काठमाडौं - सन् २०१७ सालको कुरा हो। लण्डनको क्वीन्स अस्पतालको प्याथोलोजी ल्याबका दुई टेक्नीसियनहरु एक पखाईमा बसिरहेका थिए। उनीहरुको त्यो पखाई थियो, नवजात शिशुको मलमूत्रका लागि।
एकदिन उक्त ल्याबले करिब ५० स–साना प्याकेट पाउँछन्। हरेक प्याकेटमा नवजात शिशुको मलमुत्रको सानो नमूना थियो। ती मलमूत्रका नमूनाहरु नवजात शिशुका अभिभावकले निकै सावधानीपूर्वक डायपरबाट निकालेर पठाएका थिए।
यी टेक्नीसियनहरु ‘बेबी बायोम’ नामको एक अध्ययनको हिस्सा थिए। यस अध्ययनको उद्देश्य थियो, नवजात शिशुको गट माइक्रोबायोम अर्थात् पाचनतन्त्रमा रहेका खर्बौ सूक्ष्म जीवाणुले आगामी भविष्यमा उसको स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ ?
सन् २०१६ र २०१७ को बीचमा यस ल्याबमा ३ हजार ५ सय नवजात शिशुको मलको नमूना विश्लेषण गरिएको थियो।
युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का इन्फेक्शियस डिजीज एपिडेमियोलोजीका प्रोफेसर निगेल फील्डले बेबी बायोम नामक अध्ययनको नेतृत्व गरेका थिए।
उनी भन्छन्, ‘जन्मको तीन या चार दिनपछि शिशुको आन्द्रामा माइक्रोब्सको उपस्थितिको संकेत देखिन थाल्छ। अर्थात् कालोनी बन्नमा केही दिन लाग्छ।’
उनी थप्छन्, ‘जब शिशु जन्मिन्छन्, ‘उसको शरीर लगभग पुरै तरिकाले स्टेराइल हुन्छ। यो इम्यून सिस्टमको लागि निकै महत्वपूर्ण क्षण हो। किनभने यो समयसम्म शरीरको कुनै पनि सतह माइक्रोब्सको सम्पर्कमा आइसकेको हुँदैन।’
हाम्रो शरीरमा जन्मको सुरुवाती केही दिनपछि एक गट माइक्रोबायोमको विकास हुन थाल्छ। ब्याक्टेरिया, फंगस र भाइरसको यो समूहको हाम्रो शरीरमा महत्वपूर्ण भूमिका हुने वैज्ञानिकहरुको मान्यता छ।
वयस्क भएपछि यही सूक्ष्म जीवले पच्न मुश्किल हुने फाइबरलाई तोड्नमा मद्दत गर्दछ र केही भिटामिन बनाउनका निम्ति समेत जरुरी इन्जाइम उपलब्ध गराउँछ। यसले हामीलाई हानिकारक रोगहरुबाट समेत बचाउँछ। केहीले त संक्रामक जीवाणुलाई मार्नका लागि प्राकृतिक एन्टीबायोटिक्सपनि शरीरमा छाड्ने गर्दछ।
एक स्वस्थ गट माइक्रोबायोमको फाइदाहरु योभन्दा धेरै छन्। यदी यसले सही ढंगले काम गरेमा चिन्ता, अल्जाइमर जस्ता न्यूरोडीजेनेरेटिव रोगहरुबाट पनि सुरक्षा दिने यस नयाँ अध्ययनमा पाइएको छ।
तर यदी वयस्क अवस्थामा कसैको गट माइक्रोबायोम अस्वस्थ भए यसले मुटुको रोग, कोलोरेक्टल क्यान्सर, क्रोनिक मिर्गौला रोग, मधुमेह, इनफ्लेमेटरी बाँवेल र मोटोपनजस्ता कयौँ गम्भीर रोगहरु भएको पनि पाइएको छ। वैज्ञानिकहरुले हालसम्म पेटको आन्द्रामा रहेको ब्याक्टेरियाको वयस्क स्वास्थ्यमा पार्ने असरबारे कयौँ अध्ययन गरेका छन्। तर शिशु अवस्थामा पर्ने यसको प्रभावकारी निकै कम जानकारी रहेको बीबीसी हिन्दीमा उल्लेख छ।
अष्ट्रेलियाको सिड्नी युनिभर्सिटीकी सिनियर लेक्चरर अर्चिता मिश्रा सुरुवाती जीवनमा इम्युनको विकासमा माइक्रोबायोमको भूमिका माथि अध्ययन गरिरहेकी छिन्।
उनी भन्छिन्, ‘शिशुको आन्द्रामा सबैभन्दा पहिले बस्ने सूक्ष्मजीव इम्युन सिस्टमको आर्किटेक्ट जस्तै हो। यसले शरीरलाई को दुश्मन र को मित्र हो भनेर पहिचान गर्न सिकाउँछ। यसले इम्युन सेल्सलाई ट्रेन गर्दछ। ताकी भोजनको एन्टीजेन्स र हानिरहीत सूक्ष्मजीवलाई कसरी सहन गर्न सकिन्छ र असली रोगहरुसँग कसरी लड्न सकिन्छ।’
शिशुको पहिलो एक हजार दिन एक यस्तो झ्याल हो, जब गट माइक्रोबायोमले शरीरमा एक गहिरो छाप छाड्छ।सामान्यतया प्लासेन्टालाई एक कीटमुक्त क्षेत्र मानिन्छ। अर्थात् गर्भमा हुर्किरहेको शिशुमा गट माइक्रोबायोम हुँदैन। तर यस अध्ययनमा भने शिशुलाई धेरै ब्याक्टेरिया आफ्नो आमाको पाचनतन्त्रबाट मिल्ने देखिएको छ।
- बीबीसी हिन्दीबाट साभार