काठमाडौं - जनशक्ति अभावमा जलन उपचार सेवा सातै प्रदेशमा विस्तार हुन सकेको छैन। पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत वैशाखमा जलन उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्ने घोषणा गरेपनि त्यो कार्यान्वयनमा आउन नसकेको हो।
सातै प्रदेशमा जलन उपचार सेवालाई विस्तार गर्ने भन्दै बजेट विनियोजन भएपनि जनशत्ति अभावमा प्रदेश सरकारले उक्त सेवा विस्तार गर्न नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। सात वटै प्रदेशमा जलन उपचार केन्द्र घोषणा गरिएपनि विशिष्टीकृत जनशक्तिको अभाव रहेको उनले बताए।
उनले भने, ‘प्रदेश अस्पतालसम्म प्लास्टिक सर्जन पु¥याउन नसकेकोले सामान्य बाहेकको जलनको विशिष्टीकृत सेवा विस्तार भएको छ्रैन। सामान्य जलन उपचार सेवा चलेपनि आइसियू सहितको सेवा चल्न सकेको छैन।’
जलन उपचारका लागि आवश्यकता अनुसाको बजेट नभएको उनले बताए।‘उपचारमा खर्च भएपछि सोध भर्ना लिदैं जाने हो खर्च नै नभएकोले पूर्ण बजेट विनियोजन नगरिएको हो।’ उनले भने, ‘आइसीयू सहितको सेवा चलेको छैन। पूर्ण बजेट विनियोजन गरेका छैनौं।’
काठमाडौंका वीर अस्पताल र कीर्तिपुर बर्न अस्पतालमा भने निशुल्क रुपमा जलन सेवा सञ्चालन उनी बताउँछन्।
वीर अस्पतालको जलन विभागमा पनि जनशक्ति अभाव
वीर अस्पतालमा सघन तथा शल्यक्रिया सेवा सहितको जलन उपचार केन्द्र सञ्चालनमा छ। वीरमा १० जनरल बेड, ५ आईसीयु र ३ वटा अप्रेसन थिएटर छन्।
उपचार सेवा सञ्चालनमै रहेपनि जलन केन्द्रमा नर्सिङ जनशक्तिले धान्न गाह्रो भइरहेको वीर अस्पतालका जलन उपचार विभाग प्रमुख तथा बर्न एण्ड प्लास्ष्टिक सर्जन डा पीयूष दाहाल बताउँछन्। जलनका सबै औषधि निशुल्क नभएकोले जलन उपचार सेवा निशुल्क भनिएपनि बिरामी अझै मारमा रहेको उनले बताए।
‘वीर अस्पतालमा उपचारका लागि बेड र शल्यक्रिया निशुल्क छ। यो उपचारमा औषधि महँगो छ। दूरदराजका बिरामी समस्या नै छन्।’ उनले भने।
यद्यपि जलन उपचार केन्द्रलाई सुधार प्रक्रिया अगाडि बढाइएको उनी बताउँछन्। हालसम्म वीर अस्पालबाट ६० देखि ७० को हाराहारीमा बिरामीले सेवा जलन उपचार सेवा लिएका छन्। जसमध्ये सबै बिरामीलाई छाला प्रत्यारोपण गर्नु परेको थियो। २ जना बिरामीलाई रक्तसञ्चार सहित रिकन्स्ट्रक्सन पनि गरिएको थियो।
डा दाहालका अनुसार आगोले पोलेका, पेट्रोल खन्याएका, करेन्ट लागेका तथा ग्यास लिक भएर जलनमा परेका बिरामीहरु अस्पताल आउँछन्। जलन उपचार केन्द्रका रुपमा रहेको कीर्तिपुरमा ८ र साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा ४ मात्रै बेड छन्।
सरकारी दरबन्दी नहुँदा अध्ययनमा रुचि राख्दैनन् चिकित्सक
नेपाल मेडिकल काउन्सिलमा ३५ जनाको हाराहारीमा मात्रै बर्न एण्ड प्लास्टिक सर्जन दर्ता छन्। यस विद्यामा सरकारी दरबन्दी एकदमै न्यून भएकोले डाक्टरहरुको यस विद्यामा रुचि नदेखाएको डा दाहाल बताउँछन्।
‘डाक्टरहरुमा यस विषय अध्ययनको खासै रुचि देखिदैंन। पढिसकेपछि रोजगारीको व्यवस्था सरकारी स्तरमा नभएकोले यस्तो भएको हो।’ उनले भने, ‘पढ्नलाई सरकारी छात्रवृतिको व्यवस्था नहुँदा पनि यसको अध्ययनमा चिकित्सकहरुको रुचि देखिदैन।’
सरकारले अध्ययन गरेर आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नका लागि छात्रवृतिको व्यवस्था गर्नुपर्ने उनले बताए। हालसम्म सरकारी सेवामा बर्न एण्ड प्लास्टिक सर्जनको दरबन्दी ५ जना मात्रै रहेको तथा त्यो असाध्यै न्यून रहेको उनले बताए।
नेपालमा वार्षिक ५५ देखि ६० हजारसम्मलाई जलनसम्बन्धी समस्या हुने गरेको कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन डा किरण नकर्मी बताउँछन्। जसमध्ये १७ सय हाराहारीले मात्रै अस्पतालको सेवा लिने गरेको तथ्यांक छ।