काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सबै सीमा नाघेको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीले अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको बताएका हुन्।
उनले चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाह भत्ता सम्बन्धी निर्णय विनशर्त तत्कालै कार्यान्वयन जान पनि माग गरेका छन्। उक्त निर्णय मान्न अटेर गर्ने निजी मेडिकल कलेजहरुका स्नातकोत्तर तह (पिजी)का कार्यक्रम सदाका लागि बन्द गर्न पनि उनले माग गरेका छन्।
'हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु,' डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको समयसापेक्ष तलब सुविधा वृद्धि गर्न पनि माग गरेका छन् ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार तथा न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौँ ।
हालै चिकित्सा शिक्षाको स्नातकोत्तर तहको निर्वाहभत्ता सम्बन्धी चलेको विवादप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको श्रम शोषण भइरहेको विषय त हामीले यस अघिदेखि नै बारम्बार उठाउँदै आएका छौँ । पछिल्लो समय भने आवासीय चिकित्सकहरुको श्रम शोषणले सबै सीमा नाघेको छ । अस्पतालको सेवाको ठूलो हिस्साका लागि त्यस्ता चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेका छन् ।
त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु । हामीले बारम्बार माग राखे बमोजिम तथा मसँग सम्झौता भए बमोजिम सरकारी कलेज र संस्थाहरुको थप स्थापना साथै सबै सरकारी शिक्षण संस्थाहरूको स्नातक र स्नातकोत्तर दुवै तहको क्षमता विस्तार गर्न, स्वास्थ्य संस्थाहरुमा दरबन्दी थप गर्न तथा सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समय सुहाउँदो तलब सुविधा वृद्धि गर्न पनि सरकारसँग माग गर्दछु ।
डा गोविन्द केसी
२०८१ मंसिर १२