स्पेनतर्फ गइरहेको एक क्रुज जहाजमा दुर्लभ भाइरस संक्रमण देखिएको छ। जहाजमा सवार केही यात्रु तथा क्रू सदस्यमा संक्रमण पुष्टि भएको छ भने केहीको मृत्यु समेत भएको छ।
घटनापछि सबैलाई निगरानीमा राखिएको छ र स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक रूपमा संक्रमण जहाजमा चढ्नुअघि नै भएको हुन सक्ने अनुमान गरिएको छ। जहाज समुद्री मार्गमा हुँदा लक्षण देखिन थालेपछि आपतकालीन स्वास्थ्य अवस्था सिर्जना भएको थियो, जसले गर्दा नियन्त्रण र उपचार प्रक्रिया थप जटिल बनेको थियो।
यो घटना विशेष रूपमा ध्यानाकर्षक बनेको छ किनकि यसमा मानिसबाट मानिसमा सर्ने सम्भावना समेत अध्ययन भइरहेको छ, जुन सामान्यतया दुर्लभ मानिन्छ।
हान्ताभाइरस के हो?
हान्ताभाइरस एउटा दुर्लभ तर गम्भीर रोग निम्त्याउने भाइरस हो, जुन प्रायः संक्रमित मुसा जस्ता जनावरबाट मानिसमा सर्छ।
संक्रमित जनावरको पिसाब, दिसा वा थुक सुकिसकेपछि त्यसबाट निस्किने साना कणहरू सास मार्फत शरीरमा प्रवेश गर्दा संक्रमण हुन सक्छ।
कस्तो रोग हो हान्ताभाइरस?
हान्टाभाइरसले मुख्यतः दुई प्रकारका गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।
अमेरिकामा देखिने हान्टाभाइरस पल्मोनरी सिन्ड्रोम, जसले फोक्सोमा गम्भीर असर गर्छ र यसको मृत्यु दर करिब ३८ प्रतिशतसम्म छ।
युरोप र एशियामा देखिने हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम, जसले मिर्गौलामा असर पुर्याउँछ। यसको मृत्यु दर १ प्रतिशतभन्दा कमदेखि १५ प्रतिशतसम्म हुन सक्छ।
संक्रमणका सुरुवाती लक्षणहरू सामान्य भाइरल संक्रमणजस्तै हुन्छन्- ज्वरो, थकान, टाउको दुख्ने, मांसपेशी दुख्ने, वान्ता, पखाला र पेटसम्बन्धी समस्या। यही कारणले सुरुवातमै रोग पहिचान गर्न कठिन हुने चिकित्सकहरू बताउँछन्।
हान्टाभाइरस लागेका सबै व्यक्तिमा गम्भीर लक्षण देखिदैन। संक्रमणको गम्भीरता कुन प्रकारको भाइरसले संक्रमण गराएको हो भन्नेमा निर्भर हुन्छ।
उत्तर अमेरिकामा पाइने ब्ल्याक क्रिक क्यानल र सिन नोम्ब्रे भाइरसबाट मृत्यु दर ४० देखि ६० प्रतिशतसम्म पुग्न सक्छ। तर प्रोस्पेक्ट हिल र इस्ला भिस्टा भाइरसबाट मृत्यु हुने जोखिम अत्यन्त कम छ।
एशिया र युरोपमा अधिकांश हान्ता भाइरसबाट मृत्यु दुर्लभ भए पनि हान्टान र डोब्राभा-बेलग्रेड प्रकारका भाइरसले १५ प्रतिशतसम्म मृत्यु गराउन सक्छन्।
उपचार छैन, सहायक उपचार मात्र
हालसम्म हान्ताभाइरसको कुनै विशेष औषधि वा उपचार विकसित भएको छैन। बिरामीलाई अक्सिजन, तरल पदार्थ र अन्य सहायक उपचारमार्फत जोगाउने प्रयास गरिन्छ।
कति सामान्य छ?
अमेरिकामा यो रोग अत्यन्त दुर्लभ मानिन्छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार सन् १९९३ देखि २०२३ सम्म जम्मा ८९० वटा प्रयोगशालाबाट पुष्टि भएका केस मात्र फेला परेका छन्।
स्वास्थ्यकर्मीहरूले शंका लागेपछि मात्र परीक्षण गरिने भएकाले वास्तविक संख्या बढी हुन सक्ने विज्ञहरूको अनुमान छ।
हालसम्म मानिसबाट मानिसमा संक्रमण भएको घटना दक्षिण अमेरिकाको एन्डिज भाइरस मा मात्र पुष्टि भएको छ। अर्जेन्टिनामा २०१८–१९ मा भएको प्रकोपमा ३४ जना संक्रमित हुँदा ११ जनाको मृत्यु भएको थियो।
प्रारम्भिक लक्षण (संक्रमणपछि १–४ हप्ता भित्र):
ज्वरो आउनु र चिसो लाग्नु
मांसपेशी दुख्नु (विशेष गरी तिक्रा, कम्मर, ढाड र काँध)
अत्यधिक थकान र चक्कर लाग्नु
टाउको दुख्नु
पेट सम्बन्धी समस्या: वाकवाकी लाग्नु, बान्ता लाग्नु, पखाला लाग्नु, पेट दुख्नु
ढिलो/गम्भीर लक्षण (हान्ताभाइरस पल्मोनरी सिन्ड्रोम):
सास फेर्न गाह्रो हुनु
खोकी लाग्नु
फोक्सोमा तरल पदार्थ जम्नु
रक्तचाप घट्नु
मुटुको धड्कन छिटो हुनु