चोटपटकका कारण प्रत्येक वर्ष लाखौं मानिसको मृत्यु र अपाङ्गता हुने गर्दछ। चोटपटक एक सार्वजनिक स्वास्थ्य चिन्ताको विषय बनेको छ। कर्णालीका ग्रामिण समुदायमा चोटपटकका कारणहरु केही फरक प्रकृतिका हुने गरेका छन्।
सामान्यतया सवारी दुर्घटना र प्राकृतिक प्रकोपबाट घट्ने घटना भन्दा पनि यहाँ गाउँले दैनिकीकै कारण चोटपटक लागेर आउने गरेको पाइन्छ। जस्तै ः घाँस काट्न जाँदा भिर पाखाबाट लडेर, दाउरा काट्न जाँदा रुखबाट खसेर, माटोको खानीमा पुरिएर, हिँउमा पुरिएर, घरको आँगन/ओटालो, छतबाट खसेर चोटपटकका घटना हुने गरेको पाइन्छ । मज्दुरी गर्दागर्दै तथा घर जहान पाल्नकै लागि खेतीपाती गर्न भिरपाखामा काम गर्नु पर्ने बाध्यताका कारण यस क्षेत्रमा अन्य ठाउँ भन्दा चोटपटकका बिरामी धेरै हुन्छन् ।
कर्णालीको ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दा अनेकौं चुनौतिहरु सामना गर्नुपर्दछ।
चोटपटक लागिसकेपछि समयमा अस्पताल नआउनु प्रमुख चुनौती रहेको छ। समयमा अस्पताल नआउनुमा भौगोलिक विकटता, असहज यातायात, एम्बुलेन्स सेवाको कमी, अशिक्षा, गरिबी, जनचेतनाको कमी, घरपरिवारबाट लापरबाही मुख्य कारणहरु हुन। ग्रामिण समुदायमा आजका दिनमा पनि स्टे«चर अथवा डोकोमा बिरामीलाई ओसार पसार गर्नुपर्ने बाध्यता छ। चोटपटक लागिसकेपछि समयमा अस्पताल नआउँदा उपचार गर्दा कठिनाई हुने र नतिजा सन्तोषजनक नहुन सक्छ।
चोटपटक लागेर बिरामी भएपछि अस्पताल नआई धामीझाँक्री वा अन्य ठाउँमा गएर प्राथमिक उपचार लिनु अर्को प्रमुख चुनौति हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागले गरेको एउटा खोजमूलक अनुसन्धानको तथ्याङ्कले १८ प्रतिशत बिरामीहरु चोटपटक लागि सकेपछि प्राथमिक उपचारका लागि धामीझाँक्री कहाँ जाने गरेको देखिन्छ।
अशिक्षा, जनचेतनाको कमी, स्वास्थ्य सेवाको पहुँच नहुँदा धामीझाँक्रीका गएर प्राथमिक उपचार लिनेको सम्भावना बढेको र यसरी धामीझाँक्री वा अन्य ठाउँमा गएर प्राथमिक उपचार लिएर आएका बिरामीको उपचार थप चुनौतिपुर्ण र जटिल हुने गर्छ।
चोटपटक लागिसकेपछि समयमा अस्पताल नआउँदा वा चोटपटक लागेर बिरामी भएपछि अस्पताल नआई धामीझाँक्री वा अन्य ठाउँमा गएर प्राथमिक उपचार लिँदा भबिष्यमा अपाङ्गता हुने सम्भावना बढेर जान्छ।
सहज यातायात, पर्याप्त एमबुलेन्स सेवा, स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य सेवा प्रदायक सस्थाहरुले समयमा नै सम्बन्धित सुविधा भएको अस्पतालमा चोटपटकका बिरामीलाई प्रेषण गर्ने गरेमा चोटपटकका घटनाबाट निम्तिने जोखिमहरु कम गर्न सकिन्छ। घरआँगन/ओटालो, सिडी, भर्याङ, छतमा रेलिङको व्यवस्था गरेमा, चोटपटक रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेमा तथा सम्बन्धित संस्था र निकायहरुले चोटपटक रोकथाम सम्बन्धी खोजमूलक अनुसन्धान गरेमा कर्णालीका ग्रामिण समुदायमा चोटपटकका घटनाहरुको न्युनिकरण गर्न सकिन्छ।
यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आउने चोटपटक तथा अन्य बिरामीको उपचार सम्भब भएसम्म यसै प्रतिष्ठानमा हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। विशिष्टकृत सेवा बिस्तार, एमआरआई लगायत आवश्यक औजार उपकरणका व्यवस्था भएमा चोटपटकका धेरै उपचार यतै सम्भव हुने र चोटपटकका बिरामीलाई अन्यत्र प्रेषण गर्नु नपर्ने अवस्था हुनसक्छ।
दुर्गममा विशेषज्ञ चिकित्सक जान नमान्ने, आएका पनि लामो समय नटिक्ने परिस्थितिमा नेपाल सरकार सम्बन्धित निकाय तथा सरोकारवालाले विशेषज्ञ चिकित्सक सम्बन्धि नीति नियम परिमार्जन गर्न आवश्यक छ। समयमा स्तरोन्नतिको व्यवस्था, उचित पारिश्रमिक, काम गर्ने वातावरण, आवश्यक औजार उपकरण भएमा विशेषज्ञहरु दुर्गम जाने सम्भावना बढ्नेछ।
प्रतिष्ठानमा हाल हाडजोर्नीको विशेषज्ञ शिक्षा अध्ययन अध्यापन, मुगु र कालिकोट जिल्लामा हाडजोर्नीको विशेषज्ञ ओपिडी सेवा विस्तार, माग र आवश्यकताको आधारमा कर्णालीका अन्य दुर्गम स्थानमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन, कर्णालीका विभिन्न क्षेत्रमा अपाङ्गता पहिचान शिविर सञ्चालन र प्रतिष्ठान भित्रै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कार्यशाला गोष्ठी आयोजना भएका छन्।
(डा पुजन कुमार रोकाया विगत १२ बर्ष देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा हाडजोर्नी तथा नशारोग विशेषज्ञको रुपमा कार्यरत छन्। )