काठमाडौं- बालबालिकाको उपचार गर्ने देशकै एक मात्र केन्द्रिय बाल अस्पताल हो, कान्ति बाल अस्पताल। सन् १९६३ सालमा ५० शय्याबाट सेवा सुरु गरेको अस्पताल हाल ३७२ शय्यामा सञ्चालित छ। केन्द्रिय बाल अस्पताल भएकाले पनि ७७ वटै जिल्लाबाट बिरामीहरु उपचार गर्न कान्तिमा पुग्छन्।
तर अस्पतालमा पुगेका धेरै बिरामीका आफन्तले भने अस्पतालमा शय्या नभएको भन्दै आकस्मिक कक्षबाट नै अन्यत्र अस्पतालमा रेफर हुनुपरेको, आइसीयू छैन भन्दै अन्यत्र खोज्दै हिँड्नु परेको लगायतका गुनासो गर्दै आइरहेका छन्। बिरामी पक्षका यी गुनासो कहिले समाधान हुन्छ? कान्तिमा पुगेका बिरामीले अन्यत्र रेफर हुनु नपर्ने अवस्थाको अन्त्य कहिले होला? किन कान्तिमा पुगेका बिरामी अन्यत्र जान बाध्य छन्?
कान्ति बाल अस्पतालले सोमबार ६३ औं वार्षिकोत्सव मनाइरहेको छ। यही सन्दर्भमा स्वास्थ्यखबरले भने यी विषयमा केन्द्रित रहेर कान्ति बाल अस्पताल निर्देशक डा पकंज रायसँग कुराकानी गरेको छ। बिरामीका आफन्तको प्रमुख चासोका रुपमा रहेका तीन वटा विषयमा केन्द्रितर रहेर स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले डा रायसँग गरेको कुराकानी:
कान्तिमा पुगेका बिरामी आकस्मिक कक्षबाट नै किन अन्यत्र अस्पतालमा रेफर हुन्छन् ?
देशको एकमात्र बाल हस्पिटल भएकाले देशैभरीबाट बालबालिकाको उपचारका निम्ति यहाँ केन्द्रीकृत हुने हुँदा बिरामीको चाप अत्याधिक छ। यो अस्पताल उपचारमा सस्तो तथा गुणस्तरीय उपचार सेवा दिन सक्ने भएकाले सकेसम्म यसै अस्पतालमा बिरामीहरु उपचार गर्न रुचाउँछन्। बिरामीको अवस्था हेरेर कतिपय बिरामीलाई पूर्ण निःशुल्क उपचार पनि दिन सकिराखेको अवस्था छ। केही बिरामीको उपचारमा समय बढी लाग्ने भएकाले लामो समयसम्म एउटै बिरामीले बेड प्रयोग गरिराख्दाखेरी पनि नयाँ आउने बिरामीलाई भर्ना लिएर उपचार गर्न सम्भव भइरहेको अवस्था छैन।
यसका बावजुद पनि नयाँ आउने बिरामीलाई वेटिङ लिस्टमा राखेर बेड खाली हुने बित्तिकै बिरामीलाई सेवा दिनका निम्ति फोन गरेर बोलाउँदै सेवा दिने गरेका छौँ। यसरी बोलाउँदा निश्चित समयभित्र उहाँहरू अस्पतालमा सेवा लिन आउन सक्नुभएन भने उहाँहरु पछाडिको अर्को बिरामीलाई प्राथमिकताका आधारमा हामीले सेवा प्रदान गर्दै आइराखेका छौं। त्यसैगरी यस अस्पतालमा अन्यत्र देशैभरीका अस्पतालबाट ठूलो मात्रामा रिफर भएर आउने बिरामीको सङ्ख्या पनि अत्याधिक संख्यामा भएकाले हाम्रो स्रोत साधन अपर्याप्त जस्तो हुन गइरहेको छ।
यस्तो अवस्थामा बिरामीहरु अन्यत्र जानपर्ने बाध्यात्मक स्थिति पनि उत्पन्न भएको घटनाहरू सर्वविधितै छ। हामी धेरैभन्दा धेरै बिरामीलाई उपचार दिन चाहन्छौं तर बाध्यताले गर्दा पनि हामीले सम्पूर्ण बिरामीलाई उपचार दिन सकिराखेका छैनौँ। यस्तो अवस्थामा बिरामीहरू बाध्यात्मक कारणले पनि बाहिर अन्यत्र अस्पतालहरूमा सेवा लिन बाध्य भएका छन्।
आकस्मिक कक्षमा जम्माजम्मी २५ वटा बेडहरू रहेका छन्। बिरामीको स्वास्थ्य अवस्था अनुसार रातो, पहेँलो र हरियो कलरका टिकटहरु दिने गर्दछौं। उक्त टिकट अनुसार नै बिरामीको उपचारमा ध्यान केन्द्रित गर्ने गर्दछौँ। रातो टिकट पाएका बिरामीले तुरुन्तै उपचार पाउँदछन्। यस्तो बिरामीको उपचार एक घन्टाभित्र नै गरिसकिन्छ। त्यस्तै हरियो रङ्गको टिकट पाएका बिरामीले सेवा सुविधा पाउनका लागि ४ घन्टा कुर्नुपर्ने हुन्छ।
बिरामीलाई तत्काल उपचारको आवश्यकता परिराखेको हुन्छ तर हामीसँग भएको स्रोत साधनले बिरामीलाई उपचार दिन सम्भव नहुँदा बिरामीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर नै अन्यत्र पठाउने गर्नु परेको छ।
अन्यत्र गएका बिरामीलाई फोन गरेर बोलाएर पनि सेवा दिँदै आएका छौं। त्यसका बावजुद पनि सम्पूर्ण बिरामीलाई हामीले सेवा दिन सकिराखेका छैनौँ। यो हाम्रो रहर भन्दा पनि बाध्यता हो। हामी बिरामीको स्वास्थ्य माथि खेलवाड गर्न सक्दैनौँ। बिरामीको स्वास्थ्यभन्दा महत्वपूर्ण अरु केही हुन सक्दैन। बिरामीले चाँडोभन्दा चाँडो स्वास्थ्य सेवा पाउनका निम्ति कतिपय अवस्थामा बाहिर सेवा लिन बाध्य भइराखेका यथार्थलाई हामी स्वीकार्दछौं।
कान्तिमा किन बिरामीले आइसीयू पाउन सक्दैनन्, यहाँको आइसियू क्षमता र जनशक्तिबारे जानकारी गराइदिनुहोस् न?
आजभन्दा ६३ वर्ष अगाडि ५० शय्याको जनरल अस्पतालबाट सुरु भएर बेलाबेलामा शय्या थपेर हाल ३७२ शय्याको अस्पतालको रूपमा रहेको छ। स्थापना कालमा ९९ वटा दरबन्दीबाट सुरु भएर अहिले करिब ६०० जति दरबन्दी रहेको छ। जसमा सरकारतर्फ २६४ र बाँकी चाहीँ समितितर्फ रहेका छन्। यस अस्पतालमा एनआइसीयू, पिआइसीयू र एसआइसीयू गरी तीन प्रकारका आइसीयू छन्। जसमा पिआइसीयूमा १५ वटा बेड रहेका छन्। एनआइसीयूमा १८ वटा बेड रहेका छन् भने एसआइसीयूमा १० बेड रहेका छन्। यसका साथै १५ बेडको एमआइसीयू वार्ड पनि रहेको छ। यो दोस्रो श्रेणीको आइसियू बेड हो। त्यस्तैगरी सर्जिकल एचडीयूका १० बेड रहेका छन् भने उल्लेखित बेड सङ्ख्या मध्येमा ४८ वटा बेड सङ्ख्यामा चाहिँ भेन्टिलेटर सहितको सेवा सुविधा रहेको छ भने अन्यमा रहेको छैन।
बिरामीको अवस्थालाई प्राथमिकता राखी उपचार दिने गरिन्छ। नवजात शिशुहरूको हकमा सिधै आकस्मिक सेवा दिइन्छ। आकस्मिक सेवा केन्द्रमा सेवा लिइराखेका बिरामीहरूमध्ये रातो टिकटका बिरामीहरु जटिल प्रकृतिका हुन्छन्। त्यस्ता बिरामीहरुलाई आइसीयू जस्ता स्थानमा राखेर उपचार गर्नुपर्ने हुन्छ। यदि त्यो अवस्थामा आइसियू खाली छैन, बेड छैन भने बिरामीहरु अन्यत्र अस्पतालमा रिफर पनि हुने गरेका छन्। अस्पतालको क्षमताभन्दा बढी बिरामी आउने भएकाले पनि यस्तो समस्या आएको हो।
यी समस्याको समाधान कसरी र कहिले होला?
म अस्पताल निर्देशकको जिम्मेवारीमा आइसकेपछि निरन्तर रुपमा अस्पतालका सेवा सुविधाहरूको गुणस्तर वृद्धि विकासमा भूमिका खेलिरहेको छु। २०५२ सालमा स्थापना भएको यो संरचनाभित्र आज प्रयोग भइरहेका बिरामीको बेड सङ्ख्याभन्दा थप अरु थप्न सक्ने स्थिति छैन। साँघुरो ठाउँका कारणले बेडहरूको सङ्ख्या थप्न सक्ने स्थिति छैन। एक तलामा डेन्टल, सर्जिकल, इएनटी ओपिडी, फार्मेसी समेत भएको कारण संरचना ज्यादै साँघुरो भएको छ।
यसर्थ आजको अवस्थाबाट सुधार ल्याउने हो भने पहिले राज्यले ध्यान दिनुपर्ने कुरा भनेको कान्ति बाल अस्पतालको संरचना निर्माण नै हो। आजको भौतिक संरचनाले सोचेजस्तो सेवा दिन सक्ने स्थिति छैन। एकातिर जनशक्तिको अभाव छ भने अर्कोतिर स्पष्टसँग भौतिक संरचनाको अभाव कान्ति अस्पतालको मुख्य चुनौतीको विषयवस्तु बनेको छ।
यो अस्पताललाई बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अस्पतालको रूपमा वृद्धि विकास गर्न सकियो भने मात्र यसले राष्ट्रिय स्तरमा बालबालिकाको स्वास्थ्य सेवामा ठूलो भूमिका खेल्न सक्ने थियो। यस अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य संस्थानको रूपमा विकास गर्नुपर्ने टट्कारो आवश्यकता भएको छ। अर्थात् यसलाई राष्ट्रिय गौरवको संस्थाको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ। यसतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ।