चितवन - चितवनस्थित भरतपुर अस्पतालको क्याथ ल्याबबाट १ सय बढी बिरामीले सेवा लिएका छन्।
विगत ६ महिनाको अवधिमा १ सय जनाको कार्डियाक सर्जरी र ५० जनाको मस्तिष्कघात सम्बन्धी उपचार गरिएको अस्पतालले जनाएको छ।
क्याथ ल्याब सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट ७ करोड र अस्पताल विकास समितिबाट ७ करोड गरी १४ करोड खर्च भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए। क्याथ ल्याब अन्य अस्पतालमा भएपनि इन्टरभेन्सन रेडियोलोजी सेवा चितवनमा मात्र हुने भएकाले पोखरा र बुटवलका बिरामीहरु समेत यहाँ आउने गरेको उनले बताए।
उनले भने, ‘मुटु सम्बन्धी समस्या, ह्रदयघात र ब्रेन स्ट्रोकमा यो सेवाबाट बिरामीको ज्यान तुरुन्त जोगाउन क्याथल्याबको आवश्यक पर्छ।’
सरकारी अस्पतालमा यो सेवा बिरामीहरुले सुपथ मूल्यमा पाउने गरेको बताउँदै उनले भने, ‘बाहिर यो उपचार गर्दा ३ लाख जति खर्च हुन्छ। तर यहाँ डेढ लाखजतिमा सबै हुन्छ।’
क्याथ ल्याबबाट दिइने सेवाका लागि ६ जना चिकित्सक, ८ नर्स र ३ जना रेडियोलोजी टेक्निसियन छन्। पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैशाख २२ गते भरतपुर अस्पतालमा क्याथल्याबको उद्घाटन गरेका थिए।