काठमाडौं- स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य प्रणालीले महत्वपूर्ण प्रगति गरे पनि आन्तरिक कमजोरीहरू हटाउन सबै तहबाट थप प्रतिबद्धता आवश्यक रहेको बताइन्। उनले कर्मचारीको क्षमता, अध्ययन, र तालीम राम्रो भए पनि उपयोगमा ‘खिया लागेको’ जस्तो अवस्था देखिनु चिन्ताजनक रहेको उल्लेख गरिन्।
नेशनल ज्वाइन्ट एनुअल रिभ्युमा बोल्दै उनले स्रोत–साधन प्रभावकारी प्रयोग हुन नसकेको उल्लेख गरिन्। हालका केही घटना व्यवस्थापनको कमजोरीबारे महत्वपूर्ण शिक्षा दिने किसिमका भएको भन्दै मन्त्री गौतमले 'मान्छेको मनभित्रको आक्रोशलाई भोलि नदोहोरिने गरी सिकाइका रूपमा लिनुपर्ने' बताइन्।
स्वास्थ्य संस्थाहरूमा उपचारका क्रममा त्रुटि सम्भव हुने कुरा स्वीकृत भएपनि प्रत्येक घटनाको कारण गहिरोसँग पहिचान गर्नुपर्ने आवश्यकता उनले जोड दिइन्। उनले समयमै उपचार नपुगेको, आवश्यक काम नगरेको वा सानो गल्तीसमेत गम्भीर परिणाममा पुग्न सक्ने बताउँदै थपिन्, 'अब सबै आफ्नो अधिकारप्रति सचेत छन्, न्यायालयसम्म मुद्दा पुग्ने अवस्था छ, त्यसैले अझ चनाखो र जिम्मेवार हुनुपर्छ।'
समिक्षाको क्रममा उनले संस्थागत सुधार, भ्रष्टाचार न्यूनिकरण र वेथितिको अन्त्य सरकारको स्पष्ट म्यान्डेट भएको उल्लेख गरिन्। उनले थपिन्, 'कर्मचारी तन्त्र राम्रो छ, पढाइ राम्रो हो तर कामको प्रभावकारिता पर्याप्त छैन, हामीले आफ्नै प्रदर्शनलाई इमानदारीका साथ हेर्नुपर्छ।'
अस्पताल निर्देशकहरूलाई सम्बोधन गर्दै थपिन्, 'सेवाग्राहीको गुनासो, लाइन र झमेलाको मात्रा घटाएको प्रगति कति भयो?'
फेसबुक र ह्वाट्सएपमा ५०–७० वटा सुझाव र गुनासोहरू हरेक दिन पाइरहेको बताउँदै उनले 'क्षमताको अधिकतम प्रयोग गर्नुपर्ने' बताइन्।