काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले प्रधानमन्त्री केपशी शर्मा ओलीलाई कोभिड रोकथाम र उपचार व्यवस्थापन सम्बन्धी सुझावसहितको रणनीति बुझाएको छ।
संक्रमणको दरसँगै मृत्यु दर पनि बढ्दै गएपछि बुधबार विभागका प्रमुख खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले बुधबार प्रधानमन्त्रीको ओलीको ध्यानाकर्षण गराएका हुन्। सो क्रममा उनीहरुले कोभिड – १९ को महामारी नियन्त्रण गर्नका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएका हुन्।
यस्तो छ एमाले स्वास्थ्य विभागले प्रस्तुत गरेको कोभिड-१९ संक्रमण रोकथाम र उपचार व्यवस्थापन सम्वन्धी रणनीति :
वर्तमान अवस्था
कोभिड- १९ को पहिलो संक्रमण देखि हाल (मंगलबार) सम्म नेपालमा आरटीपीसीआर विधिबाट परिक्षण गरिएका ३,५१,८०५ केसहरू पुष्टी भएका छन्। बुधबार विहानसम्म ३,४१७ जनाको मृत्युको पुष्टी भएको छ। मंगबार १६,७०२ परिक्षण गरिएकोमा ७,६६० जना पोजिटिभ भेटिएका छन्। मंगलबार मात्रै ५५ जनाको कोभिड १९ बाट मृत्यु पुष्टी भएको छ। २० वटा जिल्लामा आज ५०० भन्दा वढि केशहरू देखिएका छन्। विश्व व्यापी रूपमा हेर्दा मृत्यु हुनेदर २.१ प्रतिशत रहेकोमा नेपालमा १.२ प्रतिशत रहेको छ।
संक्रमणको अनुमान
एसईआईआर विधिबाट गरिएको अनुमानमा मृत्युको हिसावले आगामी जुन महिनाको ३ तारिकमा संक्रमण उच्च रहनेछ, जसमा एक दिनमा १५० जना सम्म्को मृत्यु हुन सक्ने छ।
अहिलेको अवस्थाबाट नै अगाडी बढेमा अगष्ट १, २०२१ सम्ममा जम्मा ११ हजारको मृत्यु हुने सक्ने देखिन्छ। अप्रिलको १९ देखि अगष्ट १ तारिक सम्म मात्रै ८,००० जनाको मृत्यु हुन सक्ने अनुमान सो मोडेलले देखाएको छ।
मास्क र स्यानिटाइजरको पूर्ण प्रयोगले माथि उल्लेखित संख्यामा ३,००० मृत्यु कम हुन सक्ने देखाउछ। खोप समयमै उपलव्ध गराउन सकिएमा अगष्ट १ सम्म हुने मृत्युमा थप १,००० ले कमि ल्याउन सकिने देखिन्छ। मे महिना देखि अगष्टको अन्तिमसम्म अस्पतालमा सामान्य र आइसीयू शैयाहरूमा ठुलो चाप पर्ने देखिन्छ।
अबको बाटो
१. कोभिड १९ विरूद्धको खोप उपलव्ध गर्न सरकार प्रमुखबाट उत्पादक मुलुकहरू भारत, चीन, बेलायत, अमेरिका र रुसका सरकार प्रमुखहरूसंग कुटनैतिक पहल गर्ने।
२. खोप उपलव्ध गर्न सम्बन्धित मुलुकका स्वास्थ्य मन्त्रालय र उत्पादकहरूसंग पहुच भएका व्यक्तिहरूलाई विषेश दुत नियुक्ती गरी खटाउने।
३. आफ्नो मुलुकलाई चाहिने भन्दा वढी बुकिङ्ग गरेका राष्ट्रहरू क्यानाडा, अमेरिका र बेलायतसंग कुटनैतिक छलफल गरी आयात गर्ने व्यवस्था मिलाउने।
४. अक्सिजन, अत्यावस्कीय औषधि, पिपिइ र आवश्यक उपकरणहरूमा आयात सहज पार्न छिमेकी मुलुकहरू भारत र चीनसंग सरकार प्रमुखले विषेश पहल गर्ने।
५. अक्सिजन सहितको आइसोलेशन सेन्टरहरूबाट बिरामीको अवस्था हेरी वीर अस्पतालमा रेफर गर्ने। वीर अस्पतालको नयाँ भवनलाई इमरजेन्सी रिफरल हव बनाई त्यहाँको चिकित्सक टोलीको निर्णयमा काठमाडौंस्थित अरु अस्पतालहरूमा आइसीयू बिरामीको उपचारको व्यवस्थापन गर्ने। सो का लागि आर्थिक र प्रशासनिक अधिकार सहितको बरिष्ठ चिकित्सक खटाउने।
६. अक्सिजन, औषधि र उपकरणहरूमा हुने कृतिम अभाव र कालावजारी नियन्त्रण गर्न अख्तियर सम्पन्न वहुपक्षिय टोली गठन गरी परिचान गर्ने।
७. कोभिड परीक्षणलाई व्यवस्थित गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बृध्दि गर्ने। कन्ट्रयाक्ट ट्रेसिङ्गका लागि सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन गर्ने।
८. होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सल्लाह प्रदान गर्न मेडिकल काउन्सिल, नर्सिङ्ग काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद, फार्मेसी काउन्सिल र आयुर्वेद काउन्सिललाई एकीकृत योजना बनाई परिचालन गर्ने।
९. कोभिड १९ को महामारीमा अन्य रोगहरूबाट हुने समस्याको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विषेश योजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिने।
गम्भीरतापूर्वक लिनुपर्ने विषय :
संक्रमण बढ्दै गएको अवस्थामा जनस्वास्थ्य सेवा ऐनको दफा ४८ अनुसार स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने।
स्वास्थ्यको बजेट कम्तीमा १० प्रतिशत पुर्याउनुपर्ने।
स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षा : ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई हातपात गरेमा सुरक्षाकर्मीलाई हातपात गरे सरह सजाय हुने, यस विषयलाई जनस्वास्थ्य ऐनमा थप्ने।
स्वास्थ्यकर्मीलाई कोभिड भएमा तिनको उपचार र उद्धार सुनिश्चित गर्ने र बीमाको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीका लागि केन्द्रमा २ देखि ४ शैय्या सुनिश्चित गर्ने।
जनस्वास्थ्य ऐनको दफा ४८ बमोजिमको उद्धार टोली दुरुस्त राख्ने।
सिमा नाकाको आवतजावतलाई कडाईका साथ रोक्ने, कालोबजारी नियन्त्रण गर्ने।
उपचार सम्वन्धी स्तरीय प्रोटोकल बनाउने र लागू गर्ने।
वीर अस्पताल, त्रिविको सुरेश वाग्ले क्यान्सर अस्पताल, राधा स्वामी धाम बसुन्धरा, क्षयरोग केन्द्र भक्तपुरमा कोभिड बेडका लागि व्यवस्थापन मिलाउने।
अक्सिजन व्यवस्थापनका लागि एक सय देखि डेढ सय स्थानमा प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउने। लिक्वड अक्सिजनको लागि प्लान्ट निर्माण गर्ने।
स्थलमार्ग र हवाई मार्ग गरेर छिमेकी देशबाट तत्काल सिलिन्डर ल्याउने। सिलिन्डरको व्यवस्थापन एचईओसीले गर्ने।
अन्तराष्ट्रिय तहबाट सहयोग जुटाउन परराष्ट्र मन्त्रालयबाट अघि बढाउने।
आउन बाँकी खोप तत्काल ल्याउन पहल गर्ने र थप मुलुकसंग ताकेता गर्ने।
रेम्डेसिभिर उपलव्धता सहज बनाउने।
तराईँका विभिन्न स्थानमा फिल्ड अस्पताल बनाउने र सञ्चालनमा ल्याउने।
कन्ट्याक्ट ट्रेसिङलाई थप व्यवस्थित गरि तिब्रता दिने।
अस्पतालको मूल्य निर्धारण : एउटा साझा दर सरकारी र निजीको (विशेषगरी मेडिकल कलेजको बनाउने) त्यसमा निजीले ५० प्रतिशत थपेर लिन पाउने। क्याविन र विशेष व्यवस्था गरिएका सेवा शुल्क पारदर्शी बनाएर वा बडापत्रमा सूचना दिएर मात्रै लिन पाउने।
अस्पतालको कोभिड सेवा शुल्कमा औषधिको मूल्य समावेश भएको हुनुपर्ने।
औषधिको व्यवस्थापनका लागि औषधि व्यवस्था विभागलाई विशेष रुपमा परिचालन गर्ने।