काठमाडौं- सरकारले देशका अन्य संघीय अस्पतालहरुमा पनि ‘ह्युमन मिल्क बैंक’ अर्थात् दूग्ध बैंक स्थापना गर्ने योजना बनाएको छ। घट्दो स्तनपानको संख्यामा सुधार गर्न अन्य संघीय अस्पतालहरुमा पनि ह्युमन मिल्क बैंक स्थापना गर्ने योजना बनाएको परिवार कल्याण महाशाखाको पोषण शाखाले जनाएको छ। हाल यो ह्युमन मिल्क बैंक थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मात्र सञ्चालित छ।
प्रसुति गृह अस्पतालमा सञ्चालन गरिएको मिल्क बैंकको सिकाईको आधारमा अन्य अस्पतालहरुमा पनि विस्तार गरिने पोषणा शाखा प्रमुख लिला बिक्रम थापाले बताए। उनले भने, ‘प्रसुति गृहमा सुरु भएको दूग्ध बैंक हाम्रो लागि सिकाई हो। त्यहाँको सिकाईको आधारमा अन्य संघीय अस्पतालमा कसरी लैजान सकिन्छ भनेर सोचेका छौँ। यति वटा अस्पतालमा भनेर अहिले तोकिएको छैन। तर योजना बनाएका छौँ।’
प्रसूति गृह अस्पतालमा यही भदौ ३ गते ह्युमन मिल्क बैंक स्थापना गरिएको थियो। उक्त मिल्क बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरुलाई आवश्यकता परेको बेलामा अरु आमाहरुले जम्मा गरेर राखेको दूध उपलब्ध गराउँदै आएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टले एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गर्ने आमाको संख्या घटेको देखाएको छ। हाल एनडीएचएसको रिपोर्ट अनुसार हाल ५६ प्रतिशत आमाले मात्र एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउँछन्।
सन् १९९६ मा एक्सक्लुसिभ स्तनपान गराउनको आमाको संख्या ७५ प्रतिशत थियो। जुन ७ प्रतिशतले घट्दै सन् २००१ मा ६८ प्रतिशतमा झरेको थियो। सन् २००६ मा त झन् १५ प्रतिशतले घट्दै यो संख्या ५३ प्रतिशतमा पुगेको थियो। सन् २०११ मा ५० प्रतिशत पुगेको संख्या त्यसपछि पुनः घट्दै गएको सर्वेक्षणले देखाएको छ। २०१६ मा ६६ प्रतिशत रहेको संख्या अहिले ५६ प्रतिशत मात्र छ।