आज सेप्टेम्बर १०, २०२४ अथार्त विश्व आत्महत्या रोकथाम दिवस। विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्ने उद्देश्यले आफूले आफैँलाई हानी गरेर ज्यान गुमाउनु आत्महत्या हो। विश्वमै आत्महत्या एउटा पब्लिक हेल्थको ठूलो समस्या हो जसले भावनात्मक, सामाजिक र आर्थिक बज्रपात निम्ताई परिवार, नजिकका ईस्टमित्र, साथीभाई, समाज र समस्त राज्यलाई समेत असर पारीरहेको हुन्छ। समाजमा मानसिक स्वास्थ्यलाई फरक दृष्टिकोणले हेरीनु, मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न नसक्ने, समयमै पहुँचमा आउन नसक्नु जस्ता विभिन्न कारणले गर्दा मानसिक स्वास्थ अझ जटिल भएको हुन्छ। हरेक आत्महत्या मानसिक स्वास्थसँग जोडिएको हुन्छन् र बेलैमा यसको पहिचान गर्न सकियो भने अकालमा हुने मृत्युवरणलाई कम गर्न सकिन्छ।
विश्व अकालमा हुने मृत्युलाई कम गर्न संघर्षशिल भइरहेको छ। आत्महत्या यस्तो अकालमा हुने मृत्यु हो जुन कम खर्च या कसैसँग बोलेर मात्र पनि आत्महत्याका लागि निरुत्साहित बनाउँछ र जीवन जिउने आशा जगाइरहेको हुन्छ। विश्वभरिमा वार्षिक ७ लाख मानिसहरुको आत्महत्याको कारणले मृत्यृ हुन्छ भने विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन्। आत्महत्याको तथ्यांक हेर्दा विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु न्यून तथा मध्यम आय भएका मुलुकहरुमा हुने गरेका छन्। आत्महत्याका अधिकाम्स घटनाहरु मानसिक स्वास्थसँग सम्बन्धित हुन्छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७२२३ जना व्यक्तिहरूको ज्यान आत्महत्याको कारणले गएको छ।
यसरी नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुन्छ। कुनै एक मानिसको आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ र प्रत्येक आत्महत्याको पछाडि २०-२५ पटकको असफल प्रयासहरु रहेका हुन्छन, कम्तिमा पनि हामीले आत्महत्याको सोच, व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने मात्र आत्महत्याको दरमा कमि ल्याउन सकिन्छ।
आत्महत्याका संकेतहरु कसरी पहीचान गर्ने:
एक्कासी धेरै खुसी हुने वा एक्कासी धेरै दुखी हुने
आफैँलाई हानी पुर्याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने र मृत्यु बारे कुरा गर्ने
आत्महत्या गर्ने माध्यमहरु जस्तैः विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरु खोजी गर्ने
परिवार, इष्ट मित्रहरुलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने।
आत्महत्या गर्नु पूर्व आफ्ना कुरा र व्यवहारहरु मिलाउने।
कसैकसैले लागूपदार्थको अत्यधिक प्रयोग गर्ने।
आत्महत्या का सोच भएका ब्यक्ती हरु ले माथि उल्लेखित सन्केत हरु देखाएको हुन सक्दछन्।
हामी सबैले आफ्नो आफ्नो पक्षबाट सहयोग गरे मात्र आत्महत्याका घटनाहरु रोकथाम र नियन्त्रण गर्न सकिन्छ। आत्महत्या रोकथामका लागि परिवार, छरछिमेक, समाज, साथिभाई, कार्यस्थल, संचार माध्यम, कलाकर्मी, जनप्रतिनिधि सम्पूर्णको ऐक्यवद्दता निकै जरुरी छ।
आत्महत्या रोकथाममा जनप्रतिनिधिहरु तथा नीति निर्माताहरुको भूमिका
आत्महत्या रोकथामका लागि स्थानीयस्तरमा रहेका आत्महत्याका कारक तत्वहरूको पहिचान गरी बहुपक्षीय योजना तर्जुमा गर्ने, निर्माण गर्ने र कार्यान्यवन गर्ने।
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि नीति निर्माण तथा बजेट विनियोजन र कार्यान्यवन गर्ने।
जनताको जिवीकोपार्जनमा सहयोग गर्ने।
मानसिक र मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन गर्नसक्ने निकायहरूको पहिचान गरी समन्वय र सहकार्यका साथै क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्ने।
आत्महत्या रोकथाममा साथीको भूमिका
साथीलाई एकलै नछाड्ने र आवश्यक सहयोग गर्ने।
उदासी व्यवहार बारेमा सोध्ने।
साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाई, साथिभाई वा साथीका कुराहरुलाई गोपनियता राख्दै समानुभूतिका साथ कुराकानी गर्ने।
स्कूलको/शिक्षकको भुमिका
विद्यार्थीहरुलाई निर्धक्क संग भावना ब्यक्त गर्ने वातावरण बनाउने।
आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाइ एक्लै नछोड्ने।
विद्यार्थीको नाम ठेगाना र अभिभावकलाई सम्पर्क गर्न सकिने सम्पर्क नम्बर थाहापाई राख्ने।
विद्यार्थीले व्यक्त गरेको कुरालाई वेवास्ता नगर्ने।
तालिम प्राप्त मनोविमर्शकर्तासंग सम्पर्क राख्ने।
विद्यार्थीहरुलाई समयसमयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम संचालन गर्ने।
आत्महत्या रोकथाममा समुदायको भूमिका
सम्मानपूर्वक व्यवहार गर्ने।
उपनाम वा मानसिक रोगीको संज्ञा नदिने।
सहयोगी भावना विकास गर्ने र आत्मसम्मानको भावना जगाउन सहयोग गर्ने।
व्यक्तिको समास्याको बारेमा सम्बन्धित निकायमा खबर दिने
आफूले पाएको आत्महत्या रोकथाम सम्बन्धी जानकारी वा सूचनाहरू प्रभावित परिवारलाई उपलब्ध गराउने।
आत्महत्या गर्ने व्यक्तिको परिवारमा पनि तनाव हुन सक्छ त्यसैले परिवारसँग पनि कुराकानी गरी तनावलाई कम गर्न सहयोग गर्ने
आत्महत्या रोकथाममा सञ्चारकर्मीहरुको भूमिका
आत्महत्या वा नकरात्मक प्रभाव पार्न सक्ने समाचार हरु सके सम्म बनाइनुहुँदैन , बनाउनैपर्ने भए सेन्सेसनल न्यूज बनाउनु हुँदैन वा, आत्महत्याका कारण,स्थान वा प्रकृतीलाई हाइलाईट गरीनु हुँदैन।
आत्महत्याका घटनाहरुलाई अग्रस्थान दिनुहुँदैन, विष खाएर ,झुण्डिएर जस्ता शव्दहरु प्रयोग गरेर शिर्षक बनाईनु हुँदैन।
सो सम्बन्धि फोटो वा भिडियोहरु पोस्ट गरिनुहुँदैन।
सो प्रकृतीका समाचारहरु बनाउँदा समान भावनाहरु भएका, निजका अभिभावक वा आफैलाई समेत मानसिक रुपमा प्रभाव पारिरहेको हुन्छ।
अनलाइन मिडियाहरुले बरु आत्महत्या रोकथामका उपायहरु, चिन्ता वा नैराश्यता भएको खण्डमा सहायता लिन जान सकिने स्थानका बारेमा जानकारी दिन सकिन्छ।
तनावलाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयमा मनोचिकित्सक, मनोपरामर्शकर्ता वा स्वास्थ्यकर्मीका बिचारहरुलाई स्थान दिन सकिन्छ।
कसैलाई आत्महत्याको सोच आएमा, आत्महत्या रोकथाम नि:शुल्क राष्ट्रिय हटलाइन नं “११६६ “ मा सम्पर्क गरी मनोपरामर्शदातासँग सल्लाह लिने।
आत्महत्या रोकथामका लागी हामी सवैले आ-आफनो तर्फबाट 'संवाद सुरु गरौ , दृष्टिकोण बदलौ'।