जाडोका बेला वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष ख्याल पुर्याउनुपर्छ। सबैभन्दा धेरै रुघाखोकी, निमोनिया तथा कब्जियतका समस्या देखिन सक्छन्। कब्जियतले गर्दा खाना मन नलाग्ने हुन्छ भने चिसोका बेला पानी कम पिइने हुँदा पिसाब कम भएर संक्रमणको सम्भावना बढी हुन्छ। यस्तै, कसै–कसैलाई पिसाब लगाउने औषधि दिइएको रहेछ भने पनि शरीरमा पानीको कमी हुन सक्छ।
अर्को चिप्लिएर लड्ने समस्या हो। हिटर बाल्दा, एसी प्रयोग गर्दा झ्याल–ढोका बन्द गरिन्छ। जसले गर्दा कोठाभित्र चिसो मोइस्चर बस्छ, जुन हतपति सुक्दैन र चिप्लिएर लड्ने सम्भावना हुन्छ। मधुमेह लागेका मानिसमा त सेन्सेसन कम हुने र लड्ने सम्भावना झनै रहन्छ। एकपटक लडेपछि त्यसले धेरै समस्या निम्त्याउन सक्छन्। जस्तो, शरीरका हड्डी भाँचिन सक्छन्। बिरामी लामो समय ओछ्यानमै रहनुपर्ने हुँदा फेरि अर्को समस्या आउन सक्छ।
एसीले हावा सुख्खा हुने, आँखा सुक्ने–चिलाउने हुन सक्छ। तसर्थ हुयुमिडिफायरसमेत प्रयोग गर्दा कोठाको हावा त्यति सुख्खा हुन पाउँदैन।
हिंड्दासमेत ख्याल गर्नुपर्छ
वृद्धवृद्धाले हिँडडुलमा समेत विचार पुर्याउनुपर्छ। सकेसम्म सहयोगीको साथमा हिंडडुल गर्नु उपयुक्त हुन्छ। मर्निङ वाक पनि घाम लागेपछि गर्ने, छोटो–छोटो दुरीमा हिड्ने अनि आराम गर्ने गर्नुपर्छ। असमान बाटो, खुड्किलो, उकालो–ओरालो, सडक पेटीमा हिड्नुहुँदैन। अलि अलि उकालो हिँड्न सकिए पनि सकेसम्म धेरै ओरालो हिंड्नुहुँदैन।
आफ्नो शारीरिक अवस्थाअनुसार २० देखि ४० मिनेटसम्म योगा तथा ध्यान गर्दा शारीरिक रुपमा स्वस्थ हुन मद्दत पुग्छ।
शारीरिक तथा मानसिक परिवर्तन
यस्तै, उमेर बढ्दै जाँदा शारीरिक गतिविधि तथा खानपान कम हुँदै जान्छ। दीर्घरोग नभएको अवस्थामा पनि उमेर अनुसारको परिवर्तन हुँदा वृद्धवृद्धाहरु शारीरिक तथा मानसिक दुवै रुपमा बढी संवेदनशील हुँदै जान्छन्। सन्तान तथा परिवार सधैं सँगै बसिदेउन्, आफूले भनेका कुरा सुनिदेउन् भन्ने अपेक्षा हुन्छन्।
त्यसैले दिनभरि एक्लै भएका बेला उनीहरुलाई मन पर्ने कुरा उपलब्ध गराउन सकिन्छ। जस्तो, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने, लेख्ने जस्ता कुराहरुमा व्यस्त बनाउन सकिन्छ। जसले गर्दा उनीहरुले एक्लो महसुस नगरुन्।
सम्भव भएसम्म मानसिक स्वास्थ्यको हिसाबले २–३ महिनामा एक पटक चिकित्सकसँग भेट्ने, आफ्नो कुरा राख्ने गर्नुपर्छ। यसो गर्दा मानसिक स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्ने हुन्छ। त्यस्तै, छिमेकीहरुसँग बोलचाल गर्ने, चिया खाने, गफ गर्ने तथा स्थानीयहरुको समूह बनाएर आफूलाई व्यस्त तथा अरुको सेवामा समय दिने गर्दा मनमा आनन्द हुने तथा सक्रिय हुने अवसर मिल्छ।
रोग प्रतिरोधी क्षमता
मानिसको उमेर बढ्दै गएपछि तुलनात्मक रुपमा रोगप्रतिरोधी क्षमता कम हुँदै जान्छ, जसका कारण चाँडै संक्रमण हुने र रोग लाग्ने सम्भावना बढी हुन्छ। पाचन क्षमता पनि कमजोर हुन्छ, जसले गर्दा अपचको समस्या उत्पन्न हुने, एसिडिटी बढ्ने, अमिलो पानी आउने आदि हुन सक्छ। कहिलेकाहीँ बुबाआमाले चिसो खानेकुरा खाएर पखाला लागेको भन्नुहुन्छ। त्यस्तो नभई चिसोले कोल्ड डायरियाचाहिँ हुन सक्छ।
यस्तै, चिसोका कारण नसाहरुलाई पनि बढी काम गर्नुपर्ने भएकाले हृदयाघात तथा पक्षघात निम्तन सक्छ भने डिहाइड्रेसनका कारण पनि हृदयाघात हुन सक्छ।
खानपानमा कस्तो ध्यान पुर्याउनुपर्छ?
जाडोमा यो खानेकुरा खानुपर्छ, यो खानुहुन्न भन्ने केही पनि छैन,। पहिले जुन खानेकुरा खाँदै आइरहनु भएको छ, जति रुच्छ, त्यही खान दिनुपर्छ।
यो उमेरमा यसै त आहारा घटेको हुन्छ, झन् त्यसमाथि खानेकुरा घटाउनुहुन्न। यो कुरा खानुहुन्छ, यो हुँदैन भनेर रोक लगाउनुपर्दैन। कसै–कसैलाई दूधसँग एलर्जी हुने, नपच्ने, डायरिया हुने हुनसक्छ। कसैलाई साग नपच्न सक्छ। यस्तो अवस्थामा ती चिज दिनुहुन्न।
गेडागुडी सिठ्ठी लगाए झोलिलो बनाएर दिनुपर्छ। माछा मासु खानुहुन्छ भने चिल्लो, पोलेको, तारेको नभई राम्रोसँग पाकेको, चपाउन तथा पचाउन सजिलो हुने खालको दिनुपर्छ। सुगर, प्रेसर छ भने पनि मासु नखानु है भन्न पर्दैन, किनभने औषधि खाइरहनुपर्ने भएकाले त्यसले सन्तुलन मिलाउँछ। खाना खाँदा एकै पटक टन्न खानुभन्दा थोरै–थोरै खानेकुरा धेरै पटक गरेर खानु उपयुक्त हुन्छ।
चिसोका बेला डिहाइड्रेसनका कारण सुगर लेभल बढ्ने हुन्छ। पर्याप्त मात्रामा शरीरलाई पानी अथवा झोलिलो पदार्थ पुगेको छैन भने त्यसले सुगर बढाउछ। अथवा, कुनै अंगमा संक्रमण छ कि भनेर हेर्नुपर्छ। डिहाइड्रेसनका कारण पक्षघात तथा स्ट्रोक हुने, पिसाबको संक्रमण हुनेजस्ता समस्या निम्तन्छन्।
यसैले प्यास नलागे पनि पानी पिउने, पानीको मात्रा हुने भएकाले फल फुल खाने्, गाजर मुला, काँक्रोजस्ता कुरा दिने गर्नुपर्छ।
तातोको सम्पर्कमा आइरहने
चिसोका बेला तातो चाहिन्छ। सबैभन्दा राम्रोचाहि सुतीको न्यानो कपडा लगाइदिनुपर्छ। बुढ्यौलीमा ओस्टियो आर्थराइटिस, ओस्टियोपोरोसिस, घुँडा खिइनेजस्ता रोग लाग्छन्। त्यसमाथि पनि मोटो लुगा लगाइदियौं भने उठ्न, बस्न, हिडडुल गर्न गार्हो हुन्छ। हिटर अथवा एसीबाट कोठालाई तातो बनाउन सकिन्छ। तर, तापक्रम उच्च हुन नहुनेतर्फ ख्याल गर्नुपर्छ।
शरीर तताउन आगो ताप्दा एकातिर आगलागी हुने जोखिम हुन्छ भने अर्कोतिर धुँवाले श्वासप्रश्वासको समस्यालाई झन् जटिल बनाउँछ। कोठा सबैतिर बन्द गरेर मकल बाल्दा अक्सिजनको कमी भएर निसास्सिने र ज्यानै जान सक्छ। वृद्धवृद्धाको स्वास्थ्यका लागि यी कुरामा झनै ख्याल गर्नुपर्छ। घाम ताप्दा शरीरलाई ऊर्जा प्राप्त हुने तथा भिटामिन डी शरीरले सोस्ने हुन्छ। खासगरी बिहान १० देखि अपराह्न २ बजेसम्मको घाम उपयुक्त मानिन्छ। तर, घामले शरीर डढ्न पनि सक्ने भभएकाले सनब्लक लगाउने या अनुहारलाई छायाँमा पार्ने गर्नुपर्छ।
कब्जियतको समस्या
बुढ्यौलीमा हुने धेरैजसो समस्या हो कब्जियतको। वृद्ध अवस्थामा पुगेपछि शरीरमा पानीको कमी, शारीरिक अभ्यास नहुनु, हिँडडुल कम हुनेजस्ता कारणले कब्जियत हुने हुन्छ। यस्तो अवस्थामा पानी बढी सेवन गर्ने, लठ्ठीको सहायताले पनि हिँडडुल गर्ने, झोलिलो पदार्थ बढी खाने गर्नुपर्छ। साथै फाइबर बढी भएको अन्न तथा फलफूल खानुपर्छ।
नर्भिक अस्पतालले दिने उपचार तथा सेवामा विश्वास गरेर देशभरबाट ज्येष्ठ नागरिक उपचारका लागि आउनुहुन्छ। उहाँहरुको उपचार सेवा अझ सहज होस् भनेर अस्पतालले जेरियाट्रिक ओपीडी सुरु गरेको छ। अब हामी जेरियाट्रिक वार्ड स्थापना गर्ने उद्देश्यअनुसार अघि बढेका छौं।
(डा केसी नर्भिक अस्पतालका जनरल फिजिसियन तथा इमर्जेन्सी विभागका प्रमुख हुन्।)