हुम्ला जस्तो अति दुर्गमबासीले गुणस्तरीय उपचार सेवा पाउनु परेको कुरा, डाक्टर अनुहार देख्न पाउनु नै अहोभाग्य ठान्छन् । अहिले सिंगो हुम्लाबासीका लागि एकजना महिला डाक्टर भरोसाकी केन्द्र छिन्, डा स्मृति महत । त्यसैले हुम्लाबासीले उनलाई डाक्टर मात्रै आफन्त ठान्छन् । कतिले बुहारी नै भन्छन् ।
हुर्किन् काठमाडौं, पुगिन् हुम्ला ।
राजधानी काठमाडौंमा हुर्केकी डा. स्मृती महतले कर्णाली अञ्चलका विषयमा धेरै सुनेकी र केही पढेकी थिइन् । सुनेको र पढेको आधारमा कर्णाली भन्ने वित्तिकै रोग र भोक भएको अति दुर्गम स्थान भन्ने तस्बिर बनेको थियो दिमागमा । सहरीया जीवनशैली र रहनसहनमै अभ्यस्त भैसकेकी डा. महत यतिबेला अति दुर्गम जिल्ला हुम्लाको जिल्ला अस्पतालमा छिन् ।
राजधानीबाट बाहिर पश्चिममा बर्दिया र पूर्वमा धरानसम्म मात्र पुगेकी डा. महतले दुर्गमलाई नजिकबाट नियल्ने मौका समेत पाएकी थिइनन् । शिक्षित र सुविधासम्पन्न सहरी क्षेत्रमा त महिलाहरुलाई विभेद हुने हाम्रो समाजमा देशकै दुर्गम जिल्लामा पुगेकी डा. महतलाई अशिक्षित मानिसहरुको बाहुल्य रहेको क्षेत्रमा असहज लाग्नु स्वभाविक हो । तर, उनी त्यहाँ निरन्तर बिरामीको सेवामा लागेकी छिन् ।
लोक सेवा आयोगमा स्थायी दरबन्दीमा गत मंसिर ६ गते नाम निकाल्न सफल भएपछि उनको पहिलो पोष्टिङ नै हुम्ला जिल्ला अस्पतालमा भएको हो । उनी हुम्लामा पुग्दा हुम्लालाई सडक सञ्जालले समेत छुन सकेको थिएन । भौगोलिक हिसाबले कठिन संरचना रहेको दुर्गममा क्षेत्रमा उनी त्यसयता निरन्तर बिरामीको उपचारमा तल्लिन छिन् ।
उनको अनुभवका आधारमा हुम्लामा पेशागत रोग तथा समस्याका बिरामी धेरै छन् । धेरैजसोमा हाडजोर्नी तथा जोर्नी दुख्ने समस्या छ । खेतबारीमा काम गर्नेहरुमा बढी यो समस्या छ । त्यसपछि हुम्लामा श्वासप्रश्वास र फोक्सोको समस्या भएका बिरामी छन् । सिओपिडीको समस्या छ । धुवाँयुक्त घरमा बस्ने, चुरोट तथा सुल्फि (धुम्रपान) सेवन गर्ने भएकाले फोक्सो र दमको समस्या देखिने बढी छन् । बच्चाहरुमा निमोनियाको समस्या छ ।
सरसफाईको कमीका कारण हुने रोग पनि हुम्लामा धेरै छ । लुतो, झाडापखालाका बिरामी पनि देखिन्छन् । त्यस्तै छाला फुस्रो हुने बिरामीको संख्या पनि धेरै छ । उनका अनुसार हुम्लामा सागपात कम तर मासु धेरै खाने भएकाले पायल्सका समस्या लिएर आउने बिरामी धेरै हुन्छन् । खोलाको पानी सोझै खाने र सफसफाईमा ध्यान नदिँदा हुने पखलाजन्य समस्या समय–समयमा देखिरहन्छ ।
हुम्लामा पहिलो महिला डाक्टर
हुम्लामै पहिलो महिला डाक्टरका रुपमा काम गर्न पुगेकी उनलाई पहिलो पटक दुर्गम पुग्दा कस्तो लाग्यो त ? भन्छिन्, ‘सुनेको र पढेको आधारमा असाध्यै अप्ठेरो र गाह्रो होला भन्ने लागेको थियो । तर, त्यस्तो आत्तिहाल्नु पर्ने अवस्था भने रहेनछ । धेरै कुरामा असहज पक्कै छ । तर क्रमश एडजस्ट हुँदैछु ।’ उनका लागि त्यहाँ सबै कुरा नौला थिए । यहाँसम्मकी त्यहाँको भाषा समेत उनले राम्रोसँग बुझ्न सकिनन् रे ।
भन्छिन्, ‘अस्पतालमा बिरामी उपचारका लागि आउँदा भाषा बुझ्नै निकै गाह्रो परेको थियो । उहाँहरुलाई पटक–पटक भन्न लगाउने र छेउमा अर्को सहयोगीले बिरामीको कुरा भनेपछि मात्र बुझिन्थ्यो । तर, अहिले धेरै कुरा बुझ्ने भएको छु ।’
महिला पनि डाक्टर !
हुम्ला जानु अघि र एमबिबिएसको पढाईपछि डा. स्मृतीले वीर अस्पतालमा डेढ वर्ष करारका रुपमा काम गरेकी थिइन् । वीर अस्पतालमा काम गर्ने क्रममा उनलाई महिला भएकै कारण धेरैले विभेद समेत गरेका थिए । राजधानीकै अस्पतालमा विभेदमा परेकी उनी दुर्गम जिल्ला त्यसमा पनि अशिक्षितको जमात बढी भएको स्थानमा पुग्दा त्यसको सिकारमा नपर्ने कुरै भएन ।
हुम्लाका मानिसहरुले सुरुमा उनलाई डाक्टर होइन नर्स हो भन्ने सोचेका रहेछन् । दुर्गम क्षेत्रबाट आएका मानिसहरुलाई त महिला डाक्टर हुन्छन् भन्ने ज्ञान समेत रहेनछ । स्मृती डाक्टर हुन् भन्ने थाहा पाएपछि धेरैले आश्चार्य मान्दै भने, ‘अहो महिला पनि डाक्टर हुँदा रहेछन् ।’ डाक्टर नै नजाने र गएका पनि बस्न नरुचाउने स्थानमा पुगेकी स्मृतीले हुम्लाबासीलाई उपचार सेवा सँगै महिला पढाउनुपर्छ भन्ने सन्देश समेत दिएकी छिन् ।
भन्छिन्, ‘उपचारमा आएका धेरैले म डाक्टर हो भन्दा आश्चार्य मान्छन् । उनीहरुलाई म छोरोछोरीलाई पढाउनु पर्छ र डाक्टर बनाउनुपर्छ भन्ने गरेको छु ।’
रोग लुकाउने महिला उपचारमा आउन थाले
डा. स्मृतीले अस्पतालमा सेवा दिन थालेपछि विगतमा लाज र डरका कारण रोग लुकाउने महिलाहरु उपचारको दायरामा आउन थालेका छन् । ‘पाठेघर, पिसाबको समस्या तथा अन्य समस्या एवं रोग भएका महिलाहरु विगतमा पुरुष डाक्टर भएका कारण देखाउन आउनै लजाउने रहेछन्,’ उनले भनिन्, ‘तर अहिले धेरै महिला आफ्ना समस्या खुलेर मलाई भन्न थालेका छन् । उपचारका लागि आउने गरेका छन् ।’
लामो समयदेखि रोग लुकाएका महिलाको उपचार गर्न पाउँदा उनलाई निकै खुसी मिलेछ । भन्छिन् ‘पिडामा बसिरहेका आमा तथा दिदिबहिनीहरुको अनुहारमा उपचार पछि देखिएको चम्किलो मुस्कानले छुट्टै आनन्द दिँदो रहेछ ।’ बिरामीको त्यही मुस्कान, माया र व्यवहारले जोकोहीलाई पनि आकर्षण गर्न सक्ने उनी बताउँछिन् ।
‘धेरै औषधि दिनुहोस् न’
हुम्ला अस्पतालमा उपचारका लागि आउने अधिकांस बिरामी तथा आफन्तले डाक्टरसँग धेरै औषधि माग्ने गरेका छन् । टाढा–टाढाबाट उपचारका लागि आउने हुन वा नजिकैका स्थानीय नै किन नहुन उनीहरुलाई घरमा लगेर राख्न मिल्ने गरी औषधि चाहिन्छ । उपचार भनेको औषधि लिनु हो भन्ने धेरैमा ज्ञान भएका कारण पनि औषधि माग्नेको संख्या बढी भएको डा. स्मृती बताउँछिन् । ‘कतिपय टाढा टाढाबाट आएका हुन्छन् । पुनः आउन समस्या पर्ने भएकाले धेरै औषधि लिएर जान्छु भन्ने पनि हुन्छन्,’ उनले भनिन्, ‘हामीले उनीहरुलाई रोग अनुसार फरक फरक औषधि हुने र औषधि कसरी कुन अवस्थामा खाने भनेर सम्झाएर पठाउँछौँ ।’
डाक्टरले आफैँ पत्ता लगाउनुपर्ने !
हुम्लामा काम गर्ने क्रममा डा. स्मृतीले दुई÷तीन दिनदेखी हिँडेर आउने बिरामीदेखि नजिकैका स्थानीय बिरामीको उपचार समेत गरेकी छिन् । त्यसक्रममा उनले धेरैजसो बिरामीहरुलाई के भयो भनेर सोध्ने क्रममा ‘हम्लाई क्याथा तिमि आफैँ डाउटर हउँ, आफैँ पत्ता लाउन –हामीलाई के थाहा, तपाईं आफैं डाक्टर पत्ता लगाउनुहोस् न’ भन्ने कुरा पटक–पटक सुनेकी छिन् । दुर्गमका मानिसहरुलाई डाक्टरले हेरेको भरमा सबै कुरा आफैँ थाहा पाउँछन् भन्ने भ्रम छ । डा. स्मृतीका अनुसार उपचारका लागि आएका बिरामीलाई के भएको हो ? के–के हुन्छ ? भनेर प्रश्न गर्दा बिरामी र आफन्तले डाक्टर भएपछि जान्नुपर्ने धारणा राख्छन् । त्यस्ता बिरामीलाई सम्झाउने गरेको उनले बताइन् ।
जिल्लामै एक डाक्टर
हुम्ला अस्पतालमा अहिले डा. स्मृती एक जना मात्र डाक्टर कार्यरत छिन् । यसअघि करारमा केही डाक्टर आए पनि फर्किसकेका छन् । बाहिरबाट डा. केशव भट्टराई कार्यरत थिए । तर, उनी पनि अहिले छैनन् । करारका डाक्टर बस्नै नरुचाउने भएका कारण पनि जिल्लामा डाक्टरको अभाव हुने गरेको हो । डाक्टर स्मृतीको अनुभवमा उक्त स्थानमा छोटो समयमा चक्रीय प्रणालीमा करारका डाक्टर पठाउने हो भने डाक्टरहरुको उपस्थिती देखिने थियो । ‘लामो समयसम्मको करार भएपछि डाक्टरहरु जानै डराउँछन् र गएका पनि फर्किहाल्छन्,’ उनले भने, ‘सकेसम्म स्थानीयलाई प्रांथमिकतामा पार्दै छाटो अवधिको करार राख्दा डाक्टरको उपस्थिती रहन्थ्यो ।’ उनका अनुसार दुर्गम रहँदा माथिल्लो तहमा पढ्नका लागि फर्म भर्न, थप अध्ययनका लागि जानकारी नहुने तथा समय मिलाउन समस्या हुने भएपछि डाक्टर लामो समय नबसेका हुन् ।
एयर एम्बुलेन्स सेवा चाहिन्छ
जिल्ला अस्पताल भए पनि हुम्ला अस्पतालमा अन्य अस्पतालमा झैँ पूर्वाधार तथा उपकरणहरुको सुविधा छैन । मुस्किलले त्यहाँ गर्भवती महिलाको शल्यक्रिया गर्ने सेवा शुरु भएको छ । जटिल प्रकारका बिरामीलाई नेपालगन्ज तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै पठाउनु पर्ने हुन्छ । तर, समयमा नै प्लेन नआउने हेलिकप्टर नपाउने हुँदा बिरामीलाई निकै समस्या परेको छ । सरकारले अस्पतालको सेवा सुविधा बढाउँदै जनशक्ति थप्दै जाने कामसँगै एयर एम्बुलेन्सको व्यवस्था पनि गर्नुपर्छ । समयमा नै प्लेन नपाउँदा धेरैले एयरपोर्टमै ज्यान गुमाउनु पर्ने अवस्था समेत हुम्लामा छ ।
कम्तिमा दुई प्राथमिक स्वास्थ्य केन्द्र हुनुपर्छ
डा. स्मृतीका अनुसार हुम्ला जिल्लामा १५ बेडको अस्पताल र स्वास्थ्य चौकी मात्र छन् । त्यहाँ अहिलेसम्म एउटा पनि प्राथमिक स्वास्थ्य केन्द्र खोलिएको छैन । भौगोलिक हिसाबले हुम्लालाई तीन भागमा बिभाजन गरिन्छ । उत्तरतर्फ हिमाली क्षेत्र, सदरमुकाम रहेको मध्य क्षेत्र र तल्लो भेग ।
तीनवटै भेगमा तीनथरीको हावापानी छ । तर, सबै क्षेत्रका मानिसहरु उपचार गर्नका लागि जिल्ला अस्पताल नै आउनुपर्ने बाध्यता छ । ‘सामान्यतया स्वास्थ्य चौकीमा उपचार गर्छन् नभए पछि हिँडेर भए पनि जिल्ला अस्पताल आइपुग्छन्’ स्मृती भन्छिन्, ‘कम्तिमा ती क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र भएको भए एक जना डाक्टरको उपस्थिती रहन्थ्यो । बिरामीले समयमा नै उपचार पाउँथे ।’ अस्पतालमा सामान्यतया ९ वटा गाविसका धेरै बिरामी आउने गर्छन् । तर, ५५ हजार जनसंख्या रहेको हुम्लामा प्राथमिक स्वास्थ्य केन्द्र पनि नरहँदा सबै जनताका लागि जिल्लाको एउटा अस्पताल नै भरोसाको केन्द्र बन्न पुगेको छ ।
हुम्लासँगको नाता
डा. स्मृतीको हुम्लासँग नाता जोडिएको छ । काठमाडौंमै पढेलेखेकी उनको विवाह हुम्लाकै डाक्टर मंगल रावलसँग भएको छ । हुम्ला सदरमुकामबाट दुई दिन हिँडेर पुगिने साया गाविसका रावलसँग उनको विवाह भएको हो । तर, अहिलेसम्म उनी उक्त गाविसमा भने पुगेकी छैनन् । हुम्लाका रावलको परिवार नेपालगन्जमै बस्छन् । डा. रावल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ हुन् । श्रीमान्को जिल्ला भएकाले पनि चिनेजानेकाले उनलाई अस्पतालमा बुहारी समेत भन्छन् । त्यसले पनि उनको सेवामा थप सहज भएको छ ।