अछाम- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा अस्पतालको दिगोपनाको लागि आफू गम्भीर भएर लागेको बताएका छन्।
बिहीबार बयालपाटा अस्पताल पुगेका मन्त्री खड्काले अस्पतालको दिगोपनाका विषयमा आफू गम्भीर भएर लागेको बताएका हुन् ।
अस्पतालको सञ्चालन प्रक्रिया र दिगोपनाको विषयमा समेत आफूले मुख्यमन्त्री, अर्थमन्त्री लगायतसंग छलफल गरिरहेको मन्त्री खड्काको भनाइ छ ।
बयालपाटा अस्पतालको लागि बिनियोजित भएको बजेट कार्यान्वयनका लागि समेत आफूले निर्देशन दिइसकेको र छिट्टै प्रक्रियामा जाने उनले बताए ।
बयालपाटा अस्पतालले दिइरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवामा कुनै कमी नरहेको र आगामी दिनमा समेत यसै प्रकारले निरन्तर सेवा दिन यस क्षेत्रकालागि अपरिहार्य हुने मन्त्री खड्काको भनाइ थियो ।
बजेट अभावमा अस्पतालको सेवा रोकिने अवस्था आउन नदिन सबै तहबाट सहयोग हुनुपर्ने समेत मन्त्री खड्काको भनाइ छ।
यसैबिच, प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोशिमा कार्कीले बयलपाटा अस्पतालले प्रदान गरेको सेवा प्रशंसनीय र गौरवको विषय भएको बताइन्।
उनले अस्पतालको मोडललाई देशव्यापी रुपमा कार्यान्वयन गर्न सके कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउनु नपर्ने बताइन्।
बिहीबार बयलपाटा अस्पतालको भ्रमणका क्रममा डा कार्कीले यस क्षेत्रका जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा अस्पतालको प्रशंसा गरिन् ।