विश्वभर करिब १५ प्रतिशत बालबालिका र किशोर–किशोरीमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या हुने अन्तर्राष्ट्रिय स्तरमा गरिएका अनुसन्धानहरुले देखाएका छन्। नेपालमा पनि भूकम्प, कोरोना जस्ता विपत्तिसँगै अभिभावकको व्यस्तता, सानो उमेरदेखि नै मोबाइल–टिभीको लतले गर्दा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढिरहेको मनोचिकित्सक बताउँछन्।
बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:
मनोविद्को आँखाबाट हेर्दा बालबालिकामा हुने मानसिक समस्या के–के हुन् ?
हामीले बालबालिका भनेर १८ वर्षसम्म उमेर समूहका व्यक्तिलाई मान्छौँ। बालबालिकाको विकासको क्रममा अटिजम, सुस्त मनस्थिति र एडिएचडी जस्ता समस्या देखिन्छन्।
बढ्दो उमेरसँगै डराउने, आत्तिने जस्ता एन्जाइटी डिसअर्डरका समस्या, डिप्रेसन अथवा उदासिनता र केही बालबालिकामा कडा खालका मानसिक रोग अर्थात् साइकोसिस लगायतका समस्या हुन सक्छन्।
अर्को, बालबालिकामा अपोजिसनल डेफियन्ट डिसअर्डर (ओडिडी) र आचरण सम्बन्धी सामान्य व्यावहारिक समस्या देखिन्छन्।
यी समस्याको पहिचान कसरी गर्न सकिन्छ ?
वयस्कमा होस् या बालबालिका, मानसिक स्वास्थ्य समस्याको मुख्य लक्षण भनेकै सोचाइ, व्यवहार र भावनामा परिवर्तन हुनु तथा दैनिक क्रियाकलापमा बाधा पुग्नु हो। त्यस्ता परिवर्तन देखिन थालेपछि अभिभावक सतर्क हुनुपर्छ। नियमित स्कुल जाने बच्चा स्कुल जान सकेन, साथीहरूसँग खेल्न छोड्यो भने यस्ता व्यावहारिक परिवर्तनबाट बच्चालाई केही समस्या छ कि भन्ने बुझ्नुपर्छ।
बालबालिका उदास देखिने, डर मान्ने, कसैसँग कुराकानी नगर्ने, एक्लै बस्न रुचाउने, मोबाइल, टिभीमा बढी समय बिताउने तथा अन्य क्रियाकलापमा रुचि नराख्ने जस्ता परिवर्तन देखिन्छन्। यस्ता परिवर्तन देखिन थालेपछि स्वतः आफ्नो बच्चालाई कुनै मानसिक समस्या पो भयो कि भनेर अभिभावकहरू सतर्क हुनुपर्छ।
बालबालिकालाई कुन स्टेजमा अस्पताल लैजाने त ?
जब बालबालिकाको भावना, व्यवहार, सोचाइमा परिवर्तन देखिन थाल्छ र त्यो परिवर्तनले दैनिक क्रियाकलाप गर्न नसक्ने स्थितिमा पुग्छन् तब परामर्श सुरु गरिहाल्नुपर्छ।
समस्या पहिचानमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ र के–के कुरामा ध्यान दिनुपर्छ ?
यस्ता मानसिक समस्या जति छिटो पहिचान गरेर उपचार गर्न सक्यो उति नै प्रभावकारी नतिजा आउँछ। त्यसैले समस्या पहिचानमा अभिभावकले ध्यान दिनुपर्छ। बालबालिकामा हुनसक्ने मानसिक समस्याका कारणहरु पारिवारिक झै–झगडा, कलह, घरेलु हिंसा, बालबालिकामाथि हुने हिंसा, शारीरिक तथा यौन दुव्र्यवहार र अन्य जस्तोसुकै घटना या व्यवहार जसले बालबालिकालाई तनाव बढ्न सक्छ, त्यस्ता कुरामा ध्यान दिनुपर्छ।
बालबलिकाले धेरै समय विद्यालयमा बिताउने हुनाले शिक्षक तथा साथीहरूबाट हुन सक्ने दुव्र्यवहार (बुलिङ) को बारेमा पनि सचेत हुनुपर्छ। त्यसको लागि अभिभावकले विद्यालयसँग समन्वय गर्नुपर्छ।
हरेक दिन अभिभावकले बालबालिकासँग कुरा गर्ने, के भइरहेको छ जान्न कोसिस गर्नुपर्छ। जति धेरै बालबालिका र आमाबाबुको कुराकानी राम्रोसँग भयो उति नै समस्या पहिचान गर्न सजिलो हुन्छ। अभिभावकले राम्रो अभिभावकत्वमा ध्यान दिनुपर्छ। समयमै समस्या पहिचान भयो भने समस्या जटिल हुन पनि पाउँदैन।
उपचारको क्रममा अभिभावकको भूमिका के रहन्छ ?
उपचारको क्रममा अभिभावकले बालबालिकालाई आवश्यकता अनुसार नियमित औषधि सेवन गराउने, मनोपरामर्श र थेरापीहरूमा नियमित लैजाने, पारिवारिक वातावरण सुमधुर बनाउने गर्नुपर्छ। बालबालिकालाई गाली गर्ने, धम्की दिने, पिट्ने, नकारात्मक प्रतिक्रिया दिने, अरूसँग तुलना गर्ने गर्नु हुँदैन।
उपचारको क्रममा अभिभावकलाई प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेर तालिम दिने गरिन्छ, जसमा बालबालिकाको व्यवहार कसरी परिवर्तन गर्ने, कसरी सुधार्ने भनेर सिकाइन्छ। यो तालिम लिएर घरमा लागू गर्न सक्ने हो भने धेरै सुधार आउँछ। त्यसैले उपचारको क्रममा यस्ता टेक्निकहरूमा ध्यान दिनुपर्छ।
प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेको के हो ?
यो एउटा व्यवहार सम्बन्धी (बिहेबिएरल) थेरापी हो। जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय) लाई कसरी सही तरिकाले प्रयोग कसरी गर्ने भनेर सिकाइन्छ। बच्चालाई पुरस्कार या दण्ड दुवै चिज दिने समयमा अभिभावकको स्थिरता, परिवारका सबै सदस्यले बालबालिकासँग गर्ने व्यवहारमा एकरूपता ल्याउने, बालबालिकालाई एउटा रुटिनमा राख्ने, बच्चाको सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्ने, बालबालिकासँग हरेक दिन अभिभावकले निश्चित समय बिताउने, रमाइलो गर्ने जस्ता कार्य गर्दा बालबालिका र अभिभावकको सम्बन्ध सुमधुर हुन सहयोग पुग्छ। अभिभावक र बालबालिकाको सकारात्मक सम्बन्धले व्यवहार परिवर्तन गर्न ज्यादै प्रभावकारी भूमिका खेल्छ।
बच्चाले नकारात्मक व्यवहार देखाएमा प्रायः अभिभावकले कुट्ने, गाली गर्ने जस्ता सजाय दिइरहनुभएको हुन्छ। त्यस्तो नगर्न हामी सल्लाह दिन्छौँ। बरु दण्डको सट्टा बच्चाले पाउने पुरस्कार नदिने, उसको मन पर्ने चिजहरू नदिने गर्नुपर्छ। समग्रमा यो ट्रेनिङमा रिवार्ड र पनिस्मेन्टलाई कसरी सही तरिकाले प्रयोग गर्ने भनेर सिकाइन्छ।
एडिएचडी भनेको के हो ?
एडिएचडी अर्थात् एटेन्सन डिफिसेट हाइपर एक्टिभिटी डिसअर्डर भनेको बालबालिकाको विकासको क्रममा देखिने समस्या हो। जसमा बालबालिकाले कुनै पनि कुरामा ध्यान दिन नसक्ने, अत्यधिक चकचकेपना र सोच्दै नसोची निर्णय लिनेजस्ता लक्षण देखिन्छन्। यो डिसअर्डर बालबालिका ६ वर्षको हुँदासम्म देखिन सक्छ। यस्तो बेला बच्चाहरू अत्यधिक सक्रिय, बेचैन भएर हिँड्ने, केही कुरामा ध्यान दिन नसक्ने, केही कुरा सिक्न समय लाग्ने, सानो–सानो गल्ती गरिरहने, पढाइ कमजोर हुँदै जाने, सामान हराउने, बिर्सिने, अत्यधिक चकचक गर्ने, धैर्य भएर नबस्ने, कक्षामा पनि उठेर निस्किने, चलिरहने, हातखुट्टा चलाइरहने, सोच्दै नसोची जे पनि गर्ने र साथीहरूसँग बारम्बार झगडा गरिरहने हुन्छन्।
एडिएचडी के कारणले हुन्छ ?
एडिएचडी के कारणले हुन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन। तर अनुसन्धानहरुले देखाए अनुसार वंशाणुगत कारण जस्तैः गर्भावस्थामा आमाले रक्सी तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु, समय नपुगी बच्चा जन्मनु, जन्मिने बेलामा तौल कम हुनु आदि कारणले एडिएचडीको जोखिम बढाएको पाइएको छ।
बालबालिकालाई कुन अवस्थामा अस्पताल लैजाँदा ठिक हुन्छ ?
बच्चाले धेरै झगडा गर्ने, केही कुरामा ध्यान नदिने गरेपछि पढाइ कमजोर हुँदै जान्छ। त्यसपछि स्कुलबाट पनि गुनासो आउन सुरु हुन्छ। अत्यधिक मात्रामा चकचक गर्ने, कुनै कुरामा ध्यान नदिने र सोच्दै नसोची निर्णयहरू लिन थालेपछि उसको नियमित पढाइ साथी तथा परिवारका सदस्यहरूसँगको सम्बन्धमा समस्या देखिन थाल्छ। यस्ता समस्या आउन थालेपछि अस्पताल लैजानु पर्छ।
अस्पतालमा यसको उपचार प्रकिया के छ ?
यदि बच्चा एडिएचडी भएर अस्पतालमा आइपुग्छ भने ओपिडीमा उसलाई मूल्यांकन गरिन्छ। उसको विकासको अवस्था के छ भनेर सोधिन्छ। उसले गर्ने दैनिक क्रियाकलाप कस्तो छ, पढाइ, साथीभाइ र अभिभावकसँग सम्बन्ध कस्तो छ जस्ता कुराहरू बुझ्ने कोसिस गर्छौँ। आवश्यक परेमा एडिएचडी हो या होइन भनेर बुझ्न केही टेस्ट पनि गरिन्छ। धेरैजसो लक्षण हेरेर मात्रै पनि एडिएचडी हो या होइन भनेर पत्ता लगाउन सकिन्छ।
एडिएचडी पहिचान भयो र त्यो जटिल÷कडा अवस्थामा पुगिसकेको छ भने औषधि चलाउनुपर्ने हुनसक्छ। तर सामान्य छ भने थेरापीहरू गरिन्छ। जस्तो, बिहेबिएरल थेरापी। यो थेरापीमा घरमा अभिभावकले बच्चाको व्यावहारिक परिवर्तन ल्याउन प्रयोग गरिने थेरापी टेक्निकहरू हामीले बाबुआमालाई सिकाउँछौँ, जुन अभिभावकले घरमा लागू गर्नुपर्छ।
एन्जाइटी डिसअर्डर के हो ?
सामान्य भाषामा भन्नुपर्दा एन्जाइटी भनेको बिनाकारण डर लाग्नु हो। एन्जाइटी फरक–फरक किसिमको हुन्छ। हरेक कुरामा चिन्ता लिने, के गर्ने, कसो गर्ने भन्ने पिर परेको छ भने जनरल एन्जाइटी भनिन्छ। अलिकति भीडभाडमा जाँदा डर लाग्ने, आत्तिने लक्षण जस्ता हुनुलाई सोसल एन्जाइटी भनिन्छ।
बच्चाहरूमा सेपरेसन एन्जाइटी अलिक बढी हुन्छ। आफ्नो नजिकको मान्छे, आफूलाई माया गर्ने मान्छे टाढा हुन्छन् कि भन्ने डर लागिरहने हुन्छ। कुनै विशेष परिस्थिति वा ठाउँसँग हुने डरलाई स्पेसिफिक एन्जाइटी भनिन्छ। यो पनि कतिपय बच्चाहरूमा हुन्छ। बच्चालाई विद्यालयमा हुँदा डर लाग्ने, विद्यालयसँग सम्बन्धित अन्य कुराले डर लाग्ने हुन्छ भने त्यसलाई स्कुल फोबिया भनिन्छ।
एन्जाइटी पहिचान कसरी गर्ने ?
बच्चामा एन्जाइटी हुँदा भावनात्मक परिवर्तन देखिन्छ। यस्तो बेला डराउने, आत्तिने, उदास देखिने हुन्छ। अर्को व्यावहारिक परिवर्तन हुन्छ, जसमा स्कुल जान डर लाग्छ भने स्कुल जान नखोज्ने हुन्छ। कसै–कसैमा मुटु ढुकढुक हुने, श्वास फेर्न अप्ठेरो हुने, चिटचिट पसिना आउने, शरीर तातो हुने, बिनाकारण शरीरमा दुखाइ अथवा पीडा महसुस हुने र कतिपय अवस्थामा बेहोस होला जस्तो हुने हुन्छ। यिनै लक्षणलाई विचार गरेर एन्जाइटीको पहिचान गर्नुपर्छ। जब यस्ता लक्षण देखिँदै गर्दा बालबालिकाले दैनिक रूपमा गर्ने काम गर्न सक्दैनन् तब अस्पताल लैजानुपर्छ।
अस्पतालमा यसको उपचारको प्रक्रिया के हुन्छ ?
अन्य मानसिक रोगमा जस्तै यसमा पनि पहिले हामी बच्चासँग कुरा गर्छौँ। अभिभावकसँग कुरा गर्छौँ। त्यसपछि बच्चाको अवस्था हेरेर आवश्यकता अनुसार औषधि दिने तथा काउन्सिलङ र साइकोथेरापी गर्ने गरिन्छ।
ओसिडी भनेको के हो ?
ओसिडी अर्थात् अब्सेसिभ कम्प्लुसिभ डिसअर्डर भनेको एउटा यस्तो अवस्था हो, जहाँ बच्चामा एउटै सोचाइ बारम्बार आइरहने, त्यही सोचाइको कारणले तनाव हुने र चाहेर पनि सोचाइ हटाउन नसक्ने हुन्छ। त्यस्ता सोच विविध हुन सक्छन्। जस्तै, फोहोरबाट रोग लाग्छ, भगवानको नाम लिनुपर्छ। त्यो गरेन भने मलाई नराम्रो गर्छ भन्ने हुन्छ। त्यस्तो बारम्बार आउने सोचहरूले निम्त्याउने तनाव कम गर्न बालबालिकाहरू कुनै एउटा क्रियाकलाप बारम्बार गरिरहने गर्न सक्छन्। कसै–कसैमा सामानहरू मिलाइराख्ने, हात धोएकोधोयै गर्ने, कुनै चिज बारम्बार गनिरहने हुन्छ।
ओसिडीको पहिचान कसरी गर्न सकिन्छ ?
बालबालिकामा देखिएको लक्षणको आधारमा ओसिडी पहिचान गर्न सकिन्छ।
ओसिडीको शंका लागेमा कुन अवस्थामा अस्पताल लैजाने त ?
लक्षण देखिइसकेपछि बालबालिकाको दैनिक जीवनमा गर्ने नियमित काममा समेत बाधा आउन थाल्छ। त्यसपछि अस्पताल लगिहाल्नुपर्छ।
उपचारको प्रक्रिया के हो ?
अन्य मानसिक समस्यामा जसरी नै ओसिडीमा पनि औषधिको प्रयोग र साइकोथेरापी गर्ने गरिन्छ।
बालबालिकामा हुने डिप्रेसन के हो ?
डिप्रेसन एक प्रकारको मानसिक रोग हो। कम्तीमा दुई हप्तासम्म उदास मनस्थिति हुने, दिक्दारीपना, खुसी नहुने, कसैसँग घुलमिल हुन नचाहने, अत्यधिक मात्रामा मोबाइल र टिभी हेर्ने डिप्रेसनका लक्षण हुन्।
डिप्रेसन हुँदा कहिलेकाहीँ बिनाकारण शरीरमा दुखाइ वा पीडा महसुस गर्ने, श्वास फेर्न अप्ठेरो हुने, मुटु ढुकढुक हुने जस्ता शरीरिक लक्षण पनि देखिन्छन्।
डिप्रेसन भएका बालबालिकामा आत्महत्याको सोच आउने, आफैंलाई हानि पुर्याउन प्रयास गर्ने पनि हुन सक्छ। यस्ता लक्षण देखिएमा बेवास्ता नगरी तुरुन्त उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ।
डिप्रेसन कसरी पहिचान गर्न सकिन्छ ?
बालबालिकामा देखिने लक्षणकै आधारमा डिप्रेसन पहिचान गर्न सकिन्छ।
कुन अवस्थामा अस्पताल लैजाने ?
जब बालबालिकाको व्यक्तिगत, पारिवारिक, सामाजिक, शैक्षिक तथा अन्य क्षेत्रमा कठिनाइ हुन्छ भने तुरुन्तै अस्पताल लैजानुपर्छ।
उपचार कसरी हुन्छ ?
बालबालिकाको अवस्था हेरेर औषधि चलाउन परेमा औषधि नत्र अन्य मानसिक समस्यामा जसरी नै व्यावहारिक थेरापीहरूसँगै काउन्सिलिङ, साइकोथेरापी गर्ने गरिन्छ।
बच्चा बेलामा भएको डिप्रेसनले उमेर बढ्दै जाँदा कस्तो असर गर्छ ?
समयमै उपचार गरिएन भने यसको असर दीर्घकालीन हुन्छ। डिप्रेसनले पढाइमा असर भएको हुन्छ। जसका कारण भनेजस्तो जागिरका अवसर पाउन सक्दैनन्। घरपरिवार र समुदायले नकारात्मक प्रतिक्रिया दिन सक्छन् जसले गर्दा बारम्बार आत्महत्याको सोच आउने र आत्महत्याको प्रयास समेत गर्ने हुनसक्छ। यस्तो कार्यले उनीहरूको उत्पादनशीलतामा कमी आउन सक्छ।
ओडिडी भनेको के हो ?
ओडिडी अर्थात् अपोजिसनल डिफिएन्ट डिसअर्डर बालबालिकामा हुने सामान्य खालको व्यावहारिक समस्या हो। जसमा एकदमै नकारात्मक सोच आउने, अभिभावकले भनेको नमान्ने, धेरै रिसाउने, झगडा गर्ने जस्ता लक्षण देखिन्छन्। साथीहरूसँग पनि निकै असहयोगी, आक्रोशित हुने हुन्छ। जसले गर्दा सबैसँग कुरा नमिल्ने र सम्बन्ध नराम्रो हुन्छ।
बच्चाको उमेर बढ्दै जाँदा यो समस्या रहिरह्यो भने त्यसलाई हामी कन्डक्ट डिसअर्डर भन्छौँ। जहाँ बच्चाहरू सामाजिक मूल्य, मान्यता र नियम विपरीत कार्य जस्तै, घर बाहिर एक्लै बस्ने, बुबाआमाले भनेको नमान्ने, सामानहरु बिगार्ने, फाल्ने, फुटाउने, हिंसात्मक कार्यहरु गर्ने, लागुपदार्थ प्रयोग गर्ने, यौनजन्य क्रियाकलापमा संलग्न हुने जस्ता लक्षण देखा पर्छन्।
ओडिडी पहिचान कसरी गर्न सकिन्छ ?
ओडिडी भएका बालबालिका र किशोर–किशोरीले बारम्बार आक्रामक, अटेरी, अभद्र व्यवहार देखाउँछन्। जस्तै, वयस्कहरूसँग तर्क गर्ने, नियम र अनुरोध पालना गर्न अस्वीकार गर्ने, धेरै झगडा गर्ने वा जिस्किने, उत्तेजित व्यवहार देखाउने, जनावर तथा मानिसप्रति निर्दयी हुने र अत्यधिक दिक्दारीपन हुन्छ। साथै सामानहरु बिगार्ने, आगो लगाउने, चोर्ने, झुट बोल्ने, स्कुलबाट भाग्ने, अरूसँग घुलमिल हुन नसक्ने जस्ता लक्षणको आधारमा ओडिडी पहिचान गर्नुपर्छ।
ओडिडीको उपचार प्रक्रिया के हो ?
अन्य मानसिक समस्या जस्तै ओडिडी भएका बालबालिकालाई पनि व्यावहारिक थेरापी, काउन्सिलिङ तथा साइकोथेरापी गर्ने गरिन्छ।
अटिजम भनेको के हो?
अटिजम एउटा स्नायु विकास सम्बन्धी समस्या हो जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ। अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तक्र्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ।
अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन्। अटिजमका लक्षण प्रायः दु२ वर्षको उमेर सम्ममा देखा पर्छन्।
अटिजम के कारणले हुन्छ ?
हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर यकिन नभए पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन्। साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणले पनि अटिजमको जोखिम बढाएको पाइएको छ।
अटिजमको पहिचान कसरी गर्न सकिन्छ ?
अटिजम भएका बालबालिका कसैसँग अन्तक्र्रिया नगर्ने, आँखामा आँखा जुधाएर बोल्न नसक्ने, अरुसँग घुलमिल नहुने या एक्लै खेल्न मन पराउने, सामाजिक क्रियाकलापमा चासो नै नदिने, नामले बोलाउँदा प्रतिक्रिया नदिने, कुनै एउटा चिजमा मात्रै ध्यान दिइरहने, वस्तुहरूप्रति अनौठो लगाव, दोहोरो सम्वाद नगर्ने, आफ्नो भावना व्यक्त गर्न नसक्ने, अरुको भावना नबुझ्ने, उमेर अनुसार बोलीको विकास नहुने, अरुले भनेकै वाक्य वा शब्द दोहो¥याउने, एकोहोरो प्रकारको रुचि हुने, आफूलाई चाहिएको चिज या वस्तुलाई औंला नदेखाउने साथै चाहिएको अवस्थामा अरुको हात समातेर देखाउने, घाउचोट र दुखाइमा असामान्य बेवास्ता वा अत्यधिक प्रतिक्रिया दिने, असामान्य व्यवहार जस्तै, हल्लिने, मच्चिने, उफ्रिने, कुर्कुच्चा या आंैंलाले मात्रै टेकेर हिँड्ने, सामान्य रुपमा बुझ्न नसकिने अनौठा आवाजहरू निकाल्ने, घुमिरहेको वस्तुप्रति अत्यधिक लगाव हुने, निष्क्रिय या अत्यधिक चञ्चल हुने र दैनिक कार्यतालिकामा परिवर्तन गर्न मन नपराउने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ।
अटिजमको उपचार प्रक्रिया के छ ?
अटिजमको उपचारका लागि प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ। जसमा अभिभावकलाई बच्चाको व्यावहारिक सिप विकासमा सहयोग गर्ने पद्धतिहरु सिकाइन्छ।
जन्मजात अपांग बालबालिका कस्तो मानसिक समस्या लिएर अस्पताल आइपुग्छन् ?
त्यस्ता धेरै बालबालिकामा सुस्त मनस्थितिको समस्या देखिन्छ। साथै डिप्रेसन र एन्जाइटीको समस्या पनि देखा पर्छन्।
अहिले समग्रमा मानसिक समस्या लिएर कति बालबालिका अस्पताल आइपुग्छन् ?
हामीसँग देशभरिकै तथ्याङ्क त उपलब्ध छैन तर हरेक दिन कान्ति बाल अस्पतालमा मात्रै विभिन्न खाले मानसिक समस्या भएका ३० देखि ४० जना बालबालिका तथा किशोर–किशोरी आइपुग्छन्। यसबाट पनि बालबालिकामा मानसिक समस्या कति व्याप्त छ भन्ने आकलन गर्न सकिन्छ।
बालबालिकामा मानसिक समस्या पहिचान भएपछि अभिभावकको प्रतिक्रिया के हुन्छ ?
कतिपय अभिभावक इन्टरनेटमा हेरेर, पढेर पहिले नै तयारी गरेर आउनुभएको हुन्छ। कतिपय भने आफ्नो बच्चामा मानसिक समस्या छ भनेर स्वीकार गर्न नै खोज्नुहुन्न, आत्तिनु हुन्छ। मानसिक भन्ने शब्द देख्ने बित्तिकै डराएको जस्तो गर्ने र उपचार प्रक्रियामा सहभागी हुन नखोज्ने पनि गर्नुहुन्छ।
मानसिक समस्यालाई सामान्य रूपमा लिन र अस्पताल जाने वातावरण बनाउन के गर्नपर्छ ?
समुदायस्तरमा नै मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु जरुरी छ। मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जस्तै हो, उपचार गर्दा निको हुन्छ, मानसिक समस्या भएको मानिसले पनि औषधि सेवन गरेमा दैनिक जीवन सहज तरिकाले चलाउन सक्छ भनेर चेतना फैलाउन आवश्यक छ।