नेपालमा अहिले ब्रेन ड्रेन र विदेशिने प्रवृत्ति बढ्दै गएको छ भने जन्मदर घट्दै गइरहेको छ। यसै क्रममा नेपालमा बसोबास गर्ने वृद्ध जनसंख्या दिन प्रतिदिन बढ्दो छ। राष्ट्रिय जनगणना २०२१ अनुसार, २०११ को तुलनामा वृद्ध जनसंख्या ३८.२ प्रतिशतले वृद्धि भएको छ।
डाक्टरको रूपमा यो तथ्यले मलाई चिन्तित तुल्याउँछ र मेरो मनमा धेरै प्रश्नहरू उठाउँछ। नेपालको परिप्रेक्ष्यमा भएको कुराकानी अझै पनि ‘जेरियाट्रिक स्वास्थ्य’तर्फ सरेको छैन। यो लेख जेरियाट्रिक स्वास्थ्यको बारेमा समुदायलाई सचेत गराउने प्रयासको एक सानो भाग हो।
म अस्पतालबाट घर फर्कंदा हाम्रो समुदायका सदस्यहरू जुम्बाको तालमा नाच्दै गरेका देखिन्छन्। बिहानको समयमा पिपल बोटको छेउमा बसेर गफगाफ गर्दै गरेका देखिन्छन्। यसले समुदाय स्वास्थ्य र भलाइमा केन्द्रित हुँदै गरेको चित्र प्रस्तुत गर्छ। यसका लागि शरीर र स्वास्थ्य उमेरसँगै कसरी परिवर्तन हुन्छ भन्ने ज्ञान धेरै महत्त्वपूर्ण छ।
वृद्धावस्थामा पाइने सामान्य रोग
उमेर बढ्दै जाँदा केही रोगहरूको जोखिम बढ्दै जान्छ। यी रोगहरूको बारेमा जानकारी र समयमै व्यवस्थापन, स्वस्थ वृद्धावस्थाका लागि आवश्यक छ।
• हृदय रोग (हृदयाघात): उमेर बढ्दै जाँदा उच्च रक्तचाप, कोलेस्ट्रोल र जीवनशैलीका कारण हृदय रोग, हृदयाघात र स्ट्रोकको जोखिम बढ्छ।
लक्षणहरू:
- छातीको बीच भागमा दुखाइ
- अत्यधिक पसिना आउनु
- छातीमा ढुंगा राखेझैं भारी महसुस हुनु
- हात र गिजाको दुखाइ
यी लक्षणहरू थाहा पाउनु अत्यन्त महत्वपूर्ण छ। तत्काल आपतकालीन कक्षमा पुगेर ईसीजी गराउनु प्राथमिकता हुनुपर्छ। स्वस्थ आहार, व्यायाम र औषधिको सहायताले हृदय स्वास्थ्य सुधार गर्न सकिन्छ।
• मधुमेह (चिनी रोग): उमेर बढ्दै जाँदा, विशेषगरी निष्क्रिय जीवनशैली र अस्वस्थ आहारका कारण टाइप २ मधुमेह देखिने गर्छ।
लक्षणहरू
- अत्यधिक भोक लाग्नु
- धेरै प्यास लाग्नु
- बारम्बार पिसाब लाग्नु
रगतमा चिनीको मात्रा निगरानी गर्नु, स्वस्थ तौल कायम राख्नु र आहार नियन्त्रण गर्नु मधुमेह नियन्त्रणका मुख्य उपाय हुन्।
• ओस्टियोपोरोसिस (हाड पातलो हुने समस्या): उमेरसँगै हड्डीहरू पातलो हुँदै जान्छन् जसले हड्डी भाँचिने जोखिम बढाउँछ।
लक्षणहरू
- हड्डी दुखाइ
- ढाड दुखाइ
- हड्डी भाँचिने जोखिम
क्याल्सियम र भिटामिन डीयुक्त आहार, व्यायामले हड्डी स्वास्थ्य जोगाउँछ। एक गिलास दूध पिउने र क्याल्सियम सप्लिमेन्ट नजिक राख्ने बानी बसाल्नुहोस्।
• डिमेन्सिया/अल्जाइमर रोग
लक्षणहरू
- स्मरणशक्ति कमजोर हुनु
- गफगाफमा रुचि कम हुनु
- निद्रामा परिवर्तन
मानसिक रूपमा सक्रिय रहनु, स्वस्थ आहार र सामाजिक गतिविधिहरूमा संलग्न हुनुले स्मरणशक्ति गिरावट रोक्न सहयोग गर्छ।
• दम: हिँड्दा श्वास फेर्न गाह्रो हुनु, खोकी बढ्नु, ज्वरो आउनु दमका लक्षण हुन्। धूमपान दमको मुख्य कारण हो। धूमपान त्याग्नु यसको नियन्त्रणको उपाय हो।
• क्यान्सर: उमेर बढ्दै जाँदा स्तन, प्रोस्टेट र कोलोरेक्टल क्यान्सरको जोखिम बढ्छ। नियमित स्क्रिनिङ, स्तन स्व-परीक्षण, कोलोनोस्कोपी र समयमै पत्ता लगाउनाले उपचार सम्भावना बढाउँछ।
• पार्किन्सन रोग: यो न्यूरोलोजिकल समस्या हो जसले शरीरका गतिविधिमा असर गर्छ। यो रोग निको नहुने भए पनि औषधि र थेरापीले लक्षणहरू व्यवस्थापन गर्न सक्छ।
• दृष्टि र सुन्ने शक्ति कमजोर हुनु: मोतिबिन्दु, ग्लुकोमा, दृष्टि र सुन्ने समस्याहरू उमेरसँगै बढ्छ। श्रवण यन्त्र र चश्माको प्रयोगले यसलाई सजिलो बनाउँछ नियमित परीक्षण आवश्यक छ।
स्वस्थ वृद्धावस्थाका लागि के गर्न सकिन्छ?
• शारीरिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्
- नियमित व्यायाम: हिँड्न, योगा, व्यायामहरूले मांसपेसी बलियो बनाउँछ।
- सन्तुलित आहार: फलफूल, सागसब्जी, गहुँ, चामल, मासु जस्ता पोषक तत्वयुक्त आहारले वृद्धावस्था स्वस्थ बनाउँछ।
- स्वास्थ्य परीक्षण: नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, कोलेस्ट्रोल, रक्त शर्करा र क्यान्सर जाँच आवश्यक छ।
• मानसिक स्वास्थ्य
- जीवनभरि सिकाइ: पत्रिका पढ्न, नयाँ सिप सिक्नाले मस्तिष्क सक्रिय रहन्छ।
- सामाजिक सम्बन्ध: साथीभाइ, परिवार र समुदायसँग समय बिताउनुहोस्।
- तनाव व्यवस्थापन: ध्यान, योग र गहिरो श्वास फेर्ने अभ्यास तनाव कम गर्न मद्दत गर्छ।
भावनात्मक स्वास्थ्य
- सकारात्मक सोच राख्नुहोस्। धन्यवाद दिने बानीले जीवनमा सन्तुष्टि ल्याउँछ।
- अर्थपूर्ण गतिविधिमा संलग्न हुनुहोस्।
• राम्रो निद्रा
- सुत्नुअघि शान्त वातावरण बनाउनुहोस् र नियमित निद्रा समय बनाउनुहोस्।
• रोकथाम र दीर्घकालीन रोग व्यवस्थापन
- औषधि नियमित लिनुहोस् र स्वास्थ्य परीक्षण गराइरहनुहोस्।
- खोप लगाउनुहोस्।
• सहयोग प्रणाली निर्माण गर्नुहोस्
- परिवार र समुदायसँग खुलेर कुरा गर्नुहोस्।
वृद्धावस्था एक यात्रा हो। सही दृष्टिकोण अपनाएर वृद्धावस्थालाई स्वस्थ र सुखमय बनाउन सकिन्छ। स्वास्थ्यप्रति सचेत भएर गरिने आजको निर्णयले भोलि राम्रो बनाउँछ।
सक्रिय रहनुहोस्, सहभागी रहनुहोस् र आफ्नो जीवनको सुनौला वर्षहरूलाई भरपूर जिउनुहोस्।