नेपालीले हृदयदेखि श्रद्धा गर्ने नेताहरुका केही नाममा जिवराज आश्रित पनि एक हुन् । दासढुंगा दुर्घटनामा मदन भण्डारीसँगै आश्रितको ज्यान गयो । ती दुई नेतासँगै देश परिवर्तनको एउटा सपना दासढुंगामा दुर्घटित बनेको थियो । यीमध्ये आश्रितका छोरा डा सागर न्यौपानेले बाउको बिडो सम्हाल्दै राजनीति गरेनन्, उनले चिकित्सा क्षेत्र रोजे । क्षेत्र फरक रोजेपनि जनताको सेवा गर्ने आफ्ना पिताको सपनासँगै रहेको डा सागर बताउँछन् ।
उनी केही दिनअघि मात्रै चिनबाट ग्याँष्ट्रिक क्यान्सरमा विशेषज्ञता (सुपर स्पेशियालिटी) हासिल गरेर फर्केका छन् । यो विषयमा पिएचडी गर्ने सम्भवतः नेपालकै पहिलो चिकित्सक हुन् उनी । उनले सन् यात–सेन युनिभर्सिटी अफ मेडिकल साइन्सेसबाट ग्याँष्ट्रिक क्यान्सर सर्जरीमा पिएचडी गरेका हुन् । यो चीनका राम्रा मेडिकल कलेजमध्य पर्छ । सन् यात–सेन त्यस्ता व्यक्तिको नाम हो, जसलाई चिनियाँले ‘फादर अफ नेशन’ मान्छन् ।
भनिन्छ– ग्याँष्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । धेरैमा यो समस्या हुने भएकाले यसो भनिएको होला । यही ‘राष्ट्रिय रोग’ले निम्त्याउने क्यान्सरबाट नेपालीलाई जोगाउन उनी नेपाल फर्केका छन् । खाशमा यो विषयमा नेपालमा अध्ययन निकै कम भएको छ । क्यान्सर ग्याँष्ट्रिकका कारण भएको वा अर्कै भनेर पनि पहिचान गर्न सकिने परिस्थिति यो बेला छैन । यही अवस्थामा उनको विशेषज्ञताबाट यो समस्याबाट पीडितले राहत पाउन अपेक्षा गर्न सकिन्छ । उनलाई पनि महशुस भएको छ, ‘उपचार परको कुरा, यसको पहिचान गर्ने संयन्त्रकै अभाव देखिरहेको छु । एक्युरेट डाइग्नोसिसका लागि राम्रो प्याथोलोजी जरुरी छ ।’
उनलाई यो विषयमा पढ्दै गर्दा रुची जागेको हो । ‘एक त नेपाल सुहाउँदो रोगको उपचार गर्ने विषय भयो अर्को मैले जुन हस्पिटलमा सिक्ने मौका पाएँ, त्यहाँ यो विभाग बढी सक्रिय र प्रभावकारी पाएँ,’ उनले भने, ‘हरेकको उपचार गर्दा सबै एक्सपर्टले आफ्नो राय प्रस्तुत गर्ने गर्थे ।’
उनका अनुसार उक्त हस्पिटलका अरु विभागमा असाध्यै जटिल केस आइपुग्थे । तर, यो विभागमा सामान्यदेखि जटिलसम्म आउँथे, यसले उनलाई सिक्ने लोभ पलायो र यही विषय रोजे । उनी भन्छन्, ‘मैले कुनै पनि साप्ताहिक विदा विदाका रुपमा प्रयोग गरिनँ । यही विषयको रिसर्चमा बिताएँ ।’
चिकित्सक नै बन्ने कारण
पारिवारिक माहोल राजनीतिक थियो । आफ्नो पिताको लाडप्यार धेरै समय प्राप्त गर्न पाएनन् तर प्रशंसा सुन्दै हुर्किए । पिताको राजनीतिक व्यक्तित्वले प्रभाव पनि पारेकै हो । तर उनी भने चिकित्सक बने । यसको पहिलो कारण उनलाई बायोलोजीमा असाध्यै रुची थियो, दोस्रो पढाइमा अब्बल भएका कारणले ‘डाक्टर बन्नुपर्छ’ भन्ने कुरा अरुले उनको बाल मष्तिष्कमा घुसाइदिए र तेस्रो, उनलाई लाग्यो– डाक्टर भएपछि जनताको सेवा गर्न सकिन्छ । किनभने उनको आफ्नो रुची बायोलोजीमा भएपनि त्यसको एउटा अंश चिकित्सा पेशामा त्यति रुची थिएन ।
बरु उनलाई वकिल बन्ने रहर थियो । उनलाई तर्कवितर्क गर्दा आफूले जित्नैपर्ने हुन्थ्यो । आफ्ना पितामाथि अन्याय भएको उनको बाल मष्तिष्कमा पसेको हुनुपर्छ, त्यसैले उनी कानूनतिर आकर्षित थिए । तर, धेरै सेवा गर्ने अवसर चिकित्सा जति कानूनमा छैन भन्न महशुस भयो र उनले चिकित्सा रोजे ।
सरकारी छात्रवृत्तिमा एमबिबिएस पढ्न चीन पुगेका उनले एमडी र डिएमसम्मै छात्रवृत्ति पाए । विदेशबाट चीनमा पढ्न पुग्ने लाखौं विद्यार्थीमा ५० जना राम्रो पढ्ने विद्यार्थीलाई दिइने एउटा छात्रवृत्ति छ । उक्त छात्रवृत्तिमा उनी दुईपल्ट परे– एमडी र डिएम गर्दा ।
आश्रित र सम्झना
जिवराज आश्रित दुर्घटनामा पर्दा डा सागर जम्मा ११ वर्षका थिए । उसो त बुवाको सामिप्यता त्यसअघि पनि उनले पाएनन् । उनका अनुसार भूमिगत भएर राजनीति गरिरहेकाले कहिलेकाहिँ घरमा आउँथे आश्रित । पार्टीले केन्द्रको जिम्मेवारी दिएपछि उनको परिवार बसाइँ काठमाडौं स¥यो । काठमाडौं सरेर उनी बुवासँग बस्न थालेको ४ वर्ष मात्रै भएको थियो, दुर्घटना भयो । त्यो कलिलो उमेरमा उनले बुवालाई तीन तरिकाले मूल्यांकन गरेका थिए । एक, असाध्यै अनुशासित, दुई, दिइएको जिम्मेवारी पूरा गरेरै छाड्ने मान्छे र तीन, कुनै कुरामा कम्प्रमाइज गर्न नखोज्ने ।
एमाले र राजनीति बारे
नेकपा एमालेले मदन भण्डारी, जिवराज आश्रित, मनमोहन अधिकारी जस्ता नेताको योगदानको ब्याज अहिलेसम्म खाइरहेको चर्चा बेला–बेला चल्छ । उनका पिताको श्रमपसिना रहेको पार्टीको वर्तमान रुपरंगलाई कसरी हेरेका छन् त डा सागरले ?
उनी भन्छन्, ‘२०५० साल र २०७१ समयको ठूलो अन्तराल हो । समाजको रुपरंग परिवर्तन भयो । त्यही अनुसार पार्टीले सिद्धान्त परिमार्जन गरेकोसम्म ठिकै हुन सक्छ । निष्ठावान नेतृत्वको अभाव चाहिँ भएको हो कि भन्ने महशुस हुन्छ ।’ सत्ताको राजनीतिका कारण पनि यस्तो भएको हुन सक्ने उनको आंकलन छ । पार्टीको छवी पनि बिग्रदै गएको महशुस गरेका छन् उनले ।
जस्तो जेसुकै भएपनि आफ्नो पितासँग जोडिएको पार्टीको माया लाग्छ उनलाई । पार्टीको सदस्यता लिएका छन् र सकेसम्म योगदान दिने उनको लक्ष्य पनि छ । भन्छन्, ‘मेरो बिज्ञता जुन क्षेत्रमा छ, त्यही ठाउँबाट पार्टीलाई योगदान गर्छु । त्यसको उपयोग भने पार्टीले गर्न सक्नुपर्छ ।’ उनी बुद्धिजिवी परिषद्का पनि सदस्य हुन् ।
नेपाल र चिकित्सा पेशा
पछिल्लो समय नेपालको चिकित्सा क्षेत्र व्यापारिको कब्जामा गइरहेकाले सेवाभाव मर्दै गएको कुरा यतिबेला चर्को उठिरहेको छ । यो विषयमा उनी अनभिज्ञ छैनन् । नेपालमै फर्केर सेवा दिनका लागि पढेका कारण पनि उनी चीन बस्दा पनि नजिकबाट नियालिरहेकै हुन्थे ।
‘राम्रो मानव नभई राम्रो डाक्टर हुनै सकिदैन,’ उनका गुरुले नलाई पटक–पटक दोहो¥यारहे । उनले अहिलेसम्म त्यही प्रयास गरेका छन्– राम्रो मान्छे बन्ने । आफू राम्रो चिकित्सक बन्ने–नबन्ने कुरालाई भविष्यमा जिम्मा छाडिदिए ।
नेपालमा चिकित्सकमा सेवाको भाव ओइलिन थाल्नु र कमाउने लालसा हराभरा हुनुमा सरकारको पनि दोष देख्छन् । उनी भन्छन्, ‘एउटा चिकित्सक बन्न गरिएको प्रयास र उसले दिने सेवाको मूल्यांकन गरेर तलब दिन सकियो भने चिकित्सक अर्थमुखी हुँदैनन् ।’
लापरबाहीका कुरामा त उनको स्पष्ट दृष्टिकोण छ– कसैले जानेर गर्दैन । तर, अहिले एकै ठाउँमा रहेर काम गर्दा पुग्दो पारिश्रमिक नभएकाले चिकित्सहरु काममा केन्द्रीत हुन नसकेको हुनसक्ने उनले बुझेका छन् ।