काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल परिसरमा बनिरहेको नयाँ भवनमा कोभिड आइसोलेसन बनाउने प्रस्ताव गरेको छ।
तर, वीर अस्पतालले भने मन्त्रालयको उक्त प्रस्ताव मन्न अटेर गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको नयाँ सर्जिकल भवनमा दुई सय शय्याको आइसोलेसन बनाउन पत्राचार गरेपनि अस्पतालले अटेरी गरेको हो।
तत्कालका लागि दुई सय शय्याको आइसोलेसन संचालन गर्ने र आवश्यक परेको खण्डमा एक हजार शय्याको आइसोलेसन बनाउन सकिने प्रस्ताव मन्त्रालयले गरेको छ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने,‘वीरले त निकै अप्ठेरोमा पारेको छ। कोभिड बिरामीको उपचारमा वीर अस्पताल पन्छिन मात्र खोजेको देखिन्छ। जिम्मेवारी नै नलिन खोज्ने, यसरी हुन्छ?’
स्वास्थ्य मन्त्रालय यो समयमा वीर अस्पताल सल्लाहकार जस्तो भएर अघि बढोस् भन्ने चाहन्छ तर अस्पताल भने केही काम गर्न नपरे हुन्थ्यो भन्ने शैलीमा अघि बढेको ती कर्मचारीको अनुभव छ।
स्वास्थ्य मन्त्रालयको कोभिड नियन्त्रण र व्यवस्थापनका लागि हुने बैठकमा पनि वीर अस्पतालको भूमिका बारे असन्तुष्टि र आलोचना भइरहेको छ। तर, बैठकमा उपस्थित वीर अस्पतालका कर्मचारीलाई भने ती आलोचनाले आत्मबोध गराउन नसकेको मन्त्रालयका कर्मचारी बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अर्का कर्मचारी भन्छन्,‘नेपालको स्वास्थ्य प्रतिष्ठानमध्येको जेठो, काठमाडौंको सेन्टरमा स्वास्थ्य मन्त्रालयको नजिक, जनशक्ति, उपकरण भएको र बजेट र पहुँच अरुको भन्दा धेरै भएको अस्पताल यो समयमा अरु अस्पतालका लागि पनि अदार्श हुनुपर्ने होइन र?’
उनले पुरानो, विशेषज्ञ विषय धेरै भएको भएपनि वीर अस्पतालको कमजोर नेतृत्व र अनियमिताको अखडा भएको कारण पनि वीर अस्पताल आवश्यक परेको समयमा पन्छिन खोजेको टिप्पणी गरे।
वीर अस्पतालमै लामो समयदेखि कार्यरत एक विशेषज्ञ चिकित्सक समेत स्वास्थ्य मन्त्रालय र वीर अस्पतालमा सधैं छत्तिसको आकडा रहेको बताउँछन्।
उनी भन्छन्,‘विषयगत गम्भीर्यता भन्दा पनि एकले अर्काको कुरा नमान्ने पुरानै प्रवृत्ति छ। वीरले पाएको बजेट र जनशक्तिको सही व्यवस्थापन गर्ने हो भने यहाँको सेवासुविधा अब्बल हुन्थ्यो,’ उनले थपे,‘जति धेरै बजेट उति नै अनियमिता वीर र ट्रमा सेन्टरमा जति अन्य अस्पतालमा अनियमिता कहाँ होला? कति वर्ष दुबै अस्पतालमा अडिट समेत भएको छैन। अनि कसरी जिम्मेवारी लिन चासो देखाउँछन् त?’
वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले भने आफूहरु आइसोलेसन बनाउन तयार रहेपनि सर्जिकल भवनको निर्माण कार्य चलिररहेकोले समस्या भएको बताइन्।
उनले भनिन्,‘हामीले जिम्मेवारी लिन नखोजेको होइन। त्यो भवनको निर्माण कार्य जारी नै छ। हामीलाई हस्तान्तरण भएको छैन। त्यसैले निर्णय गर्न ढिला भएको हो।’
उनले अस्पतालले जापान सरकारले बनाइदिएको भवनमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको जानकारी पनि दिइन्।
कोभिड संकटको समयमा वीर अस्पतालमा अनियमितता भएको उजुरी मन्त्रालयमा पुगेको छ। कोरोना नियन्त्रण र उपचारका लागि खरिद गरेका सामग्रीदेखि कोभिड खोप लगाउने काममा समेत अनियमितता भएको अरोपसहितको उजुरी मन्त्रालयमा पुगेको छ।
कोभिड खोप लगाउने क्रममा वीरका अहेवले केही व्यक्तिसँग २० देखि ३० हजार रुपैयाँसम्म रकम लिएर प्राथमिकतामा नपरेका व्यक्तिलाई खोप लगाइदिएको आरोप पनि वीरका केही कर्मचारीले लगाएका छन्। ‘सरकारले निशुल्क उपलब्ध गराएको खोपमा समेत यहाँ चलखेल गरेका छन्,’ वीरका एक कर्मचारीले भने, ‘प्राथमिकता सूचीमा नपरेका व्यक्तिलाई समेत रकम लिएर खोप लगाउने काम भयो।’
देशमा कोरोनाको दोस्रो लहर पहिले भन्दा जटिल रुपमा देखिएको छ। काठमाडौँ उपत्यकामा हरेक दिन एक हजारभन्दा बढी संक्रमित देखिँदा लक्षण भएका र गम्भीर संक्रमितको संख्या पनि बढ्दो छ।
चिकित्सकका अनुसार यस पटक संक्रमण पुष्टि भएका सबै संक्रमित लक्षण सहित हुन्। तीमध्ये करिब ९० प्रतिशत संक्रमितलाई अक्सिजन आवश्यक छ।
तर, अधिकाश संक्रमित अस्पतालमा आइसोलेसनको अभावमा घरमै बस्न बाध्य छन्। उनीहरुको चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निगरानी गर्ने भनिएपनि त्यो भनाईमा मात्र सिमित छ।
मंगलबार मात्र देशभर ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। तीमध्ये काठमाडौं एक हजार ६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा संक्रमण देखिएको छ।