काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिएका छन्।
बिहीबार गृहजिल्ला रौतहटका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले पतञ्जली योगपीठ जग्गा प्रकरणमा प्रधानमन्त्री शर्मा ओलीकै निर्देशनमा आफूविरूद्ध मुद्दा लगाइएको आरोप लगाएका छन्।
नेपालले प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक भविष्य नै सिध्याउन खोजेको प्रतिक्रिया पनि दिएका छन्। उनले पतञ्जली योगपीठ प्रकरणमा मात्र नभई भ्रष्टाचार वा बदनियत राखेर कसैसँग एक रुपैयाँ पैसा नलिएको दाबी गरे।
‘उहाँ (प्रधानमन्त्री ओली) मेरोविरूद्धमा सुरूदेखि नै लाग्नुभएको हो। मेरो क्यारियर, राजनीतिक क्यारियर समाप्त पार्ने उहाँको नियत नै हो। पहिले पनि उहाँले पटकपटक कोसिस गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चल्ने मानिस हो,’ उनले भने, ‘मैले कसैबाट अनुचित लाभ उठाएको पनि छैन। मैले यो चुनौतीका साथ भन्न चाहन्छु। त्यसो हुनाले म यो राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामको विरूद्धमा रहन्छु। कहीँबाट कसैबाट भएको छ भने पनि उचित होइन भनेर दृढताका साथ उभिएको पनि छु। जहाँसम्म त्यहाँ लेखिएको कुरा के छ भने मैले नै मन्त्रीलाई निर्देशन दिएँ। मैले कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यसको प्रमाण पेस गरियोस्। मैले आजसम्म कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्नका लागि दबाब दिने त टाढाको कुरा भयो निर्देशन दिएको पनि छैन।’
स्वामी रामदेव, आचार्य बालकृष्णजस्ता व्यक्तिहरू भएको पतञ्जलीजस्तो संस्थामा अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न नसक्ने उनले बताए।
‘मैले कुनै अनुचित उद्देश्यले केही पनि गरेको छैन। नियम, कानुन, विधि के भयो भएन, विधिअनुसार नै सबै कुरा आएको थियो कि थिएन? त्यसको निम्ति सम्बन्धित सबै निकायले हेरे, हेरेनन्, अन्तिममा प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवले पनि कानुनी परामर्श गरेर गरेनन् त्यो सबै कुराहरू पनि हेर्नुपर्ने हुन्छ। यदि उचित भएको छैन भने...त्यहाँ एउटा टुक्रा पनि सरकारी जग्गा दिने काम भएको छैन,’ उनले भने।