काठमाडौं- कोरोना महामारीका कारण बालमृत्यु दरमा विश्वले प्राप्त गरेको उपलब्धि गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ।
युनिसेफ र विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणले कोरोना महामारीका कारणले भइरहेको अवरोधले दशकौंको अथक प्रयासबाट हासिल भएको उपलब्धि गुम्ने जोखिम बढेको देखाएको हो। रोकथाम गर्न सकिने बाल मृत्युदरमा विश्व पुरानै अवस्थामा फर्कन सक्ने सर्वेक्षणको चेतावनी छ।
कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरु अवरुद्ध हुन पुगेकाले थप लाखौं बालबालिकाको जीवन जोखिममा परेको सर्वेक्षणमा उल्लेख छ।
सन् १९९० मा पाँच वर्ष मुनिका बालमृत्युको संख्या १ करोड २५ लाख थियो भने सन् २०१९ मा यो संख्या कम हुँदै ५२ लाखमा झरेको थियो। सन् २०१९ मा सो दर प्रतिजीवित जन्मेकामध्ये ३१ जना थियो। जुन सन् १९९० को तुलनामा ७८ प्रतिशतले कम हो।
युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘रोकथाम गर्न सकिने बालमृत्युको उन्मुलनतर्फ निकै अगाडि बढिसकेको विश्व समुदायको बाटोमा कोभिड-१९ महामारीले व्यवधान खडा गरिदिएको छ।
अवरुद्ध भएका स्वास्थ्य प्रणाली तथा सेवाहरु पुनः सञ्चालन नगरे लाखौंको संख्यामा पाँच वर्ष मुनिका बालबालिका विशेषगरी नवजात शिशुको मृत्यु हुनसक्ने उनले बताए।
विश्वका देशहरुमा स्रोत-साधनको कमी तथा कोभिड-१९ बाट संक्रमित हुने डरका कारण स्वास्थ्य सेवा लिने अनिच्छाले गर्दा स्वास्थ्य परीक्षण, खोप, सुत्केरी अघि र पछिको स्याहार जस्ता बाल तथा मातृ स्वास्थ्य सेवाहरु अवरुद्ध भइरहेको सर्वेक्षणमा उल्लेख छ।
युनिसेफले गरेको अर्को एक सर्वेक्षणमा ७७ देशहरुमध्ये ६८ प्रतिशतमा बाल स्वास्थ्य परीक्षण तथा खोप सेवाहरुमा केही न केही अवरोध आएको पाइएको छ। ६३ प्रतिशत देशमा नियमित गर्भवती परीक्षणमा अवरोध पाइएको छ। ५९ प्रतिशत देशमा सुत्केरी भएपछिको स्वास्थ्य सेवामा अवरोध भएको सर्वेक्षणले देखाएको छ।
यस्तै, १ सय ५ देशमा विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणका अनुसार ५२ प्रतिशतले अस्वस्थ बालबालिकाको स्वास्थ्य सेवा तथा ५१ प्रतिशतले कुपोषण व्यवस्थापन सेवा प्रवाहमा अवरोधको सामना गरिरहेको छन्।
नेपालमा पनि बन्दाबन्दी हुनुअघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशत तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या ३५ प्रतिशतले कमी आएको छ।