पहिला महिनावारीमा पीडा हुन्छ कि हुँदैन भन्ने बुझ्नुपर्छ।
सामान्यतः महिलामा १० देखि १४ वर्षको बीचमा महिनावारी सुरु हुन्छ। सुरु–सुरुमा त्यति पीडा हुँदैन। तर, १६–१७ वर्षको उमेर हुँदासम्म पीडा पनि बढ्दै जान्छ। महिनावारीको पीडालाई हामीले सामान्य रुपमा लिएका हुन्छौं। तर, यस्तो पीडाका कारण स्कुल–कलेज जान नसक्ने, इमर्जेन्सी रुपमा अस्पताल जानुपर्ने र दुखाइ कम गर्ने औषधि खानुपर्ने अवस्था आउन थाल्यो भने त्यस्तो पीडा अन्य कारणले भएको हो कि भनेर अभिभावकले सोच्नुपर्ने हुन्छ। त्यसकारण महिनावारीको पीडा र अन्य क्रियाकलाप नै गर्न नसक्ने गरेर हुने पीडाबारे छुट्याउनु जरुरी छ।
२१ दिनदेखि ३७ दिनसम्मको मासिक चक्रलाई सामान्य र २१ दिनभन्दा कमकोलाई असामान्य मानिन्छ। यस्तै, महिनावारी हुँदा २ दिनभन्दा कम रगत आयो या ७ दिनभन्दा बढी लम्बियो भने असामान्य मानिन्छ। २ दिनभन्दा कम रगत आउने असामान्य अवस्थालाई ‘ओलीगोमेनोरिया’ भनिन्छ। कहिलेकाही रगतको ढिक्का या चोक्टा झर्नु पनि सामान्य होइन। यस्तै, तेस्रो दिनसम्म प्रत्येक दिन ५ वटाभन्दा बढी स्यानिटरी प्याड प्रयोग गर्ने अवस्था पनि सामान्य होइन।
महिनावारीका बेला तल्लो पेट दुई–तीन दिन दुख्छ र साधारण पारासिटामोलले पनि निको हुन्छ भने सामान्य मानिन्छ। तर, महिनावारी हुनु ४–५ दिन अघिदेखि नै पेट दुखिरहेको छ, महिनावारी भएपछि झन् दुख्छ र दुखाइ सात–आठ दिनसम्म निरन्तर हुन्छ भने असामान्य अवस्था हो। यस्तो बढी दुखाइका कारण किशोरकिशोरीहरु विद्यालय, कलेज नै जाँदैनन् र घरका क्रियाकलाप पनि छाडिरहेका हुन्छन्। यस्तो अवस्थामा पेन किलर लिनुपर्ने हुन्छ भने कतिपयलाई बान्ता पनि हुन्छ। यस्तो लक्षण बढी देखियो भने अरु समस्या त होइन भनेर विचार गर्नुपर्ने हुन्छ।
समस्या गम्भीर खालको हो कि होइन भनेर पत्ता लगाउन सामान्य खालको अल्ट्रासाउन्ड गरिन्छ। त्यसबाट डिम्बाशयमा कुनै पनि खालको ‘हेमोरेजिक सिस्ट’ अर्थात् रगत जमेको देखियो भने त्यसले गर्दा बढी दुखाइ भएको हो कि भनेर सोच्नुपर्छ।
विवाहित महिलामा पाठेघरको साइज हेर्छौं। ८ सेन्टिमिटरभन्दा ठूलो पाठेघर छ भने त्यसका कारण पनि दुखाइ भएको हो कि भनेर हेरिन्छ।
डिम्बाशयमा हेमोरेजिक सिस्ट अथवा रगत जमेको अवस्थालाई मेडिकल भाषामा एडिनोमायोसिस या इन्डोमेट्रोसिस सिस्ट भनिन्छ। त्यसैले पीडाको कारण पत्ता लगाउनै पर्ने हुन्छ।
विवाहित महिलामा दुखाइले प्रजननमा असर गर्छ?
पाठेघरभित्र एउटा लाइनिङ हुन्छ, जसलाई ‘इन्डोमेट्रियल लाइनिङ’ भनिन्छ, त्यसको काम हर्मोनको मद्दतबाट रगत निकाल्नु हो। महिनावारीका बेला हर्मोनकै कारण रगत झर्ने गर्छ। यस्तो अवस्थामा पाठेघरभित्रको रगत बाहिर निस्कन्छ।
तर, ‘इन्डोमेट्रोसिस’ को अवस्थामा भने फरक हुन्छ। पाठेघरको दुईतिर दुई वटा फलोपियन ट्युब हुन्छन्। सबैमा नभए पनि कसै–कसैमा चाहिँ महिनावारीका बेला निस्किएको रगत फलोपियन ट्युब हुँदै पेटमा पनि झर्ने हुन्छ। महिनावारीको अर्को चक्रमा फेरि यही प्रक्रिया दोहोरिन्छ र बाहिर निस्कन नपाएको रगत त्यहीँ जमेर बस्छ। अनि आन्द्रा टाँस्सिने, फलोपियन ट्युब र अण्डाशय टाँसिने, रगतहरु जम्दै जाने हुन्छ र त्यसक्रममा सिस्ट बन्छ । यसरी फलोपियन ट्युब र अण्डाशय टाँस्सिदा प्रजननमा पनि असर पर्ने सम्भावना हुन्छ।
त्यसैले इन्डोमेट्रोसिसलाई समयमा पहिचान र उपचार गरिएन भने बाँझोपन निम्तन सक्छ।
तल्लो पेट दुखेको छ, पाठेघरबाट नराम्रो पानी या गन्हाउने पानी गएको छ भने एन्टीबायोटिक दिने चलन धेरै हुन्छ। दुखाइ कम गर्न पेनकिलर पनि दिइन्छ। यसले तत्काललाई राहत दिए पनि दुखाइलाई निदान गरेको हुँदैन र पीडा फेरि बल्झन्छ। मैले कतिपय बिरामीले धेरै एन्टीबायोटिक लिएको देखेकी छु। त्यसरी बारम्बार एन्टीबायोटिक दिनुपर्दा डाक्टरले पनि सोच्नुपर्ने हुन्छ कि, ‘के कारणले पटक–पटक दुखाइ भइरहेको छ, किन एन्टिबायोटिकले काम गरेको छैन, अन्य कारण त छैन’ भनेर।
लामो समयसम्म तल्लो पेट दुखिराख्यो, विवाहित महिलालाई श्रीमानसँगको सम्पर्कका बेला या अन्य शारीरिक क्रियाकलापका बेला धेरै दुख्ने, महिनावारीको अघि या पछि दुख्ने भयो भने सोच्नुपर्छ यति धेरै दुखाइ किन भइरहेको छ भनेर। इन्डोमेट्रोसिस या एडिनोमायोसिस महिनावारीसँग सम्बन्धित हुन्छ र रगत पनि बढी नै जान्छ।
अर्को, हो क्षयरोग। प्रजनन अंगमा क्षयरोग पनि हुन सक्छ भनेर चिकित्सकहरुबाट एकदमै छुटिरहेको पाइन्छ। त्यसमा पनि हाम्रोजस्तो एसियाली मुलुकमा क्षयरोग एकदमै बढी देखिएको छ। ‘जेनिटल ट्युबरक्लोेसिस’ अर्थात् पाठेघरको टीबी छ कि छैन भनेर पत्ता लगाउन एमआरआई गरिन्छ, जसमा पाठेघरको संरचना, भित्ता, ओभरी सिस्ट, दिसा बस्ने आन्द्रा टाँस्सिएको छ कि ? भनेर हेरिन्छ। यस्तो अवस्थामा इन्डोमेट्रोसिस या एडिनोमायोसिस हुन सक्छ । तर, पाठेघर सामान्य अवस्थामा भए पनि पाठेघरको भित्ता एकदमै पातलो छ भने क्षयरोगको आशंका गरिन्छ। यसलाई पहिचान गर्न नाइटोबाट सानो दुरबिन छिराइन्छ र इन्डोमेट्रोसिस या क्षयरोग के हो छुट्याइन्छ।
पाठेघरभित्र सानो दुरबिन छिराएर सबै अवस्था हेरेपछि पाठेघरको भित्ता खुर्केर टिबी पीसीआरका लागि पठाइन्छ। यदि क्षयरोग हो भने त्यहीअनुसार उपचार प्रक्रिया थालिन्छ, जसका लागि ८,९ महिना लाग्छ।
एडिनोमायोसिस या इन्डोमेट्रोसिस हो भने आजकाल हर्मोनल आइयुडी (मिरेना क्वाइल) पाठेघरभित्र राखिन्छ। त्यो हेर्दा कपर टीजस्तो हुन्छ र तत्कालै राखिन्छ। त्यसले ५ वर्ष काम गर्ने भएकाले उक्त अवधिमा पीडा हुँदैन। यस्तै, आजकाल बजारमा थुप्रै खालका औषधि पाइन्छन्। तर, यी औषधि खाँदा महंगो पर्ने भएकाले मिरेना क्वाइल राख्ने गरिन्छ। यसबाट एकैचोटि पहिचान र दुखाइ व्यवस्थापन गरिन्छ। यही विधिबाट नर्भिकमा १० औं वर्षदेखि उपचार हुँदै आइरहेको छ।
अनावश्यक पेनकिलर र एन्टिबायोटिकले दीर्घकालीन असर परिरहेको हुन्छ। त्यसले तत्कालका लागि पीडा घटे पनि प्रजननमा एकदमै असर परेको हुन्छ। एक त टीबीका कारण गर्भ नै नरहने सम्भावना हुन्छ, सबै ट्युब ब्लक भइरहेको हुन्छ। अर्को कुरा, इन्डोमेट्रोसिस सिस्टका कारण अण्डा पनि कम हुन्छ, जसका कारण बाँझोपनको समस्या निम्तन सक्छ।
त्यसैले बाँझोपनबाट बँच्ने हो भने तल्लो पेट दुखाइको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्छ। इन्डोमेट्रोसिस हो कि क्षयरोग हो, समयमै छुट्याएर उपचार गर्नु राम्रो हुन्छ।
(चिफ कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा वैद्य नर्भिक इन्टरनेशनल अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख हुन्)