संसारका हरेक व्यक्तिले आफ्नो अनि परिवारको गुजार चलाउनका साथै आफ्ना इच्छा र आकांक्षा पूरा गर्नका निम्ति कुनै न कुनै पेसा अँगालेको पाइन्छ, जुन उसको प्रोफेसन हो। तर सम्पूर्ण परिवारको गुजारा चलाउन टेवा पुर्याइरहेको उक्त प्रोफेसन भने उसको प्यासन नहुन सक्छ। फेरि त्यही मानिस दिनभरि आफ्नो प्रोफेसनमा व्यस्त हुन्छ तर उसले आफ्नो व्यस्तताकाबीच समय निकाल्दछ र मन, वचनका साथ आफ्नो इच्छा लागेको काम गर्दछ, जुन उसको प्यासन हो।
मानिस आफ्नो प्रोफेसनमा व्यस्त रहँदा उसलाई समयसीमाले बाँध्दछ, घरपरिवारको मायामोहले बाँध्दछ, आफ्ना व्यक्तिगत इच्छाआकांक्षाले बाँध्दछ, भोक अनि निद्राले बाँध्दछ तर जब मानिस आफ्नो प्यासन भएको काममा हुन्छ, त्यतिखेर उसलाई यी माथिका कुनै कारणहरूले पनि पछाडि धकेल्न सक्दैन। र, यी सबै कुरा डाक्टरी पेसामा लागू भएको पाइन्छ, किनकि बिरामीको उपचारको अगाडि घरपरिवार, समयसीमा, भोकतीर्खा सबै अल्पमतमा पर्दछन् जसले गर्दा डाक्टरी पेसा प्रोफेसन कम प्यासन बढि हो।
प्रोफेसनभन्दा बढि प्यासन नै हुनुपर्दछ डाक्कटरी पेसा। किनकि सवाल जीवन–मरणको पो हुन्छ त। र, एकपटक गुमेको जीवन फर्काउन असम्भव जो हुन्छ अर्थात्, ‘वान मिस, गेम फिनिस’।
विकृति हरेक क्षेत्रमा हुन्छ, त्यसमा कुनै दुईमत छैन। त्यसैगरी चिकित्सा क्षेत्रमा पनि विकृतिहरू छन्। जसले गर्दा केहीको हकमा प्यासन कम प्रोफेसन बढि भएको छ, डाक्टरी पेसा। तर यसको अर्थ सम्पूर्ण चिकित्सकहरूलाई एकै नजरले हेरिनु हुँदैन। समाचारहरू अतिरञ्जित गरेर बनाइनु हुँदैन, अनि सच्चा चिकित्सकहरूलाई घात पुर्याइनु हुँदैन।
तर हाल आएर समाजका विभिन्न व्यक्तिहरू गलत तवरले डाक्टरी पेसा अँगालेको समाचारहरू आइरहेका छन्। अनि तिनलाई नक्कली चिकित्सकको रूपमा अतिरञ्जित गरिँदै छ। तिनै विषय हाल आएर चिया गफमा सुनिने गरिएको छ। जसमा प्यासन भएका चिकित्सकहरूलाई पनि सामेल गरिएको छ। के यस्ता गतिविधिले तिनको प्यासनमा चोट ल्याउन सक्छ भनेर कसैले सोचेको छैन ?
संसारको हरेक क्षेत्रमा जहाँसुकै बद्मासी गर्ने प्रवृत्तिको मानिस भेटिन्छन्, जसलाई नियन्त्रण गर्नका निम्ति विभिन्न निकायहरू खडा गरिएको हुन्छ। जसको सही सदुपयोग गरिनुपर्दछ। तर हामीकहाँ ती निकायहरूको कामकारवाही फितलो हुँदा गलतहरूले गर्दा सहीहरू पनि बद्नामी झेलिरहेका छन्।
हामी सबैले भुल्नुहुँदैन, कमिला सधैँ मिठाइँमा नै झुम्मिने गर्दछ, नुनमा गर्दैन। तसर्थ आफ्नो प्रोफेसनभन्दा माथि प्यासन सम्झेर डाक्टरी पेसामा लागेकाहरूको नाम नक्कलीसँगसँगै बद्नाम गर्नु कत्तिको उचित होला ?