काठमाडौं- पछिल्लो समय कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि विभिन्न खाले आक्रमण भइरहेका छन्। कतै घरमा छिर्न नदिने त कतै डेराबाट निकाल्ने। सरकारले समेत स्वास्थ्यकर्मी बसिरहेको क्वाटर खाली गर्न दबाब दिने। संक्रमित स्वास्थ्यकर्मीका घरमा ब्यानर टाँस्न जाने, गाडीको सिसा फुटाइदिने, भौतिक आक्रमण गर्ने जस्ता हिंस्रक कार्य बढिरहेका छन्।
यस्ता अमानवीय कार्यले स्वास्थ्यकर्मीको मनोबल गिराएको छ। विभिन्न अभावमा पनि ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीमाथि भएका यस्ता व्यवहारप्रति सरकारले समेत बेवास्ता गरेको छ।
स्वास्थ्यकर्मीलाई जोखिम भक्ताको आवश्वासन दिएर काम लगाइरहेको सरकारले जोखिम भत्ता उपलब्ध गराएको छैन। यस विषयमा पनि पटकपटक स्वास्थ्यकर्मीले कुरा उठाउँदै आएका छन्।
पछिल्लो समय अस्पतालमा ड्युटी गर्न जाने, संक्रमित भएर घरमा आइसोलेनमा बस्न चाहने स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भइरहेका छन्।
यही विषयमा हामीले स्वास्थ्यकर्मीका विभिन्न संघ–संगठनका प्रतिनिधिलाई स्वास्थ्यकर्मीमाथि भइरहेका व्यवहार र असरबारे सोधेका छौँ।
स्वास्थ्यकर्मीलाई यस्तो अवहेलना किन?
डा लोचन कार्की, अध्यक्ष नेपाल चिकित्सक संघ
कोरोना महामारीमा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मी ज्यानको माया मारेर, घरपरिवार छाडेर दुर्व्यवहार गर्नेहरुकै लागि काम गरिरहेका छौँं।
कोरोना आज वा भोलि सकिने होइन। यो लामो समय जान्छ भनेर विश्व स्वास्थ्य संगठनले समेत भनेको अवस्थामा समाजमा बस्ने सबै मिलेरै लड्नुपर्ने छ। यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मीलाई मानिसहरुले दुव्र्यवहार गर्नु निकै दुखद र आपत्तिजनक छ।
कोभिडले मान्छे चिन्दैन। सबैलाई लाग्न सक्छ। स्वास्थ्यकर्मीलाई मात्र होइन, हामीलाई छिछि र दूरदूर गर्ने तिनै मान्छेलाई पनि लाग्न सक्छ। त्यो समयमा उपचार गर्ने हामीले नै हो। अनि हामीलाई यस्तो हेयको दृष्टिले किन हेरिएको छ?
बाहिरी देशहरुमा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीलाई कस्तो सम्मान गरिएको छ। यस्तो महामारीमा अरुको ज्यान बचाउन लागि परेको भन्दै फूलमाला, तालीले सम्मान गर्दै मनोबल बढाउने काम भइरहेको छ। दिनदिनै दोहोरिइरहेका छन् यस्ता घटना।
यसै पनि नेपालबाट डाक्टर, नर्स पलायन हुने क्रम बढी छ। कोभिडको यो महामारीमा हामीमाथि भएका यस्ता अवहेलनाका कार्यले झन् वितृष्णा जगाएको छ।
देशभित्रै हामीमाथि यस्ता अमावनीय कार्य हुँदा सरकार, पुलिस प्रशासन, स्थानीय जनप्रतिनिधि मुकदर्शक भएर बस्दा पेसाप्रति नै निराश हुनुपर्ने अवस्था आएको छ।
अहिले समाजमा भइरहेका यस्तो हेयको व्यवहारले परिवारमा पनि निराशा छ। परिवारले पनि नेपालमा यसरी बसेर हुँदैन भन्न थालेको अवस्था छ।
बानेश्वरमा हिजो भएको घटना, अस्ति चिववनमा डा बगालेमाथि भएको घटना, धनुषा, विराटनगर, भैरहवा, कपिलवस्तु लगायतका स्थानमा चिकित्सकमथि भएका अपमानित व्यवहार होस वा अन्य समयमा कार्यस्थल काम गरिरहेको समयमा डाक्टरमाथि हुने भौतिक आक्रमण, यस्तो समयमा राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायत अगाडि आउनुपर्ने हो।
तर, उहाँहरु भीडकै पछि लाग्नुहुन्छ। उहाँहरुलाई भीडकै पछि लागे फाइदा छ। पुलिस प्रशासन पनि यस्ता खाले आक्रमणका समयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुको साटो पैसा लेनदेन गरेर मिलाउनु भन्नेतिर लाग्छ।
यो कानुनी राज्य हो। जो दोषी छ, उसलाई छानबिन गरी कानुन बमोजिम कारबाही गर्नुपर्छ तबमात्र कानुनको पालना हुन्छ।
एउटा मेसिन वा उपकरण बिग्रिएमा बनाउन सकिएला वा अर्को ल्याउन सकिएला तर चिकित्सक संक्रमित भई ज्यान गएमा वा पेसा छाडेमा हजारौँ मानिसले उपचार पाउँदैनन्। एउटा चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी उत्पादन गर्न वर्षौं लाग्छ।
हामी नेपाली पहिला यस्तो थिएनौं। किन हामीले हाम्रो भाइराचा र परिचयलाई बिर्सेका छौँ? किन आफ्नै समाज, घरमा बस्ने अर्को व्यक्तिलाई अपमान गरिरहेका छौँ। यसले हामीलाई काम गर्न थप तनाव बढाएको छ।
यो कोभिडले सायद यस्ता बिर्संदै गएका हाम्रा व्यवहार पनि सम्झाउने छ। हामीलाई फेरि अुनशासित भएर घर–समाजमा एकअर्कालाई, एकअर्काको पेसालाई सम्मान गर्ने बानीको विकास गराउने छ भन्ने विश्वास छ।
यही समयमा स्वास्थ्यका संरचना बढाउने, सेवा थप्ने, जनशक्ति बढाउनेतर्फ पनि सरकारको ध्यान जानेछ भन्ने आशा छ।
स्वास्थ्यकर्मीलाई दुःख दिने होइन, सहज काम गर्ने वातावरण बनाऔँ
डा कीर्तिपाल सुवेदी, महासचिव, सरकारी चिकित्सक संघ
मलाई यस्ता घटना जनता सूसूचित नभएका कारण भइरहेका छन् जस्तो लाग्छ। सरकारले अझै पनि जनतालाई सत्यतथ्य र सही सूचना दिन सकेको छैन। त्यसतर्फ अझै प्रभावकारी रुपमा लाग्नुपर्छ।
अर्को कुरा, सबै नबुझ्ने मान्छेले मात्र स्वास्थ्यकर्मीलाई दुःख दिए, आक्रमण गरे, दुर्व्यवहार गरे भन्ने पनि होइन। यहाँ त बुझेका, जानेका मान्छेले नै यस्तो गरिरहेका छन्।
आफ्नै वडा, निर्वाचन क्षेत्रमा यस्ता अमानवीय कार्य हुँदा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका मान्छेहरु यस्तै मान्छेको पक्षमा देखिन्छन्। भोटको खेलका कारण स्वास्थ्यकर्मीमाथि अमानवीय कार्य हुँदा कोही बोल्दैनन्। यो निकै दुखद कुरा हो।
हामी दिनरात नभनी कसको लागि काम गरिरहेका छौँ त भन्दा जनताकै लागि। जनता चाहिँ अस्पतालबाट घर आउँदा, कोठा आउँदा हामीबाटै सर्छ भनेर हामीलाई लखेट्ने कार्यमा लागेको देख्दा त्योभन्दा विरक्त के हुनसक्छ।
फेरि कोरोना भाइरस, घर जाँदैमा टोलमा जाँदैमा फैलिइहाल्ने वा सरिहाल्ने पनि होइन। हामीलाई थाहा छ, कसरी बच्ने भनेर। हामी संक्रमितलाई उपचार गरी निको बनाउने मान्छे आफैं सार्दै हिँड्ने काम गर्छौं होला त? सबै सुरक्षाका कुरा अपनाएका हुन्छौँ। यस्तो कुरा सबैले बुझुनुपर्यो नि।
नेपालका युवा डाक्टर, नर्स अन्य स्वास्थ्यकर्मीहरु विदेश पलायन हुने क्रम बढी नै छ। कोभिडको यो महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेको यस्तो व्यवहारले पलायन हुन थप सहयोग गर्छ। यसै पनि नेपालमा दक्ष स्वास्थ्यकर्मीको अभाव छ। टोल–समाजबाट हुने यस्ता कार्यले पलायनलाई बढाउन सहयोग गरिरहेको छ। त्यसको असर भोलि हामीलाई नै पर्छ।
सरकारले यस्ता घटना हुँदा कहिल्यै कसैलाई कारबाही गरेको छैन। हामीले सरकारी चिकित्सक संघको तर्फबाट पनि गत शुक्रबार स्वास्थ्यमन्त्रीलाई भेटी स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरा स्मरण गराएका थियौं।
सबै कुरा विज्ञप्ति र भनाइले मात्र हुँदैन, गलत गर्नेलाई कारबाही भए पो अर्को पटक यस्ता कार्य गर्न हच्किन्छन्। यस्ता विषयमा कारबाहीको कुरै छोडौं, के भएको हो भनेर छानविन समेत हुँदैन। घटनाबारे सरकारले बुझ्ने कोशिस नै गर्दैन। त्यसैले यस्ता गलत प्रवृत्तिले प्रश्रय पाइरहेका छन्।
कृपया हामी तपाईंहरुकै सेवामा दिनरात खटिइरहेका छौँ। हामीलाई दुःख होइन, काम गर्ने वातावरण बनाइदिनुहोस।
राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक कार्यकर्ता किन बोल्दैनन्?
डा रमेश ढकाल, महासचिव, राष्ट्रिय चिकित्सक संघ
यस्ता घटना कि रोगबारे सही सूचना नपाएर वा गलत थाहा पाएर हुन्छ कि त थाहा पाएर पनि नपाएझैं गरेका कारण हुन्छ।
पछिल्लो समय डाक्टर, स्वास्थ्यकर्मीहरुमा यस्ता खालका घटना बढ्नु निकै दुखद छ। संक्रमण कसरी सर्छ भन्ने थाहा पाएर पनि थाहा नपाएझैं गरी टोले गुन्डाहरुले त्यसरी होस्टलमा बस्न गएका भाइहरुलाई हातखुट्टा भाँचिदिन्छु भन्दै हिंस्रक व्यवहार गर्नु अमानवीय हो।
अहिले सबैलाई कोरोना भाइरसबारे थेरथोर थाहा छ। ८–९ महिनादेखि हामी यो भाइरसबारे सुन्दै आएका छौं। स्वास्थ्यकर्मीहरु आफू संक्रमित भए पनि अरुलाई नहोस भन्ने कुरामा सधैं जिम्मेवार हुन्छन्।
उनीहरु कहिल्यै आफूबाट अरुलाई संक्रमण सरोस् भन्ने चाहँदैनन्। अरु बिरामीको उपचार गर्ने क्रममा नजिकबाट हेर्नुपर्ने हुँदा संक्रमण सर्छ।
संक्रमण डाक्टर, नर्स मात्र होइन, जोकोहीलाई हुन सक्छ। यो रोगले कसैलाई चिन्दैन। यस्तो अवस्था हामीले संक्रमितलाई नै दुर्व्यवहार गर्नु गलत हो। फेरि रोग लाग्दैमा मरिहालिने पनि होइन।
हो, दीर्घरोगी, रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर भएका मानिस बढी प्रभावित हुन्छन्। उनीहरुलाई बचाउन, अरुलाई पनि संक्रमणबाट बचाउन हामी सबैको भूमिका हुन्छ।
९५ प्रतिशत संक्रमण नाकबाट सर्ने भएकाले मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हातको सरसफाइ गर्ने हो भने संक्रमणबाट बच्न सकिन्छ।
संक्रमित भएका व्यक्ति पनि होम आइसोलेसनमा बस्ने, लक्षण देखिएमा अन्य स्वास्थ्य समस्या भएमा मात्र अस्पताल जाने गर्नुपर्छ।
सरकारलाई हामीले पटकपटक भन्दै आएका छौँ, कोभिड र ननकोभिडका लागि एउटै अस्पतालमा उपचार गरिनु हुँदैन। त्यसका लागि अलगअलग अस्पतल बनाइनुपर्छ। नत्र अस्पताल नै संक्रमणको केन्द्र बन्न सक्छ। धेरै स्वास्थ्यकर्मी संक्रमित बन्न सक्छन्।
स्थानीय प्रशासनले संक्रमितलाई राख्न आइसोलेसनको राम्रो व्यवस्था गर्नुपर्छ। सरकारले स्थानीय तह र नागरिक समुदाय मिलेर काम गरे मात्र सबै सुरक्षित रहन सकिन्छ। सरकारले निजी अस्पताललाई स्पष्ट नीति लिएर सँगै काम गर्नुपर्ने समयमा हतोत्साही बनाउन लागेको महसुस भएको छ।
सरकारले त सहकार्य गरी निजी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्ने, पिपिई लगायतका सामग्रीका लागि सहजीकरण गनुपर्ने हो। यस्तो भएको छैन।
हामी स्वास्थ्यकर्मी त संक्रमणको सधैं जोखिममा छौँ। जोखिम छ भनेर हामी भाग्न मिल्दैन। यो हाम्रो पेसा, धर्म दुवै हो। त्यसैले यस्तो समयमा समाजले हामीमाथि फरक व्यवहार गर्ने, अपमानित गर्ने कार्य रोकेर हौसला बढाउने काम गरौं। मनोबल बढाउने काम गरौँ।
स्वास्थ्यकर्मीको मनोबल घटाउने काम भइरहेको छ
डा रितेश थापा, महासचिव, गैरसरकारी चिकित्सक संघ
कोरोना महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु घरपरिवार नभनी ज्यान जोखिममा राखेर सेवामा खटिइरहेका छन्। यो बेलामा उहाँहरुलाई सम्मान गर्नुपर्ने र हौसला बढाउनुपर्ने बेलामा मनोबल घटाउने काम भइरहेको छ।
मानिसहरुमा डर धेरै छ। जनतामा सही सूचना र जानकारी नै पुगेको छैन जस्तो लाग्छ। यसबारे विभिन्न जानकारी सरकार अनि स्वास्थ्यकर्मीहरुले पनि दिइरहेका छन्। तर नेपाली जनताले नबुझेको जस्तो पनि लाग्छ।
यस्तो विषय परिस्थितिमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, बसेको घरमा घेराउ तथा विरोध गर्ने यो निकै दुखद घटना हो। यस्तो हुन नपर्ने हो। स्वास्थ्यकर्मी मात्र होइन, कसैलाई पनि यसरी विरोध तथा घेराउ गर्ने हुनु हुँदैन। आफ्नो घरमा, क्वारेन्टाइनमा, आइसोलेसनमा बस्नै नपाउने हो भने यो मानव अधिकार हनन पनि भयो।
म आफैं पनि पाँच दिनदेखि क्वारेन्टाइनमा थिएँ। मेरो शनिबार मात्र पिसिआर नेगेटिभ आयो। क्वारेन्टाइनमा बसिरहँदा मलाई कोरोनाको भन्दा पनि समाजको डर बढी थियो। मेरो घरमा पनि आएर घेराउ गर्छन् कि, अरुमा भए जस्तै हुन्छ कि भन्ने डर थियो। कोरोनासँग जित्छु भन्ने आत्मविश्वास थियो तर समाजलाई कसरी जित्ने भन्ने डर मनमा थियो।
समयमै सरकारले कुनै पहल नगरे ठूलै दुर्घटना हुनसक्छ। अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल घटेको छ। यसले भोलिका दिनमा नेपालमा भएका चिकित्सकहरु विदेशिने सम्भावना बढेको छ। कतिपय चिकित्सकहरुले कोरोना सहज भएपछि विदेशिने मानसिकता समेत बनाइसकेको पाएको छु।
हामी दिनरात खटेर बिरामीको उपचार गर्छौं। त्यही बिरामीले हामीलाई कोरोना भयो भने तिरस्कार गर्छन्, हामीलाई लखेट्छन् भने हामीले कसरी काम गर्ने?
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि यस्तो दुव्र्यवहार गर्ने व्यक्तिलाई सरकारले कडा कारबाही गर्नुपर्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्नुपर्छ। सरकार जबसम्म कडा रुपमा प्रस्तुत हुँदैन, तबसम्म यस किसिमका घटनाहरु रोकिँदैन।
‘जेल विथआउट बेल’ लाई पनि पारित गरी तत्काल लागू गर्नुपर्छ। जनतामा सही सूचना र जनचेतना फैलाउन अति आवश्यक छ किनभने अहिलेका घटना जनचेतनाको कमीकै कारण भइरहेका छन्।
स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा सरकार मुकदर्शक बनेको छ
दीपक भट्ट, महासचिव, नेपाल स्वास्थ्यकर्मी संघ
यस्तो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाएर सेवामा खटिरहनुभएको छ। तर पनि स्वास्थ्यकर्मीमाथि आक्रमण तथा विरोधका घटनाहरु हुँदा पनि सरकार मुकदर्शक भएर बसेको छ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक प्रभाव पर्दा सेवामा समेत असर पर्ने गर्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ ले पनि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिने कुरा स्पष्ट लेखिएको छ। तर यो ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन।
स्वास्थ्यकर्मीहरु सीमित स्रोतसाधनका बाबजुद पनि घरपरिवारलाई छाडेर सेवामा खटिनु भएको छ। तपनि, उहाँहरुलाई प्रोत्साहन गर्नुको साटो घरमा बस्न नदिने, बसेको घरमा ढुंगा हान्ने, भौतिक आक्रमण काम भइरहेका छन्। डोटी, अछाम, धरान, महाराजगञ्जकै घटना हेरौं, करिब ६ दर्जन बढी स्वास्थ्यकर्मीमाथि आक्रमण भइसकेका छन्।
यी सब घटनाले पनि समाज स्वास्थ्यकर्मीप्रति जिम्मेवार नभएको र सरकार पनि मुकदर्शक भएर बसेको स्पष्ट पार्छ। प्रहरी, सुरक्षा निकायलाई आक्रमण गर्दा जुन कारबाहीको व्यवस्था गरिएको छ, त्यो स्वास्थ्यकर्मीको हकमा पनि निर्णय भएको छ। तर स्वास्थ्यकर्मीको सुरक्षाको सवाल कागजमा मात्र सीमित छ।
सरकारले अहिलेसम्म कति जनालाई कारबाही गर्यो? यी सब ऐन र निर्णय कागजमा मात्र सीमित भएका छन्। आक्रमण गर्ने व्यक्तिलाई सरकारले प्रोत्साहन गरेको देखिन्छ। किनभने अहिलेसम्म आक्रमण गर्ने दोषीलाई सरकारले कारबाही नगर्दा उनीहरुको मनोबल झन् बढेको देखिन्छ।
भोलिका दिनमा स्वास्थ्यकर्मीले सेवा दिनै छाडे भने त्यसको जिम्मेवारी सरकार, समुदाय कसले लिने? सरकार, समाज र नागरिकबाट स्वास्थ्यकर्मीले कुनै प्रोत्साहन पाउनुभएको छैन।
पिपिई, जोखिम भत्ता पाउनका लागि पनि लड्नु परिरहेको छ। यस किसिमको घटना दोहोरिने रहने हो भने भोलि भयावह स्थिति आउन नसक्ला भन्न सकिँदैन। यसको जिम्मेवार स्वयं सरकार अनि यो समाज हुन्छ।
स्वास्थ्यकर्मी सुरक्षित भएनन्। उनीहरु नै संक्रमित हुन थाले, उनीहरुमाथि नै आक्रमण हुन थाल्यो भने कोरोना नियन्त्रण गर्न सकिँदैन।
मेरो एउटै मात्र आग्रह छ। मुलुकको यो विषय परिस्थितमा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाइनुपर्छ। उहाँहरुलाई हौसला र मनोबल निकै आवश्यक छ। त्यसैले उहाँहरुको मनोबल गिराउने होइन, बढाउने काम गरौं।
सरकारले समयमै एक्सन लिनु आवश्यक छ
भक्तिमान सुब्बा, अध्यक्ष, राष्ट्रिय स्वास्थ्यकर्मी संघ
स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुव्र्यवहार हुनु घोर निन्दनीय काम हो। मानिस निकै स्वार्थी छन्। मानिस बिरामी भए भने स्वास्थ्यकर्मीसँग उपचार गर्न जाने तर उनीहरु नै बिरामी भए भने यस्तो व्यवहार गर्न मिल्छ?
स्वास्थ्यकर्मी दिनरात, बिदा, घरपरिवार नभनी उपचारमा खटिन्छन्। तर उनीहरुमाथि नै यस किसिमको दुव्र्यवहार हुन्छ। सरकारले एक्सन नलिएर हो कि, समाज सचेत नभएर हो, यस किसिमका घटना भइरहेका छन्। यो निकै दुखद हो।
स्वास्थ्यकर्मीको मनोबल गिराउँदै जाने अनि रोग बढ्दै जाने हो भने अवस्था त निकै भयावह हुन्छ। यसको परिणाम यही नै हो। यी सब घटना दोहोरिन नदिन सरकार जिम्मेवार हुनुपर्छ। समाज पनि जिम्मेवार हुन आवश्यक छ।
समाजले पनि साथ दिनुपर्छ। उनीहरुले झन् हाम्रो स्वास्थ्यको लागि काम गरिरहनुभएको छ भनेर प्रोत्साहन गर्नुपर्ने हो। पर्याप्त मात्रा पिपिई छैन, जोखिम भत्ता पाएका छैनन्, कतिपय स्वास्थ्य संस्थामा पूर्ण रुपमा तलब समेत पाएका छैनन्। यस्तो बेलामा यस किसिमको घटना हुँदा स्वास्थ्यकर्मी झन् कमजोर हुन सक्छन्, मनोबल घट्दै जान्छ।
सबै एक जुट हुन सकेनौं भने कोरोना विरुद्धको लडाईंमा हामीले जित्न सक्दैनौं। त्यसैले सरकारले केकसरी हुन्छ, समयमै एक्सन लिनु अति नै आवश्यक छ।
तिरस्कार होइन, सम्मान र हौसलाको खाँचो छ
मनकुमारी राई, अध्यक्ष, नेपाल नर्सिङ संघ
स्वास्थ्यकर्मीहरु दिनरात कोरोना संक्रमितको उपचारमा खटिएका हुन्छन् तर साँझ उनीहरु बस्ने ठाउँमा होहल्ला हुनु अत्यन्तै दुखद कुरा हो। यति बेला सबैले स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुभन्दा उनीहरुलाई हतोत्साही गर्ने र पेसाप्रति नै वितृष्णा उब्जाउने खालका काम हुनु सभ्य समाजका लागि सुहाउने विषय होइन। कल्पना गर्नुस्, अहिले स्वास्थ्यकर्मीले उपचार नगरेर घरमै बसे भने अवस्था कस्तो होला? त्यसकारण हामी सबै जिम्मेवार बन्नु जरुरी छ।
स्वास्थ्यकर्मीहरु घर जाने अवस्था छैन। दिनभर कोरोना संक्रमितको उपचार गरेर साँझ घर जाँदा परिवारलाई रोग सर्ला भन्ने डर हुन्छ। त्यसकारण सबै स्वास्थ्यकर्मीलाई एउटै ठाउँमा राख्ने व्यवस्था गरिएको हो। तर समाजमा उनीहरुलाई बस्न नदिने हो भने उनीहरु कहाँ गएर बस्ने?
यो रोग नौलो भएकोले पनि मानिसहरु डराएका छन्। मेरो विचारमा हामी स्वास्थ्यकर्मीले रोगको बारेमा बुझाउन सकेका छैनौँ। सबै व्यक्तिको चेतनाको स्तर समान हुँदैन। आज जसले विरोध गरिरहनुभएको छ, उहाँहरुमा बुझाइको कमी होला। स्वास्थ्यकर्मीहरु छेउमै बस्दा संक्रमणको भय पनि होला।
यस्तो अवस्था आउन नदिन हामीले कोरोनाका बारेमा बारेमा व्यापक चेतना फैलाउनु जरुरी छ। यो रोग जसलाई पनि लाग्न सक्छ भनेर समाजलाई बुझाउन सक्नुपर्छ। यो हावामा सर्ने रोग होइन। यदि संक्रमितको सम्पर्कमा आयो भने मात्र सर्ने गर्छ भन्ने बुझाउनु पर्छ जस्तो लाग्छ।
स्वास्थ्यकर्मीले आफूलाई सुरक्षित र आत्मबल बलियो बनाएर काम गर्नुपर्छ। यस्ता घटनाले मनोबल घट्ने हुँदा मानसिक रुपमा बलियो बन्दै कोरोना नियन्त्रणको महत्वपूर्ण जिम्मेवारीबाट विचलित हुनुहुन्न। पछिल्लो समयमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन्। त्यसैले आफू सुरक्षित रहँदै संक्रमितको उपचारमा खटिनुपर्ने दायित्व स्वास्थ्यकर्मीमाथि छ। सबै मिलेर स्वास्थ्यकर्मीलाई हौसला दिऔं। उनीहरुलाई तिरस्कार होइन, यतिबेला सम्मान र हौसलाको खाँचो छ ।
स्वास्थ्यकर्मीको सुरक्षा स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ
सञ्जीव कट्टेल, प्रचार सचिव, नेपाल फार्मास्युटिकल्स एसोसिएसन
जनताको चेतनास्तर कम हुँदा नै स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार भइरहेका छन्। विश्वव्यापी रुपमा कोरोना महामारी फैलिरहँदा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ। जोखिममा रहेर काम गर्ने उहाँहरुलाई मनोबल बढाउनुका साथै झन् मनोबल गिराउने काम भइरहेका छन्।
यो बेला त स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने हो। नेपालमा करिब २५ हजार फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता छन्। कोरोना महामारीको यो समयमा पनि हामी निरन्तर सेवामा छौं।
पाँच महिना जति लकडाउन भयो, अहिले पनि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। सबै बन्द भए पनि फार्मेसी भने सञ्चालन भइरहेका छन्। हामीले बन्द गरेनौं। यदि हामीले एक दिन पनि फार्मेसी बन्द गर्यौं भने अवस्था के हुन्छ?
यो बीचमा कतिपय फार्मासिस्टहरु संक्रमित भए। संक्रमित भएपछि छिछि र दूरदूर गर्ने, घरमै गएर दुव्र्यवहार गर्ने कामहरु भएका छन्। जुन निकै दुखद हो। स्वास्थ्यकर्मीको मनोबल नै घटायो भने कोरोना विरुद्ध कसरी लड्न सकिन्छ।
अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीका लागि सरकारले विशेष व्यवस्था मिलाउनुपर्छ। यदि कोही स्वास्थ्यकर्मी संक्रमित भए उहाँहरुको लागि उपचारका लागि छुट्टै सेन्टर, आइसोलेसन सेन्टर खोलिनुपर्छ।
स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा नियमित रुपमा जानकारी लिनुपर्छ। स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ।
सरकार जनचेतना फैलाउने काममा चुक्यो
डा प्रकाश ज्ञवाली, अध्यक्ष, नेपाल आयुर्वेद चिकित्सक संघ
नेपाली समाजले जहिले पनि नयाँ रोगलाई स्वीकार गर्न समय लाग्छ। जस्तो कि कुष्ठरोग, एचआइभी/एड्सजस्ता रोग आउँदा पनि मानिसलाई जंगलमा लगेर छोड्ने, समाजले नअपनाउने जस्ता घटना हामीले देख्दै आएका हौं। अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोगको बारेमा समाजमा एक प्रकारको अतिरन्जना फैलिएको छ, यदि यो रोग लागिहाल्यो भने मरिन्छ भनेर।
पछिल्लो समय कोरोना भाइरसबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दो छ। चिकित्सक, नर्स, स्वास्थ्यकर्मी दिनरात संक्रमितको उपचारमा खटिन्छन्। त्यही कारणले गर्दा आममानिसको मनमा यदि यिनीहरुलाई समाजमा बस्न दिने हो भने हामीलाई पनि रोग सर्छ भन्ने डर देखिन्छ। जसका कारण आममानिस पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमणमा उत्रिएका हुन्।
सबैलाई आफ्नो ज्यानको माया हुन्छ। पछिल्ला जति पनि घटना घटेका छन्, ती सबै आममानिसको डरको प्रतिक्रिया स्वरुप भएका छन्। सरकारले कोरोना रोकथामको लागि धेरै काम गरेको होला तर चेतना फैलाउने कुरामा शूल्य छ। जे जति भएका छन्, तिनीहरु प्रभावशून्य भएको पछिल्ला घटनाहरुले पुष्टि गरिसकेका छन्।
सरकारले कोरोना संक्रमणबारे पनि यथार्थ सूचना प्रवाह गर्न नसकेको कारण पनि यस्ता घटना भइरहेका हुन् कि? जस्तो कि फोनमा ‘सामाजिक दूरी कायम राखौँ, साबुनपानीले हात धोऔं’ भन्ने सूचना आइरहेका हुन्छन्। त्यसले गर्दा उनीहरुका मनमा यो रोगबाट संक्रमित व्यक्ति वरिपरि बस्यो भने संक्रमण सर्छ भन्ने मनोविज्ञानको विकास भइसकेको छ। फलस्वरुप यस्ता घटना देखिन थाले समाजमा।
कोरोनाको औषधि पत्ता लागेको छैन। तर रोग नै लाग्न नदिन उचित सजगता अपनाउनुस् भनेर सरकारले नागरिकलाई अपिल गर्नुपर्छ। संक्रमण देखिइहाले सरकारले उपचारको व्यवस्था गर्छ भनेर विश्वस्त बनाउने काम राज्यको हो। आयुर्वेदका विभिन्न विधि अपनाएर रोगलाई जित्न सक्छौं भनेर सरकारी स्तरबाट चेतना फैलाउन सकियो भने मात्र यस्ता घटना दोहोरिँदैनन्।
आयुर्वेद चिकित्सक संघले सरकारसँग बारम्बार भनिराखेको छ, हामी निःशुल्क रुपमा कोरोनाको बारेमा चेतना फैलाउँछौँ। तर सरकारले हाम्रो कुरा सुनेको छैन। किन सरकारले यतातर्फ ध्यान दिएको छैन, हामी नै अचम्मित छौं। सरकारले सरोकारवाला सबै निकायसँग हातेमालो गरेर अगाडि बढ्यो भने मात्र यस्ता घटना रोक्न सहयोग पुग्छ।
डाक्टरलाई बहिष्कार गरेपछि उपचार कसले गर्छ?
राजेन्द्र खड्का, केन्द्रीय सदस्य, मेडिकल ल्याबरोटरी एसोसिएसन (मेलान)
चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्स आफ्नो घरपरिवारदेखि टाढा बसेर दिनरात कोरोना संक्रमितको उपचारमा खटिएका छन्। तर टोलमा नै बस्न हुँदैन भनेर घर घेराउ गर्नु दुखद घटना हो।
स्वास्थ्यकर्मी आफ्नो तर्फबाट सबै सुरक्षाका उपाय अपनाएर संक्रमितको उपचारमा खटिएका हुन्छन्। उनीहरु घरमा पनि जान सक्दैनन्, परिवारमा रोग सर्छ भन्ने डरले। आइसोलेसनमा पनि बस्न नदिने हो भने उनीहरुको मनोबल घट्दै जान्छ। आखिर उनीहरु बस्ने कहाँ?
यदि स्वास्थ्यकर्मीहरुले संक्रमित हेर्न छोडे भने संक्रमितको उपचार कसले गर्छ? अन्य देशमा स्वास्थ्यकर्मीको मनोबल बढाउन फूलमाला लगाउने, जोखिम भत्ता दिने, बिमा गरिदिने गर्छन् तर नेपालमा टोलबाटै बहिष्कार गर्ने घटना दिनप्रतिदिन बढ्दै गएका छन्।
यस्ता घटनाबाट के बुझिन्छ भने हाम्रो चेतनास्तरको कुन तहको छ? कोरोना संक्रमण रोग आमनेपालीका लागि मात्र नभएर विश्वकै लागि नयाँ हो। विश्वव्यापी महामारीको रुप लिएको कोरोनाका कारण भय उत्पन्न हुनु स्वभाविक हो। तर संक्रमितलाई बहिष्कार गर्ने र स्वास्थ्यकर्मीलाई घरटोलमा बस्नै नदिने भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो। कोरोना रोगका बारेमा समाजमा जुन खालको बुझाइ स्थापित भएको छ, त्यसको परिणाम यस्ता दुखद घटना भइरहेका छन्। राज्यले कोरोनाका बारेमा चेतना फैलाउने काममा चुकेको पुष्टि हुन्छ।
यस्ता घटना दोहोरिन नदिन सरकारले वडा कार्यालयका प्रमुख, टोल सुधार समितिलाई राखेर बुझाउनु आवश्यक भइसकेको छ। सरकार–सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ। सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुपर्छ। उनीहरुलाई तोकेको भत्ता दिने, बिमा गरिदिने र उनीहरुलाई सुरक्षित ठाउँमा बस्ने व्यवस्था गर्नु राज्यको प्राथमिक दायित्व हो।
यो पनि :