१. जाडोमा किन श्वासप्रश्वास सम्बन्धि समस्या बढ्ने गर्छ ?
जाडोमा चिसोसँगै प्रदुषणको मात्रा बढ्ने गर्छ। त्यस्तै जाडोमा भाइरल फिभरको प्रकोप पनि बढ्ने गर्छ । जसले दमका बिरामीहरुलाई नकारात्मक असर गर्ने कारणले पनि श्वासप्रश्वास सम्बन्धि बिरामी जाडोमा बढ्छन्।
२. जाडोमा बुढाबुढी तथा बालबालिकालाई श्वासप्रश्वासमा बढी समस्या हुने गर्छ भनिन्छ, के यो सत्य हो ?
श्वासप्रश्वास सम्बन्धि समस्याको जोखिम वयस्कहरुमा भन्दा बुढाबुढी तथा बालबालिकाहरुलाई बढी हुने गर्छ। चिसोले चाँडै नै आक्रमण गर्न सक्ने तथा रुघाखोकीका कारण उनीहरुलाई वयस्कहरुलाई भन्दा बढी गाह्रो हुन्छ । त्यस्तै बुढाबुढीहरुमा दीर्घकालीन दम हुने, प्रदुषणको असर, सुगर ,प्रेसर लगायतका रोगका कारण तथा यो अवस्थामा रोगसँग लड्ने क्षमता समेत कम हुनाले जाडोमा यी व्यक्तिहरुलाई श्वासप्रश्वासको समस्या बढी हुन्छ।
चिसो बढ्दै जाँदा प्रदुषणको मात्रा बढ्दै जान्छ। जसले वायु प्रदुषण समेत बढाउने गर्छ। त्यस्तै चिसोमा भाइरल फिभर, इन्फ्लुन्जा तथा अन्य भाइरल रोगका कारण दीर्घकालीन समस्याका भएका बिरामीहरुलाई सानो समस्यामा पनि फोक्सोमा असर गर्ने स्थिती हुन्छ। जसले पनि जाडोमा श्वासप्रश्वासको समस्या बढ्छ।
३. श्वासप्रश्वासका समस्या भएका बिरामीले जाडोमा के के कुरामा विशेष ध्यान दिनुपर्छ ?
पहिलो त जाडोमा न्यानो हुने कपडा लगाउनुपर्छ। त्यस्तै खानपान तथा शारीरिक अभ्यासमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। जाडोमा वायु प्रदुषणको मात्रा बढ्ने भएकोले बिहान भन्दा पनि मौसम सफा हुँदा वा घरभित्र नै शारीरिक कसरत गर्नु राम्रो हुन्छ । खानपानको कुरा गर्नुपर्दा जाडोमा झोलिलो पदार्थहरुको सेवन बढी मात्रामा गर्नुपर्छ। जाडोमा सुख्खापनको समस्या बढ्ने भएकोले पानी पनि प्रशस्त पिउनुपर्छ।
४. जाडोमा हिटर र गिजरको प्रयोग गर्दा के-कस्तो सावधानी अपनाउनुपर्छ ?
जाडोमा न्यानो बनाउनका हिटर तथा गिजरको प्रयोग गर्ने गरिन्छ। यदि कोठामा हिटर बाल्ने गरिन्छ भने त्यहाँ हावा आवतजावत गर्ने ठाउँ भने हुनुपर्छ । पुरै बन्द कोठाभित्र भने हिटर, गिजर बाल्नुहुँदैन । राति सुत्दा हिटर बन्द गरेर मात्रै सुत्ने गर्नुपर्छ। बन्द कोठाभित्र हिटर बाल्दा अक्सिजनको कमी भई मान्छेको मृत्युसमेत हुनसक्छ । हिटरले प्राय सुख्खा तातो फ्याक्ने गर्छ । जसले सुख्खापन बढ्ने भएकोले ह्युमुटिफायरको प्रयोग गर्नुपर्छ।
५. जाडोमा रोग प्रतिरोधी क्षमता बढाउनका लागि कस्ता खानेकुराको सेवन गर्नुपर्छ ?
जाडोमा मात्रै नभई अन्य समयमा पनि गेडागुडी, माछामासु, फलफुल लगायतका खानेकुराको सेवन स्वास्थ्यको दृष्टिकोणबाट अत्यावश्यक हुन्छ। त्यस्तै जाडो समयमा पानी कम पिउने बानी गर्नुहुँदैन। खानपानका साथै लगाउने कपडामा समेत चिसो मौसममा विशेष ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै जाडोमा पनि लामोसम्म रुघाखोकी तथा अन्य समस्या भएमा चिकित्सकको सल्लाहअनुसार काम गर्नुपर्ने हुन्छ।
मौसम अनुसार स्वास्थ्यमा सजग हुनका लागि मेरो सम्पूर्णमा अनुरोध पनि छ। दीर्घरोगीहरुले मर्निङ वाक नजाने, न्यानो कपडा लगाउने, खानपानमा विशेष ध्यान दिने तथा स्वास्थ्यमा जटिलता आएमा चिकित्सकलाई भेट्ने गर्नुपर्छ। फार्मेसीमा किनेर जथाभाबी औषधिको सेवन गर्दा त्यसले स्वास्थ्यमा थप जटिलता निम्त्याउन सक्छ।