काठमाडौं- सुष्मा कोइराला मेमोरियल अस्पतालको कन्ट्री डाइरेक्टरमा अल्बर्ट बेन्जिन नियुक्त भएका छन्। उनको नियुक्तिसँगै अस्पतालले यसअघि कन्ट्री डाइरेक्टर रहेका हाइन स्टाललाई बिदाइ गरेको छ। उनी विगत २७ वर्षदेखि कन्ट्री डाइरेक्टरको रूपमा कार्यरत थिए।
उनको बिदाइसँगै नयाँ कन्ट्री डाइरेक्टर अल्बर्ट बेन्जिनलाई अस्पतालमा स्वागत गरिएको छ। उनलाई मेडिकल डाइरेक्टर डा सन्तोष विक्रम भण्डारीले अस्पताल परिवारमा स्वागत गरेका थिए।
अस्पताल निर्माणका क्रममा भोगेको समस्या र चुनौतीहरूको उल्लेख गर्दै स्थानीय तथा कर्मचारीहरूले गरेको साथ र सहयोगप्रति स्टालले सबैलाई धन्यवाद दिए। आफूहरूले अस्पताल सुरुवात गर्दा जम्मा ८ जना कर्मचारी रहेकोमा अहिले ९५ भन्दा बढी कर्मचारी रहेको बताउँदै उनले जलनको उपचार को लागी उत्कृष्ट अस्पतालको रूपमा सुष्मा कोइराला मेमोरियल रहेको बताए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले आफ्नो जीवनको महत्त्वपूर्ण २७ वर्ष नेपालका लागी दिएकोमा स्टाललाई धन्यवाद दिए। सबैभन्दा ठुलो कुरा सोच भएको बताउँदै,उनले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाले काठमाडौँको दुर्गम क्षेत्रमा हस्पिटल खोल्न सुरुमा निकै सङ्घर्ष गर्नुपरेको स्मरण गरिन् । त्यस्तै कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले सबैभन्दा पुरानो जलन हस्पिटलको रूपमा सुष्मा कोइराला मेमोरियल हस्पिटल रहेको उल्लेख जलनका बिरामीहरू उपचार को लागी बाहिर जानुपर्ने अवस्था नरहेको बताए ।