काठमाडौं– सरकारले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि कार्ययोजना बनाएको छ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीले दिएको निर्देशनको कार्यन्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो।
सरकारले बनाएको कार्ययोजनामा अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आइसियु, शैय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ गतेभित्र ती अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्ने उल्लेख गरिएको छ।
यस्तै, अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पताल बीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने र अक्सिजन उद्योगहरुको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने लगायतमा विषयहरु समेटिएका छन्।
सबै कोभिड अस्पतालहरुमा हाई फ्लो अक्सिजन बेडको व्यवस्था गर्ने, कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने विषय पनि कार्ययोजनामा उल्लेख छ।
सरकारसँग कोरोना संक्रमितको उपचार व्यवस्थापनमा लागि करिब २२ हजार बेड उपलब्ध रहेको जनाइएको छ।
कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पतालमा १९ हजार ८८२ बेड, १ हजार ७१४ आइसियु र ६९२ वटा भेन्टिलेटर रहेको जनाइएको छ।
यस्तै, कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि देशभर ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्टछ रहेको र ती अक्सिजन प्लान्टमा दैनिक २ हजार ५४९ अक्सिजन सिलिन्डर भर्न सकिने अवस्था रहेको जनाइएको छ।
यसैगरी, तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्याङ्क उपलब्ध भएको र विभिन्न स्वास्थ्यसंस्थामा ६ हजार २८८ अक्सिजन सिलिन्डर रहेको जनाइएको छ।
यस्तै दैनिक रुपमा अक्सिजन खपत दर १ हजार ४११ दशमलब ५ लिटर रहेको जनाइएको छ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका , तत्कालै खरिद गर्नुपर्ने औषधि, स्वास्थ्यसामग्री र उपकरण बिदेशबाट खरिद ,प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राथमिकताका साथ पहल भइरहेको समेत जनाएको छ।