काठमाडौं- ‘कोठा नम्बर ९ !’
यो कुनै चिकित्सकले बिरामी जाँच्ने ओपीडी या प्रयोगाशाला होइन, यो त प्रत्यारोपणका लागि ‘अंग पाउँ’ भन्दै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निवेदन दिने कोठा हो। यहाँ यतिबेला निवेदन पेस गर्नेको भीड लागेको छ।
अरूको शरीरबाट अंग ग्रहण गर्न चाहने कुनै पनि बिरामीले राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगेर मञ्जुरीनामा सहितको निवेदन पेस गर्नुपर्ने हुन्छ।
प्रत्यारोपणका लागि हाल केन्द्रमा निवेदन दिनेको संख्या मिर्गौला ७७० र कलेजो २५ गरी कुल ७९५ पुगिसकेको छ। यो संख्या मस्तिष्क मृत्यु अर्थात् ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग लिन चाहनेको मात्र हो।
‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला दान लिन चाहने ७७० बिरामीमध्ये एक हुन्, काठमाडौंका ५७ वर्षीय शिवराम बस्नेत। विगत १५ वर्षदेखि मिर्गौलाको खोजीमा रहेका बस्नेत मधुमेहको समस्याबाट समेत पीडित छन्।
उनलाई मिर्गौला दुख्ने र घोच्ने जस्ता कुनै समस्या छैन। तर दुवै मिर्गौलाले राम्रोसँग काम गर्न नसक्दा घरीघरी ढल्ने र बेहोस हुने गर्छन्। त्यसैले चिकित्सकको सुझाव छ– जति छिटो प्रत्यारोपण गर्न पायो, त्यति राम्रो। तर अंग दान गर्ने व्यक्ति फेला नपर्दा प्रत्यारोपण सम्भव भएको छैन।
उनलाई परिवारका सदस्यले अंग दिन नखोजेको होइन। रगतको समूह ‘ओ पोजेटिभ’ हो। यो रगत समूहका सदस्य परिवारभित्र फेला परेनन्। त्यसैले घरबाट अंगदान सम्भव भएन।
परिवारका सदस्यबाट अंग लिन नमिल्ने भएपछि उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई गुहारेका हुन्। अंग प्राप्तिका लागि चैतको पहिलो साता निवेदन दिएका थिए। तर यति लामो भीडमा उनले अंग कहिले प्राप्त गर्ने हुन्, त्यो न अस्पताल प्रशासन स्पष्टसँग भन्न सक्छ, न उनी नै ढुक्क छन्।
हाल औषधिको भरमा बाँचिरहेका छन् उनी। स्वास्थ्यखबरको जिज्ञासामा उनले भने, ‘ओ पोजेटिभ रगत भएकोले परिवारले दिन्छुभन्दा पनि जुरेन। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निवेदन दिएको छु। समय कुर्नुबाहेक अर्को उपाय छैन।’
चिकित्सकले हालको अवस्थामा मिर्गौलाको काम गर्ने क्षमतामा सुधार नआए डायलाइसिसमा जानुपर्ने सुझाव दिएका छन्। भन्छन्, ‘म सुगरको पनि बिरामी हुँ। अहिले त औषधिले धानिरहेको छु। डाक्टरले डायलाइसिस गराउनुपर्छ भन्न थालेका छन्। प्रत्यारोपण गरे स्वस्थ हुन्छु भनेका छन्।’
बस्नेत जस्तै ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग लिन चाहने अर्का बिरामी हुन्, ललितपुरका ६१ वर्षीय अम्बिकारमण आचार्य। उनले पनि प्रत्यारोपणका लागि अंग पाउँ भन्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निवेदन दिएका छन्।
उनले हेमोडायलाइसिस सुरु गरेको तीन महिना बितिसकेको छ। मिर्गौला रोगले २० वर्षदेखि दुःख दिइरहेको छ।
‘मेरो मिर्गौलामा समस्या देखिएको २० वर्षजति भयो। कोभिडपछि काम गर्न छोड्यो। तीन महिना भयो, डायलाइसिस सुरू गरेको,’ आचार्यले समस्या सुनाए।
बस्नेत जस्तै उनले पनि मिर्गौला प्रत्यारोपणका लागि कोसिस नगरेका होइनन्। श्रीमतीसँग उनको रक्त समूह पनि मिलिसकेको थियो। तर मधुमेहका कारण प्रत्यारोपण सम्भव भएन। डायलाइसिस गराउने क्रममा स्वास्थ्यकर्मीले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग पाउन सकिने सुझाव दिएपछि उनले केन्द्रमा निवेदन दर्ता गराएका हुन्। भन्छन्, ‘लाइनमा राखिदिनुभएको छ। कहिले पाइन्छ, थाहा छैन।’
६ वर्षमा १३ जनाको मात्र प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्युबाट अंग पाउनका लागि निवेदन दिनेको संख्या दिनहुँ बढ्दो छ। तर बिरामीको अनुपातमा अंग प्राप्त हुन सकेको छैन।
![transplant 11657859500.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-04-01/transplant 11657859500.jpg)
विगत केही वर्षयता सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दो छ। दुर्घटनाको अनुपातमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पाउने अंगको संख्या भने बढ्न सकेको छैन।
नेपालमा ८ वैशाख २०७४ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पहिलो पटक अंग प्रत्यारोपण भएको थियो। त्यसयता करिब ६ वर्षको अन्तरालमा १३ जनाले मात्र ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्राप्त गर्न सफल भएका छन्। यो नगन्य परिणाम हो। यसमा १० जनाले मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण भएको छ।
काठमाडौं उपत्यकामा वर्षेनी एक हजार र उपत्यकाबाहिर थप एक हजारको मस्तिष्क मृत्यु हुने गरेको केन्द्रको अनुमान छ। केन्द्रको यो तथ्यांकलाई आत्मसात गर्ने हो भने, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट वर्षेनी दुई हजार मिर्गौला प्राप्त हुनुपर्ने हो। तर यसो हुन सकिरहेको छैन।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अंग निकाल्न स्वीकृति नदिँदा संकलन गर्न अफ्ठेरो परेको बताउँछन्। भन्छन्, ‘अहिलेको संख्या अत्यन्त कम हो। मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ। खरानी भएर जाने अंग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नु हुन्न। यसबारे जागरुकता अभियान जरुरी छ।’
नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ। तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन। ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति आउने डा श्रेष्ठको भनाइ छ।
नेपालमा अंंग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपण ऐन–२०५५’ जारी गरेको थियो।
जसको मुख्य उद्देश्य हो– ‘आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अंग झिक्ने तथा एक मानवको शरीरबाट अंग झिकी अर्को मानवको शरीरमा प्रत्यारोपण गर्नेसम्बन्धी क्रियाकलापलाई नियमित गर्ने तथा मानव शरीरको अंग खरिद–बिक्री तथा अन्य कार्यमा प्रयोग गर्नेसम्बन्धी क्रियाकलापलाई निषेध गर्ने।’
२०५५ सालमा ऐन जारी हुँदा यसको दायरा फराकिलो थिएन। सीमित नातेदारले मात्र अंग दिन पाउने व्यवस्था मिलाइएको थियो। मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग जीवित व्यक्तिमा दान गर्न पाउने व्यवस्था पनि थिएन।
२०७२ सालमा ऐनको पहिलो संशोधन जारी भयो। संशोधनपछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अंगदान गर्न पाउने नयाँ व्यवस्था मिलाइयो। नातेदारको दायरा पनि फराकिलो बनाइयो, जसले प्रत्यारोपणको व्यवस्थालाई थप सहज त बनायो नै, अंगको अभावमा रहेका बिरामीलाई पनि ठूलो राहत दियो।
ऐनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय इकाई भनेर तोकेको छ। समन्वय इकाईको काम के हुने, त्यो पनि ऐनले स्पष्ट निर्देशित गरेको छ।
जसमा भनिएको छ– मस्तिष्क मृत्यु घोषणा भएका व्यक्तिको अंग झिक्ने, झिकेका अंगलाई सुरक्षित राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई तोकेबमोजिम प्राथमिकताअनुसार वितरण गर्ने व्यवस्था मिलाउने।
मस्तिष्क मृत्युको घोषणा गरेपछि समन्वय इकाईलाई तुरुन्त जानकारी गराउनुपर्ने व्यवस्था ऐनको दफा १७(ख) को उपदफा ३ र ५ मा उल्लेख छ।
यसमा भनिएको छ– कुनै अस्पताल वा स्वास्थ्य केन्द्रको दफा १२ (घ) बमोजिम कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गरेमा समन्वय इकाईलाई तुरुन्त जानकारी गराउनु पर्नेछ।
ऐनमा यी कुरा स्पष्ट किटान हुँदाहुँदै पनि अस्पतालहरूले मस्तिष्क मृत्युबारे इकाईलाई राम्रोसँग जानकारी गराइरहेका छैनन्। निकै कम अस्पतालले मात्र खबर गर्ने गरेको इकाईको गुनासो छ।
इकाईलाई खबर गर्ने सूचीमा ३५ वटा अस्पतालको मात्र नाम छ। समन्वय इकाई समिति संयोजक डा कल्पनाकुमारी श्रेष्ठले भने ३५ अस्पतालमध्ये पाँच वटा अस्पतालबाट मात्र अंग दानको काम सफल भएको बताउँछिन्। उनी भन्छिन्, ‘कान्तिपुर अस्पताल, गणेशमान सिंह अस्पताल, कोरियन अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल र मध्यपुर थिमी अस्पतालबाट मात्र मस्तिष्क मृत्युपछि अंग दान सम्भव भएको छ।’
उनी बाँकी ३० वटा अस्पतालमा अधिकांश मृतकका आफन्तले अंग दिन अस्वीकार गरेको बताउँछिन्।
‘केहीमा निर्णय गर्नमा ढिलाइ भयो,’ उनी भन्छिन्, ‘पहिलो कुरा मस्तिष्क मृत्यु भएको जानकारी हामीलाई राम्रोसँग आउँदैन। नियमावली हुँदाहुँदै पनि जानकारीको अभाव या किन गर्नुपर्यो भन्ने सोचाइका कारण अंगदान प्रभावकारी भइरहेको छैन।’
के हो मस्तिष्क मृत्यु ?
मस्तिष्कले पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ। चिकित्सकीय भाषामा मस्तिष्क मृत्युको अर्थ व्यक्तिको मृत्यु नै हो। मस्तिष्क मृत्यु भएका व्यक्ति फर्केर आउँदैन अर्थात् ज्युँदो हुँदैन। यसमा मस्तिष्कको काम गर्ने र गराउने क्षमता दुवै बन्द भइसकेको हुन्छ।
![operation.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-04-01/operation.jpg)
डा कल्पना मस्तिष्क मृत्यु भए पनि अन्य अंगहरू केही घण्टा चलिरहने बताउँछिन्। तर ती अंगमा मस्तिष्कको नियन्त्रण हुँदैन। यसपछि अन्य अंगले पनि विस्तारै काम गर्न छाड्छन्।
‘मस्तिष्क मृत्यु भएको मान्छे कुनै पनि हालतमा फर्किएर आउँदैन। अर्थात् यसलाई मेडिकल्ली डेथ भनिन्छ। अंगहरू केही समय चलिरहँदा मान्छेलाई भ्रम पर्न सक्छ। मस्तिष्क मृत्यु भएको व्यक्ति संसारमा फर्केर आएको छैन,’ उनी भन्छिन्।
नेपालमा अधिकांश मस्तिष्क मृत्युको घटना सडक दुर्घटनाका कारण हुने गरेको छ। मस्तिष्कघात पनि अर्को प्रमुख कारण हो। विकसित राष्ट्रमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट हुन्छ। पश्चिमा मुलुकमा प्रत्यारोपण ८ वटा अंगमा मात्र सीमित छैन। पाठेघरदेखि अनुहारको प्रत्यारोपणसमेत हुन थालिसकेको छ।
‘मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग झिक्न सकिन्छ। जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्,’ डा पुकारचन्द भन्छन्, ‘ऐनले ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ।’
अन्य अंगको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ। ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर जटिल प्रक्रिया हो। सिप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ। अनि मात्र सम्भव छ,’ उनले बताए।
केन्द्रले मिर्गौला र कलेजोपछि प्याङ्क्रियाज र सानो आन्द्राको प्रत्यारोपण सुरु गर्ने योजना बनाएको छ। यसका लागि थप समय लाग्ने डा पुकारचन्दको भनाइ छ।
ऐनबारे बेखबर
१६ फागुनमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै साथ ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरियो। नेपालमा ३ जनामा एकै चोटी प्रत्यारोपण भएको पहिलो अवसर थियो। तर त्यो सोचेजति सहज थिएन।
भक्तपुरको मध्यपुर थिमी अस्पतालले जब एक जना व्यक्तिको दुर्घटनाबाट निधन भएको खबर पठायो, केन्द्रको समन्वय समितिको टोली तत्काल थिमी अस्पताल पुग्यो। चिकित्सकहरूले त्यहाँ धेरै झमेला भोग्नुपर्यो। प्रहरीले सुरूमा अंग निकाल्न दिएन।
डा कल्पना त्यो घटना सम्झिँदै भन्छिन्, ‘त्यो दिन हामीले रातभरि प्रहरी र पोस्टमार्टमको डाक्टरलाई काउन्सिलिङ गर्नुपर्यो। प्रहरी साथीले यो त हामीले कहिले सुनेका छैनौं भने। असईदेखि डिएसपीसम्मलाई ऐन–कानुनको कुरा पढाउनुपर्यो। उहाँहरूलाई थाहा नै रहेनछ।’
केन्द्रको समन्वय समितिले कानुनी रूपमा झेलेको यो नै पहिलो समस्या थिएन। मस्तिष्क मृत्युबारे बुझाउन नसक्दा पटकपटक समस्या भएका छन्।
मस्तिष्क मृत्युबाट हुने अंग दानको विषय अझै सहज भइसकेको छैन। यसको कारण हो, आम नागरिकदेखि स्वास्थ्यकर्मी हुँदै प्रहरीसमेत ऐनबारे बेखबर हुनु। ‘स्वास्थ्यकर्मी र प्रहरीलाई अझै पनि मस्तिष्क मृत्युबाट हुने अंगदानबारे बुझाउन सकिरहेका छैनौं,’ डा पुकारचन्द भन्छन्, ‘कुनै–कुनै अस्पतालमा चिकित्सकले हामीलाई थाहा छैन भनेका छन्। हामी यस्तो काम गर्दैनौं पनि भन्नुभयो।’
कपितय अवस्थामा मस्तिष्क मृत्युपछि अंग निकाल्न खोज्दा प्रहरीले कानुनी अनुसन्धानको पाटोमा असर पुग्ने भन्दै रोक्ने गरेका छन्।
आवश्यक परीक्षण र समितिको स्वीकृतिपछि पोस्टमार्टममा कुनै समस्या नहुने विज्ञको भनाइ छ। त्रिवि शिक्षण अस्पतालका पूर्वफरेन्सिक विभाग प्रमुख डा हरिहर वस्ती भन्छन्, ‘फरेन्सिक विभागले लिखितमा सबै विवरण दिएपछि अंग झिक्न मिल्छ। समितिले बुझाउने रिपोर्टमा सबै विवरण उल्लेख हुन्छ। त्यसैले कानुनी अनुसन्धानमा समस्या आउँदैन।’
उनी फरेन्सिक विभागमा काम गर्ने स्वास्थ्यकर्मी सबैलाई यस ऐनले गरेको कानुनी व्यवस्थाबारे थाहा हुनुपर्ने बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा मस्तिष्क मृत्युपछि हुने अंगदानको काम त्यति सहज नभइसकेको स्वीकार गर्छन्। ‘यसलाई सहजीकरण गर्न मन्त्रालयको तर्फबाट बजेट र अन्य प्रतिवद्धताको कमी हुन दिन्नौं,’ उनी भन्छन्।
मस्तिष्क मृत्युबाट हुने अंग दानको विषयमा स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरणको आवश्यकता रहेको उनको बुझाइ छ। ‘सबैभन्दा पहिले त स्वास्थ्यकर्मीमा आत्मविश्वास र इच्छाशक्ति हुनुपर्छ। प्रहरीलाई पनि यसबारे बुझाउन नसक्दा मस्तिष्क मृत्युबाट प्राप्त हुने अंग खेर गइरहेको छ,’ डा पुकारचन्दको भनाइ छ।
ऐनले गरेको व्यवस्था र कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा चिकित्सक लगायत स्वास्थ्यकर्मी नै बेखबर पाइएको समिति संयोजक डा कल्पना स्वीकार गर्छिन्। ‘स्वास्थ्यकर्मीले मस्तिष्क मृत्यु र यसको व्यवस्थाबारे थाहा नपाई आम नागरिकले थाहा पाउन सक्दैनन्,’ उनको धारणा छ।
‘मुटु चलिरहेको, रक्त सञ्चालन भइरहेको तर मस्तिष्क पूर्ण रूपमा मरिसकेको हुन्छ। यो अवस्थामा अंग निकाल्नुपर्छ। मुटुले काम गर्न छाडिसकेको अवस्थामा अंग निकाल्न मिल्दैन,’ उनी भन्छिन्, ‘यो अवस्थामा उपचार गर्ने चिकित्सकले परिवारलाई बुझाउने हो भने सहज हुन्थ्यो।’
अस्पतालले कानुनी झन्झट हुने भन्दै समितिलाई असहयोग गर्ने गरेका छन्। ‘मस्तिष्क मृत्युबाट प्राप्त हुने अंग प्रभावित बिरामीले पाउने हो भने नेपाल प्रत्यारोपणमा आत्मनिर्भर बन्न सक्छ,’ उनी भन्छिन्।
मस्तिष्क मृत्युबाट हुने अंगको सदुपयोग गर्न सके सरकारले डायलाइसिसको आर्थिक भारलाई कम गर्न सक्छ।
‘हामीले आफ्नो तर्फबाट प्रयास गरेका छौँ। त्यो पर्याप्त छैन। नीतिगत तहबाट प्रयास आवश्यक छ। प्रचार–प्रसार पर्याप्त नहुँदा पनि जनेचतना फैलिन ढिलो भइरहेको छ,’ डा कल्पना स्पष्ट पार्छिन्।
मस्तिष्क मृत्युबाट हुने अंग दानको प्रक्रिया
ऐनले गरेको व्यवस्थाअनुसार कुनै पनि अस्पतालमा मस्तिष्क मृत्यु भए समन्वय इकाईलाई अनिवार्य खबर गर्नुपर्ने हुन्छ।
सम्बन्धित अस्पतालले मृतकका आफन्तसँग कुरा गरेपछि इकाईलाई जानकारी गराउँछन्। खबर पाउने बित्तिकै समन्वय इकाईको टोली सम्बन्धित अस्पताल पुग्छ। र, मृतकका आफन्तलाई मस्तिष्क मृत्युबाट हुने अंग दानबारे बुझाउँछ।
![icu turning into ot.JPG](https://swasthyakhabar.com/uploads/editor/icu turning into ot.JPG)
परिवारले मञ्जुरी दिएपछि अस्पतालमा बनेको अर्को कमिटीले पनि स्वीकृति दिनुपर्छ। उक्त कमिटीमा प्रहरी, पोस्टमार्टम गर्ने चिकित्सक र अस्पताल व्यवस्थापनका प्रतिनिधि संलग्न हुन्छन्।
‘यो अंग अब निकाल्न पाइन्छ’ भनी उक्त कमिटीले स्वीकृति दिएको खण्डमा मात्र अंग निकाल्न मिल्छ। ‘स्वीकृतिपछि मात्र समितिको टोलीले अंग निकालेर आइस बक्समा राखी केन्द्रमा ल्याउन पाउँछन्। मिर्गौला २४ र कलेजो ८ देखि १० घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ,’ डा पुकारचन्द भन्छन्, ‘मृत्युपछि व्यक्तिको शरीर अस्थिर हुने भएकाले सम्बन्धित अस्पतालमै अंग निकाल्ने गरिन्छ।’
मस्तिष्क मृत्युबाट अंग पाउँ भन्दै निवेदन दिने ७७० मध्ये प्राथमिकताका आधारमा सबैभन्दा बढी नम्बर ल्याउनेले अगाडि अंग प्राप्त गर्छन्। बढी नम्बरको अर्थ हो– मिर्गौलाको हकमा सबैभन्दा बढी पर्खाइमा बसेका या डायलाइसिस गराइरहेका, प्राविधिक म्याच भएका, समान उमेर भएका र महिला।
‘नेपालमा महिलाले बढी प्राथमिकता पाउँछन्। किनभने, महिलाले दिने, पुरुषले लिने मात्र भयो। यही विभेदलाई कम गर्न हामीले महिलालाई तीन नम्बर र पुरुषलाई एक नम्बर राखेका छौँ,’ उनले भने।
मानव शरीरको अंग प्रत्यारोपण नियमावलीमा प्राथमिकता क्रममध्ये कसलाई बोलाउने र कसले अंग पाउनेसम्बन्धी १२ वटा बुँदामा स्पष्ट पारिएको छ। जसमा १२ बुँदा मिर्गौला र ९ वटा बुँदा कलेजोको हकमा व्यवस्था गरिएको छ।
मस्तिष्क मृत्युपछि अंग दान गर्न करिब साढे २१ सय जतिले मात्र मञ्जुरीनामा दिएका छन्। अंग दान गर्न मञ्जुरी दिनेमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य–सचिव शंकरदास बैरागी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेल, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत छन्। करिब तीन करोड जनसंख्या रहेको देशमा २१ सय जतिले मात्र मञ्जुरीनामा गरेका छन्। यो संख्या रोगको हिसाबले नगन्य मानिन्छ।
प्रत्यारोपण उत्तम विकल्प
नेपालमा मिर्गौला रोग वर्षेनी बढ्दो छ। प्रत्येक १० मध्ये एक जनामा मिर्गौलासम्बन्धी कुनै न कुनै रोग भएको नेफ्रोलोजी विभाग प्रमुखसमेत रहेकी डा कल्पना बताउँछिन्। वर्षेनी तीन हजार मिर्गौलाका नयाँ रोगी थपिइरहेका छन् भने यो क्रम बढ्दो छ।
मिर्गौला फेल भएपछि उपचारको विकल्प दुई वटा मात्र छन्। पहिलो विकल्प हो– डायलाइसिस र दोस्रो– प्रत्यारोपण।
‘तीन हजार नयाँ रोगी थपिँदा वर्षमा तीन सय जनाको मात्र प्रत्यारोपण सम्भव भएको छ। यस्तै स्थिति हो भने बिरामीहरू वर्षेनी डायलाइसिसमा थपिँदै जानेछन्,’ उनी भन्छिन्।
केन्द्रमा साढे तीन सय बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन्। यहाँ दैनिक १२० देखि १४० जनाको डायलाइसिस हुने गरेको छ। वर्षको करिब ३० हजार सेसन डाइलाइसिस हुने गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ।
मिर्गौला फेल भएका बिरामीका लागि प्रत्यारोपण सबैभन्दा उत्तम विकल्प हो। कृत्रिम रूपले शरीरमा भएको फोहोर पदार्थ निष्काशन गर्ने र अस्थायी रूपमा स्वस्थ राख्ने प्रविधि डायलाइसिस हो। डायलाइसिसले कृत्रिम रूपमा काम गरे पनि प्रत्यारोपण गरे जस्तो व्यक्ति स्वस्थ हुन सक्दैन।