सामाजिक सञ्जालमा शनिबार मध्यान्हतिर तस्बिरसहित एउटा लज्जाजनक खबर आयो-काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ‘क्वारेन्टाइन’मा बसेको घरको गेटमा मान्छेहरु जम्मा भए र अलग्गै बसेकाहरुलाई दुत्कारे।
घरबाहिर जम्मा भएको भीडले ‘क्वारेन्टाइनमा बसेकाहरुलाई अर्कै ठाउँमा लैजानुपर्ने’ भन्दै नाराबाजी पनि गर्यो। हुलहुज्जत गर्यो। भौतिक दूरी कायम नगर्नु, कतिपयले मास्कसमेत नलगाउनु र निषेधाज्ञाका बेला समूहमा जम्मा हुनुले दर्शाउँछ कि यो हुलमा भएकाहरु कति सचेत छन्? कति संवेदनशील छन्?
कोरोनाबाट टोललाई जोगाउने ‘ठेक्का’ लिएको ठान्नेहरु आफ्नै सुरक्षाको उपायमा अन्जान छन्। यस्तै लापरबाहीका कारण कोरोना संक्रमण भएर अस्पताल पुग्नेहरुलाई जोगाउन घरपरिवार त्यागेर डटिरहेका छन् ती स्वास्थ्यसेवीहरु। परिवारको साथ छाडेर एउटा अलग्गै घरमा बस्नु उनीहरुको रहर होइन, बाध्यता हो। कर्तव्यनिष्ठ भएर अरुलाई जोगाउन र आफू जोगिन अलग्गै घरमा बसेका ‘फ्रन्टलाइनर’प्रति गरिएको यो व्यवहार आफैंमा चेतनाशून्य र असामाजिकमात्र थिएन, अमानवीय पनि थियो।
हो, कोभिड–१९ को संक्रमणबाट बँच्न र बचाउन बेलैमा पर्याप्त तयारी होस् र सबैमा संक्रमणबाट बँच्ने सही सूचना पुग्ने वातावरण होस् भन्दै सरोकारवाला निकायलाई झक्झक्याउँदा पनि नेपालमा संक्रमणको पारो दिनप्रतिदिन उकालो लागेको छ। त्यसैले आफू र आफ्नो परिवारलाई जोगाउने पहिलो दायित्व प्रत्येक व्यक्तिको छ। सचेत हुँदाहुँदै पनि कुन बेला कसरी कोरोना भाइरसको चपेटा परिन्छ भन्ने अनुमान लगाउन मुस्किल छ। सरकारको काम गराइएको अवस्था हेर्दा ‘जोगाउला’ भन्ने भरोसा उठ्न थालेको छ। यस्तो बेला भरोसा गर्न सकिने एकमात्र ठाउँ अस्पताल हो र यिनै स्वास्थ्यकर्मी हुन्।
टोलमा संक्रमितको उपचारमा खटिनेको डेरा छ भन्ने सुन्दा आतंकित हुन्छौं हामी। त्यसको परिणाम यो हुलहुज्जत हो। तर, संक्रमित भएको जान्दाजान्दै उपचार गर्न कसरी तम्सिरहेका होलान् यी स्वास्थ्यकर्मीहरु? यही समाजप्रतिको जिम्मेवारीबोधले न हो। मानवीयतालाई प्राथमिकतामा राखेर न हो। तर, हाम्रा लागि जोखिम मोल्नेहरुका लागि हामी मानवीय व्यवहार गर्न सक्दैनौं? महामारीविरुद्ध लडिरहेका यी सिपाहीहरुलाई निरुत्साहित गरेर कसरी जितिएला कोरोनाविरुद्धको लडाइँ? समाजले महसुस गर्नुपर्ने बेला भएको छ।
केही दिनअघि चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले यस्तै अपमान बेहोर्नुपर्यो। त्यहाँका बिरामी उपचार गर्ने क्रममा संक्रमित भए उनी। उनीबाट उनकी श्रीमतीलाई पनि सर्यो। हाल संक्रमणमुक्त भइसकेको डा बगाले दम्पत्ति ‘स्याबासी’को भागीदार थियो। तर, स्थानीय जनप्रतिनिधिकै नेतृत्वमा ‘कोरोना संक्रमितको घर’ भन्दै अपमानको तुल टाँस्न पुग्यो समाज। उनको घर रहेको भरतपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका मान्छेहरु पुगेका थिए। यसबाट हतास भएका डा बगालेले आफ्ना भावना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोखेका छन्।
भाडामा बसिरहेका स्वास्थ्यकर्मीलाई निस्किएर जान भनिएको, पिसीआर नदेखाइ पस्न नदिइएको र स्वास्थ्यकर्मीलाई अपमानित गरेका घटनाहरु नियमितजस्तो सुनिन, देखिन र पढिन थालेका छन्। काठमाडौंनजिकैको दक्षिणकाली नगरपालिकामा त स्थानीय सरकारले नै स्वास्थ्यकर्मीलाई क्वार्टर छाड्न उर्दी जारी गर्यो। त्यो पनि कोरोना संक्रमितलाई जोगाउन आइसोलेसन बनाउने भनेर। आइसोलेसनमा पुगेका संक्रमितको उपचार गर्नेलाई लखेट्ने सोचले कसरी संक्रमित जोगाउला? त्यसलाई आइसोलेसन बनाउनुपर्ने हो भने त्यहाँ बसिरहेका स्वास्थ्यकर्मीको वैकल्पिक व्यवस्था नगरपालिकाले गर्न सक्नुपर्थ्याे। यसले महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई हौसला मिल्थ्यो।
हामीले आफूलाई पश्चिमी मुलुकका नागरिक भन्दा बढी सामाजिक नागरिकका रुपमा चित्रण गरिरहेका हुन्छौं। तर, सामाजिक चरित्र देखाउनै पर्ने ठाउँमा हामी असामाजिक प्रवृत्ति दर्शाउँछौं। महामारीमा लडिरहेका स्वास्थ्यकर्मीलाई हौस्याउन स्वास्थ्यकर्मी हिँडिरहेको देख्दा बाटोमा उभिएका नागरिकले ताली बजाएको समाचार हामीले सुनेका छौं। अमेरिकाका कतिपय अस्पतालको ढोकाअघि नागरिक समाजका मान्छेहरुले ‘जहाँ भगवान छन्’ भनेर ब्यानर टाँसेको समाचार पढेका छौं। विदेशमा बसेका नेपाली डाक्टरहरु अपरिचित छिमेकीले ‘के सहयोग गर्न सक्छु?’ भनेर सोधेको घटनालाई लेखमार्फत् प्रस्तुत गरिरहेका छन्। तर, यहाँ स्वास्थ्यकर्मीहरुले अपमान र घृणा भोग्नु परेको छ।
देशमा कोरोना संक्रमण बढ्दै जाने तर कोरोनाविरुद्धको लडाइँका ‘फ्रन्टलाइनर’को मनोबल घट्दै जाने परिस्थिति सिर्जना हुनु शुभसंकेत होइन। के थाहा कोरोना पोजिटिभ रिपोर्ट आउने भोलिको पालो डाक्टरको डेराअघि नारा लगाउने जाने र संक्रमितको घरअघि तुल टाँस्न जानेमध्ये कसैको छ कि? यही व्यवहार कसैले आफूमाथि गर्यो भने खुसी भइएला कि दुःखी? यत्ति कुरा मनमा राखियो भने कोरोना पोजिटिभ वा कोरोनाविरुद्ध डटिरहेकाहरुलाई अपमान गर्न उक्साउने ग्रन्थी निष्क्रिय हुन्छ।
कोरोनाविरुद्धको लडाइँ पेचिलो बन्दै गइरहेको वर्तमान अवस्थामा तपाईं हामीले लड्नुपर्दैन, आफू जोगिदिए पुग्छ। तर, स्वास्थ्यकर्मीले जोगिएर पुग्दैन, लड्नैपर्छ। त्यसैले तपाईं हामीलाई जोगाउन आफ्नो ज्यान हत्केलामा लिएर हिँडिरहेकाहरुलाई सके दश औंला जोडेर सम्मान गरौं, सकिदैन भने चोर औंलो देखाउने कुकृत्यबाट आफूलाई जोगाउँ।
यो पनि :