औषधीय रसायन विज्ञानमै विद्यावारिधि गरेका डा दीर्घराज जोशीद्वारा लिखित औषधि र स्वास्थ्यका बारेमा समाजलाई जागृत गराउने पुस्तक 'औषधिको ज्ञान स्वस्थ ज्यान' बजारमा प्रवेश गरेको केही महिना भयो।
लेखक डा जोशीको हुर्काइ सुदूरपश्चिमको एक गाउँमा कृषक परिवारमा भएको हो। उसो त उहाँका मातापिताको जन्मथलो बझाङ हो। सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरी, उत्कृष्टताका आधारमा ३ वर्षे फार्मेसी कोर्स छात्रवृत्तिमै धनगढीमै गर्नुभयो। पोखरा विश्वविद्यालयबाट फार्मेसीमा स्नातक, पूर्ण छात्रवृत्तिमै दक्षिण कोरियाबाट औषधीय रसायन विज्ञानमा स्नातकोत्तर र यन्से विश्वविद्यालय बाट विद्यावारिधि गर्नुभयो। उहाँका दर्जनौं वैज्ञानिक अनुसन्धानहरू विश्व विख्यात जर्नलहरूमा प्रकाशित छन्। उहाँका अनुसन्धानहरू कोरिया र अमेरिकामा पेटेन्टको रूपमा दर्ता छन्। नेपालभर उहाँको भ्रमण, हुर्काइको अनुभव, १६ वर्षसम्म फार्मेसी विषयमा अध्ययन, अनुसन्धान र सिकाई तथा मार्केटिङ म्यानेजर, मेडिकल सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन लगायत सबै कुराहरूलाई गहिरिएर बुझेर उहाँले यो पुस्तक हामीलाई दिनुभएको छ।
साहित्यमा पनि उहाँको रुचि छ, १७ वर्षकै उमेरमा उहाँले 'प्रश्न नेपाललाई' कविता संग्रह प्रकाशन गर्नुभएको थियो, जुन साझा प्रकाशनले वितरण गरेको थियो। हाल उहाँ विश्वको सबैभन्दा ठूलो वायोमेडिकल अनुसन्धान केन्द्र नेसनल इन्स्टिच्युट अफ हेल्थ, अमेरिकामा भाइरस विरुद्धको औषधि आविष्कारमा काम गर्दै हुनुहुन्छ।
धनगढीका स्कुल कलेजहरूमा गएर यस पुस्तकको विषयवस्तु तथा औषधि र स्वस्थ ज्यान सम्बन्धी विविध पाटाहरू प्रस्तुत गरी जागरण गराउने र यो पुस्तक उनीहरूलाई पढ्न प्रेरित गराउने कार्य भइरहेको छ। देशका केही प्रमुख स्थानमा पनि यो उपलब्ध छ।
समाजमा अनेक प्रकारका पुस्तकहरू छन्। विगत १७ वर्षदेखि अध्ययन अनुसन्धानमा सक्रिय यसै विषयको विषय विज्ञबाट नेपाली भाषामा लिखित यो पुस्तक नेपाली समाजमा पहिलो हो। लेखकले यो पुस्तक हरघर र हरेक व्यक्तिको हातमा पुग्न सके नेपाल साँच्चिकै औषधिको विवेकपूर्ण प्रयोग गर्ने देशमा पर्ने अपेक्षा गरेका छन्।
लेखकले यसबाट कुनै पनि आर्थिक लाभ लिने छैनन् उल्टै पहिलो हजार प्रतिको प्रकाशन खर्च उनले आफैले बेहोरेका छन्।
आजभन्दा ६ वर्ष अगाडि २५ वर्ष कम उमेरका ७ जना नारीहरूको अगुवाइमा सामाजिक संस्था 'हामी सक्षम नारी'को स्थापना भयो। यो संस्थाले निरन्तर रूपमा समाजमा विभिन्न प्रकारका रचनात्मक गतिविधिहरु गर्दै आइरहेको छ। यस पुस्तकको प्रकाशक अहिले यही संस्थाले गरेको छ।
समाजको मुठ्ठीदान बाट चलेका संस्थाहरू, कमजोर आर्थिक अवस्था भएकाहरूलाई यो पुस्तक निःशुल्क रुपमा प्रदान गर्ने सङ्कल्प लिएका छन्। बाँकीहरूले दानस्वरूप खरिद गरेर लिन सक्नेछन्। यसबाट प्राप्त रकमले आगामी दिनमा यसको निरन्तर प्रकाशन बिक्री वितरण गर्ने र विविध प्रकारका प्रशिक्षणहरू सञ्चालन गर्दै समाजलाई जागृत गर्ने कार्यमा प्रयोग हुनेछ।
औषधिको आधारभूत जानकारी, औषधि आविष्कारको प्रक्रिया, औषधिले शरीरमा कसरी काम गर्छ, औषधिका दुष्प्रभावबाट कसरी बच्ने लगायत अनेक कुराहरूलाई कोट्याउँदै लेखकले यस पुस्तकमा लेख्छन्: औषधि खान नपाएर भन्दा पनि औषधिको सही प्रयोग नगरेर वा नजानेर स्वास्थ्यमा आउने जटिलता धेरै छन्। औषधिले शरीरमा कसरी काम गर्छ, कसरी शरीरबाट निष्कासन हुन्छ, औषधिका सकारात्मक तथा नकारात्मक प्रभावहरू, औषधि-औषधि वा औषधि-खान बीचको अन्तरक्रिया लगायत थुप्रै कुराहरू जो हरेक स्वस्थ रहन चाहनेले जान्नैपर्ने कुराहरू यस पुस्तकमा पढौं र अरुलाई पनि पढाऔं।
लेखक थप लेख्छन्- आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्, त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ? औषधि कम्पनीहरूले आफ्नो औषधि जति सक्यो धेरै बेच्नु छ। यसका लागि उनीहरूले आफ्ना बजार प्रतिनिधि मार्फत डाक्टर, फार्मासिस्ट लगायत हरूलाई प्रभावमा लिन्छन् र सके सम्म धेरै औषधि लेखाउँछन्।
कतिपय अवस्थामा बिरामीलाई औषधि नै आवश्यक हुँदैन। अनावश्यक रूपमा धेरै औषधिहरू/भिटामिनहरू लेखिएका छन्। यस्तो अवस्थामा आखिर मारमा पर्ने तपाईँ हामी हो। सहि उपचार र औषधि पाउँला र रोग निको होला भनेर स्वास्थ्य संस्था र चिकित्सक कहाँ जाने तर बिरामीले उल्टै औषधिको गलत प्रभावबाट स्वास्थ्यमा जटिलता भोग्नुपर्यो भने स्थिति कस्तो होला? अधिकांश स्वास्थ्यकर्मीहरू राम्रा पक्कै होलान् तर तपाईँले दिएको निर्देशन सही तरिकाले मान्नुभएन, आफू खुसी जथाभावी औषधि खाने र बीचैमा छोड्ने गर्नुभयो भने यसका प्रभावहरू के होलान्?
यस्तै विषयवस्तुहरूमा विभिन्न उदाहरणसहित लेख्दै यो पुस्तक हर घरमा होस्, हरेक स्वस्थ रहन चाहनेका लागि एक मार्गदर्शन बनोस् भन्ने अपेक्षा लेखकले लिएका छन्।
जिम्मेवार नागरिक जागृत हुनुपर्ने कुरालाई प्रबल बनाउँदै लेखक थप लेख्छन्, 'तपाईँ हाम्रो गाउँटोल घरछिमेकमा गैरकानुनी औषधि पसलहरू वा दर्ता नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाहरू त छैनन्? नेपालमा बेच्नै नमिल्ने औषधिहरू बिक्री वितरण भइरहेका त छैनन्? औषधिहरूको दुरुपयोग भएर कतै लागू औषधको रुपमा प्रयोग भइरहेका त छैनन्? चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्ने औषधिहरू समेत खुला रूपमा बिक्री वितरण भएका त छैनन्? जथाभावी एन्टिबायोटिक वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू बिक्री वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू जथाभावी फ्याकिएका त छैनन्? तोकिएको मूल्यभन्दा महँगोमा बेचिएका त छैनन्? यि सबैका बारेमा सम्बन्धित निकायमा तपाईं हामीले उजुरी नगर्ने, समाजलाई जागृत नगर्ने, रूपान्तरणका लागि तपाईँ हामी तयार नहुने हो भने, आखिर कसले गरिदिन्छ?'
त्यसैले यो पुस्तकको उद्देश्य, औषधिको बारेमा आधारभूत जानकारी दिनु, औषधिको सही प्रयोग, बिक्री वितरण, सही भण्डारण, औषधि-औषधि बीच हुने प्रतिक्रियाहरू, औषधि र खानाबीच हुने प्रतिक्रियाहरू, औषधिको मात्रा र उपचार अवधि, एन्टिमाइक्रोबायल प्रतिरोध, शिशु र गर्भावस्था तथा विशिष्ट शारीरिक अवस्थामा प्रयोग गरिने औषधिहरूको बारे, औषधिका सकारात्मक र नकारात्मक प्रभावहरू, औषधिका सामान्यतया देखिने नकारात्मक प्रभावहरू, औषधिका दुरुपयोगहरू, कस्ता कस्ता औषधि टुक्र्याउन मिल्छ मिल्दैन, खाली पेटमा वा खाना खाएर खाने औषधिहरू, स्वास्थ्य संस्था-स्वास्थ्यकर्मी-बिरामीहरूका काम कर्तव्य र अधिकारहरू, डाक्टरले अनावश्यक औषधि लेखेको कसरी थाहा पाउने, एउटै काम गर्ने महँगोको सट्टा सस्तो औषधि कसरी प्राप्त गर्ने, यदि कुनै गलत अभ्यास भएको भेटिए सम्बन्धित निकायमा उजुरी कसरी गर्ने लगायत अनेक कुराहरूमा यस पुस्तकले जानकारी दिने प्रयत्न गरेको छ।
लेखकले, आधारभूत रूपमा जान्नैपर्ने कुराहरू कोट्याउँदै, औषधि खाँदा हमेशा ख्याल गर्नुपर्ने कुरा छोटकरीमा लेखेका छन्, 'स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नलिनुहोस्, कतिपय सामान्य स्वास्थ्य समस्यामा औषधिको जरुरी नहुन सक्छ त्यसैले औषधि खाएर मात्र सन्चो हुन्छ भन्ने भ्रमबाट बच्नुहोस्, विश्वमा १० हजार बढी दुर्लभ रोगहरु माथि अध्ययन भएको छ तर केवल ५ प्रतिशत जतिको मात्रै अहिलेसम्म उपचार छ, औषधिको प्रयोग गर्ने समय र मात्रा पालना अत्यन्तै आवश्यक छ, हमेशा औषधिको लेबल पढ्न सुझाएको छ, औषधि लिने समयमा रक्सिको सेवन नगर्नु र दूध अथवा जुससँग पनि औषधि खाने बानी छोड्न बताएको छ, औषधिको दुष्प्रभाव (साइड इफेक्ट) बारे जानकारी राख्न जरुरी रहेको कुरालाई कोट्याउँदै सामान्य साइड इफेक्ट देखिँदैमा औषधि खान नछोड्न सुझाएको छ, एन्टिबायोटिकहरुको जथाभावी प्रयोगले प्रतिरोधको खतरा दिनानुदिन बढिरहेको कुरालाई गहिरिएर चर्चा गरेको छ, खाना खाएझैँ गरेर निन्द्रा लगाउने औषधि जथाभावी खाएको कुरालाई औल्याउँदै यस्तो नगर्न भनेको छ, सबै औषधि टुक्र्याएर खान मिल्दैन त्यसैले जानकारीहरू राम्रोसँग लिन बताएको छ।
भ्रामक प्रचारप्रसार सहित विभिन्न केमिकलहरू भएका कुराहरू बजारमा अनियन्त्रित बिक्री वितरण भइरहेको कुरालाई कोट्याउँदै लेखक थप लेख्छन्- छाला गोरो बनाउने, अनुहारमा चमक बढाउने, चाया पोतो र डन्डीफोरहरू निको गर्ने, कपाल झर्ने समस्या रोक्ने र कपाल उमार्ने, दाँत टल्काउने लगायत निकै भ्रमपूर्ण प्रचारहरू पछाडि नलाग्न सुझाव दिएका छन्। सामान्य ज्वरो, दुखाई, रुघाखोकी, मौसमी समस्याहरूमा औषधिको आवश्यक नपर्न सक्छ, केही समयपछि आफैं निको भएर जान्छ लगायत कुराहरू जोड्दै औषधिबिना पनि सन्चो हुने समस्याहरूलाई चर्चा गरिएको छ। अधिकांश नेपालीहरूमा भिटामिन डी र क्याल्सियमको कमी भएको तथ्याङ्क आइरहेको कुरालाई इङ्गित गर्दै हाम्रो जीवनशैली र सुधारबाट गर्न सकिने समाधानलाई औंल्याएको छ।
वार्षिक रूपमा सामान्य स्वास्थ्य परीक्षण गर्न तर होल बडी चेकको भ्रममा नपर्न सुझाएको छ, सबै नेपालीहरू स्वास्थ्य बीमा जोडिनुपर्ने कुरा पनि उठाएको छ, नेपालमा चिकित्सकहरूले नबुझ्ने गरी औषधिहरू लेख्ने हुँदा कहिलेकाहिँ गलत औषधिहरू वितरित हुन सक्ने सम्भावनालाई कोट्याउँदै चिकित्सकहरूलाई अत्यन्त धेरै जिम्मेवार हुन र स्पष्ट रुपमा लेख्न सुझाएको छ, बिरामीले पनि बुझ्न सकुन् भन्नका लागि निदान पत्रमा प्रयोग हुने छोटकरी संकेत र तिनको अर्थहरु यस पुस्तकमा समावेश छन्।
नेपालमा ६० प्रतिशतभन्दा बढी मान्छेहरूलाई औषधिको सही ज्ञान नभएको कुरा औल्याउँदै आम नागरिक सचेत नहुन सकेका कारणले गर्दा औषधिको व्यवसाय गरी पैसा कमाउनेहरूको हालीमुहाली भएर बिरामीहरू मारमा परेको कुरा औल्याउँदै, मल्टिभिटामिन, खाद्यपूरक तत्त्वहरू चिकित्सकहरूले अनावश्यक रूपमा बिरामीलाई लेख्नु एउटा कारण भएको औल्याएका छन्। औषधि पसलबाट बेच्नै नमिल्ने न्युट्रास्युटिकल तथा खाद्यपूरक कुराहरू जथाभावी बिक्रीवितरण भइरहँदा पनि औषधि व्यवस्था विभाग निरीह बनेको कुरा कोट्याएको छ। नागरिकलाई यसका विरुद्ध सचेत भई जागृत हुन सुझाएको छ। साथै सही काउन्सेलिङको महत्वलाई प्रष्ट्याउँदै अङ्ग वा मलद्वारमा प्रयोग हुने औषधि समेत कहिलेकाहीँ बिरामीले नबुझेर मुखबाट खाने गरेको घटनाहरू औल्याएको छ।
अन्तमा हरेकलाई दृड संकल्पित हुन अनुरोध गर्दै: निर्धारित कोर्ष पूरा खान्छु, धेरै जान्ने भएर आफैं औषधि किनेर खाँदिन, एन्टिबायोटिकको दुरुपयोग गर्दिन, रुघा-खोकी-दुखाई तथा सामान्य ज्वरोमा औषधि खाँदिन, बिहान सबेरै उठ्छु, शारीरिक व्यायाम तथा योग अभ्यास गर्छु, साँझको खाना सूर्य नअस्ताउँदै खाइसक्छु, रातिमा समयमै सुत्छु, मन वचन र कर्मले अरुलाई आघात पुर्याूउँदिन, समग्रमा म राम्रो त विश्व राम्रोको परिकल्पना लिन्छु भन्दै हरेकलाई संकल्पित हुन अनुरोध गरेको छ।
यो एक गैरनाफामूलक समाज जागृत गर्ने अभियान भएको हुँदा सबै पक्षको सहयोगको अपेक्षा छ। हामी सक्षम नारीले हाम्रो ठाउँबाट सक्दो प्रयास गरिरहेका छौं के तपाईँ पनि तयार हुनुहुन्छ?
औषधिको ज्ञान स्वस्थ ज्यान तपाईं हाम्रो साझा संकल्प बनोस्।
(जोशी हामी सक्षम नारी नेपालकी अध्यक्ष हुन्)