काठमाडौं– खोप आयातका लागि सरकारले परिपत्र गरेका विदेशी खोप कम्पनीले नेपालमा खोप पठाउने विषयमा आफूहरु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। तर अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ।
स्वास्थ्य सेवा विभागले खोप खरिदका लागि अमेरिकाको मोडर्ना, जोन्सन एण्ड जोन्सन कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनीलाई खोप उपलब्ध गरराउन पत्राचार गरेको थियो।
नेपालको पत्रको जवाफ दिँदै दुई कम्पनीले नेपालमा खोप निर्यात गर्ने विषयमा आफूहरु सकारात्मक रहेको प्रक्रिया दिएका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरीकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।
यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मुल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्।
जोन्सनले सरकारसँग छलफल गर्न प्रतिनिधि पठाउने विषय पनि इमेलमा लेखेकाे छ।
उनीहरुले अन्तर्राष्ट्रिय मुल्यमा बिक्री गर्न तयार भएपछि कम्पनीको एजेन्ट नेपालमा हुनुपर्ने बताएका छन्। तर अमेरिकाको मोडर्ना कम्पनीले भने एकवर्ष खोप उपलब्ध गराउन नसक्ने जानकारी गरएको डा सिंहले बताए।
सरकारले पछिल्लो समय यी कम्पनीहरुबाट ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ। सोही अनुसार नेपालले खोप उत्पादक कम्पनीहरुलाई पत्र पठाएको थियो।
सरकारले नेपालमा पहिलो चरणमा भारतबाट १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा पाएको थियो। भारतबाट अनुदानमा खोप प्राप्त भएपछि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको सरकारले भारतबाटै थप २० लाख डोज खोप खरिद समेत गरेको थियो।
यस्तै ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने सरकारको योजना थियो। तर, कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टीच्युटले नेपालमा खरिद गरिएका २० लाख डोज खोपमध्ये १० लाख डोज समेत उपलब्ध गराउन सकेन।
सरकारले भारतबाट अनुदान तथा खरिद गरि प्राप्त भएको कोभिडसिल्ड र चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप करिब २१ लाख व्यक्तिलाई एक डोज दिइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा नेपालमा २१ लाख १३ हजार ८० जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा पाएका छन् भने ५ लाख ५३ हजार ५८९ जनाले खोपको दुबै मात्रा पाएका छन्।