(मनोसामाजिक समस्याजन्य अवस्था र मनोरोग बाट पिडित ब्यक्तीहरुले ब्यक्त गर्न खोजेको भावनाहरु समाजसामु राख्दै)
कमी त केवल ममा थियो ज्ञानको, तिमी त समस्याले भरिपूर्ण थियौ।
गुहार्दै आए मायाँ लागि ज्यानको, तिमी त केवल अन्जान बनिदियौ। ..........................१
मनमा ती दबेका पीडा र कुण्ठित भावनालाई
देख्दिन ठाउँ कतै पोख्नलाई।
सामर्थ्य छैन अब बाकी तनमा,
मनको भारी सारो भयो—सक्दिन काँडा जोख्नलाई। ..........................२
बाँचेर के अर्थ भन्छ निर्मल मनले,
ममा दुनियाको बेग्लै नजर थियो।
सन्की र पागलको ट्याग दियो जनले,
दृश्यमा मेरो सुक्खा बगर थियो। ..........................३
साहारा कतै महसुस गरिन मैले,
जुन बेला मलाई जरुरी थियो।
आफ्नैले दूरी बढाएको भेटे,
जुन बेला सम्बन्धको मूल्यमा कमी थियो। ..........................४
समस्या यहाँ धेरैको होला,
कसैले पोख्छन्, कसैले पोख्दैनन्।
मनको बोझ विसाउने यहाँ
पर्याप्त रूपमा ठाँउ भेटिदैनन्। ..........................५
म हुनु र नहुनुमा यहाँ
खासै फरक देख्दिन किन।
बाँच्नु अर्थ छैन त्यहाँ,
गाह्रो भयो आफ्नो–पराई चिन्न। ..........................६
मेरो पनि त मन हो,
खुसी र आनन्द अनुभूति गर्न मन छ।
फरक के चाहिँ मागे मैले—
साथ र सहयोगको मात्र अपेक्षा छ। ..........................७
धत्तेरिका!! समस्या हुनुमा मेरो के दोष,
यो त केवल परिस्थितिको सिर्जना थियो।
मनको बह विश्राम लगाउने
एक मात्र मेरो तिर्सना थियो। ..........................८
(सरकार र व्यवस्था सामु गरिएका अपिल र अपेक्षा)
हे सरकार…
एक नजर त हेर मलाई—म कुन धरातलमा टेकिरहेको छु।
बाकीको जीवन शून्यझैं,
मैले पूर्णविरामको गन्तव्य देखिरहेको छु। ..........................९
अस्ताउन लागेको मेरो यो जीवनलाई
पुनः कोपिलाझैँ फक्राउन मन छ।
एक पटक मेरो रोदनको महसुस त गर,
आसाको दियो जगाउन मन छ। ..........................१०
भरोसा छ—मलाई तिमीमाथि,
एक दिन तिमी मलाई अवश्य अँगाल्नेछौ।
सबै धरातलमा आकार लिने पानी,
बनाउन बरफ—तिमी पगाल्नेछौ। ..........................११
भन्छन् नि—दिन ढलेपछि रात पर्छ,
तब पृथ्वीको सहारा ‘जुन’ हुन्छ।
परोपकारी धर्ममा चित्त बढाउ तिमी,
आशीर्वादको सहारा ‘गुन’ हुन्छ। ..........................१२
सहजताका साथ बह पोख्ने
ठाउँ चाहियो मलाई सेवा लिन।
मजस्तोको भावना बुझ्न सक्ने
मनोविदको मन्दिर बनाऊ तिमी। ..........................१३
समस्यामा लगाउने मलम बनी,
सहयोगी मनझैँ फैलिनु तिमी।
मनो–विमर्शको कलम बनी,
समस्याहरू माथि पौडिनु तिमी। ..........................१४
कमि त केवल ममा थियो ज्ञानको,
तिमी त समस्याले भरिपूर्ण थियौ।
गुहार्दै आए मायाँ लागि ज्यानको,
तिमी त केवल अन्जान बनिदियौ। ..........................१५
दिपक ढकाल
जनस्वास्थ्य निरीक्षक
भरतपुर महानगरपालिका
गुन्जनगर स्वास्थ्य चौकी