काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
यसपटक स्वास्थ्यको बजेट केही बढ्ने अनुमान गरिएको छ।
स्वास्थ्यले एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको थियो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।
यो आधारमा हेर्दा पनि स्वास्थ्यले यस पटक एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना देखिन्छ।
बजेटमा स्वास्थ्यका पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, डिजिटल हेल्थ कार्यक्रम, आधारभूत र जीवनरक्षक औषधि तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गर्ने लगायतका कार्यक्रम आउने बताइएको छ।