काठमाडौं- सातै स्वास्थ्य हेर्ने प्रदेश मन्त्रालयहरूले आफ्ना प्रदेशस्तरीय समीक्षा सम्पन्न गर्दै वार्षिक प्रगति तथा नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका छन्। नेशनल ज्वाइन्ट एन्युल रिभ्यु २०२५ मा प्रस्तुत मुख्य उपलब्धी यसप्रकार छन्।
कोशी प्रदेशले प्रदेशका सबै स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड (एमएसएस) पूरा गरेको जानकारी दिएको छ। यसले सेवा गुणस्तरमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।
मधेश प्रदेशमा पीएचएलएमसी भित्र बायोमेडिकल युनिट स्थापना गरी प्राविधिक क्षमता बलियो बनाइएको छ। साथै आयुर्वेद अस्पतालमा पनि एमएसस कार्यान्वयन सुरु गरिएको छ, जसले परम्परागत उपचार सेवामा गुणस्तर सुनिश्चित गर्न मद्दत गर्नेछ।
बागमती प्रदेशले एक जिल्ला–एक स्वस्थ शहर र एक स्थानीय तह–एक नमूना स्वास्थ्य संस्था कार्यक्रम शुरू गर्दै स्वास्थ्य पूर्वाधार सुधारलाई नयाँ गति दिएको छ।
गण्डकी प्रदेशमा सेवाग्राही विवरण ड्यासबोर्डबाट हेर्न सकिने व्यवस्था गरिएको छ। साथै ईएमआर र ईएचएमआईएस प्रणाली सञ्चालनमा आएपछि तथ्यांक व्यवस्थापन अधिक आधुनिक र सहज भएको छ।
लुम्बिनी प्रदेशले फ्यामिली हेल्थ प्रोफाइ तयार गर्ने कार्य शुरू गरेको छ। साथै खर्च गर्ने स्वास्थ्य संस्थामा शून्य वेरुजु प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ, जसले वित्तीय पारदर्शिता बलियो बनाउने लक्ष्य लिएको छ।
कर्णाली प्रदेशले पेष्टिसाइड नियन्त्रण तथा न्युनिकरण कार्यक्रम प्रारम्भ गरी स्वास्थ्य सुरक्षा क्षेत्रमा महत्वपूर्ण कदम चालिएको जनाएको छ। स्वास्थ्य संस्थाका तथ्यांकहरूको गुणस्तर सुधार गर्न मासिक भर्चुअल बैठकको व्यवस्था पनि निरन्तर जारी राखिएको छ।
सुदूरपश्चिम प्रदेशले मेरो मुटु–स्वस्थ मुटु अभियानमार्फत हृदयस्वास्थ्यमा केन्द्रित कार्यक्रम शुरु गरेको छ। साथै प्रदेशभ स्मार्ट न्युट्रिसन सर्वे सुरु गरी पोषण अवस्थाको समग्र विवरण संकलन गर्न थालिएको छ।