काठमाडौं- ह्याम्स अस्पताललाई बिरामीको भरोसा बनाएका रामशरण (आरएस) भण्डारीले हालसालै भक्तपुरस्थित नागरिक अस्पतालको स्वामित्व लिएका छन्। २१ करोडमा ६० प्रतिशत बढी स्वामित्व लिएका उनले डेढ अर्ब थप लगानी गरेर नयाँ संरचनासहित सेवा दिनेगरी काम थालेका छन्।
अहिले उनले नागरिक लिँदा होस् वा २०७३ सालमा ह्याम्स अस्पताल सम्हाल्दा होस्, दुवै अस्पतालका पूर्वकथा समान छन् । दुवै अस्पताल आफैं बिरामी भएर थला परेपछि उनी सम्हाल्न पुगेका हुन् ।
बितेको ८ वर्षमा ह्याम्सको कायाकल्प भएको छ । भण्डारीको कुशल व्यवस्थापनको परिणाम आमजनका आँखाअघि छ । तर, भण्डारी त्यसको जश आफूमात्रै लिन चाहदैनन् । व्यवसायमा गरेको प्रगतिका विषयमा उनीसँग कुरा गर्दा उनले दोहोर्यामउने वाक्य छ - म त बैंकले पत्याएको मान्छे । अहिले स्वास्थ्य क्षेत्रकाले त्यसमा थप्ने गरेका छन्- डाक्टरले पनि पत्याएको मान्छे !
बसुन्धारामा रहेको ह्याम्स अस्पताललाई वर्तमान स्वरुपमा ल्याउन बिगत ८ वर्षमा भण्डारी र उनको टिमले निकै नै मेहनत गरेको छ। डा उपेन्द्र देवकोटा र डा मधु घिमेरेले सन् १९९७ मा त्रिपुरेश्वरबाट सुरु गरेको अस्पताल २०७० तिर आइपुग्दा थला परिसकेको थियो। डा देवकोटा र घिमिरेले त्यसको एकदशकअघि नै छाडे । अस्पतालका अन्य लगानीकर्ताले अस्पताल बुद्धनगरमा ल्याइपुर्याएका थिए भने धुमबाराहीमा विस्तार गर्नेगरी जग्गा लिइएको थियो। दुई तला ढलान गरेर छाडिइएको थियो।
नयाँ व्यवस्थापनले बौराएको पुरानो अस्पताल
२०७३ सालतिर पुग्दा २७ वर्ष पुरानो अस्पताले धेरै सिकिस्त बिरामी बौराएर घर पठाएको इतिहास त थियो, वर्तमानमा भने आफ्नै उपचार खोजिरहेको थियो। त्यहीबेला लगानीकर्तामध्येका एक तत्कालीन सीईओ भक्तप्रल्हाद पाण्डेले भण्डारीसमक्ष प्रस्ताव राखे- अस्पताल सञ्चालन गर्नेगरी सोच्नुहोस्।
मेडिकल उपकरण व्यवसायमा रहेका भण्डारीको व्यवस्थापन कौशल, नेटवर्क र आँट नजिकबाट नियालेका पाण्डेको प्रस्ताव स्वीकार्ने विश्वास थियो। भण्डारीले सकारात्मक रुपमा लिए।
भण्डारीका अनुसार त्योबेला उनीसँग अस्पताल चलाउने सकिने आत्मविश्वास थियो। आँट्दा साथ दिने हातहरु छन् भन्ने भरोसा थियो। तर, प्रशस्त लगानी थिएन । बैंकले उनलाई पत्याइरहेका थिए। लगानी मुख्य आड बैंक नै थिए ।
मेडिकल उपकरण व्यवसायबाट भएको उन्नतिले उनले एउटा घर बनाएका थिए। सामान्य जागिरेबाट व्यवसायी बनेर चलेको सहज जीवन फेरि एकपल्ट जोखिममा पार्नुपर्ने अवस्था आयो । परिवारले उनको योजनामा ठूलो सपना मिसिएको देखे। 'म त्योबेला एक हिसाबले सेटल थिएँ। जोखिम नलिँदा मेरो जीवन सरल रेखामा सहज रुपमा चल्न पुग्ने बनाएको थियो। ह्याम्स सुरु गर्दा मलाई फेरि एकपल्ट म जीवनमा दोस्रो चरणको संघर्षमा पुगें। घर बेचें र साढे दुई वर्ष म भाडाको घरमा बस्नुपर्यो,' उनले स्मरण गरे, 'म यहाँ असफल भएको भए शून्यमा पुग्थें ।'
आफ्नो टिमसँग यसबारे प्रशस्त छलफल गरेपछि २०७३ साद साउन १ गते उनले औपचारिक रुपमा ह्याम्स अस्पतालको व्यवस्थापन सम्हाले। 'त्योबेला अस्पताल भवन जम्मा दुईतला ढलान गरेर छाडिएको थियो। हामीले निर्माण थाल्यौं र कोभिडको बेला अस्पताल तयार गरेका थियौं,' उनले भने।
मेडिकल उपकरण व्यवसायका क्रममा उनले चिनेका चिकित्सकलाई विश्वास गरेर उनी अस्पताल व्यवसायमा आएका थिए। सुरुमा डा भोला रिजालले उनलाई साथ दिए। एउटा अस्पतालको पर्याय भएर वर्षौं बिताएका डा रिजालले साथ दिएपछि उनको आँट बढ्यो । 'डा भगवान कोइराला, डा ज्योतिन्द्र शर्मा, डा प्रकाश सायमीलगायत नाम चलेका डाक्टरसा'बहरुले सुरुको दिनदेखि नै भरोसा गर्नुभयो, मसँगै अस्पताल निर्माण सक्रिय भएर लाग्नुभयो,' उनले भने, 'डा अर्जुन कार्की त हाम्रो अस्पतालको गहना हो।'
कोभिडको समयमा सरकारी संरचना मात्रै पर्याप्त थिएन। निजी अस्पतालको सहयोग जरुरी थियो, भर्खरै निर्माण सम्पन्न ह्याम्सले त्यो समयमा धेरै बिरामीलाई निको पारेर घर फर्काएको थियो। संयोगले निजी अस्पतालमा कोभिड १९ को उपचार गर्ने पहिलो अस्पताल समेत ह्याम्स नै बन्यो।
उनले सम्झिए, 'एक बिरामीलाई पोखराबाट हेलिकोप्टरमा ल्याइएको थियो । उपचार गर्ने क्रममा कोभिड १९ पुष्टि भयो। निजीले अनुमति नपाएकाले उपचार समेत निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा पनि बिरामी र आफन्तहरुले मानेन्। स्वास्थ्य मन्त्रालय मान्छेलाई समेत आफन्तले त्यस्तै बताएपछि निर्देशिका अनुसार आइसियुमा राखेर उपचार गर्यौं । निको बनाएर पठायौं।'
सरकारले निजी अस्पताललाई कोरोनाको उपचार गर्ने अनुमति नदिएका कारण त्यो जोखिमपूर्ण थियो तर बिरामीका आफन्तको आग्रहका कारण जोखिम लिन तयार भएको बताए। कोभिड १९ बिरुद्ध लड्न निजी अस्पतालको सहयोग आवश्यक पर्ने कुरा त्यहीबेला उनले बताएका थिए र अनुमतिका लागि आग्रह गरेका थिए । संक्रमण तीव्र फैलिएपछि सरकारले बाध्य भएर सबैलाई उपचारका लागि अनुमति दियो।
'कोभिडको समयमा ह्याम्सले अधिकतम सेवा दियो। सेवा पाएकाहरु सन्तुष्ट हुनुभयो । उहाँहरुले अरुलाई पनि हाम्रो सेवा बारे बताइदिएका कारण हामीकहाँ बिरामी चाप निरन्तर बढ्यो,' उनी भन्छन्, 'त्योबेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुनुहुन्थ्यो। एकजना नेता कोभिड भएर वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर, उहाँले मन्त्री ढकाललाई ह्याम्स वा ग्रान्डीको आइसीयुमा सार्न अनुरोध गर्नुभएछ। यसले पनि निजी स्वास्थ्य सेवाप्रतिको विश्वास दर्शाउँछ।'
सही उद्देश्य लिएर अघि बढियो भने सफल भइन्छ भन्ने उनको सोचलाई मलजल गर्न यसले थप भूमिका खेल्यो।
दुई अर्ब लगानीमा भक्तपुरमा 'दोस्रो ह्याम्स'
काठमाडौंमा सरकारी र निजी गरी धेरै नै अस्पताल छन्। ललितपुरमा पनि सरकारी र निजी अस्पतालको संख्या राम्रै छ। भक्तपुरमा त्योअनुसार छैन। जबकी भक्तपुर हुँदै अघि बढेको हाइजवेले पूर्वी नेपालसँग मात्रै जोड्दैन, अरनिको राजमार्ग चिनको सीमाना तातोपानीसम्मै पुग्छ।
यो बीचमा धुलिखेल अस्पताल छ । त्यसबाहेक सम्पूर्ण सेवा भएको उच्चस्तरीय स्वास्थ्य सेवा दिने अस्पताल छैन। आफैं त्यही क्षेत्रमा बस्ने उनको समाजका धेरै मान्छेले उनीसँग भनिरहन्छन्, 'काठमाडौं पुग्न सकस छ। जडिबुटी सुरु हुने जामले बिरामी एम्बुलेन्समै तलमाथि हुने डर रहन्छ।'
ह्याम्स चलाएपछि उनले यस्तो कुरा धेरै सुने तर अघि बढिहाल्ने योजना बनाइसकेका थिएनन्। भक्तपुरमै बस्दा १६ वर्षअघि साथीहरुको चाहनामा कौशलटारमा खुलेको 'मुनाल पोलिक्लिनिक'मा उनले ५ लाख रुपैयाँ सेयर हालेका थिए। उनी त्यतातिर सक्रिय कहिल्यै भएनन्। पछि त्यो नागरिक सामुदायिक अस्पताल भयो । चार-पाँच वर्षअघि एउटा व्यवसायिक समूहले त्यसलाई किनेर चलाउन थाल्यो। तर, त्यो समूहले अस्पताललाई अपेक्षित गति दिन सकेन।
केही समयअघि त्यो अस्पतालमा रहेकाहरुले उनीसँग त्यसको अवस्थाको बेलिविस्तार लगाए- साढे दुई वर्षको घरभाडा तिर्न बाँकी छ। ८/१० महिनादेखि कर्मचारीको तलब दिन सकेको छैन। बिरामीको भरोसा पनि घट्दो छ।
उनले महशुस गरे- त्यहाँ अस्पताल त आवश्यक छ । ह्याम्सले अस्पताल सञ्चालनमा उनको आत्मविश्वास भरिसकेको अवस्था थियो। उनले आफ्नो टिमका डाक्टरहरुसँग सल्लाह गरेपछि त्यसलाई ह्याम्सकै भक्तपुर ब्रान्चका रुपमा सञ्चालन गर्ने निधो गरे। ह्याम्सकै लगानी त्यतातिर पनि लगाउने तय भयो। अहिले नागरिक अस्पतालकै नाममा त्यसको स्तरोन्नति हुँदैछ। ओपिडी, वार्ड र आइसियुको पुन:संरचनाको काम अघि बढिरहेको उनी बताउँछन्।
'अत्याधुनिक उपकरणसहित सुविधा सम्पन्न अस्पताल बनाउने क्रम जारी छ । हामीले त्यही छेउमा ७-८ रोपनी जग्गा लिइसकेका छौं। त्यहाँ अस्पताल भवन निर्माण पनि सुरु हुँदैछ । हामी त्यहाँ दोस्रो ह्याम्स बनाउँछौं,' उनले भने, '२ अर्बको परियोजना हो । १५० अर्ब बैंको ऋण हुनेछ। २०० बेडको अस्पताल बनाउने योजना छ । अहिले १०० बेड चलाउँछौं।'
नेपालजस्तो देशमा राज्यको ढुकुटीबाट मात्रै सम्पूर्ण स्वास्थ्य सेवा धान्ने अवस्था नरहेको उनको बुझाइ छ। उनका अनुसार निजी क्षेत्रले राज्य सघाउनुपर्छ। उनी हिसाब निकाल्छन्, 'अस्पताल बेडअनुसार राज्यको खर्च निकाल्दा सरकारी अस्पतालमा एउटा जनरल बेडका लागि ७ हजार खर्च भइरहेको पाइन्छ। हामीले ३ हजार ५ सयमै सेवा दिइरहेका छौं । राज्यको पैसा पनि हाम्रै हो । राज्यको पैसाको लाभ जनताले पाए कि पाएनन्?' राज्यले पनि निजी क्षेत्रबाट गुणस्तरीय उपचार सेवाका लागि सहयोग लिनुपर्छ । कोभिड १९ को समयमा निजी क्षेत्रले सघाएकै कारण क्षति न्युनिकरण गर्न सकिएको उदाहरण ताजा रहेको बताए।
कोभिड १९ को समयमा त्यसबिरुद्ध लड्नका लागि ग्लोब.माक्सजस्ता अनिवार्य सामाग्रीहरु सरकारले आफैंले ल्याउन मुश्किल पर्यो। भण्डारी जस्ता अन्तर्राष्ट्रिय सम्बन्ध भएकालाई गुहार्यो। भण्डारीले काठमाडौंमा बेइजिङ विमान चार्टर्ड गरेर स्वास्थ्य सामाग्री ल्याएर सघाए। उनले थपे, 'सरकारी निजी दुवै मिलेर लडेकाले कम लगानीमा त्यसलाई पार लगाउन सक्यौं। अहिले हामी राज्यले दिन नसकेको ठाउँमा मात्रै होइन, दिन नसकेको सेवा समेत दिइरहेका छौं ।'
आफूले गुणस्तरीय स्वास्थ्य सेवाका लागि राज्यलाई सहयोग गरेको बताउँदै 'आइपीओ'का लागि आवेदन हालेको बताए। 'आमजनलाई पनि स्वामित्व दिने कर्पोरेट कल्चरअनुसार हामी आइपीओमा जाँदैछौं । स्वास्थ्य क्षेत्रमा आइपीओमा जाने हामी पहिलो हुन्छौं । धितोपत्र बोर्डका प्रावधान पूरा गरेर आवेदन गरेकै एक वर्ष भयो।'
त्यसले अस्पतालप्रति आमजनको भरोसा बढाउनुका साथै संसारमा पछिल्लो समय उपलब्ध उपकरण, उपचार पद्धति र प्रणाली समेत भित्र्याउन सहज हुने उनलाई लागेको छ । यसका साथै पारदर्शिता, स्वास्थ्य सेवामा नवीनता र स्वास्थ्य प्रणालीमा सुधार ल्याउन पनि सघाउने उनले देखेका छन्। 'आमजनको लगानीले सेवालाई स्तरोन्नति गर्ने मौका प्राप्त हुन्छ । राज्यले यसलाई कसरी लिन्छ, हामी पर्खिरहेका छौं,' उनले थपे ।
सिक्दै, अनुभव लिँदै, अघि बढ्दै
सिन्धुपाल्चोकको सामान्य कृषकको परिवारमा जन्मिएका हुन् भण्डारी। २०५१ सालमा पढ्न काठमाडौं आएका थिए। गाउँका आम युवाले देख्ने सामान्य सपना उनीसँग पनि थियो, राम्रो पढ्ने र राम्रो जागिर गर्ने। उनले काठमाडौंमा पढ्नका लागि पनि काम गर्नुपर्ने अवस्था थियो । त्यसैले बिहान कलेज र दिउसो मेडिकल उपकरण सेवा दिने कम्पनीमा जागिर गर्न थाले। झन्डै ७ वर्ष जागिर गर्दा उनले उक्त व्यवसायको नाडीनशा छामिसकेका थिए। अरुकोमा जागिर गर्दा उनले स्वास्थ्य प्रणाली, मेडिकल सामाग्री, यसमा रहेकाहरुसँग चिनजान गरिसकेका थिए ।
२०५८ साल जेठ १ गते उनले जागिर छाडेर आफैं व्यवसाय अघि बढाउने सोच बनाएर मैदानमा उत्रिए। तर, लगानीका लागि पैसा जुटिसकेको थिएन। त्योबेला उनलाई लागेको थियो- २५ लाख रुपैयाँ जति भयो भने व्यवसाय राम्रो गर्न सकिन्छ। लगानीका लागि उनी बैंक खोज्न थाले। एसबीआई बैंकमा उनले चिनेका एकजना मान्छे थिए। उनले आफूलाई व्यवसाय गर्न केही रकम आवश्यक परेको उनलाई बताए। ती बैंकले सोधे- काठमाडौंमा चिनजानका कसैको घर छ? उनीसँगै काम गर्ने उनले दाइ भन्ने एकजनाको घर थियो। भण्डारीले उनीसमक्ष डराइ-डराइ प्रस्ताव राखे । ती 'दाइ' त भण्डारीले अपेक्षा गरेको भन्दा सहज रुपमा घर बैंकमा राख्न तयार भइदिए।
त्यसैले भण्डारी दोहोर्याउँछन्- म साथीभाइ र बैंकले पत्याएको मान्छे। बैंकले पनि उनले सोचेभन्दा दोब्बर जस्तै ऋण दियो। उनको आत्मविश्वास बढ्यो । मेडिकल उपकरणको क्षेत्रमा उनको प्रगति अपेक्षा गरेभन्दा राम्रो हुन थाल्यो।
उनी मेडिकल व्यवसायमा थिए। उनको गाउँनजिकै पर्ने खाडीचौर क्षेत्रमा स्वास्थ्य उपचारको समस्या थियो। जिल्ला अस्पताल चौतारामा थियो। जुन त्यो क्षेत्रका धेरै गाविसका लागि अपायक भयो। गाउँका भद्रभलाद्मीले उनी समक्ष अस्पताल बनाउने प्रस्ताव राखे।
अस्पतालमा सञ्चालनमा उनको पहिलो पाइला खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालबाट सुरु भयो। उनले मेडिकल व्यवसायका साथै उक्त अस्पताल सञ्चालन गरे। त्यो क्षेत्रकाको स्वास्थ्य उपचारका लागि अस्पतालले अहिले पनि ठूलो योगदान गरिरहेको छ। ५५ बेडको उक्त अस्पतालका साथै त्यहाँ पीसीएल नर्सिङ पठनपाठन पनि सुरु गरिएको थियो। जिल्लाकै पहिलो नर्सिङ पढाउने कलेज भने १०० बेडको अस्पताल हुनुपर्ने नियमका कारण रोकिएको छ।
हरेक परियोजनाबाट सिक्ने र अघि बढ्ने उनको स्वभाव हो भने आँट सफलताको सारथी हो। 'टिमवर्क'मा विश्वास गर्ने र जोखिम लिन सक्ने खुबीले उनको व्यवसायिक गति बढिरहेको छ। स्वास्थ्य क्षेत्रमा त उनको साम्राज्य फैलिइरहेकै छ। अहिले उनी अटो क्षेत्रतिर समेत अघि बढेका छन्। ह्याम्सकै ब्रान्डमा बजारमा आउने उनको इलेक्ट्रिक गाडी केही समयमै नेपाली बजारमा आउँदैछ।