दैनिक रूपमा अत्यधिक मात्रामा बस्ने र थोरै वा कुनै शारीरिक व्यायम नगर्ने जीवनशैलीलाई गतिहीन÷ निष्क्रिय जीवनशैली भनिन्छ। निष्क्रिय गतिविधिहरूमा अत्याधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, काम वा स्कूलमा बस्ने र यात्रा गर्ने जस्ता गतिबिधी पर्दछन। प्राविधिक प्रगति बढ्दै जादा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिलाई भने सीमित गरेको छ। ७० को दशकको सुरुमा हास्य कलाकार रोबर्ट आर्मस्ट्रङले एक गतिहीन जीवनशैली जसलाई “काउच आलु“ पनि भनिन्छ भनेका थिए जसमा व्यक्ति वा समूहहरू नियमित शारीरिक गतिविधिबाट टाढा रहन्छन्। निष्क्रिय जीवनशैली एक बढ्दो स्वास्थ्य समस्या हो जुन धेरै रोगहरूको कारण हो। अध्ययनहरूले देखाएअनुसार लामो समयसम्म बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरु उत्पन्न हुन्छन्। दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपानजत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ।
लगभग ७,००० वर्षअघि मानिसहरूले शारीरिक बोझ कम गर्न र व्यापारलाई प्रोत्साहित गर्न पाङ्ग्रा र घोडाले तान्ने गाडाको आविष्कार गरेका थिए। औद्योगिक क्रान्ति (१७५०–१९१४) ले जल, स्थल र हवाई यातायातको विकासलाई थप्यो। इलेक्ट्रोनिक्स र दूरसञ्चार क्रान्ति २० औं शताब्दीको उत्तरार्धमा, विशेष गरी १९७० को दशकपछि सुरु भयो। यस समयमा संचार (टेलिफोन) को सुविधा र शारीरिक श्रम (कम्प्युटर, वाशिंग मेशिन, भ्याक्यूम क्लीनर) कम गर्न बनाइएका विभिन्न प्रकारका घरेलु उपकरणहरू व्यापक रूपमा प्रयोग शुरु भएको देखिन्छ। व्यवसायमा उन्नत प्रविधिहरूको प्रयोगले उत्पादकत्व र मुनाफा बढायो जबकि आवश्यक शारीरिक श्रमको मात्रा घटायो। नयाँ प्रविधिले समाजको लागि यसको फाइदाको बावजुद आकस्मिक शारीरिक गतिविधिमा उल्लेखनीय कमी ल्याएको देखिन्छ। बढ्दो निष्क्रिय व्यवहारका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि भैरहेको अध्यायनहरुले देखाएको छ। मानवजातिले सामना गरेको सबैभन्दा गम्भीर स्वास्थ्य महामारीमध्ये एक मोटोपनाको महामारी हो जुन बिभिन्न नसर्ने रोगहरुको प्रमुख कारण प्रमाणित हुँदै गएको छ ।
बालबालिकाहरुमा निष्क्रिय जिवनशैलि बढ्दै गहिरहेको छ। यसको प्रभाबले उनिहरुले अत्याधिक समय स्क्रिनजन्य उपकरणमा बिताईरहे्को बिभिन्न अध्यायनहरुले देखाएको छ। संसारभरिका अधिकांश बालबालिकाले दिनको दुई घण्टाभन्दा बढी समय टेलिभिजन हेर्ने गर्छन् साथै अधिकाश समय फोन र ल्यापटपमा खर्चिने गर्दछन। यो अनुमान गरिएको छ कि १५ वर्ष भन्दा कम उमेरका ३१% वयस्कहरूले पर्याप्त व्यायम गर्दैनन्, जुन वार्षिक ३.२ मिलियन मानिसहरूको मृत्युको कारण मानिन्छ। विश्वका करिब ६७ प्रतिशत वृद्धवृद्धा दैनिक ८.५ घण्टाभन्दा बढी समय बस्छन्। लामो समय स्क्रिन वा टिभी हेर्ने बानि अस्वस्थकर खानाको सेवनसँग जोडिएको बिभिन्न अध्यायनले देखाएको छ। साथै दैनिक ५ घण्टाभन्दा बढी टिभी हेर्ने वृद्धवृद्धामा ६ वर्षको अवधिमा मृत्युको जोखिम ३ घण्टाभन्दा कम समय हेर्नेको तुलनामा २८ प्रतिशतले बढी पाइएको छ। लामो समयसम्म बसेर काम गर्दा स्वास्थ्य समस्या जस्तै थकान महसुस हुने, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, निद्राको कमी, तनाव, डिप्रेसन, जोर्नी तथा मांसपेशीसम्बन्धी रोग, पेशागत दुर्घटना र सबै कारणले हुने मृत्युदरसँग जोडिएको विभिन्न अनुसन्धानले देखाएको छ। आधुनिक कार्यस्थलले व्यवसायको प्रकृतिलाई सक्रियबाट निष्क्रियमा परिवर्तन गरेको छ। यो परिवर्तनको एउटा कारण कागजमा आधारित कामबाट कम्प्युटरमा आधारित र पेपरलेस काममा जानु हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ, २०१३) का अनुसार निष्क्रिय जीवनशैलीका कारण हरेक वर्ष विश्वभर ३२ लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ। अध्ययनहरूले देखाएअनुसार आफ्नो कामको लगभग सबै समय एउटै सिटमा बिताउने व्यक्तिहरूमा कम समय बिताउनेहरूको तुलनामा अकालमै मृत्यु हुने सम्भावना १.४ गुणा बढी हुन्छ। हाम्रो समाजमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो भएको ब्यक्ती भन्दा सुविधा र पहुँचमा हुनुलाई सम्पन्नता र स्थितिको प्रतीकको रूपमा लिइन्छ। शारीरिक गतिविधिको मात्रा बढाउनको लागी सजिलै गर्न सकिने पैदल मार्गहरू, साइक्लिङ मार्गहरू, खुला सार्वजनिक स्थानहरू हुनुपर्दछ। ट्राफिक जाम, साँघुरो सडक, वायु प्रदूषण, पार्क वा पैदलयात्री पैदल मार्गको अभावका कारण पनि नागरिकको शारिरिक गतिबिधी कम भैरहेको छ। दिगो विकास (एसडीजी) लक्ष्य ३ मा संयुक्त राष्ट्रसंघले सबैका लागि स्वास्थ्य र कल्याण सुनिश्चित गर्न सम्बोधन गरेको छ। यस तथ्यको बावजुद, मानिसहरू लामो समयसम्म बाँचिरहेका त छन् तर उनीहरूको जीवनको गुणस्तर घटिरहेको छ। मांसपेशीको शक्ति कायम राख्न नियमित व्यायम आवश्यक हुन्छ। निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ। मांसपेशीहरू अन्ततः कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न छोड्छन्। अध्ययनले देखाएअनुसार दैनिक ५ घण्टाभन्दा बढी बस्ने मानिसहरुमा दैनिक १ प्रतिशतले मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ। यसले गर्दा बारम्बार थकान महसुस हुन्छ। अध्ययनले देखाएअनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या बढी हुने गर्द्छ।
मानिसमा निष्क्रिय जीवनशैली र बढ्दो खाने बानिले गर्दा शरिरमा अनावश्यक तौल बढ्ने गर्दछ जस्का कारण मधुमेह हुने सम्भाबना उत्तिकै हुन्छ। हप्तामा ४० घण्टाभन्दा बढी समय स्क्रिन अर्थात् टिभी, भिडियो, कम्प्युटर आदिको सामुन्ने बिताउने हो भने टाइप–२ मधुमेह हुने सम्भावना तीन गुणाले बढ्छ। ३० वर्ष वा सोभन्दा बढी उमेरसमूहका मानिसमा मधुमेह (टाइप–२) हुने गरेको भए तापनि आजको समयमा यो रोग कम उमेरका ब्यक्तिमा पनि उत्तिकै देखिन थालेको छ। यदि जीवनशैली सक्रिय बनाउने प्रयास गरिएन भने कालान्तरमा मुटु, स्नायु सम्बन्धी समस्याले बिकराल रुप लिने छ। त्यस्तैगरी अध्ययनहरुका अनुसार निष्क्रिय जीवनशैली र क्यान्सरबीच सम्बन्ध रहेको छ। सबैभन्दा लामो गतिहीन समय भएको समूहमा सबैभन्दा कम गतिहीन समय भएको समूहको तुलनामा १३% बढी क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म बस्दा कोलोरेक्टल, इन्डोमेट्रियल, डिम्बाशय र प्रोस्टेट क्यान्सरको जोखिम बढ्ने गर्दछ। व्यायाम नगर्ने महिलाको तुलनामा सक्रिय महिलामा स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ। निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ विशेष गरी भिटामिन बी र डी। भिटामिनको कमीले हाडजोर्निको समस्या निम्त्याउछ। धेरै विकासशील देशहरूले रोगहरूको ट्रिपल बोझको सामना गरिरहेका छन्। न्यून र मध्यम आय भएका देशहरूमा नसर्ने रोगका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ। महँगो उपचार, औषधी खर्च र कहिल्यै सन्चो नहुने नसर्ने रोगहरुका कारण ब्यक्तिको जिबनस्तर झन खस्किदै जान्छ।
शारीरिक गतिविधि र व्यायम क्षमता वृद्धि गर्नु नै स्वस्थ जीवनशैलीको प्रमुख आधार हो। निष्क्रिय जीवनशैली परिवर्तन गर्न केही प्रारम्भिक प्रयास भने चाहिन्छ तर यस परिवर्तनका फाइदाहरु असन्ख्य मात्रामा छन। सबैभन्दा सजिलो र सरल उपाय भनेको हिड्नु हो। हिँडाइले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै मुटुसम्बन्धी रोग नियन्त्रणमा मद्द्त पुर्याउछ। सन् २०१८ मा १२,३७,१९४ जनामा गरिएको एक अध्ययनले व्यायम नगर्नेको तुलनामा व्यायम गर्नेहरुमा मानसिक स्वास्थ्य समस्या कम देखिएको छ। दैनिक रुपमा १००० कदम हिड्न वा ७ किलोमिटर हिड्ने वा १ः३० मिनेट हिड्ने गरेमा पर्याप्त सक्रिय भएको मानिन्छ। यदी तपाई लामो समयसम्म बसेर काम गर्नुहुन्छ भने कम्तिमा हरेक १ घण्टाको अन्तरालमा उठ्ने र शरिर हलचल गर्ने गर्नुपर्दछ। हामिले व्याबहार परिवर्तनका सुत्रहरु सिकाउनु पर्दछ। यस्ता सुत्रहरुमा प्रबिधिको प्रयोग गरेर गर्न सकिन्छ। जस्तै सक्रिय वा निष्क्रिय समय ट्र्याक गर्न मोबाइल फोन ÷घडी ÷बेल्टको प्रयोग गर्न सकिन्छ।
सक्रीय गतिबिधी बढाउन ब्यक्ती बिशेषबाट मात्र सम्भब हुँदैन। यसका लागी सम्बन्धित निकायले त्यस्ता ठाउहरुको उपलब्ध गराउनु पर्दछ जहाँ हरेक नागरिकले आफ्नो मानसिक वा शारीरिक स्वास्थ्य ठिक राख्नको लागी जस्तै खेल्ने, कुद्ने अथवा बिभिन्न शारीरिक क्रियाकलाप गर्न सक्दछन। यस गतिबिधिका लागी बिभिन्न ठाउमा व्यबस्थित पार्कको व्यबस्था हुनुपर्छ। नागरिकका लागी सुरक्षित हिड्ने बाटो, साइकल रोड ÷पथ हुनुपर्दछ। सार्बजनिक सवारी साधन वा अन्य साधन निश्चित ठाउमा मात्र रोक्ने, यात्रु झार्ने नियम लागु गर्नुपर्दछ। यसो गरेमा एक त सवारी दुर्घटना कम गर्न सकिन्छ र अर्को निश्चित ठाउमा मात्र सवारी साधन रोकिने हुँदा नागरिक थोरै भएपनी एक ठाउबाट अर्को ठाउमा हिडेर जाने बानिको बिकास हुन्छ। कार्यस्थल हरुमा पनि सक्रीय गतिबिधी बढाउन प्रोत्साहित गर्ने साथसाथै सक्रीय गतिबिधी बढाउने वातावरणको सृजना गर्नुपर्छ। त्यस्तैगरी बालबालिकाको सक्रीय गतिबिधी बढाउनको लागी बिद्ध्यालयमा खेलकुदका साथसाथै अन्य रचनात्मक कृयाकलापमा अनिवार्य रुपमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ। स्कुल जाने उमेर यस्तो उमेर हो जुन उमेरमा ब्यक्तिले सिकेजानेका बानी ब्यबहारले जिबनको उत्तरार्धसम्म पनि सकरात्मक प्रभाब पार्दछ।
(जनस्वास्थ्यकर्मी बास्तोला गण्डकी मेडिकल कलेज, पोखरामा कार्यरत छन्।)