आदरणीय मुख्यमन्त्रीज्यू,
प्रदेश नं २
तपाईंले गरेको मिडिया ब्रीफिङ सुनियो। अहिले विश्व कोभिड-१९ को माहामारीले धाराशायी छ र यसबाट नेपाल पनि अछुतो नरहेको कुरा यहाँलाई अवगत गराइरहनु नपर्ला। पूरा विश्वको नजर र भर अहिले स्वास्थ्यकर्मीमाथि छ। किन नहनु? जुनसुकै महामारी फैलिदा पनि अग्रपङ्तिका योद्धा हामी नै हो।
हरेक देशका सरकार र त्यहाँका जनता चिकित्सक तथा स्वस्थ्यकर्मीहरूको मनोबल बढाउन लागिपरेका छन्। कोभिड १९ जति नौलो विश्वको लागि हो, त्यतिनै नौलो हाम्रो लागि पनि हो। यस्तो कहालीलाग्दो समयमा तपाईंजस्तो बुद्धिजीविहरूको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र चिकित्सक प्रतिको नियत हेर्दा कुन चिकित्सकहरूको मन नरूदो हो? कुन स्वास्थ्यकर्मी आफ्नो र परिवारको जीवन दाऊमा राखेर अहोरात्र खट्लान्?
हामी चिकित्सकहरू हिप्पोक्र्याटिक ओथ लिएर बिरामीकै सेवाका लागि खटिएका हुन्छौं। तपाईंहरू जस्ताकै सेवा गरेर ताली थाप्न, गाली खान हैन। हुन पनि तपाईं अभिभावक हनुहुन्छ र गाली गर्ने तपाईंको दायित्व हो। तर, जहिले पनि वितृष्णापूर्ण नियत र व्यवहार सह्य हुँदैन। एक चिकित्सकको नाताले मेरो मनमा उब्जेका केही ज्वारभाटाहरू छन्, आशा छ तपाईंले साम्य पारिदिनुहुन्छ।
१. कोभिड १९सँग लड्नु संघी सरकारको मात्र दायित्व हो र? प्रदेशको आफ्नो अस्तित्व खोई? प्रदेशको त्यारीमा ढिलासुस्ति किन?
२. कोभिड १९को लागि टोली गठित छ वा छैनन्? छ भने के उपलब्धि भए? कसरी काम गरेको छ? भोलिका दिनका लागि रोडम्याप खोई?
३. कोभिड १९ को जाँचको लागि अहिलेसम्म किटमा ढिलाई किन? प्रादेशिक ल्याबको परिकल्पना कागजमा मात्र हुने हो र?
४. पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट)को प्रयोग भइरहँदा पानि इटली, स्पेन जस्ता देशमा दिनानुदिन स्वास्थ्यकर्मीहरू मर्दैछन्। पीपीई पनि नदिने र दिएको पीपीई पनि डब्लुएचओको मापदण्ड त परको कुरा न्युनतम स्ट्यान्डर्ड पनि नभएको बेला बिरामी हेर्न भन्नु दासत्व हैन र? चिकित्सकलाई सुपर-स्प्रेडर्स बनाउन लाग्नुभएको त हैन?
५. एन ९५/एन-९९ मास्क स्वास्थ्यकर्मी र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिका लागि भएको कुरा डब्लुएचओले भनिरहँदा तपाईं यी दुईमध्ये कुनैमा पनि पर्नुभएको जस्तो लागेन। आख़िर एन-९५ मास्कको दुरुपयोग किन? विश्वाश नलागे बंगलादेशको प्रधानमन्त्री सेख हसीनाको अभिब्यक्ति हेरे हुन्छ।
६. कोभिड-१९ को महामारीको लागि स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन प्रोत्साहन भत्ता/तलब र बीमाको व्यवस्था गरे हुन्थ्यो कि? त्यसो गर्न नसकेपनि कम्तीमा प्रोत्साहनका दुई शब्द बोले त हुन्थ्यो। नजिकै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको घोषणा हेर्नुहोस् त, कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने चिकित्सक र स्वास्थ्यकर्मीका परिवारका सम्मानस्वरुप एक करोड दिने घोषणा गरे।
७. प्रदेशको शान प्रादेशिक अस्पताल भन्नु त भयो? तर प्रादेशिक अस्पतालको काँचूली फेर्न, स्तर अभिबृद्धि गर्न र जनताले हेर्ने गरी काम गर्नु भएको खोई त?
८. चिकित्सकको लाइसेन्स खारेज़ गर्ने अधिकार तपाईंलाई कस्ले दियो त?
अन्त्यमा यति मात्र भन्छु- मनोविज्ञानले काम गराउने दुईवटा तरिका सिकाएका छन्, उत्साहित बनाउने कि निरुत्साहित गर्ने। तपाईंले कुन रोज्नुहुन्छ, आफैं तय गर्नुहोला।
तपाईंको आज्ञाकारी
डा अजय कुमार यादव
फिजिसियन
प्रादेशिक अस्पताल जनकपुर।