कोरोना महामारीका कारण सबै जनमानसमा नै तनाव सिर्जना भएको अवस्था छ। ठूलो मान्छेको जस्तै बालबालिकामा पनि डर लाग्ने, आत्तिने, आफ्नै बारेमा धेरै सोच्ने, आमाबुवा घरपरिवारको चिन्ता बढी गर्ने गरेको देखिएको छ। घरमा एक्लै बसिरहँदा र विद्यालय जान नपाउँदा बालबालिकामा समस्या बढ्ने नै भयो। अर्को कुरा भनेको साथीभाइहरुसँग घुलमिल नहुँदा बालबालिकाहरुमा आत्तिने, डराउने, तनाव हुने, राति निन्द्रा नलाग्ने समस्या पनि देखिएको छ। कतिपय बालबालिकामा उदासिन हुने समस्या पनि देखियो। डिप्रेसनबाट बालबालिका बढी प्रभावित भएको देखिएको छ। बालबालिकाहरु धेरै घरमा बसेर सामाजिक सञ्जाल जस्तै टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युब लगायत चलाइरहँने गर्दा पनि समस्या निम्तिरहेको छ। घरमा बस्दा बालबालिकाको तौल बढेका कारण पनि उनीहरुले चिन्ता लिने गरेको पनि हामीले पाएका छौं।
कोभिडको समयमा बालबालिकामा धेरै देखिएको समस्या भनेको तनावका कारण उत्पन्न भएको एन्जाइटी नै हो। डिप्रेसनको समस्या पनि देखिएको छ। नेपालमा यस्ता समस्या कति देखिए भन्ने तथ्यांक नहुँदा समस्या छ। हामीले उपचार र परामर्शका लागि अस्पतालमा आएको तथ्यांकाका आधारमा बालबालिकामा पनि तनाव बढेको भनिरहेका छौं। तर, देशभरमा के कति संख्यामा यस्ता समस्या देखियो भन्ने एकिन तथ्यांक भने छैन।
उपचारका लागि अस्पताल तथा फोनबाट परामर्श सेवा लिनेहरुको तथ्यांकका आधारमा हेर्दा ५/६ वर्ष उमेर समूहका बालबालिका देखि १७/१८ बर्ष उमेर समूहकामा समस्या देखिएको छ।
मानसिक तनाव तथा समस्याको उपचारका लागि कान्ति बाल अस्पतालमा काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरबाट पनि आइरहेका छन्। ६० प्रतिशत जसो उपत्यका बाहिरबाट आइरहेका छन्।
मानसिक समस्या छ भनेर अभिभावकले कसरी थाहा पाउने ?
साधारणतया हरेक बालबालिकाको एउटा स्वभाव हुन्छ। कोही कम बोल्ने, कोही बढी बोल्ने खालको स्वभावका हुन्न्। यदि बालबालिकाको उमेर अनुसारको व्यवहार छैन, व्यवहारमा धेरै नै उतारचढाव आयो भने केहि मानसिक समस्या छ कि भन्ने बुझनुपर्छ। साधारणतय हाम्रोमा आउने तीन/चार वर्षका बालबालिका हुन्छन् जो चौबिसै घण्टा रोहिरहन्छन्। सानोसानो कुरामा झै–झगडा गरिराख्ने, चिथोर्ने, कोर्ने गर्छन्। कोही बालबालिका रातभर सुत्दैन्, कोही चकचक मात्र गर्छन्, कोही बस्न नसक्ने उफ्रेको उर्फेई गर्ने, सामान तोडफोड गर्ने खालका हुन्छन्। उपचारका लागि आउँदा अभिभावकले उनीहरुको व्यवहार र त्यसमा आइरहेको उतारचढावका बारेमा जानकारी गराउनुहुन्छ। कोही कोठामा मात्र बस्ने बाहिर आउन नमान्ने पनि हुन्छन्। अभिभावकले ‘मेरो बच्चा अरु भन्दा फरक छ, चकचक मात्र गर्छ, घर भन्दा बाहिर जान एकदम डराउँछ, अरु मान्छेसँग कुरा गर्नै मान्दैन, घरमा राम्रोसँग बोल्ने तर घरबाहिर बोल्दै नबोल्ने’ समस्या छ भनेर ल्याउनुहुन्छ। बालबालिकाको नियमित आनीबानीभन्दा फरक यस्ता खालका व्यववहार छ भने मानसिक समस्या हो कि भनेर अभिभावक सचेत हुनुपर्छ।
हरेक मानसिक समस्या भनेको कि त वंशाणुगत हुन्छ कि त वातावरणले गर्दा हुन्छ। ठूलो र सानो मान्छेमा हुने त्यही हो। वंशाणुगत भनेको यदि परिवारमा एक जना भन्दा बढी सदस्यलाई मानसिक समस्या छ भने, परिवारका अन्य सदस्यलाई पनि देखिने सम्भावना रहन्छ। र, बालबालिकाको हकमा बातावरण भन्नाले घरपरिवार, समाज र विद्यालय हो। यी तीनवटै वातावरणले बालबालिकामा असर गर्न सक्छ। कहिलेकाँही वातावरण एकदम बिग्रियो भने वंशाणुगत नभए पनि वातावरणकै कारण मानसिक समस्या देखिन्छ। धेरै जसो वंंशाणुगतले नै हुन सक्ने सम्भावना देखाउँछ। जस्तै तपाईंलाई वंशाणुगत समस्या छ कि छैन भनेर अनुमान गर्नका लागि तुलना गर्न आवश्यक हुन्छ। उदाहरणका लागि तपाईं परीक्षामा फेल हुनुभयो। र म पनि फेल भएँ। कुनै ठूलो आघात भएन। तर, जोसँग वंशाणुगत समस्या छ उसलाई परीक्षामा फेल भएको कुराले ठूलो आघात पुर्याउँछ। पछि गएर मानसिक समस्या देखिनसक्छ। तर वंशाणुगत छैन भने त्यो विस्तारै आफैं रिकोभर भएर जान्छ। सामान्य अवस्थामा फर्किन्छ। बालबालिकामा मानसिक समस्या वातावरण र वंशाणुगत दुबै कारणले हुन्छ।
अभिभावकमा चेतना
विगतका वर्षको तुलनामा पछिल्लो समय मानसिक समस्याबारे अभिभावकमा केही राम्रो बुझाइ छ। तर, त्यो बुझाइ पर्याप्त भने छैन। जनचेतना पहिलको भन्दा अहिले दिनप्रतिदिन बढेको छ। भूकम्प र कोभिडपछि डर, त्रास, तनाव भनेको कस्तो हुँदो रहेछ भनेर जनमासले धेरै थाहा पाएका छन्। आत्तिने, डराउने पनि समस्या हुँदोरहेछ भन्ने बुझेका छन्। मिडिया र हामी पनि प्रचारप्रसारमा लागिरहेका छौं। सामाजिक सञ्जालले नै गर्दा मलाई एन्जाइटी भयो, डिप्रेसन भयो भनेर अभिभावकले भन्न सक्छन्। डाक्टरकहाँ जानुपर्याे भनेर बालबालिकाले आफैंले भन्न थालेकाछन्। अभिभावकले पनि नियमतिभन्दा फरक व्यवहार देखाउन थाल्यो भन्दै उपचार तथा आवश्यक परामर्शका लागि ल्याउने क्रम बढेको छ।
अनलाइन कक्षा र मानसिक स्वास्थ्य
पहिला त अनलाइन कक्षाको औचित्य के भनेर अभिभावकले बुझनुपर्छ। अनलाइन कक्षा भनेको बालबालिका स्कुल जान नसक्ने स्थितिमा उनीहरुलाई स्कुलसँग जोडिराख्ने माध्यम हो। अनलाइन कक्षाले भौतिक उपस्थितमा विद्यालयमा नै हुने जस्तो पूरै कक्षा र अध्ययनको अवस्था ल्याउन सक्दैन। बालबालिकाको हकमा त अझ कम हुन्छ। त्यसकारण विद्यालयमा जस्तै वातावरणको अपेक्षा अनलाइनमा राख्नु हुँदैन। अभिभावकले पनि त्यो कुरा बालबालिकालाई बुझाउन जरुरी हुन्छ। त्यसकारण अभिभावकले विद्यालयमा जस्तो ७/८ घण्टा नै अनलाइनमा पढोस् भनेर अपेक्षा राख्नु हुँदैन। त्यसकारण अभिभावकले धेरै प्रेसर गर्न हुँदैन। अभिभावकले अहिले अनलाइन क्लासमा पूरै पढोस् भन्ने चाहानुहुन्छ भने त्यो हुन सक्दैन। उनीहरुले सक्दैनन्। दबाब दिने काम हुँदा बालबालिकामा मानसिक तनाव बढ्छ र समस्या देखिनसक्छ। कोही अभिभावकले त नहुने कुराको अपेक्षा गर्ने र पढेन भनेर गाली गर्ने गरेको पनि देखिन्छ। जुन गलत हो।
अनलाइन कक्षा लिइरहेका बालबालिकालाई विद्यालयल तथा अभिभावकले बिचबिचमा मनोरञ्जन, रमाइलो गफगाफ गर्न दिनुपर्छ। आधा घण्टा तथा ४५ मिनेटको कक्षा लिइसकेपछि केही समय ब्रेक लिनुपर्छ। प्रविधिको प्रयोग कसरी सही तरिकाले गर्ने भन्ने जानकारी गराउनुपर्छ। विद्यालय भनेको नियमित पढाइ मात्र होइन सामाजिक सिकाइ पनि हो। लकडाउनका कारण र अनलाइन कक्षाका कारण समाजिक सिकाइमा असर गरिरहेको छ। यो कुरामा अभिभावक र विद्यालयले पनि बढी ख्याल गर्दै सिकाउन जरुरी हुन्छ। अनलाइन कक्षामा विद्यार्थीलाई पाठ्यपुस्तक सक्ने मात्र नभइ समाजिक सिकाइ पनि गराउनुपर्छ।
अहिले कोभिडको तेस्रो चरण आउन सक्ने सम्भावनाको कुरा पनि आइरहेको छ। तेस्रो लहरमा बालबालिकालाई संक्रमण हुने भन्ने अनुमान पनि गरिएको छ। यसोभन्दैमा आत्तिनु हुँदैन। यस्तो अवस्थामा अभिभावकको भूमिका ठूलो रहन्छ। अभिभावकले बालबालिकालाई सम्झाउने तथा बुझाउने गर्नुपर्छ। उनीहरुमा डर भन्दा पनि अभिभावकले भरोसा दिलाउनुपर्छ। कोभिडबाट सुरक्षित हुने उपायहरु सिकाउनुपर्छ। जस्तै मास्क लगाउने, समूहमा बस्दा ख्याल गर्ने, भिडभाड नगर्ने, साबुनपानीले हात धुने, सरसफाईमा ख्याल राख्ने लगायतका कुरा सिकाउने र अभ्यास गराउने गर्नुपर्छ। यदी बालबालिकामा कुनै समस्या देखिएको छ भने विशेषज्ञकहाँ गएर देखाउन जरुरी हुन्छ। बालबालिकामा हुने मानसिक समस्याका विषयमा अब विद्यालय र समुदायमा पनि तालिम दिनुपर्छ। सरकारले पनि यस विषयमा गम्भीर भएर चेतना फैलाउनेदेखि परामर्श र उपचार सेवा बढाउन लाग्नुपर्छ।
-(बाल मनोरोग विशेषज्ञ डा कुँवरसँग धनु विश्वकर्माले गरेको कुराकानीमा आधारित।)