काठमाडौं( गत सोमबार नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले कोरोना संक्रमणबाट ज्यान गुमाए। नेपाल प्रहरी अस्पतालमा करिब दुई सातादेखि उपचाररत डीएसपी खरेलको उपचारकै क्रममा निधन भएको थियो।
खरेलको मृत्यु भएको चार दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका अर्का डीएसपी राजकुमार केसीको पनि कोरोनाकै कारण ज्यान गएको थियो। कोरोना संक्रमण भएपछि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका डीएसपी केसीको जेठ ६ गते मृत्यु भएको थियो।
कोरोना भाइरस संक्रमणबाट ज्यान जाने नेपाल प्रहरीमा यी दुई जना अहिलेसम्मका उच्च अधिकारी हुन्। कोरोना महामारी नियन्त्रणका लागि ुफ्रन्टलाइनुमा खटिएका उनीहरु कोरोनासँग भने पराजित भए। यी दुई अधिकारीमात्रै होइनन्, कोरोनाको दोस्रो लहरमा पाँच जना प्रहरी कर्मचारीले ज्यान गुमाएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरले नेपाल लाइभलाई बताए।
उनीहरुजस्तै फ्रन्टलाइनमा खटिँदा(खटिँदै महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देवीबहादुर पुरीको वैशाख ३० गते कोरोनाकै कारण ज्यान गयो। २०५८ सालमा प्रहरी जवान पदमा सेवा प्रवेश गरेका पुरी २०७६ चैतमा असईमा बढुवा भएका थिए। कोरोना संक्रमणले च्यापेर गम्भीर भएपछि अस्पताल भर्ना भएका उनी पनि आफ्नो ड्युटीमा फर्कन सकेनन्।
यी तीनै जना प्रहरी अधिकृतले उपचारका क्रममा ज्यान गुमाए पनि काठमाडौं बाहिरका जिल्लामा कतिपय प्रहरीले संक्रमित भएपछि उपचार नै नपाएर मृत्युवरण गर्नुपपरेको अवस्था छ। जेठ १ गते प्रहरी चौकी चारपाल, गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईको समयमा उपचार नपाएकै कारण मृत्यु भयो। वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चौकीकै ुसेल्फ आइसोलेनुमा बसेका उनलाई जेठ १ गते श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल तम्घास पुर्याइए पनि उपचार नै गर्न नपाई डाक्टरले मृत घोषित गरेका थिए।
यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ। अघिल्लो पटकको कोरोना लहरमा भने सिपाही, हवल्दार गरेर छ जना प्रहरीको मृत्यु भएको प्रहरी प्रवक्ता कुँवर बताउँछन्।
अहिले पनि नेपाल प्रहरीमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। प्रवक्ता कुँवरका अनुसार दोस्रो लहरमा ११ सयभन्दा बढी प्रहरी अधिकारी संक्रमित भएका छन्। तीमध्ये ८०० जना भने सक्रिय संक्रमित रहेको र उनीहरु उपचाररत रहेको प्रवक्ता कुँवरले बताए। ३०० जना भने संक्रमणमुक्त भइसकेका छन्।
गम्भीर बिरामीलाई प्रहरी अस्पताल, अन्यलाई आइसोलेसनमा
प्रहरीमा कोरोना संक्रमण तीव्र फैलिएको र फ्रन्टलाइनरुहरु उच्च जोखिममा पर्न थालेपछि संक्रमितलाई राख्न प्रहरीले मुख्यगरी तीन ठाउँमा आइसोलेसन तयार गरेको छ।
प्रवक्ता कुँवरका अनुसार महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, महानगरीय प्रहरी पहरा गण सामाखुसी र विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा आइसोलेसन सेन्टर राखी उपचारको व्यवस्था गरिएको छ। सामान्य बिरामीहरुलाई यी आइसोलेन सेन्टरमा राखेर उपचार गर्ने गरेको उनले बताए। गम्भीर बिरामीका लागि भने प्रहरी अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था गरिएको छ।
प्रहरीमा संक्रमण बढेपछि अस्पतालको सेवा विस्तार
प्रहरीमा संक्रमणको दर बढ्न थालेपछि नेपाल प्रहरी अस्पतालको सेवासमेत विस्तार गरिएको प्रवक्ता कुँवरले बताए। प्रहरी अस्पतालमा पहिला १५० वटा बेड रहेकामा अहिले लेवल(२ मा स्तरोन्नति गरी १५० वटा बेड थप गरिएको उनले बताए। योसँगै अहिले प्रहरी अस्पतालमा ३०० बेड उपलब्ध छन्। तीमध्ये कोभिडका लागि भने २६४ बेड छुट्याइएको छ। बाँकी ३६ बेडमा भने ननकोभिड बिरामीको उपचार हुने गरेको छ।
कोभिडतर्फको २६४ मध्ये १५४ साधारण, ८० एचडीयू ९हाई डिपेन्डेन्सी युनिट० र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आईसीयू बेड रहेका छन्।
अस्पतालको समग्र व्यवस्थापन, बिरामीमैत्री वातावरण, गुनासो सम्बोधनसमेतका लागि प्रशासनतर्फका एसएसपीको कमाण्डमा ३० जना र सरसफाइसमेतका पाँच जना गरी ३५ जना जनशक्ति थप गरिएको एसएसपी कुँवरले बताए। सेवा विस्तारसँगै जनशक्ति आवश्यक रहेकाले ५० जना नर्स थप गरी सेवा दिइएको अस्पतालले जनाएको छ। त्यसैगरी कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि अस्पतालका ८६ जना प्रहरी कर्मचारीले कोभिड(१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट तालिम लिइसकेका छन्।
जेठ १० गतेसम्म तीन हजार १४१ जना कोरोना संक्रमित निस्शुल्क उपचारपछि घर फर्किएको प्रहरी अस्पतालको तथ्यांक छ। हालसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा लिएको प्रहरी अस्पतालका प्रवक्ता, एसएसपी सञ्जयविक्रम श्रेष्ठले बताए। बाँकी आठ प्रतिशत सर्वसाधारणको उपचार भएका छन्।