफ्नो मनोबल बढाएर संक्रमण रोकथाम र नियन्त्रणमा अघि बढ्नु पर्ने हुन्छ।
राज्यको प्राथमिकता अग्रपंक्तिमा खटिएका पेशाकर्मीको सुरक्षा पनि हो। घरको उपभोग्य सामान ल्याउने व्यक्तिले पनि घरभित्र नछिरी बाहिरैबाट सरसफाइ गरी कपडा फेरेर मात्र घर छिर्नु पर्दछ। जसरी संक्रमित व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई आफ्नो परिवारसँग घुलमिल गर्न नदिई अलग व्यवस्था गर्यौँ, त्यसैगरी सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्बन्धित निकायले अलग व्यवस्थापन गर्न जरुरी देखिन्छ।
अग्रपंक्तिका पेशाकर्मीहरूमा एकातर्पm पेशागत जिम्मेवारी पूरा गर्नुपर्ने, अर्कोतर्फ संक्रमण सर्ने र पैmलने त्रासले उनीहरूको मनोबल कमजोर बनेको देखिन्छ। लकडाउनलाई प्रभावकारी रूपमा अवलम्बन गरी परीक्षणलाई तीव्र गर्ने हो भने नेपाल तुलनात्मक रूपमा सुरक्षित स्थानको रूपमा लिन सकिन्छ।
यस आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा समेत कोरोनामुक्त नेपालको परिकल्पना गरिएको छ, जुन पुरा हुन सक्छ। कोरोना संक्रमण र लम्बिदै गएको लकडाउनका कारण मानसिक स्वास्थ्यमा असर पर्ने देखिन्छ।
संक्रमणको बेला मानसिक रूपमा संयमित भई उच्च मनोबलका साथ व्यक्तिगत तथा पेशागत कार्यहरू गर्नु पर्दछ। मनोबल उच्च बनाउनको लागि निम्न कार्यहरू गर्न जरुरी देखिन्छ :
– सेवा लिने र दिने व्यक्तिहरू सर्वप्रथम मानसिक रूपमा तयार हुनु पर्दछ। जसको लागि सुरक्षा सामग्रीको उपलब्धतामा विश्वस्त हुनु पर्दछ।
– क्वारेन्टाइन स्थलमा परामर्श सेवा उपलब्ध गराउनु पर्दछ।
– आइसोलेसनमा रहेका बिरामीलाई अन्य स्वास्थ्य सेवाको साथमा मनोचिकित्सा सेवा उपलब्ध गराउनु पर्दछ।
– समुदाय, वडा र नगरपालिकाहरूमा सामुदायिक स्वास्थ्य अन्तर्गतका सेवाकर्मीहरूले चेतनामूलक जानकारी दिनु पर्छ।
– क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरूको आधारभूत सुविधा र स्वतन्त्रतामा ध्यान पु¥याउनु पर्दछ।
– संक्रमणलाई एउटा दुःखद रोग÷घटनाको रूपमा स्वीकार गरी अघि बढ्नु पर्छ।
– आफ्नो कार्यालय र सरकारको परिस्थितिलाई वस्तुपरक ढंगबाट स्वीकार्नु पर्दछ।
– आफ्नो वृद्धि विकासको सम्बन्धमा आएको परिवर्तन सहन सक्नु पर्दछ। हेर्दैजाउँ, सहँदै जाउँ भन्ने भावना विकास गर्नु पर्दछ।
– जिन्दगी अर्थपूर्ण छ, यहि कुरालाई बुझेर जिन्दगीको अर्थप्रति सचेत रही कार्य गर्नु पर्छ।
– अहिले वातावरणले असर पारेको छ र हामीले आफ्नो अनुशासित व्यवहारबाट वातावरणलाई असर पार्न सक्छौँ भन्नेमा विश्वास गरी व्यवहार गर्नु पर्दछ।
– आफ्ना व्यक्ति तथा सामाजिक सम्बन्धहरूलाई सकारात्मक बनाउनु पर्दछ। जसले गर्दा असल सामाजिक मनोविज्ञानको विकास हुन्छ। यसबाट नै सहयोग, एकता बलियो हुन्छ।
अतः यस कोभिड–१९ को उच्च संक्रमणको परिस्थिति रेड जोनमा रहेका जनता तथा अग्रपंक्तिमा खटिएका सम्पूर्ण सेवाकर्मीहरूको परीक्षण गराई ढुक्क हुनु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ। अर्कोतर्पm यस विषम परिस्थितिमा व्यक्तिदेखि राज्यस्तरसम्म उच्च मनोबलका साथ व्यवहारहरू गर्नुपर्ने देखिन्छ। सकारात्मक सोच, भरोसा तथा विश्वासले मनोबल उच्च राख्न सहयोग गर्दछ। यसरी उच्च मनोबलका साथ कार्य गर्नाले यस संक्रमणको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।
(मैनाली मानसिक स्वास्थ्य नर्सिङकी रिसर्च स्कलर हुन्। )