काठमाडौं - महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोभिड महामारीमा जोखिम मोलेर काम गरेपनि सरकारले उचित सम्मान नगरेको गुनासो गरेका छन्।
१८औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसमा आयोजित कार्यक्रममा शर्मिला खत्रीले कोभिडमा खेटिएपनि सरकारले योगदानको कदर नगरेको गुनासो गरिन्। कोभिड महामारीमा मास्क समेत आफैँले खरिद गरेर लगाउनु परेको उनले बताइन्।
उनले भनिन्, ‘कोभिडमा हामी जोखिम काम गर्यौँ। तर महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर भएन। हामीले मास्क पनि आफैँ खरिद गरेर लगायौँ। हाम्रो योगदानको कदर गरियोस्।’
देशभरका महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिनिधित्व गर्दै उनले परिचय पत्रका आधारमा आफुहरुले पायक पर्ने स्वास्थ्य संस्थामा उपचारका लागि विभिन्न छुट पाउनुपर्ने माग गरिन्। काम गर्न चाहनेका हकमा उमेर हदबन्दीको नियम लागू नगर्न उनको आग्रह छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले महिला स्वास्थ्य स्वयंसेविकाले उठाएका सवाल र मुद्दाहरु स्वास्थ्य मन्त्रालयमा छलफल गरिने बताए। स्वास्थ्य प्रवद्र्धनमा उनीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री खापुङले स्वास्थ्यमन्त्री विरोध खतिवडासँग यस विषयमा छलफल गर्ने बताए। सबै अधिकार स्थानीय तहमा दिइएकाले पनि अभ्यास तथा समन्वयको कमी भएको उनको भनाई छ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक गोमादेवी निरौलाले मातृ तथा नवजात शिशु मृत्युदर कम गर्नदेखि स्वास्थ्य प्रवद्र्धनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन्। संघीयता अनुरुप हाल स्थानीय तथा प्रादेशिक सरकारले नै विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै सेवा सुविधा उपलब्ध गराएको उनले बताइन्।
उनका अनुसार प्रदेश १ ले पाँच करोड रुपैयाँको महिला स्वास्थ्य स्वयंसेविका कोष स्थापना गरेको छ। प्रदेश २ ले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ताको व्यवस्था, बागमती प्रदेशले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार खर्च २५ प्रति वर्षको व्यवस्था, लुम्बिनी प्रदेशले एड्भान्स तालिमको व्यवस्था र सुदूरपश्चिम प्रदेशले प्रोत्साहन स्वरुप १० हजार प्रतिवर्षको व्यवस्था गरेको छ।
नेपालमा हाल ७७ जिल्लाका गरी ५१ हजार ४२० जना महिला स्वास्थ्य स्वयंसेविका छन्। एक जनाले १२० घरहरु अर्थात् करिब एक हजार जनसंख्यालाई हेनुपर्ने महाशाखाले जनाएको छ।
नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम २०४५ सालदेखि सुरु भएको हो। तर यो दिवस भने २०६१ सालदेखि मनाउन थालिएको हो। दिवसको अवसरमा काठमाडौंका ४, भक्तपुर र ललितपुरका ३/३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारले सम्मान गरेको छ।
सम्मानित हुनेमा मिना गिरी, पार्वती अर्याल, तारादेवी थन्छा, इश्वरी सञ्जेल, गोमा ढुङ्गाना, निशा अलिखान, शर्मिला केसी, लक्ष्मी रिजाल, नानीमैयाँ कपाली र सकुन्तला केसी छन्।