विवाहपश्चात् परिवार नियोजनका कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नि:सन्तानपन वा बाँझोपन भएको मान्न सकिन्छ। यसको अर्थ सम्पूर्ण महिलालाई बच्चा नभएको एक वर्षपछि नै उपचारमा जानु भन्ने होइन।
यदि महिलाको उमेर ३५ वर्ष वा सो भन्दा बढी भएको अवस्थामा ६ महिनासम्म परिवारको नियोजनका अस्थाई साधन प्रयोगबिना शारीरिक सम्पर्क गर्दा बच्चा नभएको अवस्थालाई पनि नि:सन्तानपन भनिन्छ।
निःसन्तानपनको समस्या बढी कसलाई हुन्छ?
पहिला-पहिलाको तथ्यांकमा महिलाहरुमा बढी नि:सन्तानपनको समस्या हुने गरेको देखिन्थ्यो। उपचार तथा परीक्षणका लागि बढी महिला आउने भएकोले पनि यस्तो भएको हुनसक्छ।
पछिल्लो समय नि:सन्तानपनको परीक्षणमा जोडी नै आउने गरेको पाइन्छ। कतिपय अवस्थामा पुरुष मात्रै आएर पनि परीक्षण गराउने गरेका छन्। पछिल्लो तथ्यांकका आधारमा भन्नुपर्दा महिला तथा पुरुष दुवैमा नि:सन्तानपनको समस्या बराबरी नै देखिने गरेको छ।
नि:सन्तानपनको उपचार विधि
नि:सन्तानपनको उपचार सामान्यदेखि लिएर आईभीएफसम्म रहेका छन्। नि:सन्तानपनको समस्या भएका कतिपय दम्पती सुरुवाती अवस्थामा नै चिकित्सक भेट्न डराउने गर्छन्।
चिकित्सकले सुरुवातमा नै टेस्टट्युब बेबीबाट बच्चा जन्माउन सुझाव दिन्छन् कि भनेर उनीहरु डराउँछन्। यद्यपि, त्यो वास्तविकता होइन। चिकित्सकले दम्पतीको समस्याको आधारमा उपचार विधि प्रयोग गर्छन्।
कतिपय अवस्थामा अण्डा बन्ने समयमा शारीरिक सम्पर्क नहुनुले पनि बच्चा नबस्ने हुन्छ। कतिपयलाई अण्डा बन्ने समय पहिचान गराइदिएर प्राकृतिक रुपमा बच्चा हुनका लागि पनि चिकित्सकहरुले सहयोग गर्छन्।
यदि श्रीमान्मा शुक्रकीटको मात्रा कम भएको अवस्थामा आईवाईमार्फत बच्चाको योजना बनाइन्छ।
त्यस्तै आईवाई विधिमार्फत समेत बच्चा नभएको अवस्थामा भने हामीले टेस्टट्युब विधिको प्रक्रिया अगाडि बढाउँछौं।
किन बढ्यो नि:सन्तानपनको समस्या?
पछिल्लो समय नि:सन्तानपनको समस्या बढ्दै गएको छ। ढिलो विवाह तथा करिअर बनाउने नाममा ढिलो बच्चा योजना हुँदा नि:सन्तानपनको समस्या बढ्दै गएको छ।
ढिलो बच्चा जन्माउँदा महिलामा अण्डा उत्पादनका कमी हुँदै जान्छ। व्यस्त जीवनशैलीका कारण श्रीमान्-श्रीमती अलग्गिएर बस्नु, खानपान, शारीरिक परिश्रमको कमी, मोटोपना, मिसावटयुक्त खानेकुराको प्रयोग जस्ता कारणहरुले पछिल्लो समय नि:सन्तानपनको समस्या बढ्दै गइरहेको छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा युवा जनशक्ति खाडी मुलुक जाने गरेकोले अत्यधिक तापक्रममा काम गर्नुपर्दा शुक्रकीटको उत्पादनमा समस्या हुने गरेको पाइएको छ। ३० वर्ष उमेर भइसकेपछि विवाह गरेका दम्पतीले एक पटक प्रजनन सम्बन्धी परामर्शका लागि चिकित्सकलाई भेटेको राम्रो हुन्छ।
के हो आईभीएफ?
आईभीएफ भन्नासाथ बच्चाको पूर्ण विकास ल्याबमा नै हुने हो कि भन्ने कतिपयमा भ्रम छ।
माथि उल्लेख गरिएका कुनै पनि कारणले प्राकृतिक रुपमा बच्चा हुन नसकेको अवस्थामा आईभीएफ उपचारमार्फत बच्चा हुने प्रविधि हो। जसमा २ चरण हुने गर्छ। भ्रुण बनाउने चरण तथा टान्सफर्मर चरण।
भ्रुण बनाउनका लागि महिलालाई १० देखि १२ दिनसम्म इन्जेक्सन दिने गरिन्छ। बढी इन्जेक्सन दिँदा अण्डा बढी निष्काशन हुने गर्छ। जसमा सानो एउटा सियोको माध्यमबाट हामीले अण्डा निकाल्छौं।
उक्त निकालिएको अण्डालाई शुक्रकीटसँग मिलन गराएर ल्याबमा प्रजनन् कार्य गरिन्छ। जसलाई ५ दिनसम्म ल्याबमा राखेर भ्रुण बनाइन्छ।
त्यस्तै टान्सफर्मर भन्ने चरणमा महिनावारी भएको दोस्रो दिनदेखि पाठेघरको बनावट बनाइन्छ। यो चरणमा निश्चित प्रकारका हर्मोनहरु दिइन्छ। महिनावारी भएको १८ देखि २१ दिनसम्ममा भ्रुणलाई पाठेघर भित्र हस्तान्तरण गरिन्छ।
नि:सन्तानपनको समस्याबाट कसरी बच्ने?
- उपयुक्त उमेरमा विवाह गर्ने।
- सकेसम्म ३० वर्षको उमेर अगाडि नै बच्चाको योजना बनाउने।
- ढिलो बच्चा योजना भएमा अण्डा फ्रिज गर्ने।
- दैनिक शारीरिक परिश्रम गर्ने।
- मिसावटयुक्त खानेकुराको सेवन कम गर्ने।
- धूमपान तथा मद्यपान सेवन कम गर्ने।
- फलफूल तथा हरियो सागसब्जीको सेवन नियमित गर्ने।
(डा शाक्य आईभीएफ विशेषज्ञ हुन्। उनी सिनामंगलस्थित हार्दिक आईभीएफमा कार्यरत छिन्।)