प्युठान- जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक जिन एक्सपर्ट मेसिन हस्तान्तरण गरेको छ।
उक्त मेसिन बिएनएमटी नेपालका डेपुटी डाईरेक्टर रघु धितालले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसी र स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका हुन्।
मेसिन हस्तान्तरण कार्यक्रममा बिएनएमटी नेपालका प्रिन्सिपल इन्भेस्टिगेटर डा म्याक्सिन कजले संस्थाले क्षयरोग निदानका लागि गर्र्दै आएका प्रयासहरुको बारेमा बताउँदै यस मेसिनले काम गर्ने तरिका तथा प्राविधिक बिषयमा जानकारी दिइन्।
करिब ६० लाख पर्ने उक्त मेसिन तथा उपकरणले प्युठान जिल्लाका साथै छिमेकि जिल्ला गुल्मी र अर्घाखाँचीका केहि भागमा समुदायमा लुकेर बसेका पहिचान हुन नसकेका क्षयरोगका बिरामीहरु पत्ता लगाउन र क्षयरोग न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बिएनएमटीका डेपुटी डाईरेक्टर रघु धितालको भनाई छ।
झिमरुक गाउपालिकाका अध्यक्ष जिसिले क्षयरोग मुक्त समाज बनाउने अभियानका लागि आफू प्रतिबद्ध रहेको र छिट्टै स्वास्थ्य चौकीको स्तरोन्नति भै अस्पताल समेत हुँदै गरेको अबस्थामा प्राप्त हुन आएको मेसिन र यस्को प्रभावकारी प्रयोगका बिषयमा आफू संवेदनसिल रहेको र दक्ष प्रयोगशाला/स्वास्थ्यकर्मी सहित निरन्तर सेवा दिने वातावरण स्थानीय सरकारले गर्ने कुरामा जोड दिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जिल्लामा बिशेष गरि क्षयरोग निदानको क्षेत्रमा आफुहरुसंग निरन्तर सहकार्य गर्दै आएकोमा बिएनएमटीलाई धन्यवाद दिएका छन्।सुवेदीका अनुसार स्वास्थ्य चौकी स्तरमै अत्याधुनिक प्रयोगशाला स्थापना हुनु आफैँमा उच्चतम बिषय भएको र गुणस्तरीय प्रयोगशाला र जनस्वास्थ्य सेवाको दिगोपनाका लागि स्थानीय सरकारको प्रतिबद्धता रहेकोमा खुसि व्यक्त गर्दै ओखरकोट स्वास्थ्य चौकीलाई प्रदान गरिएको जिन एक्सपर्ट मेसिन सहित बिएनएमटी ले ३ वटा यस्ता मेसिनहरु जिल्लामा उपलब्ध गराएको छ।
उनले भने; “बिएनएमटीले उपलब्ध गराएका ३ मेसिन मध्ये एउटा ओखरकोट स्वास्थ्य चौकीमा भर्खरै प्राप्त गरेका छौं भने अरु २ मेसिनहरुमध्ये एउटा प्युठान अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रृमा राखेका छौं।” उक्त जिन एक्सपर्ट मेसिनहरुले जिल्लामा क्षयरोग निदान, उपचार र नियन्त्रणमा ठुलो भुमिका खेलेको प्रमुख सुवेदीले बताए।आगामी दिनहरुमा पनि यस क्षेत्रमा बिएनएमटीसंगको सहकार्य र समन्वय निरन्तर रहिरहने बताए।बिएनएमटीले यस अघि ३ बर्षसम्म नमुनाका रुपमा ड्रोट्स परियोजनामार्फत ड्रोन मार्फत समुदायबाट खकार नमुना संकलन गरि प्रयोगशाला/जिन एक्सपर्ट केन्द्रसम्म पुर्याोउने कार्य समेत गरेको थियो।आवश्यकता अनुसार आगामी दिनहरुमा समेत ड्रोन मार्फत खकार नमुना ढुवानी कार्य हुने कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
बिएनएमटीले कोरोना महामारीको आपतकालिन समयमा पनि जिल्लाको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकार्मीहरुका लागी व्यक्तिगत सुरक्षाका सामाग्रीहरु र उपचाररत क्षयरोगी तथा कुष्ठरोगीहरुका लागि खाद्यान्न तथा पोषण सहायता सहयोग प्रदान गर्र्दै आइरहेको छ।
जिल्लामा क्षयरोग सम्बन्धि तीन परियोजना सञ्चालन हुने
जिल्लामा सञ्चालन हुने तीन परियोजनाहरु इम्प्याक्ट टिबी दोस्रो, टार्गेट टिबी र टिबी रिकभरीको बारेमा योजना तर्जुमा गोष्ठी शनिबार सकिएको छ।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा आगामी २ बर्षसम्म जिल्लामा सञ्चालन हुने तीन परियोजनाको ढाचा, लक्ष्य तथा आगामी कार्यक्रम र योजनाहरुको बारेमा बिएनएमटीका डेपुटी डाईरेक्टर रघु धिताल, क्षेत्रिय प्रमुख गंगाराम बुढाथोकी र जिल्ला संयोजक गोविन्द माझीले प्रस्ट्याएका थिए। कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो।
जिल्लाका सबै नौ स्थानीय तहमा संचालन हुने परियोजना अन्तर्गत समुदायमा लुकेर बसेका सम्भावित क्षयरोगीको सक्रिय बिधिबाट पहिचान, लेटेन्ट टिबी पहिचान तथा उपचार, क्षयरोग प्रभावित परिवारका लागि पोषण सहायता र पत्ता लागेका क्षयरोगीहरुको जिन सिक्वयन्सबारे अनुसन्धान गरिनेयोजना रहेको छ।
नेपाल सरकारले सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने महत्वाकाङक्षी लक्ष लिएको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय क्षयरोग केन्द्रले सार्बजनिक गरेको “राष्ट्रियक्षयरोग प्रिभ्यालेंस सर्भे”प्रतिबेदनअनुसार नेपालमा प्रत्येक बर्ष ६९,००० नयाँ व्यक्तिहरुमा क्षयरोगीहरु थपिने जस अन्तर्गत प्रति लाख २४५ जनामा क्षयरोग हुने आकडा रहेको छ।सन् २०१८ मा नेपाल भर ३२,०४३ क्षयरोगी पहिचान भएको सन्दर्भमा ५४ प्रतिषत अझै पत्ता लगाउन बाँकी थिए।
प्युठान जिल्लामा आ.ब.२०७६/७७ मा ३०१ जना क्षयरोगीहरु स्थानीय डट्स उपचार केन्द्रमा उपचाररत थिए। पछिल्लो समय स्थानीय तहहरुको अगुवाइमा संचालित प्रयोगशाला सहित जिल्ला भर १३ सरकारी स्वास्थ्यमा प्रयोगशाला सेवा रहेको छ। क्षयरोग नियन्त्रणमा अबको रणनीति स्वास्थ्यकार्मिको क्षमता अभिवृद्धि गर्दै समुदायमा लुकेर बसेका क्षयरोगीको सक्रिय खोजपडताल बिधिबाट पहिचान गरिसमयमै उपचारको दायरामा ल्याई उपचार पुरा गराउने, बहु-औषधि प्रतिरोधी तथा कडा क्षयरोगी पहिचान गर्ने र समुदाय डट्स बिधि अवलम्बन गर्दै जाने रहेको स्वास्थ्य कार्यालय प्युठानका क्षयरोग फोकल पर्सन मधुसुधन खड्काले जानकारी गराए।