विचार/ब्लग

नेपाल जनस्वास्थ्य संघको चुनाव:  आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

 सगुन पौडेल

सधैंजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्षमा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ। जनस्वास्थ्य पेशाकर्मीहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पूरा पुगेको छ। 
२७ औं वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सूची बनाउने हो भने २७ वटा पुर्यापउन निकै मुश्किल पर्छ । अन्तराष्ट्रिय स्तरसम्म आफ्नो प्रभाव पुर्यायइसक्नुपर्ने अवधिमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसँग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन।

जनस्वास्थ्य संघ किन पछाडि छ, किन सोचे अनुरुप अगाडी बढ्न सकेन भन्ने विषयमा बहस र समीक्षा भविष्यले गर्नेछ। देशको बदलिँदो परिस्थितिअनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडि बढीरहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पेशा व्यवसाय तथा क्षेत्रमा परिवर्तन गर्नको लागि ठूलो जिम्मेवारी पाउँदैछ। यसैविच अव हुन लागेको नयाँ कार्यसमितिको चुनावबाट निर्वाचित हुने कार्य समितिसँग एक जनस्वास्थ्यकर्मीको  हैसियतवाट निम्न अपेक्षाहरु राखेको छु।

१)    पब्लिक हेल्थ प्रोफेसनल इन्फरमेसन सिस्टम : हाल नेपालमा कति जनस्वास्थ्यकर्मीहरु छन्, कस्तो–कस्तो विषय विज्ञता हासिल गरेका जनस्वास्थ्यकर्मीहरु छन् भन्ने कुराको स्पष्ट तथ्याङ्क नै उपलव्ध छैन । यसको लागि नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यकर्मीहरुको विवरण अपडेट गर्नको लागि पब्लिक हेल्थ प्रोफेसनल इन्फरमेसन सिस्टमको सुरुवात गर्नुपर्छ । अनलाइन तथा मोबाइल एप्लिकेसनवाट स्वयम् जनस्वास्थ्यकर्मीहरुले नै आफ्नो विवरण आफैं भर्न सकिने र व्यक्तिगत जानकारीहरु बाहेक अन्य जानकारी सिस्टमवाट हेर्न सकिने गरेर एउटा नयाँ प्रणाली सुरु गर्नुपर्छ । यसले आवश्यकता अनुसार रोस्टर तयार गर्न, परिचालन गर्न तथा हाम्रो जनस्वास्थ्य क्षेत्रका उप-क्षेत्रहरु जस्तै: न्युट्रिसन, इकोनोमिक, इपिडिमियोलोजी, हेल्थ प्रमोसन एन्ड एजुकेशन आदि जस्ता विषयविज्ञहरुको उत्पादन तथा परिचालनको योजना बनाउन समेत सरकार, विश्वविद्यालय तथा अन्य सरोकारवालाहरुलाई प्राविधिक सहयोग गर्नेछ।

२)    ग्लोबल पब्लिक हेल्थ मार्केटमा विश्वभर छरिएर रहेका नेपालका जनस्वास्थ्यकर्मीहरुको क्षमता तथा ज्ञानलाई नेपालको स्वास्थ्य क्षेत्रमा सदुपयोग गर्न सहजिकरण गर्ने उदेश्य सहित हरेक देशमा नेफा एम्बेस्सडर बनाई उनीहरुको ज्ञान, सीप र क्षमतालाई आफ्नो देशमा भित्र्याउने प्रणालीको सुरुवाट गर्नुपर्दछ। ब्रेन ड्रेन हुँदै गइरहेको सन्दर्भमा यो सुरुवातले देशको जनस्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्याउउन सक्दछ।

३)    नेपाल भित्रै रहेर आफ्नो पेशा व्यवसायमा व्यस्तजनस्वास्थ्यकर्मीहरुलाई महिनामा एकदिन वा १५ दिनमा १ दिन आफ्नो पेशागत विकासका गतिविधिहरु अनिवार्य रुपमा परिचालन हुने, कन्ट्रिब्युसन गर्ने अभियानहरु सञ्चालन गर्नुपर्ने देखिन्छ।

४)    कलेजहरुको मापदण्ड निर्धारण, अनुमति, नयाँ विधाहरुको पढाई सुरुवात आदि लगायत सम्पूर्ण जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी बनाउन काम गर्ने सरकारी निकाय, जनस्वास्थ्य परिषद् स्थापना गर्न पहल मात्र नभइ ठोस रुपमा स्थापना नै गर्न लागिपर्नुपर्दछ।

५)    जनस्वास्थ्यकर्मिहरुलाई अपडेट गराउन अनलाइन इ–लर्निङ सिस्टम, कन्टिन्युस पब्लिक हेल्थ एजुकेसन कार्यक्रम तथा पब्लिक हेल्थ अपडेट छलफल फोरम  र पब्लिक हेल्थका मह्वपूर्ण दिवस मनाउने काम नियमित हुनुपर्दछ।

६)    संघीयताको मोडलअनुसार स्थानीय सरकारदेखि संघसम्म जनस्वास्थ्य सिस्टम र क्षेत्रलाई थप प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउन आवश्यक पर्ने संरचना तथा दरबन्दी के कस्तो चाहिने र किस्ता विज्ञता भएका जनस्वास्थ्यकर्मीहरु परिचालन गर्दा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हिसावले सरकारलाई एभिडेन्स दिनको लागि नेफा टेक्निकल एक्सपर्ट परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समूह गठन गर्ने र सरकारलाई प्राविधिक सहयोग गर्नुपर्दछ।

७)    संघ, प्रदेश र स्थानिय सरकारका विकास सम्वन्धी हरेक प्राविधिक समितिहरुमा स्वास्थ्यका कुराहरुलाई प्राविधिक सहजिकरण गर्न नेपाल जनस्वास्थ्य संघको प्रतिनिधी रहने व्यवस्था गर्न पहल गर्ने।

८)    हरेक वर्ष जनस्वास्थ्यकर्मिहरुको राष्ट्रीय तथा अन्तराष्ट्रिय भेला, सम्मेलन, सातै प्रदेशमा जनस्वास्थ्य सुचना केन्द्रहरु स्थापना गर्ने, पेशामा नवप्रवेशी जनस्वास्थ्यकर्मीहरुको क्षमताको विकास गर्न विभिन्न सीप विकास हुने कार्यक्रम र तालिमहरु नियमित आयोजना गर्ने। अरु देशका जनस्वास्थ्यका पेशागत संघहरुसँग सम्झौता गरी पेशागत क्षमता अदान प्रदान कार्यक्रमहरु ल्याउने ।  एउटा सामान्य उदाहरण– नेपाल सरकारवाट प्रदान हुने कर्मचारी सन्तति छात्रवृत्तिको कोटामा धेरै शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति पाइन्छ तर जनस्वास्थ्य विषयमा छात्रवृत्ति पाइदैन, अवसरको लागि हाम्रो वकालत त्यहीँदेखि सुरु गर्नुछ।

९)    मासिक न्युजलेटर, प्लान, पोलिसी अपडेट मेमोहरु, नेफा जर्नल  नियमित प्रकाशन गर्ने। 

१०)     भर्खर पास गरेकाहरुलाई अनुभवकालागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा तलब सहितको इन्टर्नसीप व्यवस्था गर्ने, पब्लिक हेल्थका जनशक्ति विकासका लागि प्रोजेक्टहरु ल्याउने,  अनुभ का लागि स्वयं सेवा गर्नुपर्ने वध्यता हटाउने।

माथि उल्लेख गरे जस्ता सामान्य गतिविधिहरु गर्नसके पनि जनस्वास्थ्य क्षेत्र र पेशागत विकासमा ठूलो प्रगति हुनेछ। जनस्वास्थ्य पेशा प्रतिको बढ्दो आकर्षणले गर्दा हाम्रो पेशा निकै मिक्समास हुँदै गइरहेको छ, जनस्वास्थ्य पेशा दिन प्रतिदिन लोकप्रियपेशाको रुप पनि विकास हुँदैछ। हरेक स्वास्थ्यकर्मीको रोजाई जनस्वास्थ्य विशेषगरी मास्टर डिग्री चाँही पव्लिक हेल्थमै गर्न पाए भनेर आकर्सित भइरहेको अवस्थामा यो पेशालाई थप अनुशासित, मर्यादित, नतिजामुखी  र हरेक व्यक्तिहरुले सहजै चिन्न सक्ने पेशाको रुपमा विकास गर्नुपर्छ। हालसम्म जनस्वास्थ्य पेशा भनेको कमले मात्र बुझ्छन्, जनस्तरसम्म जनस्वास्थ्यकर्मीहरुको माग वढाउन तथा उपयोगिता बढाउन, पेशा र यसको महत्त्व बुझाउने जिम्मेवारी जनस्वास्थ्य संघ कै हो। सामान्य बोलिचालीको भाषामा ‘जनस्वास्थ्यकर्मी’ भनेर कसैले चिन्दैनन् कि त हामिलाई ‘डाक्टर होउ’ कि त ‘नर्स’ भनेर चिनिने हाम्रो पेशालाई 'म जनस्वास्थ्यकर्मी हुँ' भनेर समाजले स्वत चिन्न सक्ने पेशा बनाउने मुख्य भूमिका जनस्वास्थ्य संघले नै निर्वाह गर्नुपर्दछ। 

विभिन्न चुनावी प्रतिवदद्धता लिएर चुनावमा होमिनुभएका उमेद्वारहरुलाई शुभकामना । अव हामीले नगरे कसले गर्ने ? यो समयमा नगरे कहिलेलाई पर्खने ? परिवर्तन हाम्रै पालामा सम्भव छ, चुनाव जितेर आउने कार्यसमितिलाई जनस्वास्थ्य पेशा र क्षेत्रमा आमुल परिवर्तन गर्न प्रेरणा मिलोस्, सहकार्यको लागि म जस्ता सयौं जनस्वास्थ्यकर्मीहरु तयार छन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने