प्लास्टिक सर्जन त्यसै पनि चमत्कारी चिकित्सक हुँदै हुन् । त्यसमाथि डा. शंकरमान राईले त आफ्नै जीवनमा सोच्दैनसोचिएका थुप्रै चमत्कार गरेर देखाइदिएका छन् । लाग्छ, उनी हुलियामा मात्र डाक्टर हुन्, उनको एकमात्र मिसन समाजसेवा हो ।
दूरदराज डुलेर जन्मजात ओठ–तालु फाटेका, दुर्घटनामा अंगभंग भएका, आगोले पोलेका २० हजार व्यक्तिको निःशुल्क प्लास्टिक सर्जरी गरिसकेका यी सर्जन अझ धेरै गरिब, दुःखीको आँसु पुछ्न चाहन्छन्, तिनका ओठमा मीठो मुस्कान फर्काउन चाहन्छन् ।
नेपालमा मात्र होइन, इक्वेडर, पेरु, भियतनामजस्ता कम विकसित मुलुकका गाउँगाउँ पुगेर उनले बालबालिकाको प्लास्टिक सर्जरी गरेका छन् । सन् २००४ मा अमेरिकी मेडिकल एसोसिएसनको ‘नाथान आर डेभिस अवार्ड’ र सन् २००७ मा लब्धप्रतिष्ठित ‘स्माइल टर्न हिरो अवार्ड’ पाएका यी डाक्टर नेपालकै गौरव हुन् ।
५८ वर्षअगाडि त्यतिबेलाको सोलुखुम्बु जिल्लाको दुर्गम गाउँ माक्पा (अहिले खोटाङ) मा जन्मिएका डा. राईले दुई वर्षकै उमेरमा मातृवियोग बेहोरेका रहेछन् । सुत्केरी बेथा लागेर काख गुमाएको थाहा पाएपछि उनले ‘डाक्टर’ बन्ने अठोट लिएछन् ।
नेपाली सेनामा क्याप्टेन थिए उनका पिता मानबहादुर राई । बुबाको जता सरुवा हुन्थ्यो, उनको घर त्यतै सथ्र्याे । उनको प्रारम्भिक स्कुले शिक्षा ओखलढुंगा र गोरखामा भयो ।
गोरखामा पढ्दाको रमाइलो सम्झना छ उनलाई । पूर्वतिरका मान्छे पश्चिममा खासै देखिन्थेनन् । जसले भेटे पनि एउटै कुरा सोध्थे– राई भनेको के जात हो । एक दिन सदरमुकाममा कामीहरुले सुँगुर काटेछन् । त्यहीँ ल्याएर खाँदा राई भनेको त कामी रहेछ भनेर बजारभरि हल्लाखल्ला भएछ ।
२०२१, २२ सालतिर उनी डकोटा जहाज चढेर गोरखा पुगेका रहेछन् । त्यतिबेलासम्म राजमार्ग बनेको थिएन । पछि गएर त्यो जहाज अपहरण भएको सुने उनले । गोरखाबाट गाउँ फर्केर ऐँसेलुखर्कमा पढ्न थाले । कक्षा १० पढ्न भने सात दिन पैदल हिँडेर काठमाडौँ आए ।
वर्षदिन डिल्लीबजारको विजय मेमोरियल स्कुल पढे । तर, रजिस्ट्रेसन फर्म भरेकै ठाउँबाट सेन्ट अप टेस्ट दिनुपर्ने सरकारी नियमका कारण फेरि गाउँ नै फर्कनुप¥यो । उनी कति मेधावी विद्यार्थी भने स्कुलले एसएलसी बोर्डको आशा राखेको रहेछ । त्यसका लागि उनी शिक्षामन्त्रीसम्म धाए तर केही सीप लागेन ।
उनी गाउँ त फर्किए, तर गाउँमा ट्युसन थिएन । शिक्षक सुतिरहेको कोठामा गएर सोध्नुपथ्र्यो । तैपनि २०३१ सालको एसएलसीमा ६७ प्रतिशत अंक ल्याए उनले । त्यतिबेला नयाँ शिक्षा लागू भइसकेको थियो मुलुकमा । तर, उनी थिए पुरानो शिक्षाका ।
अब उनलाई सिर्फ डाक्टर बन्नु थियो । डाक्टर बन्नका लागि नयाँ शिक्षाअनुसार इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) अन्तर्गत पढ्नुपथ्र्यो । आईएस्सी पढ्नेले डाक्टर बन्ने अवसर पाउँथेनन् । रोचक के भने उनका चार दाजुभाइ लाहुरे छन् । शारीरिक रुपमा कमजोर भनेर उनी मात्र लाहुरे हुने बाटोमा लागेनन् ।
अन्ततः उनले आईओएमअन्तर्गत हेल्थ असिस्टेन्ट (एचए) पढे । उनका क्लासमेट थिए अहिलेका डा. अर्जुन कार्की, डा. गणेश गुरुङ आदि । उनको समूह एचएको तेस्रो ब्याच हो ।
एचए बनेर उनी सोलुखुम्बुको सोताङ हेल्थ पोस्ट बसे । उनले चार, पाँचवटा गाविसलाई हेर्नुपथ्र्यो । गाउँघर कति दुर्गम थियो भने बच्चाहरु नयाँ मान्छे देख्यो भने तर्सिएर घरभित्र लुक्थे । गाउँका धामीझाँक्रीको नियन्त्रणमा थियो । खोप लगाउने सूचना उनीहरुमार्फत नै पठाउनुपथ्र्यो ।
धामीझाँक्रीले भनेअनुसार अभिभावकहरु बच्चा लिएर स्कुल, चौतारामा आइपुग्थे र खोप लगाएर जान्थे । त्यतिबेला उनी सामान्य एचए थिए तर सोझा गाउँलेहरु उनलाई डाक्टरै ठान्थे । हाटबजारमा भेटका धामीझाँक्रीलाई चियाखाजा खुवाएर सम्झाउँथे, ‘तपाईंहरुले ढ्याङ्ग्रँे ठोकेको, झारफुक गरेको ठीक छ तर घाउ, चोटपटक लाग्यो भने टाँका लगाउनुपर्छ, प्लास्टर गर्नुपर्छ । मकहाँ पठाइदिनू ।’
खासमा ‘फेथ हिलर’ थिए धामीझाँक्री । उनलाई त्यस्तो ज्ञान कसैले दिएको थिएन । अहिले आएर लाग्छ, त्यस्तो बुद्धि कहाँबाट आयो ? त्यहाँ १८ महिनाजति काम गरेपछि उनले एमबीबीएस पढ्ने अवसर पाए । एमबीबीएसको भने दोस्रो ब्याच थियो उनको । आईओएमका तत्कालीन डिन डा. मोहिन शाह एचएलाई नै सक्षम डाक्टर बनाउने अभियानमा थिए ।
आईओएममा भारतबाट पनि शिक्षक झिकाइएको थियो । तर, शिक्षकहरुको मनमा के थियो भने, यिनीहरु मजस्तो डाक्टर होइन, कमसल डाक्टर मात्र बन्नेछन् । उनको ब्याचीलाई लाग्थ्यो, हामी किन कमसल डाक्टर ? के पढ्यो भने या के जान्यो भने बाहिरका डाक्टरजस्तै बन्छाँै ?
एचए पढेर आएका एमबीबीएसका बारेमा नानाथरी हौवा चल्यो त्यतिबेला । एचए डाक्टर भनेको गाउँमा गएर जागिर खाने हो, डाक्टर भए पनि दोस्रो, तेस्रो दर्जाको मात्र डाक्टर हो, डाक्टरबराबर होला तर डाक्टर नै होइन आदि इत्यादि ।
त्यसले विद्यार्थीहरुलाई हतोत्साही बनाउँथ्यो नै । र, उनको समूह त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, शिक्षाविद्कहाँ धाइरहन्थ्यो । तर, शिक्षक भन्थे, ‘एचएवाला राम्रो डाक्टर बन्दैनन् ।’ डिन भन्थे, ‘एक्स्ट्रा अर्डिनरी डाक्टर बनाउँछु । पढाइमा लाग, अरुले के भन्छ, त्यसमा ध्यान नदेऊ ।’
एमबीबीएसको पहिलो ब्याच आइसकेपछि शिक्षामन्त्रीले नै पोखरा इन्जिनियरिङ क्याम्पसको शिलान्यासका क्रममा भाषण ठोकेछन्, ‘अब डाक्टर बनाउने क्याम्पसको पनि यसैगरी शिलान्यास गर्न चाहन्छु ।’ यस्तो लघुताभासबीच ६ वर्ष लगाएर एमबीबीएस पूरा भयो । उनको क्षमता सिद्ध भयो टिचिङ अस्पतालमा ।
एमबीबीएसपछि स्पेसलाइजेसन कोर्स थिएन । डिन थिए डा. मदनप्रसाद उपाध्याय । उनी परे, एमबीबीएसमा एचएको साटो आईएस्सीवालालाई नै ल्याउनुपर्छ भन्ने मान्यताका । उनी हाकाहाकी भन्थे, ‘बाबु हो, नेपालमा पढेकाले तिमीहरु स्पेसलिस्ट बन्न सक्दैनौ । बेसिक एनोटोमी, फिजियोलोजी पढ्नुपर्छ ।’
यसरी एमबीबीएसपछि पनि लघुताभास भइरह्यो उनलाई । सर्जरीमा चाख थियो उनको । त्यसको प्रेरणा थियो, सोलुको सोताङ हेल्थ पोस्ट । गाउँमा ट्याब्लेट मात्र पठाउँयो सरकारले ।
मलहमलगायतका औषधि आफैँ बनाउनुपथ्यो । सानो घाउ त सिए हुन्थ्यो तर पेट चिर्नु परे के गर्ने ? न सीप थियो, न ज्ञान । उनलाई लाग्थ्यो, गाउँमा काम लाग्ने भनेकै सर्जिकल डाक्टर हो । अझ सुत्केरी गराउन घरघरै पुग्नुपथ्र्यो । उनी बाटोभरि प्रार्थना गरिरहन्थे, ‘नर्मल डेलिभरी होस् भगवान् !’
बेलायतको फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स (एफआरसीएस) का लागि पहिलोपटक नेपालमा जाँच भयो । त्यसका कोअर्डिनेटर थिए, डा. दिनेशचन्द्र गंगोल । उनले प्राइमरी एफआरसीएस दिए । तर, पास भए पनि नेपालको डिग्रीवालाले दोस्रो एफआरसीएस दिन नपाउने रहेछन । तर, उनलाई परीक्षण गर्नु थियो, मैले कति जानेको छु ? विदेशको कुनै परीक्षा दिएपछि कसो थाहा नहोला ?
२५, ३० जनाले एफआरसीएस दिए । तीन जना उत्तीर्णमा उनको पनि नाम थियो । नेपालमा एमबीबीएस गरेका भने उनी मात्र थिए । एचए–एमबीबीएसको ताकत कति भने डा. भगवान् कोइराला कार्डियाक सर्जन छन्, डा. अर्जुन कार्की फिजिसियन, वसन्त पन्त न्युरोसर्जन अनि डा. राई प्लास्टिक सर्जन छन् ।
‘नेपालको डिग्रीलाई शिक्षकले समेत नपत्याउने, हामीले पढाएको के डाक्टर, के प्रोफेसर भन्ने हीनताबोध थियो,’ उनी सम्झिन्छन्, ‘कतिसम्म भने मैले एफआरसीएस पास गर्दा डिन उपाध्यायले बधाई समेत दिएनन् ।’
एफआरसीएसको दोस्रो जाँच त दिन पाएनन् नै । अब कसरी सर्जन बन्ने ? यस्तो छटपटी भयो उनलाई । छिमेकीे भारतमा एचएलाई स्पेसलाइजेसन गर्न अनुमति थिएन । बल्लबल्ल उनका गुरु डा. भोला रिजालले चिनेका प्रोफेसर ढाका युनिभर्सिटीको डाइरेक्टर भएका रहेछन् बंगलादेशमा । अर्का गुरु महेश खकुरेलका भिनाजु मोहनप्रसाद लोहनी बंगलादेशमै राजदूत रहेछन् । उनीहरुकै सहयोगमा ढाका गए एमएसका लागि ।
एमएस गरेपछि पनि उनको यात्रा सुगम रहेन । टिचिङ अस्पतालको करारको जागिर गइसकेको थियो । नौ महिना बेतलबी काम गरे । एक प्रोफेसरका छोरालाई बेलायत पठाउनुपर्ने भएकाले भर्ती नगरी नहुने रहेछ । त्यही मेसोमा बल्ल उनले सिनियर हाउस अफिसरको नियुक्ति पाए ।
सर्जन भए पनि उनी अनाटोमी विभागमा पनि काम गर्थे । काम दुई ठाउँमा गर्थे, तलब एकतिर मात्रै पाउँथे । एनाटोमी विभागमा उनी शवलाई चिरेर पढाउँथे । पछि एनाटोमी पढ्न बेलायत जाऊ भन्ने डिन डा. उपाध्यायको प्रस्ताव उनले स्वीकारेनन् ।
ढाका पढ्दा उनलाई कार्डियाक सर्जरी या न्युरो सर्जन बन्छु भन्ने थियो । कार्डियाक सर्जन नै थिएनन् मुलुकमा । न्युरो सर्जन डा. उपेन्द्र देवकोटामात्र थिए ।
सन् १९९२ को मार्चतिर उनले टिचिङ अस्पतालको कोठामा अमेरिकन टिमले जन्मजात ओठ फाटिएको बच्चालाई सुताएर अप्रेसन गरिरहेको अनौठो दृश्य देखे । ४५ मिनेटको अप्रेसनपछि नै बच्चा त सुन्दर देखियो । अनुहारमा चमक आयो । त्यसलाई भन्दा रहेछन्, प्लास्टिक सर्जरी । वाह, यस्तो पो सर्जरी ! अब उनको जीवनको बाटो मोडियो ।
ठूला सामान पनि छैन, एक जना नर्सका भरमा शल्यक्रिया । उनले तत्काल सोचिहाले, ‘मैले यो अप्रेसन सिकेँ भनेँ झोलामा सामान लिएर गाउँगाउँ जान सक्छु ।’
अमेरिकाको क्यालिफोर्नियास्थित गैरसरकारी संस्था ‘इन्टरप्लास्ट’ मार्फत आएको रहेछ टोली । उसले यहाँ आएर निःशुल्क रुपमा यस्ता अप्रेसन गर्न थालेको थुप्रै वर्ष भइसकेछ । उनले डा. टेरी न्यापसँग भने, ‘मलाई पनि प्लास्टिक सर्जरीमा धेरै रुचि छ । तिमी मलाई सिकाउन सक्छौ ?’
टेरीलाई पनि नेपालमै कसैले सिकिदिए हुन्थ्यो जस्तो लागेको रहेछ । तर, जो कोहीलाई सिकाएर भएन । सर्जन नै चाहियो । कसैले चाख नदेखाएका बेला डा. राईले एक हप्तामै प्लास्टिक सर्जरी सिके । ती अमेरिकन सर्जनकै अघिल्तिर बसेर अप्रेसन गरे । त्यो क्षण उनलाई अहिले पनि रोमाञ्चकारी लाग्छ ।
पाटन अस्पतालमा अस्ट्रेलियाका जनरल सर्जन थिए, डा. नान्केभिल । ती मित्रले डा. राईको अभिरुचि बुझेर तालिमका लागि भित्रभित्रै कोसिस गरिरहेका रहेछन् । त्यही बेला हार्वर्डमा राजा वीरेन्द्रका अमेरिकन सहपाठी प्लास्टिक सर्जन डा. ह्यारी ओरेनस्टेन सिकारका लागि नेपाल आएछन् । राजालाई भेटेर भनेछन्, ‘म नेपालका लागि स्पेसल प्रिजेन्ट दिन चाहन्छु ।’
त्यो भनेको क्यालिफोर्नियास्थित साउथ वेस्टर्न मेडिकल सेन्टर पार्कल्यान्ड मेमोरियल हस्पिटलमा प्लास्टिक सर्जरीको छात्रवृत्ति दिनु रहेछ । संयोगवश डालसमा डा. नान्केभिलका साथी रहेछन् । तिनैले नान्केभिललाई भेट्न सुझाएछन् । नान्केभिलमार्फत डा. ओरेन्स्टेन डा. राईलाई खोज्दै टिचिङ अस्पताल पुगेर सोधेछन्, ‘वुड यू लाइक टू गो टू अमेरिका ?’ उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भइहाल्यो ।
झमेला के भने त्यसका लागि अमेरिकन मेडिकल लाइसेन्स परीक्षा (यूएसएमएलई) पास गर्नुपर्ने रहेछ । तीन चरणका परीक्षा, त्यो पनि नेपालमा छैन । त्यसमाथि एक हजार अमेरिकन डलर कहाँबाट ल्याउने ?
धन्न त्यो खर्च उनका विदेशी साथीले बेहोरिदिए । बल्ल उनले यूएसएमएलई गरे । विडम्बना के भने भिसाको कागज आउने बेला उनी गम्भीर बिरामी परे । दिउँसो अरुको अप्रेसन गरेका थिए, बेलुकी आफ्नै अप्रेसन गर्नुप¥यो ।
बंगलादेशमा एमएस गर्दा लागेको ऋण तिर्न भ्याएका थिएनन् । त्यसमाथि बिरामी परेपछि समस्या भयो । अझ उनी त टिचिङबाहेक अन्यत्र काम नगर्ने आदर्श बोकेका डाक्टर परे ।
अमेरिका जाने क्रममा दूतावासमा भिसा अधिकृतले सोधेका थिए, ‘के तपाईंलाई थाहा छ, अमेरिकामा प्लास्टिक सर्जनको तलब कति हुन्छ ?’ शंकरमानले जवाफ दिए, ‘मलाई त्यो जान्न जरुरी छैन, किनभने पढाइ सकाएर म आफ्नै देश फर्कनेछु ।’
उनी एक वर्षमै नेपाल आए, असिस्टेन्ट प्रोफेसरको नियुक्ति लिए, एक वर्ष बसे अनि बेतलबी बिदामा १८ महिनाका लागि अमेरिका हान्निए । फर्केर टिचिङ अस्पतालको ‘बर्निङ युनिट’ सम्हाले । तर, त्यहाँ रजिस्टरमा बिरामीको नाम लेखाउने मात्र काम हुन्थ्यो । एसोसिएट प्रोफेसर नभई नियमित अप्रेसन गर्न पाइँदैनथ्यो ।
उनले हप्तामा जम्मा एक दिन अप्रेसनको मौका पाउँथे । टिचिङ अस्पताल आफैँ तनावमा थियो । अप्रेसन कोठा छैन, अप्रेसन गरेपछि बिरामी राख्ने ठाउँ छैन । बिरामीको हेरचाहका लागि नर्स छैनन् । त्यसैले उनी एक वर्ष बिदा लिएर आफैँ गाउँगाउँ गए । त्यो अवधिमा उनले इन्टरप्लास्ट र पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट) नेपालको साझेदारीमा निःशुल्क रुपमा एक हजार अप्रेसन गरेछन् । टिचिङमा उनले त्यति अप्रेसन गर्न कम्तीमा १० वर्ष कुर्नुपथ्र्यो ।
डा. राईको टिमको पहिलो शिविर बस्यो, पोखरामा । गाउँगाउँबाट रिकन्स्ट्रक्टिभ सर्जरीका लागि मान्छे ओइरिए । यस्ता शिविर क्रमशः ताप्लेजुङ, हुम्ला, रोल्पा, रुकुम हुँदै ६५ जिल्लामा चल्यो । त्यसले उनलाई कति सन्तुष्टि दियो भने टिचिङको जागिरै छाडिदिए ।
डा. राई १६ वर्षयता फेक्ट र काठमाडौँ मोडल अस्पतालसँग जोडिएका छन् । उनको टिमले इन्टरप्लास्ट सर्जिकल आउटरिच प्रोग्रामअन्तर्गत अहिलेसम्म हजारौँको निःशुल्क प्लास्टिक सर्जरी गरिसकेको छ । विराटनगर, वीरगन्ज, बुटवल, पोखरा र नेपालगन्जमा पाँचवटा स्थायी उपचार केन्द्र स्थापना गरिएका छन् भने अन्य दुर्गम ठाउँमा थुप्रै अस्थायी शिविर र उपचार केन्द्र सञ्चालित छन् ।
प्लास्टिक सर्जरीका मोटामोटी दुई भँगाला छन् । पहिलो हो, कस्मेटिक÷एस्थेटिक सर्जरी । धनी महिलाका वक्षस्थलको नाप घटबढ, तिघ्रा वा नितम्ब सुडौल बनाउने आदि पर्छन् । तर, नेपालमा त्यति लोकप्रिय भइसकेको छैन र धनीमानीलाई सिंगारेर गरिबको निःशुल्क उपचार गर्ने उनको अभियान सफल हुन बाँकी छ । दोस्रो हो, रिकन्सट्रक्टिभ सर्जरी । यसमा तिनै जन्मजात ओठ च्यातिएका, आगोले पालेकाहरु पर्छन् । तिनलाई डा. राईको टिमले नवजीवन दिइरहेकै छ ।
नेपालमा प्लास्टिक सर्जरी विधा भित्राउने भने डा. केडी जोशी रहेछन् । ‘नेपालका ५० हजार पीडितमध्ये ३० हजार बालबालिका छन्,’ डा. राई भन्छन्, ‘गाउँघरमा बाबुआमा बाहिर काम गर्न गएको बखत भोकाएका बालबालिका अँगेनाभित्र हात घुसाउँदा पोलिएका देखिन्छन् ।’
फेक्ट र डा.राईको अग्रसरतामा केही वर्षअघि कीर्तिपुर अस्पताल खुलेको छ । प्लास्टिक सर्जरीका लागि मात्रै दुईवटा कोठा छन् । सात जना त प्लास्टिक सर्जन नै छन् । तीन वर्षयता १५ सय अप्रेसन भइसकेका छन् । अस्पतालमा छाला बैंक छ तर छाला छैन । त्यस कारण शरीरका ४० प्रतिशत भाग जलेका बिरामीको डेथ सर्टिफिकेट दिनुको विकल्प छैन । त्यस कारण उनी छाला दान वरदानसम्बन्धी जनचेतना अभियानमा छन् । ‘सबै नेपाली क्रियाशील र आत्मसम्मानपूर्वक बाँच्न सकून् भन्ने मेरो लक्ष्य हो,’ डा. राई भन्छन्, ‘जीवन सुन्दर छ र सुन्दर रूपमै बाँच्नुपर्छ ।’
’रिसर्ज इन्टरनेसनल’ कन्ट्री डाइरेक्टरसमेत रहेका डा. राईले एमबीबीएस इन्टर्नसिपकै बेला अर्थात् १९८५ मा काठमाडौँ, महाराजगन्जकी बासिन्दा शान्ति डंगोलसित प्रेमविवाह गरे । उनका छोरा सुशान्त राई नेपालगन्ज मेडिकल कलेजमा पोस्ट ग्य्राजुएट गरिरहेका छन् भने छोरी सुप्रिमा आर्किटेक्ट इन्जिनियरिङ गरिरहेकी छन् ।
डा.राईको शोख संगीतमा छ । तर, मेडिकलका लाइनका कारण उनले समय नै दिन पाएनन् । कृषि र गार्डेनिङमा पनि उनको चाख छ । अहिले पनि फुर्सद भयो भने खेतीपातीमा लागिहाल्छन् । विदेशमा जाँदा नेपालमा नभएका फलका विरुवा लिएर आउँछन् । बूढानीलकण्ठस्थित घरमा वासिङ्टन अरेन्ज, अस्ट्रेलियन अम्बा, एभोकाडो, गुलियो इमिलीलगायत त्यस्ता थुप्र फलफूल लगाएका छन् ।
डाक्टरमा उनका दुईजना आइकन छन् । नेपाली आइकन नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल हुन् । आँखा पढ्न चाहने कुनै पनि डाक्टरलाई उनले रित्तो हात फर्काएनन् । कता भनसुन गरेर हुन्छ, पढ्ने व्यवस्था मिलाइदिइहाल्छन् । उनकै कारण सहरैपिच्छे आँखा अस्पताल र डाक्टर छन् । नेपालभरिका आँखा अस्पताललाई उनले नै सहयोग जुटाइदिएका छन् । थुप्रैलाई अप्थाल्मिक तालिम दिलाइदिएका छन् । सम्भवतः डा. सन्दुक रुइतलाई पढ्न पठाउने पनि उनै हुन् ।
उनका विदेशी आइकन हुन्, हार्वर्ड युनिभर्सिटीका प्रोफेसर डा. पाउल फार्मर हुन् । उनी फिजियोलोजी र एन्थ्रोपोलोजी दुई विषयका प्रोफेसर हुन् । उनी ६ महिना हार्वर्डमा हुन्छन् भने ६ महिना हाइटीमा । पार्टनर्स इन हेल्थ नामक संस्थामार्फत एचआईभी र टीबीको उपचारमा लागिरहेका छन् । अरु डाक्टर प्रेस्क्रिप्सनमात्र बेच्छन् । तर, उनी बिरामीको खानेबस्ने व्यवस्था समेत मिलाइदिन्छन् । यसलाई लिएर अमेरिकामा उनको चर्को आलोचना पनि हुन्छ । तर, उनले भनेका रहेछन्, ‘मैले हाइटीमा गरेको खर्च अमेरिकामा गरिने दस भागको एक भाग पनि होइन ।’ आइकन हुनु त यस्तो पो !